युगौ-युगका पीर-वेदनाहरु लामबद्ध नभई चौतर्फी धावा गरेझैं, घर-परिवार, साथी-सँगती, कार्यालय-हाकिम सबैबाट यसरी एकैपटक बाजी थापेजस्तो, कसले ज्यादा चोट दिलाउन सक्ने भनी ओइरिएपछि, म हतप्रभः एकपटक विवेक-शून्य उभिन्छु, तर, तुरुन्तै ‘भक्भक्’ उम्लिएर पड्किन मात्र वाँकी भएको जस्तो हुन्छु । कार्यालयबाट फोनमार्फत्, साथीहरु चिठीबाट, घरबाट मौखिक आक्रामणहरु भएपछि,
म निस्सासिंदै फ्ल्याटको ढोका बेस्सरी ‘ढ्याम्म’ हानेर सिंढी ओर्लन थाल्छु, लगभग मध्य आइतवारको दिन । मस्तिष्कका नसाहरुबाट रगत उम्लिएझैं लाग्छ र आँतबाटै रन्थनिन्छु अनि भित्र कतैबाट आर्तनाद गर्छु, यदि यो संसारमा आफ्ना भन्ने कोही नभए……..! कहिले सम्बन्धले तताउँछ ‘फ्रिज्ड’ प्राय भइसकेको तथाकथित समाजमा, त कहिलेकाहीँ सम्बन्धले नै ‘फ्रिज्ड’ बनाउँछ न्यानो मीठो मानिने पारिवारिक मूल्य-मान्यताहरु ।
मूलगेटको ढोका उदाङ्गै हुन्छ, अनि म एकै निमेष पनि शेष गर्न नखोज्दै बाहिरिन्छु र देब्रेतर्फको मूलबाटोबाट, अगाडि लाग्छु । एकैछिनमा बसस्टपमा उभिइन पुग्छु र कता जाने ? के गर्ने ? -योजना बनाउन थाल्छु । कहिलेकाँही स-साना समस्याहरुले पनि निक्कै नै पिरोल्छ, यस्तोमा जीवन सायद सुकेको पात बन्छ र समस्याहरु, पीर-वेदनाहरु सायद-सलाईको जल्दै गरेको जीवन्त काँटी……।
आँखा चिम्म गरेर एकैपलकै लागि भए पनि सामाजिक बर्बरतालाई भुल्ने प्रयत्न गर्छु बसस्टपमा उभिईँदै । वास्तवमा, धेरै-धेरै शान्ति छाउँछ, जुन मन मस्तिष्कभरि सलहझैं फैलिन्छन् । केही बेरपछि आँखा खोल्छु र उस्तै नै शान्ति पाउँछु., तर कसरी ? यतिन्जेलसम्म पनि कुनै गाडी गुडेका हुँदैनन् र कोही पनि बसस्टपमा हुँदैनन् । आश्चर्यले आँखाहरु छक्क पर्छन् । दाँयातिरको सडकको परसम्म, बाँयातिरको मोडसम्म, अनि चारैतिर नजर घुमाउँछु, शून्यबाहेक केही फेला पर्दैन । दुईचारवटा बसहरु अलि परको घुम्तीमा अडाइरहेको धेरैबेर भएको अचानक याद आउँछ, हतारिएर त्यँहा पुग्छु, तर बसभित्र चालक पनि हुँदैन । हैन, के भइरहेछ आज ?
फर्केर बसस्टप आई यसको देब्रेतर्फको चाइनिज केटीको सस्तो कपडाको पसलतिर अनौठो मानेर चिहृयाउँछु, कोही हुँदैनन् भित्र, त्यसपछि सँगैको रेस्टुरेन्ट, पत्रिका पसल, भिडियो पसल, आदि हतारिँदै हेर्छु, कोही पनि हुँदैनन्..केही पनि सुनिंदैनन् । चौबीसौंघण्टा व्यस्त रहने सडकको बीचमा उभिएर वरिपरिका बिल्डिङ्ग, पसल, बाटो, चौबाटो, चारैतिर आँखा घुमाउंछु. । आफ्नै अन्यौल उपस्थिति बाहेक अन्यमा खाली-खाली, जीवनहीन शहर मात्र देखिन्छ यत्र-तत्र-सर्वत्र । सपना देखिरहेको झैं लाग्छ, तर, यथार्थ आँखा नै कोतरुँलाझैं अगाडि तटस्थ मौन लम्पसारिएको हुन्छ । बाघचालको चौघेराभित्रको परिधिमा एक्लो बचेको गोटी (बाख्रा)झैँ निरीह महसुस गर्छु आफूलाई ।
मस्तिष्कमा शून्य शुष्कसँग सुन्न गर्दै बज्छ । आँखाहरु एकटकले कतै त्यसै अड्किन्छन् । मुख आँतबाट सुख्खा हुँदै गए जस्तो गरी सुख्छ । अवाक, मूढ, ट्वाल्ल पर्दै सडकको बीचमा थचच्क बस्दै अविश्वसनीय परिस्थितिसँग सामञ्जस्य मिलाउन थाल्छु । यसरी सँधै व्यस्त रहने सडकबीच थचच्क बस्दा हुने रोमान्चक अनुभूति, जीवन घस्रिएर अल्छी मानेझैं व्यतित गरेको शान्त पल, आफैमा अनौठो भए पनि रमाइलो हुनु पर्ने तर, केही पललाई तटस्थ रहेको मन, आश्चर्यजनक किसिमले छट्पट्टिएको छ अहिले । कता गए होलान्, यत्ति चाँडै, यत्ति धेरै मानिसहरु ? भीडले पोल्थ्यो, कोलाहलताले चहर्याउँदथ्यो, साँगुरोपनले अचेट्थ्यो, तर, खालीपनले, शून्यपनले, एक्लोपनले त आहतभावको पराकाष्ठा नै पार गर्दैछ अहिले, फोवियाले ग्रस्त हुन थाल्दैछु । मेरोभित्र र बाहिरको घेरा अनि यसको अपार परिधिबाहिर व्याप्त रहेको चकमन्नताले निस्सासिन्छु । पत्रिकाको एकखाप हावामा आकाशिँदै उचालिँदै मेरोअगाडि ‘फ्यात्त’ खस्छ, मभित्रको मन, चौतारीको पिपलको पात हावामा हल्लेसरी हल्लिन्छ र स्वतः हड्बडाउँछु त्यसपछि ।
दाँयातर्फबाट घरतिर फर्किन्छु । छेउछाउका सबै पसलहरु सबै नै खुल्ला हुन्छन् । पत्रिकाहरु हावाले वरिपरि त्यसै नै असरल्ल पारेको हुन्छ । सेभेन-इलेभेन सपतिर हेर्छु, कोही हुँदैनन् । गेटनिर पुग्दा स्वचालित खुल्दै बेल बज्छ, कोही छ कि भनेर भित्र पस्छु । सबै चीजहरु यथावत् हुन्छन्, ‘सर्भेलेन्स क्यामेरा’को ‘लेन्स’मा हेर्छु । कसैको कतैबाट कुनै प्रतिक्रिया आउँदैन, मेरो मूलगेटसँगैको चामल पसले बूढाको पसलभित्र छिर्छु, त्यसपछि ‘आसोक !’ ‘आई !’(अँकल….! आन्टी…..!) चिच्याउंछु सायद, सधै कहीँ कतै नगई पसलमा नै बसिरहने फरासिला उक्त बूढा-बूढी दुबै कतै पनि देखिंदैनन्, जो हमेसा मलाई देख्ना साथ ‘यम् छा !, यम् छा !’ भन्दै चिया पिलाउन खोज्ने गर्दथे, एउटा अति नमीठो अत्यास छाउँछ मनभरि अनि म श्रीमतीको पीरले पिरोलिन्छु र झसङ्गिएर लगभग दौडँदै हतार-हतार सिंढी उक्लन्छु । केही पलअगाडि थुनेको ढोका पूरा खुल्ला पाउँछु र साथमा मेरो फ्ल्याटको ढोका पनि ।
टेबुलमा खाँदा-खाँदैको खाना त्यसै हुन्छ, जुन उसले खाँदै थिई केहीबेरअगाडि, टीभी ‘अन’ नै हुन्छ, तर कहीँ-कतै उसलाई देख्दिन, चिच्याएर कराउँछु….बोलाउँछु……या पुकार्छु…..जवाफ नदारत हुन्छ । छातीबाट, जस्तो, मुटु उछिट्टिएर गलामा आइपुग्छ । आश्चर्य, पीर, डर, आदि अनुहारभरि पोतोझैँ पोतिइन्छ । आफ्नो अनुहारको राँकिएपछिको तप्तता बाहिरबाटै प्रष्टसँग महसुस गर्छु । छिमेकीको ढोका ढक्ढक्याउँछु र खुल्ला पाउँछु छिमेकी बाहेक । उनीहरुलाई आवाज दिन्छु, कोही बोल्न आउँदैन । भिडीयोबाट हिन्दी फिल्मको गीत आइरहेको हुन्छ, मायाले हेर्दै गरेकी हुनुपर्छ, बीचको टेबुलमा अझै वाफ आउँदै गरेको चिया हुन्छ, बालकाजीले पिउँदैथिए पक्कै नै । जीवन हीनताले उब्ज्याएको चीसोपना चियाको वाफले तताउन सकेको थिएन ।
बाहिर सडकै-सडक दौडँदै जोर्डनतिर लाग्छु । पूराका पूरा सडक खाली हुन्छ । केहीबेर दौडेपछि ढोका खुल्ला रहेको पुलिसको कार भेटिन्छ, भित्र वाकीटकीमा केही पनि सुनिंदैन । कारभित्र बसेर ९९९ डाएल गर्छु,आफ्नो मोबाइलबाट, अनि पुलिस इमर्जेन्सीको सेवा छान्छु, घण्टी जान्छ तर कसैले पनि उठाउँदैन । अचानक झसङ्ग भएर अनौठो अनुभव गर्छु, चेरीसँग मोवाइल भएको बारे यादै नभएको ! उत्साहित मन, उसको फोन नउठेको र लगत्तै भ्वाइस मेलमा डाइभर्ट हुँदा जमिन छुँदै उदासी छाउँछ, तर तुरुन्तै चेरीको मधूर स्वरले लगभग अनियन्त्रित अधैर्यता मनबाट आवाज बनी हृदयको पींध हुँदै हिस्टिरिया होला जस्तो हुन्छ । उसको भ्वाइस मेलको रिकर्डेड् आवाज आउँछ (….म अहिले व्यस्त छु….कृपया आफ्नो फोन नम्बर तथा म्यासेज छोड्नहोस्, म तुरुन्तै कल-ब्याक गर्ने छु ) शव्द बनि नसकेका वेदनाका कुरा पनि मुटुसँगै ‘हृवात्त’ मुखमा झैँ आउँछ । लगभग रुँदै केही बोल्न भने भ्याउँछु, (….प्लीज ! तुरुन्तै फोन गर, तिमी जहाँ भए पनि !… प्लीज !…प्लीज..!) साच्चै नै रुवाइको हिक्का छुटेछ केही । त्यसपछि अरु केही साथीहरुको फोन डायल गर्छु, कहीं कसैले पनि फोन उठाउँदैनन् ।
बाटो पूर्णतः खाली, निर्जन हुन्छ, पुलिसको गाडीमा बसेर ढोका बन्द गरेपछि जोर्डनतिर हुँइकाउँछु, नितान्त एक्लोपनले पटक्कै छाडेको छैन । जोर्डनको यमटीआरभित्र गएर बुझनलाई गाडी, ‘ए एग्जिटमा’बाहिरै छाडेर भित्र एकैसासमा पुग्छु, कतै कोही हुँदैनन् । रेलिङ्ग नाघेर तल प्लेटफार्ममा पुग्छु । नोटिस बोर्डमा अर्को रेल एकमिनेटभित्र आउने भनिएको भए तापनि रेल तोकिएको समयमा आउने कहीँ-कतै-कुनै लक्षण देखिएको हुँदैन । ‘प्लेटफार्म’ र वरपर ‘पिन ड्रप् साइलेन्स’ हरेक पल तानिने श्वासहरुमा पनि छाएझैँ लाग्छ, शून्य चर्कोसँग मानसमा बज्न थालेपछि हतासिएर बाहिर निस्कन्छु र दाहिनेतर्फ लगभग दौडन्छु । सँधै ‘ए एक्जिटको’अगाडि बसेर भीख माग्ने, जिउभरि घाउ नै घाउ आएर हदैसम्म कुहिएको चाइनिज बूढोको कचौरा, चकटी र उसले टेकेर हिँड्ने लौरो मात्र हुन्छ ऊबाहेक । म्याकडोनाल्ड रेस्टुरेन्ट हुँदै ‘वुमन स्ट्रीट’ पुग्छु, नेपालीको पसल ‘पशुपति स्टोर’ क्रेताविहीन हुन्छ । बाहिरकै र्याकमा राखिएको ‘एभरेस्ट साप्ताहिक’ पढ्छु । खास खबर केही हुँदैन । यता-उताबाट साभार गरिएका खबरहरुले पूरा जस्तो पानाहरु भरिएका हुन्छन् । ‘नाइट मार्केट’ हुँदै र केही हदसम्म कहालिँदै दौडन्छु । ‘मनकामना रेस्टुरेन्टमा’ कोही पनि नदेखिएका भए तापनि भित्रै पसी बेस्सरी चिच्याउँछु ‘बैनी’.! ‘साउनी’.! मेरो आवाजले मलाई नै जिस्काएझैँ लाग्छ । जनविहीन नाइट मार्केट छिचोल्दै जान्छु । मार्केटसँगैको सेभेन-इलेभेनतिर अनायासै आँखा पुग्छ, केहीपललाई एउटा अनौठो किसिमको मुस्कान छाउँछ ओँठभरि । त्यहाँ सँधै उभिएर ग्राहक कुरिरहने पारी चाइनाकी युवतीहरुले यसरी एक्लै-एक्लै दौडिरहेको एउटा मात्र पुरुष देखे के गर्थे होलान् ?
याउमातेइको पोष्ट अफिसअगाडि एउटा कार ‘इन्जिन-अन’ रहेकै अवस्थामा भेट्छु र भित्र पसेर त्यसलाई घुमाएर स्टारफेरीतिर कुदाउँछु, तर धेरैअगाडि बढ्न पाउँदिन, कारण, जताततै बस, कारहरु रोकीराखेको अवस्थामा हन्छन्, केहीअगाडि एउटा रोडमा लडिरहेको बाइक उठाएर त्यसलाई कुदाउँछु । कतै कुनै बसमा मानवको आदिम झलक भेटिँदैन, तर कुनै रुखतिर चराहरु देखेको झैँ भान हुन्छ । चुङ्किन मेन्सन परैबाट उराठ देखिन्छ । यसै त पूरानो बिल्डिङ, त्यसमाथि जनहीन, भूतीया घरझैँ देखिन्छ । बाहिरको ठूलो टीभी स्क्रिनमा पोष्ट-डेटेड प्रोग्राम चलिरहेको हुन्छ । भित्र पसेर मानिसहरुको उत्खनन् गरेझैँ खोज्ने रहरलाई लात मारेर बाइकको ‘ठ्रोटल’ निर्दयीताका साथ निमोठ्छु, अनि बाइकले मलाई उडाएझैँ गरी हुत्याएर लान्छ स्टारफेरीतिर ।
साइन्स म्यूजियमको मोडबाटै एउटा छुट्टै किसिमको विशाल जहाज देखिन्छ स्टारफेरीमा त, म हतारिँदै बाइक बीचसडकमा नै छोडेर बतासिएर दौडन्छु त्यतातिर । बसपार्कको दाहिनेको म्याकडोनाल्डअगाडि एकबथान् सेतो परेवाहरुलाई दाना दिँदै गरेकी, सेतै फुलेकी एउटी चाइनिज बूढी आइमाईलाई देख्दा, खुशीले रुवाइ नै फुट्छ गलाबाट र चिच्याएर कराउँछु केही । उनी म आएतिर हेर्छिन् पुलुक्क, मुस्कुराउँछिन्, अनि एकमुठी चारा फाल्छिन् परेवाका बथान्तिर,…..त्यसपछि मेरो आँखाअगाडि त्यहीँबाटै हराउँछिन् ।
मैले कतिपटक या कतिबेर आँखा ‘झिम्झिम्’ गरेँ ! लेखाजोखा छैन । कतिबेर स्टारफेरी चाहारेँ ! त्यसको पनि गन्ती छैन । हतास, निरास भएर कतिखेर त्यहीँ परेवाको बथान्नेर अघि उक्त बूढी आइमाई बसेको ठाउँमा बसेछु, पत्तै भएन र हातहरु स्वतः परेवाका दाना मुठ्याउँदै गए । परेवाहरु हेपेझैं गरी हातमा नै ‘गुटुर-गुटुर’ गर्दै दाना टिप्न थाले । दिमागमा शून्य चर्कोसँग बज्दै गयो, तैपनि, मुठीभरि-भरि दाना बटुल्दै परेवातिर फाल्दै गएँ अनवरत ।
अचानक, नजिक केही सुसाएझैँ लाग्छ । कुनै मेशिनको हल्का आवाज कान नजिकबाटै आउँछ । त्यसपछि अदृश्य कुनै बन्धनमा जकडिइन्छु र यस्तो लाग्छ बिस्तारै उचालिइन्छु, परेवाहरु पर धेरै पर हुँदै जान्छन्, आँखाअगाडि धमिलो छाउँछ र तुरुन्तै त्यसपछि होस हराउँछु ।
एउटा विशाल हलको एक कुनामा थचक्क फर्शमा बसिरहेको अवस्थामा पाएँ आफूलाई जब केही असजिलो किसिमले आँखा खुल्यो । एउटा ठूलो सीसा नै सीसाले घेरिएको हलतिर, सिलिङ्गभरि थरि-थरिका ‘हृयाङ्गिङ क्रेनहरु’ भएको कोठामा अर्धवेहोसीको हालातमा रहेको मानिसहरुलाई क्रेनका हातहरुको मद्दत्तले पालैसँग उठाउँदै भित्र लगेका हुन्छन् । मेरो मस्तिष्क घुमिरहेझैँ या पूरा शिर नै फनफनी घुमिरहेको हुन्छ । रोबोटका मेशिनरी आवाजहरु पर धेरै परबाट आइरहेझैँ भइरहेछ । एक किसिमले सम्पूर्ण चेतनशीलता शिथिल भएझैँ म लर्बरिँदै उठ्छु । यो सायद, केही समय यताबाट हुँदै गरेको अविश्वसनीय, अप्रत्यासित घटनाक्रमले गर्दा या मेरो मस्तिष्कका नसाहरुमा भएको अत्यधिक रक्तचापले गर्दा मैले होस त्यति गुमाएको छैन सायद, तर, मसँगैका अरुहरु सिर्फ’ट्वाल्ल’ वा मूक बन्दै उभिरहेका हुन्छन् ।
म हतारिएर चारैतिर हेर्छु । मानिसहरु सपनामा हिँडिरहेको झैँ लाग्छ । कोही सेमिनारमा एटेण्डेड भएझैँ, कोही भर्खरै बेडबाट उठेझैँ, केही अर्धनग्न, तर जम्मामा भने सबै नै निन्द्रामा हिँडेझैँ देखिन्थे । म छातीभित्रको सानो मुटुभन्दा अपार मूर्तनाहरुमा छट्पट्टिदै चारैतिर घाइते नजर घुमाउँछु, कतै यी हूलमूलमा कुनै नेपाली आकृति देख्छु कि भन्दै । अचानक साइरन अनौठो किसिमले बज्छ । सिलिङ्गभरिको क्रेनहरुको ‘रोबोटिक’ प्रक्रियामा हतासको हतार थपिन्छ र क्यूमा उभिएकाहरुलाई द्रूत गतिमा उचाल्दै भित्र थुपार्छन् । म सायद तिनीहरुको प्रभावक्षेत्रबाहिर दौडँदै गरेको भएकोले या साइरनले समय सिध्याएको जनाएकोले या सिर्फ म दौडन सक्ने अवस्थामा भएकोले मलाई उक्त क्रेनले उठाउन आएन र अन्तिम एउटा पुड्को कालो मान्छेलाई भित्र लानुभन्दा, अघि गेटबाट भित्र लगिईँदै गरेकी उक्त सेतै फुलेकी चाइनिज बूढीलाई देख्छु, त्यो सीसाको ठूलो गेट स्वचालित बन्द त्यसपछि भयो, अनि भित्रबाट कुनै किसिमको आवाज आएन ।
म, भित्र जान नपरेकोमा खुशी भएँ या जानलाई हतारिएँ, त्यो याद छैन, तर, सीसा बाहिर-बाहिर चारैतिर हजारौँ-हजारौँका सँख्यामा भएको त्यो जमातमा म चिनेजानेको, या नेपाली अनि श्रीमतीलाई खोज्न थालेँ धेरै नै हतारिएर । धेरैबेर यसैगरी भौँतारिँदा सायद रिस तथा विक्षिप्तताले या अधैर्यशीलताले हो, लगातार त्यसपछि सीसाबाहिरबाट ठोक्न थाल्छु । केहीबेर पागलझैँ सीसा ठोक्दै र दौडँदै अगाडि जाँदा मुख्य गेटको ठीक अगाडितर्फको ठूलो-ठूलो मेशिनहरु र मानिसहरुका घुँइचोमा भूपू ‘चिफ एक्जेक्यूटिभ तुङ्ग ची हृवालाई’ देखेँ । उनीलाई भर्खरै उनको दाँयातिरको सानो पोखरीमा लुगासँगै डुबाएर निकालिएको थियो । उनी भिजेको बाघ जस्तो भएका थिए र बिस्तारै अनिँदो किसिमले शिरबाट पँहेलो तरल पदार्थ पुछ्दैथिए दाहिने हातले । ठूलो अक्षरमा अँगे्रजीमा ‘प्लेटिनम स्प्रे कभर’ लेखिएको रोबोट मेशिनअगाडि उभिएका ‘तुङ्ग ची हृवाको’ छातीमा अचानक रोबोटको देब्रे हात द्रूत गतिमा चल्छ र निमेषभरमा ‘बुलुक-बुलुक’ धड्किरहेको उनको मुटु रोबोटको हातमा हुन्छ, जसबाट रगत ‘छताछुल्ल’ भएर चुहिन्छ, तर उनी अनौठो पनले गतिहीन, अनुभूतिहीन ट्वाल्ल पर्दै आफ्नो मुटुलाई रोबोटले आफ्नो दाहिने हातबाट ‘प्लेटिनम स्प्रे’ केही सेकेण्डभरमा गरी फेरि वापस छातीमा राखेको हेरिरहन्छन् । लगभग आधा मिनेटको यस प्रत्यारोपणपछि उनलाई अर्को एउटा मेशिनले उचालेर नजिकैको छुट्टै रशायनको पोखरीमा डुबाएर बाहिर निकाल्दा उनको अनुहारमा तीखो प्रकारको दृढता र प्रष्ट चमक छाएको हुन्छ । शरीरमा कुनै किसिमको घाउ हुँदैन । आँखा सफा कोरा कागज जस्तो निष्प्राण, अगाडि ट्वाल्ल पार्दै बढ्छन्, भर्खर पूरा चाबी घुमाएर छोडेझैँ, त्यसपछि लगत्तै ठीक सामुन्नेको गेटबाट हराउँछन् । यतिखेर मेरा आँखाहरु जति फैलिए पनि परेलीको घेराबाट भने फुत्कन भ्याएको थिएन । यति थोरै अवधिमा यति धेरै, अति नै अविश्वसनीय घटनाक्रमले थिलो-थिलो हुने गरी हानिसकेपछि यो भर्खरैको घटनालाई औसत मानी अरु झेल्न क्रमशः धर्मराइरहेको हृदयले प्रेरित गरेकोले अरु ज्यादा नआत्तिँदै तर हतारिँदै फेरि चारैतिर भौँतारिन थाल्छु ।
मेरो मन गति शून्य भएको छैन र यति छिटो-छिटो चलिरहेको छ कि, प्रायः अचलझैँ महशुस हन्छ । मनमा स्थीरसँग कुनै कुरा खेलिरहेको छैन । कुराहरुको, अनुमानहरुको, शँका उप-शँकाहरुको लामबद्ध म्याराथून भइरहकोछ भित्र या कुमालेको चक्र घुमेझै सबै घुमिरहेछ । कहिले आँखा ‘झिम-झिम’ गर्छु, चिमोट्छु सपना हो कि भनेर, तर आँखाबाट अविश्वास विस्तारिएर फैलिन्छ अनि मन-मथिङ्गलमा हराएको मेरो हतार आँखाहरुमा भौँतारिन्छ र हतारिएर हेर्छु, चारैतिर खोज्न थाल्छु, चिहृयाउन थाल्छु । दाँयातर्फको कुनातिर केही नेपालीहरु पनि देख्छु र लगत्तै बेस्सरी चिच्याउन थाल्छु ‘ए..साथी हो !…मामा…! …छ्यामा !….सोल्टी !…ब्रो !…ए ! मित्रहरु !….कसैले मेरी श्रीमतीलाई देख्नुभयो…..- यता सुन्नुस् त ? प्लीज …!’ तर कसैले पनि सुन्दैनन् । मेरो आवाज त्यता पुग्दैन, थाहा पाउँछु, तर त्यसबारे खिन्नता उब्जँदैन, न त शरम नै लाग्छ, एक्लै चिच्याउँदा । सबै नेपालीहरु मलामी मानसिकता बोकेर निरुत्तर क्यूमा बिस्तारै सरिरहन्छन् । परको पोखरीनिर केही नेपाली आइमाइहरु हुन्छन्, र म त्यसको ठीक सामुन्नेको सीसाबाहिर उभिइन पुग्छु ।
मेरो मुटु छातीबाट गला हुँदै लगभग उछिट्टिन्छ, आँखाहरुबाट आँशु अनि मुखबाट चिच्याहट निस्कन्छ एक्कासी……….। एउटा रोबोटको देब्रे हातमा मेरी श्रीमतीको मुटु हुन्छ, उसको छातीमा भ्वाङ परेको हुन्छ र रगत, नाइट ड्रेसलाई भिजाउँदै चुहिएको हुन्छ । मेरो शरीर जताततै पोल्छ, दुख्छ, चहर्याउँछ । म चिच्याउँछु बेस्सरी र ठोक्छु दुबै हातले सीसा, बाहिरबाट । कसैले सुन्दैनन्, देख्दैनन्, म एकतमाससँग चिच्याइरहन्छु । ऊ चुपचाप रोबोटले आफ्नो मुटुमा ‘स्प्रे’ गरेको यसरी हेरिरहन्छे कि मुटु एउटा वहूमल्य हिरा हो र यसको चमकले ऊ पूर्ण सम्मोहित भएकिछे । म भुइँ छोएका दुखाइबाट आर्तनाद गरिरहन्छु । उसको गोरो अनुहारबाट केश हुँदै तरल च्यूँडोबाट बगिरहन्छ र मोतीका दाना जस्तै देखिने थोपाहरु केशबाट तप्प-तप्प चुहिरहन्छ । मलाई त्यस्तो खुब मन पथ्र्यो, तर ऊ तुरुन्तै ‘हेयर ड्राइ’ गर्ने गर्दथिई ‘डा्रयरले’ । म यतिखेर अहिले लाचार, दीन, निरीह, सीसाबाहिरबाट ठोक्दै फगत हेरिरहन्छु सीसाभित्रको दृश्य । उसलाई मुटु वापस राखिसकेर भर्खरै अर्को रशायनको पोखरीमा चोपलेको हुन्छ । म श्वास रोकेर वा तलको तल अनि माथिको माथि पारेर ‘ट्वाल्ल’ हेर्छु, किनकि, ऊ अहिले, मात्र केही फुटको दूरीमा मेरो ठीक सम्मुख सीसाभित्र हुन्छे । केश झट्कार्दै जब ऊ सतहमा उभिन्छे । नितान्त भिन्दै देखिन्छे । उसको अनुहारमा कुनै किसिमको भाव हुँदैन । कागज जस्तो सपाट, आँखामा अव्यक्तपनले शून्य छाएको हुन्छ । उसका आँखाहरु सीधा अगाडि पर्छन्, जसको ठीकसम्मुख म उभिएकोले उसको आँखाहरु सोझै मेरो आँखामा पर्छन् । यो उसले देख्दिन, भित्रबाट बाहिर देखिँदैन, यस्तै लाग्छ, किनकि अहिलेसम्म कसैले पनि देखेझैँ प्रतिक्रिया नजनाएकोले यस्तै सम्झेकोछु । जब उसका नजरहरु मेरोमा परे, म शीरदेखि पैतलासम्म काँमेँ…र थर्थरिएँ । कति निरस थिए उसका नजरहरु ! बयान गर्नै सक्दिन । सायद ढुङ्गा जस्ता ! निर्भाव ! पूर्ण यौवनमा नै विधवा भएकी युवतीको खाली सिउँदो जस्तो ! के के अन्य नबुझिने कुनै उपमा जस्ती भएकी भए तापनि पक्कै मेरी श्रीमती जस्ती चाहिँ देखिएकी थिईन ऊ । उसका नजरहरु यत्ति ज्यादा चीसा थिए कि म आँतबाट नै काँम्मिरहेको थिँए ।
त्यसपछि अर्धबेहोसिन्छु । केही अथवा धेरैबेरपछि कुनै मेशिनले लतार्छ मलाई, पहिलो गेटबाट भित्र छिराउँछ । कहीँ कतै पनि मानिसहरुको निसान हँदैन । अर्को क्रेनले भित्रबाट झुण्ड्याएर अगाडि लान्छ । म उँधो मुन्टिएर सिलिङ्गतिर हेर्छु । सिलिङ्गभरिका क्रेनहरु बिस्तारै खुम्चिएर ‘प्याकअप’ हुँदै गर्छन् । मलाई पोखरीमा डुबाइन्न, न त मुटु नै निकालिन्छ यसमा ‘स्प्रे’ गर्नलाई । धन्य …! जस्ताको त्यस्तै ‘एक्जिट गेटमा’ पुर्याइन्छु । त्यसपछि नजिक केही सुसाएझै लाग्छ । क्रेन सिलिङ्गमा खुम्चिसकेको हुन्छ । वर, केही मेशिनको खट्पट्को आवाज आउँछ, अनि अदृश्य बन्धनमा जकर्डिन्छु, बिस्तारै उचालिईन्छु । आँखाअगाडि धमिलो छाउँछ र पूर्णतः त्यसपछि होस हराउँछु ।
स्टारफेरिको त्यही ठाउँमा उस्तै गरी परेवाहरुलाई आहारा फाल्दै गरेको अवस्थामा आफूलाई पाउँछु आँखा र मस्तिष्कको ढोका खोलिँदा । गाडीहरुको ‘घाँइघुँइ’ मानिसहरुको अत्यधिक भीड र कोलाहलताले उब्जाएको व्यापक असजिलोहरु, एक्कासी यसरी मेरो चेतनशीलतामा प्रवेश गर्दा केही पललाई किँकर्तव्यविमुढ भएको थिँए । लगभग चारा टिपिरहेको परेवाहरुलाई कुल्चेर मारुँलाझैँ गरी हिँड्दै गरेकी उही सेतै फुलेकी चाइनिज वृद्घालाई देख्छु र उठेर त्यसपछि अलिकति निहुरिएर ‘हाई’ भन्छु । उनी ‘फ्यात्त’ सतही नजर फालेर परेवाहरुलाई धपाउँदै अगाडि लाग्छिन् । म उड्दै गरेका परेवाहरुमा आफ्नो अपहेलित स्वरुप खोज्छु एकै पल अनि हुङ्गहाम जाने बसको लाइनमा उभिन्छु ।
लाइन लामो भइसकेको हुन्छ तर बसको ढोका भने खोलिएको हुँदैन, बुझनलाई लाइनबाट अलिकति बाहिरिएर बसतिर हेर्छु । चालक बसभित्र हुँदैन, लगत्तै आफ्नो ठाउँमा फर्किन्छु, तर, कानमा यमपीथ्रीबाट गीत सुन्दै उभिएको मान्छेले पछि जाने सँकेत गर्छ । म उसलाई बताउन खोज्छु कि बसको ढोका किन नखोलेको हेर्न एक मिटर त्यहँा सरेको तर ऊ ठाउँ दिँदैन, कर्कश नजरले घुर्छ मलाई, अनि म चुपचाप पछाडितिर लाग्छु ।
बसमा चढेपछि चेरीलाई फोन गर्छु । केहीबेरको घण्टीपछि उसले उठाउँछे । म सायद ज्यादा नै चिच्याउँछु । मेरो ‘छ्याल्लव्याल्ल’ हुन गएको मुटुभित्रको खुशीबाट बेखवर वरिपरिका यात्रुहरु आग्नेय नेत्रले मलाई हेर्छन् । उता चेरीको ‘घरमा नै छु’ भन्ने सामान्य आवाज आउँछ उत्साह बिनाको र पनि बसभित्रै हतारिन्छु घर पुग्नलाई । लाखौँ कुराहरु छन्, लाखौँ जिज्ञासाहरु छन्, गुनासाहरु पनि त्यतिकै छन्, तर चासो छैन त्यसको, झगडा गरेर निस्केको थिँए । म आयन्दा कहिले गर्न सक्दिन, प्रण गर्दैछु मनमनै । धेरैबेर, यी सबै सपना जस्तै लाग्थ्यो, तर होइन रहेछ । केहीपछि टिभीबाट थाहा पाउँछु, हङ्गकङ्गको समय केही घण्टालाई रोकिएको थियो रे, ‘हूयमन अपडेट’ गर्नकोलागि । बाहिरबाट, उस्तै छन् मानिसहरु । कसैले यसबारे कतै चासो देखाएनन् । कतै केही परिवर्तन भएको थिएन । सबै अर्धबेहोस थिए त्यो प्रक्रियामा र यो समाचार पनि ‘कम्प्यूटर जेनेरेटेड’ हुनुपर्छ, तर मेरो मनभित्र, जस्तो, हाहाकार मच्चिएको छ, किनकि, कसरी ‘अपडेटेड’ भए उनीहरु, त्यो सप्रसँग थाहा छ मलाई । सम्झना नै कहाली लगाउन पर्याप्त छ ।
एउटा लामो जिन्दगी गुजारेर आएको छु म घरमा । थोरै अवधिमा मेरो मस्तिष्कको चित्रपटलको क्यानभासमा जीवनका सबै रङ्गहरु थुप्रो-थुप्रो गरी लत्पतिँदै यत्र-तत्र छरिएकाछन् ‘अब्स्ट्राक्ट आर्ट (अमूर्त कला) बनेर र म मनभित्रबाट, मस्तिष्कभित्रैबाट एकोहोरिरहन्छु, बुझने प्रयत्न गर्दैछु । क्यानभासभित्र रङ्गहरु खल्बलिन्छन्, रेखाहरु कोरिन्छन्, मेटिन्छन् अनि काठ, बाकस, साइकलजस्तो स्वरुपमा मान्छेका झैँ आकृत्ति बन्छन् जो यन्त्र-स्वचालित उठ्छन्, बस्छन्, हाँस्छन् । यद्यपि, अबुझ, अन्यौल भए पनि दशैँको बेला घर फर्केको लाहूरेको मानसिकता बोकेर हतारिँदै घरतिर दौडन्छु बसबाट उत्रेपछि । साँच्चै भन्ने भए चेरीलाई अँगालेर रुने विचार छ । सबै छन् र उस्तै देखिन्छन् अनि यथावत ! पत्रिकापसलको बूढा पत्रिका मिलाउनमा तल्लिनछन् । सेभेन-इलेभन सपमा मानिसहरु किनमेल गर्दैछन् । सडकपेटीमा मानिसहरुको आउने र जाने को सँख्या उस्तै तीव्र छन्, तर, म आफूलाई सर्वथा बेग्लै लाग्दैछु । अनुहार पनि निन्याउरो, फुस्रो, आँखाभरि पानी टम्म भएझैँ, मनभरि वेदनाहरु उम्लिएझैँ, ध्यान ठाउँमा नभएझैँ, अस्थिर-अस्थिर अनुभव गर्दैछु आफूमा । हातहरु काँम्मिरहेकाछन् ।
चामल बूढा-बूढी केही खाँदै हुन्छन् पसलभित्र । म बर्षौपछि भेटेजस्तो गरी भित्र हतारिएर पस्छु । मैले बोल्न नपाउँदै मलाई देख्ना साथ ‘ले हौ ?’(कस्तो छौ ?) भन्छन् बूढो र बूढीसँग कपाकप खाना खान थाल्छन्, ‘अ केइ हौ, लेइ तेइ ले ?’(म ठीक छु, तिमीहरु नी ?) सोध्छु तर उनीहरु नबोलेरै फिस्स हाँसोले काम चलाउँछन् । यत्तिको निरस, यो उमेरमा त कुनै पनि हालातमा हुनु नपर्ने, तर भइरहेछन्, धेरै-धेरै नहुने कुराहरु भइरहेछन् । म त्यसपछि मुटुभरि विसादहरुले गह्रुङ्गिदै आफ्नो फ्ल्याटतिर उक्लन्छु ।
ढोका खोलेपछि उसलाई अँगाल्न जाने रहर ढोकानजिकै मसँगै अड्कियो । ऊ कतै जाने सुरसारमा हुन्छे । त्यति लामो सिल्की केश ठुट्याएर ‘ब्वाइज्-कट’ स्टाइलमा काटेकी रहिछे । सिर्फ एकैपटक, मात्र एकैपलको लागि ‘पुलुक्क’ हेरेकिथिई मलाई । म केहीपल विमूढ बनेँ, त्यसपछि अनि अप्रासाङ्गकि पनि । मनभरि ‘उथलपुथल’ गरिरहेको भावावेसहरु एकाएक शान्त भएझैँ स्थीर महशुस अचम्भैसँग गरेँ । कुनै पनि कोणबाट अब ऊ पहिलेकै जस्ती चाहिँ देखिन्न, त्यसमाथि त्यति लामो केश !
‘कपाल किन काटेको नी ?’
‘मलाई लामो मन परेन ।’ हेर्दै नहेरी जुत्ताको फित्ता कस्दै जवाफ दिई ।
‘लामो केशमा राम्री देखिन्थ्यौ…..।’ ख्वै, चुक्चुकाएको हो कि सम्झाएको हो या पिरोलिएको हो….त्यस्तै निस्क्यो मुखबाट ….सतही अनि कोरा !
‘कसैको लागि राम्री देखिएर खुशी पार्नु छैन मलाई ।’ त्यसपछि ऊ उभिएकि थिई र उस्तै गरी सीधा हेरेकि थिई मेरो आँखामा । मलाई लाग्यो, म सायद यस्तै भए रोइदिन्छु होला, झीरझैँ तीखोसँग मुटुभित्र घोँसेर गढ्यो उसको नजर । मेरुदण्ड नै ‘सिरिङ्ग’ हुने चीसो पस्यो शरीरमा ।
‘मैले भ्वाइस् मैसेज छोडेको थिँए ।’ कति कमजोर बनेँ म अनि कति लाचार ? शब्दमा उतार्न सकिरहेको छैन । तर उसले सुनेकि भए, सुन्ना साथ फोन किन गरिन ? मेरो लगभग रुवाइको बारे केही प्रतिक्रिया छैन ? के भयो ? किन आत्तिँए ? कुनै सामान्य जिज्ञासा पनि वाँकी छैन ? मतलव यस्तै नै बुझन चाहान्थेँ, सायद । तर ऊ उस्तै तटस्थ !
‘फोन गरिहाल्न जरुरी ठानिँन, किनकि तिमी घरै र्फकँदैथियौ । क्षण-क्षणमा मन चेन्ज गर्ने बानी बदल, समयसँग बदलिन सिक ।’
ढोका त अघि नै बन्द भएका थिए । ढ्याम्मको आवाज क्षणभरमा नै विलीन भएको पनि थियो ऊ गइसकेपछि, तर, मनाकासमा त्यो ढ्याम्मको प्रतिध्वनि लगातार भइरहेछ । कतैभित्र एक-एक गर्दै ढोकाहरु थुनिँदैछन् । म असहाय, निरीह, लाचार अनि मौन छु प्रत्यक्षतः, तर पीर, वेदनाहरु रिले दौडँदै आउँदैछन् । म पूर्णतः मेरो सँसार छरपस्ट भएर छिरल्लिएको पाउँछु, भताभुँग भएर भत्किएको भेट्छु म । वैयक्तिताको पराकाष्ठामा लथालिँग परेको मेरो जिन्दगी अनायासै असम्बरणीय पाउँछु आँखाअगाडि । वैयक्तिततामा मभित्रको रङ्गहरु चुहिन्छन्, खुइलिन्छन्, या त मेटिन्छन् । अनुभूतिको अवसान भएको उसको छातीभित्र छरिएका मेरो रहरका सुस्केराहरु, शीतझैँ मेरै भावाकासबाट मेरो मुठिभित्र रङ्ग बनी खस्छ र मेरा प्रयासहरु हारेर चुहिरहेको फगत हेरिरहन्छ, अनि म खुइलिँदै जान्छु बेरङ्गसँग क्रमशः । रङ्गहरुको पूर्णतः विलयको डरले पलायन हुन वाँकी रहेको आफ्नोपन समेट्दै अनि हतारिँदै वाँकी रङ्गहरु घोल्नथाल्छु….जीवन बिस्तारै अमूर्त जो बन्दैथियो । क्रृयारत मन, मभित्रको आफ्नोपनभित्र केही हुँडुलिएर आउँछ र आँखा रसाउँछन् सायद, त्यसपछि धमिलो मात्र देख्छु जता हेरे पनि । कतै केही फुट्छ, कतै केही चर्किन्छ, कतै केही जल्छ, तर मुटुभित्र म तड्पिन्छु । किन ? त्यसरी म मात्रै दुख्छु ? कतिबेला जिल्लिएर, चुपचाप सोफामा थचारिएछु, थाहै भएन । भित्ताभरि लगन र जतनकासाथ सजाईएका युगल फोटोहरुले सामूहिक रुपमा खिस्याएको झैँ लाग्छ । मनभित्रको शून्यताको निरीहपनामा पूर्ण सम्वेदनाहरु भित्तासँगै, जस्तो, एकाकार हन्छन्, र समस्त जाँगर, रहरहरु उसैगरी एकपछि अर्को हुँदै जमीनमा थचारिन्छन् ।
अब ती सबैसँग चेरी पनि ‘अपडेटेड’ भएकिछे । अब मेरा घुर्कीहरुले छुँदैनन् उसलाई । मेरा प्रणय सम्बेदनशीलताले मुग्ध पार्दैन उसलाई । म रुँदा, म छट्पटिँदा, म तड्पिँदा, ऊ आर्तनाद गर्दिन । मार्मिक सिनेमा हेरेर आँखाभरि आँशु पारेर बस्दिन ऊ, छातीको ढोकामा भित्रबाट ठूलो गजबार लगाएर सम्वेदनहीन बन्नेछे ऊ । रङ्गिन फूलहरुमा, रङ्गनि पुतलीहरुमा, कलिलो सूर्योदयमा, रक्तिम सूर्यास्तमा, अब प्रीत फुल्दैनन्, प्रणय फक्रँदैनन्, किनकि सबै नै ‘अपडेटेड’ भइसकेका छन् । विज्ञानको उत्कृष्ट खोज ! सारा तथानामका विसँगतीहरुबाट मानवीय सम्भावनाहरुलाई बचाउनको लागि, यसको विकास गर्नको लागि, मुटुमा ‘प्लेटिनम कोट स्प्रे गरिएको छ । अब त्यसैले, दुख्दैनन् अब मुटुहरु ! रुँदैनन् अब आँखाहरु !
मुख्यतः अब, ऊ कुर्दिन कहिल्यै मलाई टेबुलमा खाना तयार पारेर । कुर्दिन अब ऊ आँखाभरि बैशालू मन, मादपूर्ण रहरहरु ‘टल्पल-टल्पल’ पारेर बेडमा । कुर्दिन अब ऊ विशाल चौतारी जसरी आश्रयपूर्ण प्रेमको अँगालो फिँजारेर । अब, म अनि मेरा रहरहरु चुपचाप ढोका खोल्दै पस्छन् भित्र र चुपचाप भित्ता छाम्दै मनसँगै अढेसिन्छन् कतै कुनामा, भित्ता जो मनसँगै चिसिएका हन्छ, चीसोपन जुन मनभित्रको कुनाको भाव भएका हुन्छ । चिस्सिएर काई जमेका भित्ताजस्तो भरोसा पारेर म मनभित्र रङ्गहरु उमार्न थाल्छु, शीतझैँ तप-तपिएका रहरहरुले घोल्दै अनवरत भित्ता भर्न थाल्छु – तातो रङ्गहरुमा कतै कुनै कुनाबाट केही न्यानिन्छ कि भनेर ।
साँझ परिसकेको हुन्छ । बाहिर जगमग गर्दै शहर उज्यालिन्छ । एउटा यान्त्रिक रहर शुरु हुन्छ पटाक्षेपभित्र । मुटुबाट मन हराएकाहरुसँग अब मन हुनुको पीडा बोकेर पल-पल मुटु दुखाउँदै म त्यसपछि भने आफैभित्र अँध्यारिन्छु, खुम्चिन्छु, अनि क्षण प्रतिक्षण आफ्नै व्यथाहरुमा फैलिन्छु अनवरत लगातार त्यसपछि क्रमशः……….!!!!!!!!
(स्रोत : Ghtanarabichar.com)