निबन्ध : मृत्युलाई पर्खदा

~सुबिसुधा आचार्य~SubiSudha Acharya

घरले जा जा वनले आइज आइज, भन्ने उमेरमा ओच्छ्यान लगाएर बस्नु जति पीडादायक कुरा मान्छेलाई अरू के नै होला र हजारौं युगको इतिहास पल्टाएर हेर्दा पनि मानव मृत्युसँग जति अरू वस्तुसँग डराएको बिल्कुल पाइन्न । त्यसो त मान्छेको के कुरा हरेक प्राणी, जीव जीवात्मा

सबै मृत्यु जीवनको अन्त्येष्ठी भने पछि भयावह मानसिकता बनाउँछन् ।
मृत्यु यानेकि काल, भन्ने बित्तीकै सबैको मानसपटलमा महाभूकम्प जान्छ ज्वालामुखी पड्कन्छ, सुनामीजस्तै उर्लेर आउँछ, करेन्ट जस्तै लाग्छ । यसो किन हुन्छ होला त के काल एउटा हाउगुजी हो जसले सबैलाई तर्साउँछ ।
हुन पनि मृत्यु छ नै त्यस्तै, मृत्युको रूप हुँदैन पनि र लाखौं हुन्छ पनि । यसलाई कसरी परिभाषित गर्ने त किताब पुराणहरूमा मृत्युको बारेमा जति ब्याख्या गरेपनि मृत्युसँग साक्षात्कार भएर पुनः जीवित भएको कोही भेटिएकै छैन । मृत्यु कहिल्यै बाजा बजाएर आउँदैन पनि । पृथ्वीका हरेक चीज वस्तुमा मृत्युको छायाँ भने अवश्य देखिन्छ त्यो पनि धमिलो, मृत्यु कहाँ हुँदैन घरको छत, पाली, भ¥याङ्ग, भीर, खोला, अग्लो रूख, बिजुलीको तार, चट्याङ्ग, बाघ, भालु, घोरल, चित्तल, बँदेल, बिच्छी, सर्प, लुटाहा, गुन्डा, धारिलो हतियार, गहिरो खाडल यतिसम्मकि घरको संघार ठेलोमा सम्म मृत्यु मुख बाएर बसेको हुन्छ ।
फरक यति हो आफ्नो दिन नआइ, आफ्नो मानो नसकी जान पाइँदैन । त्यो पलसम्म न लिन आउनेले आउँछ न त लैजानेले नै लैजान्छ ।
मृत्यु एक यस्तो अजिब ध्रुवसत्य हो न बोलाएर आउँछ न अस्वीकार गर्न नै सकिन्छ । त्यसैले होला खोजेर नपाइने र टार्न नसकिने भनी मृत्युको परिभाषा दिन्छन् मान्छेहरू । कसैलाई मृत्यु अभिशाप हुन्छ जो बाँच्न चाहन्छ, मृत्युदेखि डराउँछ तर्सिन्छ उसैलाई पच्छ्याइरहेको हुन्छ तर त्यसको अलावा जो मृत्यु चाहन्छ, आफूलाई मृत्युले धुलो पीठो पारेर चपाओस् खाओस् भन्ने लाग्छ एकातिर रगतको पोखरी र अर्कोतिर हाडखुर मासुको थुप्रो बनाइदियोस् भन्ने लाग्छ तर विडम्बना उसैसँग मृत्यु चारकोस टाढा भैदिन्छ ।
यतिखेर म प्रसङ्ग उठाउँदै छु मृत्युलाई पर्खदा कति कष्टकर जीवन गुजार्छ मान्छे, उमेरले चारबीसको खुड्किलो उक्लिएको म गत छ महिनादेखि मृत्युको बाटो कुरेर पर्खिरहेको छु मेरो यो पर्खाइ, अग्निपरीक्षाभन्दा कम छैन ।
कहाँ बस्छ कस्तो छ मृत्यु नामको सिकारी, उसलाई अस्त्र शस्त्र चलाउन त खुब आउँदोरहेछ । उसैले चलाएको बाँणबाट मेरो एउटा हात र खुट्टा नचल्ने भएको छ, निर्दयी पापी रहेछ ऊ, पाप र पुण्यको कुरा उठाउँछन् सबैले । मृत्यु झन कति पापी होला बरू चटक्कै चुडेर लैजाओस् यसरी अपाङ्ग बनाइदिनुभन्दा त ।
“के भन्नु र खै धोका दिनेलाई तिमी हाँस भो मै बसँुला रोई” भनेझैं आजभन्दा पन्ध्र्र वर्ष अगाडिदेखि मैले दुवै आँखाको ज्योति गुमाएको छु त्यो पनि त्यही मृत्यु नामको सिकारीको करामत हो । चस्माको पावरबाट कृत्रिम बाटो अपनाउँदै संसार नियाल्नु कति कष्टकर हुन्छ त्यो “खुकुरीको चोट अचानोलाई” मात्र थाहा भए झैं मलाई नै थाहा छ । यो मेरो जीवनमा मृत्युले चलाएको पहिलो अस्त्र थियो । पाँच वर्ष अगाडि अर्को शस्त्र छोडेर एउटा कान पनि नसुन्ने भएँ । आज आएर एउटा हात र खुट्टा नै नचलेपछि जिउन कति कष्टकर भैरहेको छ होला त त्यो कुरा भोग्ने मान्छेलार्ई मात्र थाहा हुन्छ । मृत्युलाई पर्खदा जति गाह्रो अप्ठेरो त कहिले पनि हुँदैन ।
म पनि एउटा प्राणी, एउटा अस्तित्ववान वस्तु, एउटा मान्छे, मृत्युले चलाएका रामबाँण, धनुबाँण, पर्शुरामबाँण, जेजे बाँण वर्साएर भए पनि मेरो शरीर अर्धमृत भएको छ, अब बाँकी छ मृत्युबाँण छाडेर एकमुठी प्राण हावामा उडाउन र यो शरीरलाई निष्क्रिय बनाउन । त्यो क्षणको पर्खाइ किन यति लामो निसासिँदो, पट्यार लाग्दो ।
हैन मानिसको भाग्य छैंटीमा भाविले लेख्छ भन्थे, खै कुन मसीले लेख्यो होला । कहाँनेर लेख्यो होला, छालाभित्र कि बाहिर । यदि बाहिर लेखेको भए त देखिनु पर्ने हो, के भनेर लेख्यो होला मलाई आफ्नो भाग्यदेखि उदेक लाग्छ, रीस उठ्छ, घृणा जाग्छ र भाग्यप्रति पलाउँछ वितृष्णा ।
देशमा विकासको घाम ल्याउँछु भन्ने, परिवर्तनको भेल बाढी बगाउँछु, गरिव निमुखाको सहारा, लङ्गडाको बैसाखी बन्छु, आम नेपालीको जीवनमा सुख र अमन चैन स्थापना गराउँछु भन्ने मदन भण्डारीलाई त दास ढुङ्गामा जिप दुर्घटना हुँदा त्रिशूलीले निल्यो तर म कैयांै पटक त्यही दास ढुङ्गाको बाटो हुँदै कहाँ कहाँ गएँ कति पटक गएँ जसको कुनै लेखा जोखा छैन । अहँ मलाई त्रिशूलीले कहिल्यै निल्न सकेन । यसो भनौं त्रिशूलीले निल्ने मौका नै पाएन ।
म जति बेला स्वस्थ तन्दुरूस्त थिएँ त्यो पल कसैले मेरो अवस्था भएका मान्छेको कुरा गर्दा तर्सिन्थेँ करेन्टको झट्का लागेझैं हुन्थ्यो तर विडम्बना म नै यसरी ओच्छ्यानमा थला पर्न लेखेको रै‘छ । कति पटक रूख चढ्दा सोच्थेँ खसेर भुतुक्कै हुन पाऊँ, बसको यात्रामा त भगवानसँग हातै जोडेर प्रार्थना गर्थेँ कि त्रिशूलीमा मदन भण्डारी र जीवराज आश्रितझैं माछाको सिकार हुन पाइयोस् “आफू ताक्छ मुढो बन्चरो ताक्छ घुँडो” भनेझैं पो भयो भन्या गाँठे जीवनमा ।
यो सीमित चार पर्खालको कोठा, सिमेन्टले प्लास्टर गरेको चिसो भित्ता, मेरोलागि बन्दिगृह । कति निसासिँदो, कति छटपटाहट, विरक्त उदेक, अप्ठ्यारो । झ्यालका रेलिङ्गहरू जेलको बार बस मलाई यस्तै महसुस हुन्छ । राजा कंशले बसुदेव र जानकीलाई जेलमा राख्दा त्यति आत्तिएनन् होला तर म त्यसको चौगुना आत्तिएँ । आत्तिनु के थियो र यता फर्कनु बस उता फर्कनु ।
बयरको काँडा, सिउँडीको बोक्रा, बगरको दर्शन ढुङ्गाझैं बिझाउने ओच्छ्यान, जिउँदो लास तुल्याउँने शैया, चौबिसै घण्टा यही ओच्छ्यान, यता पल्टे नि भित्ता उता पल्टे नि भित्ता, पानीको थर्मस, चियाको गिलास औषधि र हर्लिक्सको बोतल मेरा सहयात्री । थुक्क कस्तो जीवन ।
कति नीरस, कति छट्पटाहट यी पलहरू, न बिहानीमा चरा कराएको सुन्न पाउनुछ न सूर्यको दर्शन नै गर्न पाउनु, जङ्गलमा धमिराले खाएको मुढो लढेभैंm पल्टियो डङ्रङ्ग । कस्तो नीरस, उदास र अत्यासिलो छ समय, यो मृत्युलाई पर्खंदा ।
ओच्छ्यानबाट आफू खुसी उठ्न सक्नु छैन, वल्लो कोल्टो र पल्लो कोल्टो फेर्न सक्नु छैन, खाली अरूको आश । कोही आउला उठाइदेला । काकाकुलको प्यास जस्तो चाहना पूरा हुन पनि सक्ने र नहुन पनि सक्ने । छोरो आएर उठाइदिन्छ । एकछिन बसेपछि गोडा र कम्मर कटकट खाएर सुत्न बितिहाल्छ । फेरि कति खेर बुहारी आउली र सुताइदेली ढोकातिर आँखा तान्यो बस । बल्ल बल्ल घरको काम सकेर बुहारी आउँछे र भात खुवाउँछे ।
‘खान किन परेको होला मलाई’ दिक्क लाग्छ । जब कि आफ्नो स्वइच्छाले पिसाव दिसा गर्न सक्नु छैन । दिसा आए पनि अरूले कोपरा थापिदिनुपर्छ । फेरि कोपरामा दिसा पिसाब गर्दा जस्तो सकस त अरू के नै होला र ? कता कता के नपुगे जस्तो असाध्यै गाह्रो ।
म आफू कल्पना गर्छु, छोरा बुहारीको ठाउँमा आफंै बसेर । धिक्कारहोस् म कति लाचार, हिनामति, गतिछाडा कुनै बेला घर धन्दामा व्यस्त भएर पिसाब थाप्न बुहारी पाँच मिनेट ढिलो आउँदा खुस्कन्छ ओछ्यानमै ।
धमिलो आँखाले हेर्छु, अँध्यारो मुहार लगाउँछे बुहारी । जुरूक्क उठाउने साहस हुँदैन उसमा, मकै पिस्ने घट्टोझैं वजनदार भएको छु म । झन नचल्ने हात गोडा सुन्निन थालेदेखि त डोजर नै पो भएको छु त ।
सकी नसकी घिसार्दै लैजान्छे बुहारी, तन्ना र डसना फेर्नु पर्दा । फेरेर फेरि कपडाको गुन्टा जस्तै गुडाउँदै बिस्तारामा लगेर पल्टाइदिन्छे । जिउ थिङ्थिलो भएर दुख्छ । कसलाई के भन्नु । भाग्य नै बिग्रेपछि सुख खोजेर कहाँ पाइन्छ र ! सहनु छ सब दुखाइ पनि । बुहारीको मजबुरी देखेर पनि दया लाग्छ बिचरी जागिर छाडेर मेरै सुसार गर्न घरमा बसेकी छ । तर के गर्नु शरीर र मनको सहमति हुन नसकेपछि कसको के लाग्छ र
मन हो मेरो पनि कहिले हावा बनेर उड्छ आकाशगङ्गामा, कहिले पानी बनेर बर्सिन्छ पाखा पर्वतमा । मन चरीले जति बेग हाने पनि सोचाइका तरङ्ग छाल बनेर ब्रम्हाण्ड चहारेर पनि शरीर पापी अपाङ्ग भएपछि गोबरमा परेको किराझैँ हुँदो रै‘छ यता पल्टङ्ग उता पल्टङ्ग ।
रेडियोबाट सधै बज्ने एउटा गीतको याद आउँछ–“सोह्र वर्षे जवानीमा मै पनि झिल्के हुँदो हो अहिले पो बूढो भैयो र…….. ।”
के गर्ने मानिसको चोला नै यस्तै नचाहेरै तीन चरण पार गर्नु नै पर्ने बाल, युवा र बृद्ध ।
बालापन पनि आमाको काखमा आची र सुची गरेर पार गरेँ । युवा तन्नेरी अवस्थामा त झन काइँली र कान्छीसँग कुम जोडेर कति घुमियो असन इन्द्रचोक, बिहे जात्रा रत्यौली कहिँ बाँकी रहेनन् । भुरूङ घुमेझैँ फनन खैजडी बजाएर भजनमा पनि नाचेँ । पाँच सात मिनेट तरूनी छक्क पारेर पञ्चेबाजामा बस उठ नाचियो, हरे शिव सम्झदा एक युग बिते झैँ लाग्छ तर आज थुइक्क उमेर यस्तो खाल्टाको सिन्कीझैँ भइयो । कति गारो कष्टकर हुँदो रै‘छ मृत्युलार्ई पर्खदा ।
आफ्नै भाइ छोरा चिन्न नसक्ने अवस्थामा पुगेको छु । अँध्यारो छाइरह्यो आँखामा जतासुकै कालो रात, आफ्नै आँगन परदेश, घरको मझेरी बिरानो । कति चाहनाहरू सल्बलाउछन् रहरहरू जुरमुराएर उठ्छन् तर नाडी नचलेपछि कसको के लाग्छ उही ओच्छ्यान पटक पटक छाम्यो एकदम नजिकबाट, चिमोट्यो सुमसुमायो बस मृत्युलार्ई पर्खदै ।
हैन कहाँ बस्दो हो त्यो मृत्यु भन्ने जन्तु, आकाशमा कि पातालमा या धर्तीकै कुनै कुनामा पो लुकेको छ कि जीवनका असीऔँ वसन्त पार गरिसक्दासम्म नदेखेको मृत्युको वासस्थान छोरा नातिले के पत्ता लगाउन सक्लान् र जाओ लेराओ भनौँ । उसै त मेरो सुसार गरेर थाकेका बिचराहरू झन मृत्यु खोज्न जानुप¥यो भने कत्ति दिक्क मान्लान् ।
मैले आफ्नो आँखाले देखेको छु मृत्युदेखि भाग्नेहरू, तर्सनेहरू र डराउनेहरू म कहिल्यैे मृत्युसँग भागिन, डराइन, तर्सिन तर मलार्ई नै मृत्युले किन बेवास्ता पारि रै‘छ । पृथ्वीलाई भार, आफन्तलाई बोझ, आफूलार्ई झन्झट सहेर बाँच्न पटक्कै मन छैन र मृत्युलार्ई पर्खिरहेछु निडरका साथ ।
पाप र धर्म मृत्यु पश्चात नै थाहा हुन्छ, जो धर्मात्मा छ ऊ सहजै स्वर्ग जान्छ, पापीलाई नर्कमा पनि तातो तेलमा डुबाइन्छ । झिर तताएर रातो पारी उनिन्छ गरूड पुराणमा यही सुनेको छु मैले । हुन त गरूड पुराण कसले लेखेको हो जसले लेखेको हो उसले के देखेर आयो या आफैले भोग्यो र हामीले बिस्वास गर्नु र कुनै समय शङ्का लाग्छ ती पुराणहरूको पनि ।
तर जहाँसम्म मलार्ई लाग्छ पाप र पुण्य मरेपछि हैन यसै जन्ममा भोग्नु पर्छ कुनै न कुनै रूपबाट जुन म भोगिरहेछु । जान मन लागेको ठाउँमा जान नपाउनु, खान मन लागको कुरा खान नपाउनु, दिसा पिसावलाई अरूको भर पर्नु यो सजाय तेलमा डुब्नुको भन्दा कम छ र ?
हुन त म कायर, लाछी, पानीमरूवा भएर पनि हो यति बिघ्न दुःख पाएको, मात्र आफ्नै लागि सोचेँ, आफ्नै पेट भर्नु, आफ्नै आङ ढाक्नु र आफ्नै घरको पाली फेर्नु मात्र जीवनको उदेश्य भयो । कहिले आफू भन्दा पर सोच्ने क्षमता ममा पलायन कहिल्यै दिमागमा घुसेन । लगाम लगाएको घोडाले झैँ एकोहोरो मात्र सोचेँ । गङ्गालाल, धर्मभक्त दशरथ र शुक्रराजले देश र जनताको बारेमा बोले, सोचे र अघि लागे त्यसको नतिजा युवा अवस्थामै कोहीलाई झुन्ड्याएर र कोहीलाई गोली ठोकेर मारिए । एकछिन त उनीहरूलार्ई पनि पीडा भयो होला तर आज इतिहासको पानामा स्वर्णिम अक्षरले लेखिएको छ उनीहरूको नाम । म भने यो बुढेसकालमा सिनुमा परेर पुच्छर उम्रेको कीराझैँ ओच्छ्यानमा वल्टी पल्टी मृत्युलार्ई पर्खदै छु ।
मृत्युबाट जोगिएर सधँै बाँचि राख्ने मीठो र रमाइलो सोचाइ कहिल्यै पालिन मैले किनकि मलार्ई थाहा छ कुवेरको अतुल भण्डार रित्तिएको, राजाको मुखमा पान टुटेको अनि एक दिन भीष्मपितामहको इच्छा मृत्यु पनि शर शैष्यामा तेर्सिएको । तर दुःख लाग्छ मलार्ई मृत्युले धजो नहालेको देख्दा, नबोलाएको देख्दा, उसलाई के थाहा मृत्यु पर्खनु जस्तो महाकष्ट यज्ञमा फाल हाल्ने सतिदेवीलाई पनि भएन र सीतालाई अग्निपरीक्षा दिँदा पनि ।
मेरो मनको विस्तारित हरियो फाँटबाट विचारको तरेली परेर अग्लिएको निलो गिरिधर पहाड, हरेक गोधुली साँझमा लम्बिदै गएको पीपलु वृक्षको कालो छाँयासँगै अध्यारो घोलिएको दारी र कपाल फुलेको अजिीब जङ्गलमाथि एक बूढो दिन बैसाखीको सहाराले प्रत्येक साँझ कसरी पहाड चढ्छ ।
त्यही दिन बाह्र घण्टा पछि पुनः पूर्व क्षितिजमा गुलाबी किरण छरेर बेहुलीको घुम्टो ओढी नव दुलही लजाएझैँ मस्किदै मस्किदै नवजात शिशुरूपी कलिलो दिनको रूपमा पहाड ओर्लन्छ ।
दिन एक युगझैँ रात त शताब्दी नै भएर देखापर्छ मेरा लागि, बुढेसकाल त्यहाँमाथि रोगी झन ठूलोे कुरा आफ्नो शारीरिक अवस्थाबाट भएको डिप्रेसन ।
मलार्ई थाहा छ आजकल डिप्रेसनले पूरै चपाएको छ मलार्ई निल्नु न ओकल्नुसँग, दाँत र गिजामा लत्पतिएर उसै म छटपटाइरहेको छु पानीबाट झिक्दाको माछा जस्तो ।
जवानीमा अरूलार्ई भन्थेँ तनमा सोचाइका तरङ्ग उठाउनु हुँदैन, कुरा खेलाउनु हुँदैन, चिन्ता गर्नु हुँदैन । चिन्ताले मान्छेलार्ई चितामा पु¥याउछ तर मलार्ई के थाहा बुढेसकालमा आपैm डिप्रेसनको खाल्टोमा जाकिन्छु नराम्रोसँग, यसो भनौ कहिल्यै उभो लाग्न नसक्ने गरेर ।
एक्लै फतफताउँदा घर परिवारले भन्दा हुन् बूढो बौलायो । कहिलेकाँही उनीहरूलार्ई पनि झर्को लाग्दो हो दिनभरि काममा जोतिएर आउँछन् रातको चार प्रहर मजाले सुत्न नपाउँदा छोरालाई झर्को लागेछ क्यारे एक महिनादेखि यता । रातमा एक ट्याब्लेट सिल्पिङ्ग चक्की खुवाउँछ त्यसपछि म पनि सपनाको संसारमा । सपना त के देख्नु छ र अर्धचेतनामा लम्पसार ।
कहिलेकाँही दिक्दार लाग्छ वाक्क दिक्क थुक्क हुन्छु आफ्नो भोगाइप्रति आफै निकै असन्तुष्ट भएर । फेरि सम्झन्छु जीवन गतिशील छ गाडीको डाइनामो घुमेझैँं फुइँफुइँ घुम्छ ।
मलार्ई विगतको एक झल्को झल्यास्स याद आउँछ । म सानो छँदा हजुरबा म अहिलेको जस्तो ओच्छ्यान पर्नुभाथ्यो । हजुरबालाई कुरूवा मलार्ई छाडी बुबा आमा खेतबारीमा काम गर्न जानु हुन्थ्यो, बूढो मान्छे राल सिगान र दिसा पिसाबको गन्धले भिंmगा प्रसस्तै भन्किने, मेरो काम झिगा धपाउने तर मलार्ई असाध्यै झर्को लाग्थ्यो हजुरवुवाको मुखमा भिंmगा धपाउँदा धपाउँदै परेला चुडेर भाग्थेँ । बूढाले लौराले लम्की र झम्की गर्थे । म घरबाट टाढै भइदिने फेरि बूढालाई भिंmगाले दुःख दिदो रैछ र पैसा दिएर बोलाउँथे । म भुरो मोरो पैसा भनेपछि फेरि हजुरबाको छेउमा आउँथे ।
दुखको कुरा आज मेरो नाति नातिनी त मेरो कोठाको ढोकासम्म पनि आउन्नन् भिंmगा धपाउन त परै जाओस् । जीवन कुमालेको चक्र हो एकदिन म पनि नाति नातिनी जस्तै थिएँ भोलि उनीहरू पनि म जस्तै हुनेछन् यो पक्का हो ।
कहिलेकाँही झर्कन्छन् छोरा बुहारी, म रोगी जिउँदोलास देख्दा तर पनि सहनु छ मलार्ई मौन । किनकि दैवले ठगेर कर्मले हारेर विधाताले पारेर अपाङ्ग बन्नुप¥यो मलार्ई । दोष दिनु त कसलार्ई आफ्नै कर्मलाई ।
सबैको छिःछि र थुःथु सहन विवश बनाउन्जेल त्यो अदृष्य भगवान कहाँ बसेर मेरो तमासा हेर्दै होलान् किन लादैनन् एकमुठी प्राण के स्वर्गमा पाप र पुण्य मन्थन गरेर चामलको बिया पग्ले जस्तो पाप र पुण्य पग्लदै त छैन । हुन सक्छ यिनै कार्यमा व्यस्त भएर मलार्ई यमराजको दूत लिन आउन भ्याएनन् होला ।
जीवनमा सबैभन्दा कष्ठकर समय भनेकै मृत्युलार्ई पर्खदा हुँदो रै‘छ । गाह्रो असाध्यै गाह्रो, अप्ठ्यारो त जीवनका उतार चढावमा आइहाल्छन्, बुबा बित्दा, आमा बित्दा, श्रीमतीलाई दाहसस्कार गर्दा, घरबारी पहिरोले पुरिदा, साँधको विषयमा पल्लाघरेसँग भनाभन पर्दा, छोरीलाई डोली चढाउँदा, साहूले गोठको भैंसी फुकाउँदा आदिआदि तर यी सब बेलाको गाह्रो अप्ठ्यारो सकस भन्दा मृत्यु पर्खदा महाकष्टकर हुँदोरहेछ ।
मान्छेहरू समस्यामा अल्झदा आपत् पर्दा दुःखमा जकडिदा भन्छन् हे भगवान मलार्ई यी समस्याबाट मुक्ति देऊ, मुक्ति त्यति सस्तो कहाँ छ र जुन बजारमा किन्न राखेको सामान होस् जन्मन साइत चाहिन्छ भन्छन् । मलार्ई लाग्छ मृत्युले चटक्क टिपेर लान पनि साइत चाहिन्छ अन्यथा हिरिक हिरिक एक मुठी प्राण बूढो शरीरमा अल्झिरहन्छ मृत्यु पर्खदै ।

(स्रोत : Kabyasudha.com)

About Sahitya - sangrahalaya

We will try to publish as much literary work of different authors collected from different sources. All of these work is not used for our profit . All the creative work belongs to their respective authors and publication. If requested by the user we will promptly remove the article from the website.
This entry was posted in निबन्ध and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.