मेरो मनभित्रको दादा,
ह्दयको स्पन्दनदेखिकै न्यानो सम्झना ।दादा हजुरलाई यो पत्र लेख्ने बेलासम्म, हजुरलाई सम्झने समयसम्म सम्पूर्ण नेपालीको महानचाड दशैँ दैलोबाट भित्रिसकेको छ मझेरीमा पसारो पर्न । सबैको नजरमा दशैँ आएको छ शङ्ख फुक्दै भएपनि, बाजा बजाउदै भएपनि यात ऋणको सुनामीनै ल्याएर किन नहोस् तर हाम्रो परिवारमा दशैको कुनै छनक छैन यसो भनौँ हामी कहाँ दशै संघार ठेलाबाट भित्रनै मानेको छैन । मलाई लाग्छ यो सबै हजुरकै अभाव,
रित्तोपनाले गर्दा भएको हो ।
सुर्यको प्रज्वलित किरणमा आफ्नो उन्मुक्त बैस घोप्टाएर मस्किने बारीको सयपत्री पनि फुङ्ग उडेको आभाष भएको छ हुनसक्छ ऊ पनी बिचलिच छ तपाइको अभावमा । बिहानीको कुमारी हावासँग लहरिने केराका पातहरु पनि मौन मौन छन् मजस्तै ।
दादा, हजुरलाई सधैँजसो लेखिएका पत्रहरु भन्दा बेग्ले आफैलाई रित्याएर, आफैलाई खोतलेर अनि आफूभित्रको उकुसमुकुसको बिस्कुन सुकाएर लेख्न मन लागेको छ आज मलाई । त्यसो त आजको यो पत्रमा अलिकति आमालाई, थोरै बाबालाई र भाउजूलाई पनि उदीनेर पत्रभित्रै टाँस्नुछ मैले । त्यतिमात्र कहाँ हो र दादा यो नजिकिएको बैगुनी, बेसोमती पर्व दशैँपनि पत्रभित्रै कोचिएर आउन खोज्दैछ हजुरको समिपमा । थाहा छैन यो सानो कागजको टुक्रामा सबैसबैलाई कसरी अटाउन अनि समेट्न सक्छु म ।
सारा बिषयबस्तु लामबद्ध भएर उभिएका छन् मेरो कलमी निभको टुप्पोमा सोइसाला खेल्दै, म आफैँ अलमल्लमा छु कहाँबाट, कसरी कस्को पालोलाई प्राथमिकताका साथ न्याय गरौँ । थाहा छैन सबैलाई न्यायको पगरी गुथाएर चित्त बुझाउन सक्छु कि सक्दिन ।
दादा, हजुरले जलकुण्डबाट पहिलो पटक च्याँ को आवाजसँग स्पर्स गरेको माटोलाई बिदाइको हात हल्लाएर धर्ती छाडेको पनि आज पाँच वर्ष पूरा भैसकेछ, हुन त पाँच वर्ष भनेको पाचौँ चुड्की समय हो मिलन र खुशीमा बिताउने हो भने तर बिछोड, अभाव अनि कोही कसैबाट टाडिएका पलहरु निकै निकै लामा, अत्यासिला र कहालिलाग्दा हुने रैछन् । भन्नेले सजिलै भन्छन् पाँचवर्ष तर हजुरको अभावले चिमोट्ने यी पाँच हिउँद पाँच जुनी भएका थिए, छन् र हुनेछन् ।
दादा, दमले ग्रस्त बाबा ख्वाक्क ख्वाक्क खोकेरै भएपनि हुक्कामा तमाखु तान्दै हरदिन फलैँचाबाट धमिला आँखा त्यही परको गोरेटोमा हुत्याउँन छाडेका छैनन् । शीत तप्कने बिहान बिहानै भाउजूले दैलो पोतेको गोबर र माटोको गन्ध फोक्सैदेखि तानेर चिलिम अठ्याउँदै फलैँचा कुर्न भ्याइसकेका हुन्छन् तपाईकै प्रतिक्षामा । उदास अनुहार, बेलाबेला लिएको लामो निस्वास अनि खुईयको सुस्केराले निरासा र बिछोडको हस्को म सम्म ल्याएर टाँस्ने गर्छ पटकपटक ।
हरेक बिहान उदाउने सुर्यसँगै हजुर फर्कने आशाका पालुवा लहलह हल्किन्छ उहाँको मनमा । तर बिडम्बना हल्केका ती आशाका मुना सुइरोबाट पातमा परिणत नहुँदै अस्ताउँदो सुर्यको राता लाचारी प्रकाशसँग तुहिन्छ उहि पृथ्बीको गर्भमै कहिले नजन्मने गरी, आखीर यो आशाको गर्भपतन कहिलेसम्म ?
आमाको सवालमा म कसरी शाब्दिक वर्णन गराँै ? लाग्छ जति लेखेपनि कमै हुनेछ । हो दादा, हजुरको जनमी, ममतामही माता सुकेनास लागेको बच्चा भन्दा पनी बेढङ्गले सुक्दै गएकी छिन् दिन प्रतिदिन । हातमा गोल्डफल्याक चुरोटको ढुटो नै किन नहोस् कहिल्यै खाली हुँदैन । सधैँ सधैँ चुरोटको धमिलो धुवाँ जस्तै तपाई फर्कने झिनो आशा मडारी रहेको हुन्छ वरपर । किटको कराइमा कोदाको ढिंडो मस्काउँदा होस् या कैँचीले परालको भुस्सा काट्दा नै किन नहोस् टोलाइरहेकी, लोलाइरहेकी र गहिरो सोचाइमा डुबिरहेकी नै हुन्छिन् । दादा यो पालीको दशैँमा आमा आफ्नै हातले देबीथानको बलौटे माटो ल्याएर भडार कुनामा फिजाएर जौ र गहुँ रोपेकी छिन् हजुर फर्कने आशमा । उसो त काली बाख्रीको पहिलो बेतको सिगारे खसी पनि कुनै ग्राहकलाई आँखासम्म लाउन नदिई खुव सुम्ठ्याएर राखेकी छिन् हजुर फर्केर आफ्नै हातले मार हान्नु हुन्छ भनेर ।
थाहा छ दादा ? हजुर बिदेशिने वर्षको दशैँमा खसी मार हान्दा पहिलो पटक नछिनेपछि बाबा रिसले बुरुक्क बुरुक्क उफ्रदै गौडोको कुविण्डो ल्याएर सिमलीको सिन्काको खुट्टा बनाइ दैलोमा आफैले बडो जोसका साथ मार हानी रगत बगेन रे भन्दै अबीर दलेको अहिल्यै जस्तो लाग्छ । कति सून्दर थिए ती पलहरु आँखामा सधैँ सधैँका लागी सजाइरहुँ जस्तो ।
दादा ! पहिला पहिलाको जस्तो फुलपाती भित्राउनको लागी सामान जुटाउन टाढा टाढा जानु पर्दैन अहिले त । हामी बेसी फाँटसम्म पुुग्थ्यौ नि उखु लिनको लागी, अहिले त घरपछाडीको चौडिलोमा पाँच गाँज उखु लगाएका छौँ गाउँका अरु पनि आउँछन् फुलपाती भित्राउनको लागी उखु लिन । उसो त माल्टा आँपको ठूलो रुख भ‘को सुर्कोलाई बगैँचा बनाएका छौँ र यो वर्ष मैले धेरै जातका फूल रोपेकी छु जुन सारै सून्दर र रमणीय पनि छ उसो त फुलपाती भित्राउन चाहिने जयन्ती फूल त्यहीँ बेजोडले झाङ्गिएर फुलेको छ ढकमम्म । अस्ती उदास चेहेरामा बाबा भन्दै हुनुहुन्थ्यो यो साल ठुले नआए त फुलपाती पनि भित्राउँदिन र भडारमा राखेको जमरासमरा सबै थुन्चेमा उठाएर ठाडो दोबाटोमा लगेर घोप्टाइदिन्छु । त्यो पल उहाँको मुख कागती निचोरेको जस्तो सारै बिरक्त लाग्दो भएको थियो ।
यो साल त भाउजु धेरै उत्साहित बन्नु भएको छ हजुरको आगमनको प्रतिक्षामा । हिजोमात्र बजारबाट हजुरलाई मनपर्ने गुलाबी रङ्गको व्लाउज र लुंगी ल्याउनु भ‘को छ दशैको दिन आफूले लगाउन भन्दै । उहाँको मुहारमा छाएको उदासिनताले पलपल चिमोटिरहन्छ मलाई । तपाई गएदेखि हाँस्न बिर्सेकी भाउजू, यो दशैँमा तपाई आउनुहुन्छ भनेर हाँस्ने अभ्यास गर्दैछिन् । दादा एउटा नारीलाई विवाह भएको एक महिना नबित्दै लोग्ने बिदेशिनु र पाँच पाँच वर्षसम्म नफर्कनुको पीडा सायद हजुर कल्पना गर्न सक्नु हुन्न किनकी हजुर मर्द न पर्नु भो । हरेकरात ढोकाको खापाबाट चियाएकी छु मैले उहाँको बेचैनी र छटपटीलाई ।
उहाँको जीवन भोगाइमा समुन्द्रको लहर कहिल्यै उठेन परिवर्तित हलचल ल्याउन पोखरीको पानी जस्तो सधैँ स्तब्ध रहिरहनु हुन्थ्यो आफैँमा हराएको जस्तो परिबेसमा । नढाटी भन्नु पर्दा हजुरले चिन्ता लिनुहोला, पिर गर्नुहोला भनेर मैले नभनेकी हुँ हजुर गएको साल देखि यता जमरा पनि राखिन्छ, दशैको सबै किनमेल हुन्छ तर दशैँ मानेका छैनौँ । उभ्रिए र हल्केको जमरा एकपटक पनि थुन्चे खोलेर नहेरी पधेरामा बगाएका छाँै, दशैँलाई भनेर साँचेको खसी पनि दशैँ पछि सहरबाट आउने बगरेलाई बेचिदिने ग¥यौँ । थालमा अक्षेता मुछेर मझेरीमा राख्न नपाउँदै आमा भावविहोल भएर सुकसुकाउन थालेपछि भ¥याङको खुड्किलामा बसी बाबा पनि हिक्क हिक्क गर्न थालेपछि चुलाको कुनैबाट भाउजूको रुवाइको डाकोले भित्तो छेडन सुरु गर्छ अनि कसरी लगाउन सक्छौँ हामी टिका । हो दादा मैले मुछेको अक्षेता धेरै पल्ट मलखाल्टामा घोप्टाएकी छु ।
सबै भन्दा सानी, कान्छी म ब्यावहारिकताको कुठुरो फुकाउन नसक्दै हजुर बिदेशिनु भो । मैले यहीँनेर नबुझेको कुरा कुन त्यस्तो अभावको भुकम्पले उथलपुथल ल्याएको थियो र हजुर सून्दर घर स्नेही परिवारलाई माउ मरेको चल्ला जस्तो बनाएर बिदेशिनु भो ।
मैले अहिले आएर बुझ्दैछु पारिघरे भैरेको जस्तो साहु लागेको पनि थिएन न त गैराघरे कान्छाको जस्तो देउता लागेर खेतबारी पहिरोले नै बगाएको थियो । कस्तो सपनाको खेती हल्काउने सोचाइमा बिदेशिनु भो यो प्रश्नको जवाफ हामी कसैलाई पनि थाहा छैन । लडीबुडी गरेर खान पुुग्ने अन्न उब्जने खेतबारी त बाबाले जोहो गरेकै थिए । हजुरले अहिले बिदेशीभूमीमा बगाएको भन्दा पचास प्रतिशत कम पसिना मात्र यहाँ बगाएको भए त यहाँ पनि हाम्रो चार आत्मा सजिलै हाँसीखुशी बाँच्न सकिन्थ्यो होला नि । थाहा छ दादा हजुरले कमाएर पठाएको पैसाले बनाएको औंठी र सिक्री नियाल्दै झन झन दिर्घ रोगी भका छन् बाबा । आमाको त के कुरा बनाएर ल्याइदेको दुईचार दिन मेरो र भाउजूको करैले भिरेकी थिइन् आमाले माडवरी र नौगेडी त्यसपछि त फुकालेर सन्दुकमा बिरालाको बिष्टा मिल्काएझैँ मिल्काइदिएकी छिन् र भन्छिन् –“मैले कहिल्यै पनि छोरासँग पैसा र गहनाको सुख मागिन, आँखा सामुन्ने देख्न पाउनु र सधैँझैँ साँझमा टुकी बालेपछि आमा भन्दै भित्र पसेके हेर्न पाएँ पुग्छ ।”
दादा हाम्रो मनलाई पानी बिनाको माछाझैँ भुट्याएर नै हजुरले कमाएर पठाउनु भएको पैसाले शहरमा बल्लबल्ल तिनआना तिनपैसा जग्गा त किनेका छौँ तर के गर्ने त्यो घडेरी बरिपरिका बासिन्दालाई पोहोर फाल्ने डम्पिङसाइट भएको छ हाम्रो घडेरी, अव एक त शहरमा घर बनाउने सपना नसजाए पनि हुन्छ महङ्गीले निकै उचाइ समातेको छ, हामी जस्तो सर्वसाधारणले घर बनाउन सम्भव छैन । अर्कोकुरा घर बनाइहाले पनि बत्ती र पानीको सधैँ अभाव छ भन्छन् । बाह्रै महिना मैन बत्तीको उज्यालोले खोज्नुपर्ने भबिष्य भो दादा चाहिँदैन हामीलाई । फेरी मिनरल वाटरको बोतलको पानीले जीवन कसरी भिजाउन सकिएला र ? शहरमा घर भएका रैथानेहरु पनि भट्टाभट उपत्यका बाहिरका जिल्लाहरुमा बसाइ सर्दैछन् जग्गा किनेर । हामी यहाँ हात्तीको सुड जस्तो मुलको स्बच्छ पानीमा डराइ डराइ टाउको थापेर नुहाएको मान्छे त्यो टुकुनीको नापोको पानीमा कसरी चित्त बुझाउन सकौला र ? फेरि यहाँको करेसाबाट छानी छानी ताजा सागसब्जी टिपेर खाने आदत लागेको हामी पन्ध्रदिनको ओइलाएर सडेको सागसब्जीमा निर्भर रहन पनि सक्दैनौ । फेरि वातावरणी प्रदुषणले मगज कुहिन्छ दादा मेरो त शहरमा ।
अनि भन्नुस् त यत्रो वर्ष हामीलाई रुवाएर, तडपाएर कमाएको पैसाबाट नै हामी खुशी, सुखी रहन सक्दैनौ भने कस्को लागी कमाउनु हुन्छ प्राण हल्केलामा राखेर पैसा । दादा भौतिक सुख नै सर्वेसेवा हैन सबैभन्दा ठूलो त आत्मिक सुख हो जुन हजुरको अभावमा अनुपस्थितिमा हामी कहिल्यै प्राप्त गर्न सक्दैनौ ।
दादा के अझै पनि हजुर घर फर्केने सुरसारमा हुनुहुन्न, अस्ति रेडियोबाट “फर्कि बरु आउ दाजु घर, बुढीआमा रोइरैछन् धरर…..”भन्ने गीत बारीमा खनायो÷खनियाको स्याउला झार्दै गर्दा सुनेकी थिएँ, थाहा नपाई आँखा भरिसकेँछ तव टेक्नुपर्ने कापे नभेटेर झण्डै खसेकी थिएँ धन्न हातले अर्को हाँगो समाउन भ्याइछु नत्र हजुर फर्कदा मालाले सजिएको क्रितिम बहिनीसँग मात्र भेट गर्न पाउनु हुन्थ्यो । हामी हजुरको अभावमा पानी पानी भएका छौँ दादा, हजुरले कमाएको डलरको डसनाले स्नेहको पछयौरीको काम कहिल्यै दिदैन । सुखको सानदार भवन भन्दा ममताको झुपडीमै फुल्छ खुशी ओठभरी, दादा ।
यो वर्ष त हजुर फर्कनु हुन्छ भनेर गाउँका काले, उमेश, पोक्चेले गैराको बाँसको झ्याङबाट सप्रेको ठुलाठुला बाँस ढालीसकेका छन् त्यसो त तपाइकी बालसखा चमेली दीदी र भाउजूले पाटको डोरी बाटेर गजबको काम्रो बनाएर लुकाएका छन् । एकमहिना पहिल्यै सुशिला, उर्मिला अनि बिनोससँग मिलेर ठूलो भिरबाट बाबियो पनि काटेर ल्याएका छौँ । सानु काका, ठुलो बुबा, पारीघरको थापा र खोल्साको भट्टराइ भएर ठुलो खर्कमा पिङको लठ्ठा पनि बाटी सकेका छन् । हजुरको आगमन हुने आशामा सिङ्गो गाउँनै रोमाञ्चित भएको छ, बिन्ति दादा यो दशैँमा जसरी भएपनि घर फर्कनुस् नत्र सयपत्री, जयन्ती र त्यो हजुरको आगमनलाई पर्खेर बसेको वरपीपलको सम्म मन दुख्ने छ हाम्रो त परैजाओस् । भन्ने कुराहरु धेरै हुँदा हुँदै पनि, लेख्नु पर्ने शब्द प्रशस्त मनमा बग्रल्ती बिस्कुन सुक्दासुक्दै पनि यो अनुनय, बिनय पत्र टुङ्ग्यााउनु पर्ने भएको छ । दादा ! बुबाको उदास मुहार, आमाको रुन्चे अनुहार र भाउजूको थकित अवस्था म ज्यादा हेर्न सक्नेछैन, यो दशैमा पनि हजुर घर फर्कनु भएन भने यो बहिनीलाई बहीनी भन्न पाउनु हुनेछैन, यो भनाइलाई अनुरोध, धम्की वा चेतावनी जे सम्झनुस् छुट छ म मात्र यति चाहन्छु टिकाको दिनसम्म हजुर संघार ठेलाबाट भित्रीसकेको हुनुपर्छ । बस् दादा ! अव अगाडि पत्रलाई लम्याउन चाहिनँ हजुरको आगमनमा सधै आँखा गोरेटोमा बिच्छयाइरहने उही अभागीनी बहिनी ।
सुबिसुधा, नेपालबाट
(स्रोत : Sahityasangalo.com)