उनीहरु दुवै हस्ताक्षर गरेर बाहिर निस्किए । हस्ताक्षर कागज माथि स्वःलिखित केरमेट थियो या निर्णय माथि स्वीकारोक्तिमा आत्मसात थियो, दुवैले खुट्याउँन सकेनन् । हो, अबको यात्रा नितान्त निजी र स्वचालित हुनेछ, करकाप या अदृश्य साङ्लोमुक्त जीवनयात्रा । हातमा थमाईएको निर्णय-पत्रले के आउँदा दिनहरुलाई सुखमय बनाउँछ ? के यहि नै उन्मुक्ति हो ?
मथिंगलमा निरुत्तरीत प्रश्न कावा खाईरहेको थियो ।
ढोका बाहिर बरण्डामा उभिएर दुवैले निस्वाश फेरे । चार बर्षको अन्तरालमा दुवै एकपटक फेरी आमुन्ने सामुन्ने थिए । बरण्डाबाट दुवैको पाईला अघी सर्न सकेका थिएनन् । अन्तरआत्मामा दुवैले खोक्रोपन महसुश गरिरहेका थिए । अबको बाटो भनेको फेरी एक्लोपनकै बाटो थियो, दिशा विहिन गन्तव्य, सहारा बिहिन जीवन र एक अलग जियाई दुवैका सामुन्ने थिए । चाहेर पनि दुवैले एकअर्कालाई धीतमर्ने गरी हेर्न रोक्न सकेनन् । बिचमा अदृश्य पर्खाल कायमै थियो ।
चारबर्ष चारवटा क्यालेण्डरले छिचोल्यो, चारबर्षको मामुली शव्दले चारबर्ष धकेल्यो । अब उनीहरुमा त्यो माया छैन, त्यो चाहना छैन, अब त सामान्य जिज्ञासा पनि बाँकि रहेन । अपरिचीत भीड बिचको दुई अस्तित्व, दुई फरक ध्रुव, दुई फरक गन्तव्य र चार बर्षको अन्तराल पछि साइनोलाई दागबत्ति दिंदा हस्ताक्षर गर्दाको हातमा लागेको कालो मसीको दाग मात्र शेष रहेको छ । अब फेरी चार बर्ष देखि बिताउँदै आएको दैनिकी सुरु हुनेछ, एक्लोपन सुरु हुनेछ, शहरको यान्त्रीक जिन्दगीमा आउने धक्कामुक्की सहनुपर्ने अवस्था सुरु हुनेछ । कानूनतः एक्लिएका छन्, स्वतन्त्र छन् तर परिचय ? परिचय अझै जिउँदै छ, चिनाजानी अझै गहिराईमै छ, आनिबानी अझ स्मरणमै छ ।
बादल धुम्मीएको छ; कालोनिलो भएर । उस्ले संझ्यो, यस्तोमा उनीलाई कफि पिउन मनपर्छ, संगै बसेर बादललाई निहार्दै, थोप्लाथाप्ली झेरका पानीका बुँदलाई हेर्दै । अझ पानी माथि झरेका बुँदले लगातार बनाउने पानीफोका केही पर सम्म बगेर पुक्क फुटेको हेर्न रुचाउँछीन् । एउटा कौतुहलले मनमा जन्म लियो । “साँच्चै मैले कफिको लागि अनुरोध गरें भने के भन्लिन ? तिरस्कार या स्वीकृति ? सायद कफिलाई विष पो ठान्लिन कि” ! उस्को हिम्मत भएन अगाडी बढेर सोध्ने । संझ्यो, यो बाध्यता अघिको हस्ताक्षरको पहिलो उपज हो ।
उन्को उसंगको निकटता पनि अब खुम्चिसकेको थियो । यो पनि हस्ताक्षरकै पहिलो उपज थियो । चोर नजरले हेरिन्, दाह्री केहि बढेका थिए, ओठमा कलेटी थिए र चुरोटको धुँवाको पोलाईले ओठ काला भैसकेका थिए । आजकाल चुरोट पिउने मात्रा निकै बढाएछ उस्ले, सायद रक्सी पनि ! “एक्लोपनको सहारा यहि होला”, उनले अन्दाज लगाईन । उनले फेरी हेरिन् । बढेका कपाल राम्ररी कोरिएका थिएनन्, कमिजका माथिको दुईवटा टाँक पनि थिएनन्, पाईन्ट मुँजा परेका थिए, पालिसले अनुहार नदेखेको जुत्ताको अगाडीको नोखको छाला खुईलिएको थियो । मनमा न माया जाग्यो न त खुचिङ्ग भनेर सोच्न सकिन ।
पानी छिंट्टायो, दुवै रोकिए, नजिकैको चमेनागृहबाट चियाको तात्तातो बाफ उडिरहेको थियो । उ फर्कियो, आँखा जुधे, सम्मतिमा दुवै चमेनागृह तर्फ लागे । आमुन्ने सामुन्ने टेवलको बिचमा कफि अदृश्य छेकवार अझै थियो ।
“आमालाई कस्तो छ” ? आवाज मृतप्रायः थियो ।
“ठिकै छ, अहिले संचै छ”, उनले नजर झुकाएरै जवाफ दिईन ।
पश्चात दुवै बोलेनन् । कफि सकियो । उस्ले गोजिबाट गुज्मुजिएको नोटको मुठा निकालेर फैलायो ।
“तिम्रो वालेट खोई” ?
ऊ फिस्स हाँस्यो, जवाफ दिएन्, केवल प्रश्नकर्तालाई चीसो आँखाले हेर्यो । उनले त्यो चीसोपना भित्र सम्म महशुस गरिन्, बोल्न खोजेका ओठ थर्थराए मात्र ।
ऊ निकै बेर चुपचाप बस्यो, आँखाहरु रित्ता थिए, भाव सुन्य, किंकर्तव्यबिमुढ, न्याँस्त्रो र लुटिएको । “कोही छैन उस्को, मेरो त आमा भए पनि संगै छिन्, बिचरा अनाथ, के गर्छ अब उस्ले” ? उनी सोच्न थालिन ।
“अब”? उस्ले प्रश्न गर्यो ।
उनी बोलिनन् केवल उस्को आँखामा हेर्न थालिन । प्रश्नमा धेरै बिबिधता थियो, प्रश्नमा धेरै अनिश्चितता थियो । कति कठोर प्रश्न सोधेको ? के उत्तर छ र यस्को ? उसित पो के उत्तर छ र यस्को ? मैले उसलाई यहि प्रश्न सोधें भने के जवाफ देला ? प्रतिप्रश्नहरुको गड्यौंला सल्वलायो मनमा ।
अदालतको बाहिरी ढोकासम्म दुवै संगै आए । अब दुवैलाई छुट्टिनु छ, अलग्याईको आगोको राप दुवैले महशुस गरे । यसपछि दुवै भिडमा हराउँछन्, बाटो उहि रहन्छ, यात्रा मात्र सोहि बाटोमा क्रमशः लम्बिंदै जान्छ, एकोहोरो, एकनास । हातमा रहेको पाचुके-पत्रले आजीवनको अलग्याईमा सामान्य सोहार्दताको केहि मार्यादित शव्द समेत बोल्न दिएन । नजर झुकेरै अगाडी बढे ।
बाटो लामो देखिंदैथ्यो ।
****************
(स्रोत : Bipul Sijapati’s Facebook)