एउटा प्लास्टिकको रातो झोला आकाशमा हावासँगै झुल्दैछ बच्चा कोक्रोमा झुलेसरी ‘लहलह’ झुल्दै बार्दलीको खापबाट छिरेर झ्यालको खोँचमा अड्किन्छ । बार्दलीको छानाको टुँडोबाट बाँधेर लगेको, तोरण र यसमा टाँस्सिएका रङ्गी-बिरङ्गी कागजका ध्वजाहरु बाटोअगाडिको तघारोको खम्बाहरुमा चरमराइरहेकोछ । ‘खलखल’ बग्ने पसिनालाई कमिजको बाहुलाले पुछ्दै रमेशको मीत रेशम, रमेशको दिदी सावित्रीको एउटै छोरो राजनसँग, पिँढीको खामोमा झुण्ड्याइएको रेडियोबाट बजिरहेको ‘रेशम फिरिरी…रेशम फिरिरी…’ गीतमा मनहरुसँगै उत्साहित भई
गुन्गुनाउँदै केराका दुर्इ थम्बाहरुलाई तघारोको दायाँ-बायाँ गाड्दैछन् ।
‘पँहेलै भएर झर्न थाल्या घरी भा’ थम्बा किन काट्या’ होला ? अलि हरियो र काँचै चाहिँ काट्या’ भा’ हुने !’
सावित्रीको गुनासो थियो त्यो । घर-परिवार आदि बेहोरिसकेकी सावित्री एउटा सात बर्षे छोरोसहित लोग्ने बितेपछि माइतीका शरणमा बेघर भई आठ बर्षअघि आएकी थिई र रमेशले कर गरेर माइतमा सँधै बस्न लगाएकोथियो । ऊ हरेक कुराको सदुपयोगमा ध्यान पर्याउँदथिई, तर कसले पो सुनिदिने उसका गुनासोहरु !
‘बेलुका यो घरीलाई छाँटेर राखे भैहाल्यो नि दिदी ! जाबो एउटा घरी, त्यो पनि मीत आउने दिनाँ’ !’
साबित्रीले ल्याइदिएकी मोही पिएपछि रेशमले भन्यो ।
‘फेरि, म त यहीँ नै उभिइराख्छु नि…..झरे टिपिहाल्छु ।’
छोरा राजनले हाँस्दै कुरा थपेपछि तीनैजना सँगै हाँसेर आ-आफ्नो काममा व्यस्त भए अनि ।
आकाशभरि ‘टम्म’ बादल लागेको छ । बिहानै पूर्वतिर ‘झुलक्क’ झुल्किएको घाम त्यसपछि लगातार चार-पाँच घण्टाबाट बादलभित्रै लुकिरहेकोछ । अस्ति-अस्तिनैका अरु दिनहरु यस्तोमा मन र जाँगरभरि यस कुनाको यो चोकमा पर्ने यस घरका सबैका मन त्यसै धूमिल पार्न सक्षम हुन्थ्यो । अहिले पानी परिहाल्ला जस्तो छैन तर परिहाल्यो भने, आँगन अगाडिको बारीमा सुकाएको मकै भिजिहाल्छ । यति धेरै मानिसहरु छन्, कसैलाई त्यसको याद छैन, पक्कै छैन, किनकि, सबै नै वर्षौँपछि यस गाउँमा हुन गएको पूजा, भजन, दोहरीका साथ बर्षौँअघि छुटेको मान्छे जो कसैको बाबा, मामा, छोरा, नाति, लोग्ने, भाइ-दाइ पर्ने आउने भएकोले घरका परिवारसँगै खुशी छन् । वर्षौँपछि बहाना जो मिलेकोथियो….! नत्र पीर दुःखहरु त सबैलाई पुगुन्जेल या फालाफाल छँदैथियो । आकाशमा चील घुमिरहेको छ, कुखुरालाई खोरमा हुल्नु पर्ने…कसैलाई होस छैन ।
हावाको ठूलो लहरले बार्दलीको पालीमा अड्काएको कागजका पँखाहरु ‘सरसर’ घुमाउँछ र स-साना घण्टीहरु ‘खन्खन्’ गर्दै बज्छन् । मन, शरीरभित्रको मन्दिरमा झैँ पुग्छ । अगाडिको बर-पिपलको चौतारीमा बसेर बाघचाल खेल्दै गरेका भीमेका नातिहरुका गोटी उडाइदिन्छ । तिनीहरु हतारिएर, कोही बचेकालाई सम्हाल्न थाल्छन्, कोही उडाएको गोटीको खोजी वा भरताल गर्न थाल्छन् । रमेशकी श्रीमती तल्लो घरकी कार्कीनीसँग आफ्नो लामो चुल्ठोमा रिबनको फूल बनाउन लगाउँदैछे । हुरीले गाग्रीमा पानी पर्न दिएकोछैन जुन उनीहरुलाई थाहै छैन । खुशीका लहरहरु, रहरभित्रका खुशीहरु उसका हरेक कृयाकलापहरुबाट छर्लङ्गिन्छ । केही दिनअघिबाट ऊ ‘अचम्भिएर’ तरुणी भएकी छे यस उमेरमा ।
आँगनको एक छेउमा बसेर रमेशका दुर्इ छोराहरु र रमेशकी कान्छी बहिनीकी दुर्इ छोरीहरु मिलेर तूलमा लेख्दैछन् । के लेख्दैछन् भन्नू ? कोर्दैछन् सानो मनभित्रका अपार रहरहरु ‘किरमिरे’ अक्षरहरुको साहारामा ! लेख्न नै कति पो जानेकाछन् र ? सात-आठ पढ्दा-पढ्दै माओवादीहरुले स्कुल नै बन्द गरिदिएकोले बितेको दुर्इ-तीन वर्षबाट घरभित्र नै लगातार ‘पाइन’ चढेको धारिलो समय पढ्दैछन् बिचराहरु ! कहिले साथीको आमा मर्छे, साथीसँगै ‘हृवाँ !’ ‘हृवाँ !’ सुख्खा सातूझैँ खोकी-रुवाइ पढ्छन् । ‘जिन्दावाद !’, ‘मुर्दावाद !’ अनि ‘तोडफोड’ आदि लगत्तै पढ्छन् । हजारौँ-हजार सपनाहरु, हजारौँ-हजार रहरहरु, खहरे खोलाले खाएको बगरझैँ बेजार अनि सतास जसरी ‘पल-पल’ मिल्किरहेको भाग्य टुकीको ‘धीपधीपे’ उज्यालोमा सकि-नसकी पढ्छन् । जीवनको पूर्वार्द्धमा नै जीवनभरकै अनुभवहरु, दुःखसँगै ‘अटेसमटेस’ भएर अक्षरहरुका ठाउँमा पीडादायक अनुभूति भई जमेकाछन् उनीहरुका मानसपटलमा । त्यसैले त चौध वर्षमा नै रमेशको जेठो छोरो केदार अट्र्ठाईस् वर्षझैँ देखिन्छ अनि चिन्तनशील पनि । अगाडिको बर-पिपलको चौतारीमा बसेर डाँडाका श्रृँखला परको क्षितिजको उता आँखा तन्काइरहन्छ ज्यादा जसो, जसलाई त्यसरी एकोहोरिएको देख्नसम्म सक्दिन उसकी आमा र सम्झाउन पनि सक्दिन । कतिपय कुराहरु बुझ पचाउनुमा नै राम्रो ठान्छे ऊ । चारैतिरबाट घेरिएको यस सानो गाउँबाट कति हतासिन्छ, तड्पिन्छ होला त्यो विस्तारिन खोज्ने तरुण मन !
‘मोटो ‘श’ हैन पातलो ‘स’ हन्छ स्वागतमा ! दादालाई त थाहा रहेनछ !’
रमेशकी कान्छी बहिनीकी कान्छी दश वर्षे छोरीले गल्ती औँलाइदिएकी थिई दादा अर्थात् केदारको । खिस्रिक्किईँदै प्रत्यक्षतः केदार सच्चिएर लेख्दै गयो (…स्वागत छ- आठ वर्षपछि घर फर्किनुभएका बाबालाई -स्वागत छ…) बुरुश राम्ररी प्रयोग गर्न नजानेको भए पनि जिद्दी गरेरै लेख्दैथियो आफ्नै हातले अनि आफ्नै भावले । ‘धन्न !’, अक्षरहरु चाहिँ बुझिने नै थिए !
आँगनको बीचमा मण्डप निर्माण गरिएकोथियो । चारवटा केराको थम्बालाई चारैतिर चौघेरा गाढेर अनि बीचमा रातो कपडाको छानो बनाई जमीनमा गोबरले लिपेर पवित्र बनाएपछि रमेशकी कान्छी बहिनी रेणू आफ्ना केही सँगिनीहरुसहित मण्डप सजाउन व्यस्त थिई, वर्षौंपछिको दाइको आगमन र वर्षौंपछिकै पूरै गाँऊकै पूजाआजा नाचगानसँगै हुने अवसरले खुशी अटाई नसक्नुले भरिएकी थिई सँगिनीसँगै । साबित्रीको छोरा राजन, पल्लो घरका श्रीकृष्णबाजे र रमेशको बाबा हरेसँगै मिलेर पूजाको सरदामहरु जम्मा गर्दै मण्डपमा राख्दैथियो । उसलाई त मामाको अनुहार राम्ररी याद पनि छैन । अब त ऊ ठूलो भइसक्यो, त्यसैले ऊ पनि मामासँगै अरब जान चाहन्छ । यो ऊ जस्ता कैयौँ राजनहरुका साझा सपना हो, चाहेर पनि बाँच्न गाह्रो हुँदै गाउँ गएपछि । बलि चढाउनको लागि ल्याइएको कालो बोको, करेसा बारीमा कराउँदैथियो । एकमुठो घाँस, अगाडि राखिदिनेसम्म कसैले सोँचेकैछैनन् । माइली बज्यै र उनकी बुहारी, पल्लाघरे श्रीकृष्ण बाजेका बुहारी अनि हरेकी जहान् मिलेर सेल रोटी, अचार, तरकारी आदि पिँढीको पल्लो कुनामा बसेर बनाउँदैथिए । साइँलो दमाई आँगनको डिलमा बसेर चोली र कमिज सिलाउँदैथियो र लगभग उसैका छेउमा हरेका भाइ किस्ने हुक्काबाट तमाखु तान्दै आफ्नो एउटै छोरो बिदेसिएको यतिका वर्षसम्म पनि नफर्केकोमा गुनासो पोख्दैथियो कान्छा साहूसँग, जो उसँगै तमाखुको सर्को लिँदै थियो पालैपालो ।
‘जीवन त राम्रै बित्या’ हो तर उत्तरार्द्धमा आएर साह्रै कष्ट दिने भो किस्ने ! तँ के भन्छस् ?’
एकोहोरो लामो कसको लामो धूँवा पीरसँग ओकेल्दै कान्छा साउले भन्दैथियो र किस्ने तमाखुको कस हुक्काबाट ‘गटट-गटट-गटट’ लिन थाल्यो फगत । पीरहरु आखाँबाट हुरुरु आँगनभरि पोखाएझैँ गरी एकतमास हेर्दै गयो केही नबोली । बुढेसकालमा छोराको अभावले पिरोलिने उसको मन सँधैजसो बगर जसरी अलपत्रिएका हुन्छन् जसले उसलाई अक्सर आवाजहीन बनाइदिन्थ्यो कुराकानीमा । हुन त धेरै जसो वृद्धहरुका एउटैखाले पिरलो थियो यस गाउँमा !
बाटोभरि काप्रोका सुकेका पातहरु छरपस्टिएकाछन् । रुखहरु नयाँ पालुवासँगै मौलाएकाछन्, बुढ्यौलो मनलाई शीतल पार्ने गरी । फेरि एकपटक ‘काफल-पाक्यो’ चरी बनभरि ‘काफल पाक्यो-काफल पाक्यो’ भनी कराउन थालेकाछन् । बाटो चोकभरि जम्मा भएको पात-पतिङ्गर धूलो-मैलोलाई आकाशमाथि-माथि उडाउन थालेको छ । आँखा क्षण भरमा नै पोल्ने गरी हावा-हुरी-बतास बेस्सरी चल्न थालेकोछ । परको डाँडाको उराठ पन बदलिएर आँखा नै सुम्सुम्याउने रौनकझैँ हरियाली छाएकोछ । यसरी फेरि एकपटक जीवनमा, जस्तो -रहरहरु मौलाएका छन् । ‘कक्क्रकिएर’ अचल बनेका समयाभासमा अनायास नव आयाम थपिएको छ । केही केटाकेटीहरु पातका खातहरुलाई पन्छाएर खोपी खेल्दैछन् । बाटोमा हिँडिरहेका कोही बटुवाहरू रमाएर केहीबेर उनीहरूको खेल र त्यसमा परेका दाउ हेर्न रोकिन्छन् । कान्छा साहूका श्रीमती र बिधुवी बुहारी चिया-बिस्कुट बेच्दै हुन्छन् । आज यात्रीहरुको कमै आवत-जावत थियो ।
पण्डित बाजेले पूजाको थालनी गर्दैछन् आँगनमा । हरेसँगै केदार पनि मण्डपमा बसेको छ । अनौठो किसिमले धार्मिक हुँदैथियो त्यो । पण्डित ‘ऊँ’ बाट पूजा शुरु गर्छन्, मन्त्रोचारणको लयात्मकताले वैँश झझल्काएको छ, एउटा मीठो सम्झनावोध भएको छ, समयका हिसावहरुमा मनहरुले झयाँगिने, रहरहरुले ‘लटरम्म’ हुने थाँक्राहरु अन्तर्चेतनाका करेसाभरि बेहिसाव फैलिएकाछन् । बच्चा-बच्चीहरुलाई त्यसै रमाइलो………! उनीहरु झयाम्मिएर, घेरिएर हेर्दैछन् । पूजा हेर्ने र ‘लाइमिली’ गर्ने छरछिमेकीहरुको ‘एक अर्थ’मा भीड नै लागेको हुन्छ आँगनैभरि । साइँला दमाईले कमिज सिलाइ नै रहेको हुन्छ र अहिले तल्लाघरे माइला, किस्ने र कान्छा साउसँग मिस्सिइन आइपुगेको हुन्छ । किस्नेले नयाँ भरेको चिलिममा आगोको फिलुँगो राखेर हुक्कामा मिलाएपछि एकपल्ट लामो कस लिदैँ ‘बतियाउन’ थाल्छ माइला ।
‘हैन…! अस्ति बेलुका तल्लो भन्ज्याङमा केही माओवादी समातिए रे !’
‘युद्ध विराम भा’ बेलाँ’नि त्यस्तो …..-’
चिन्तित बन्दै र पिँढीको आडमा अडेसिँदै किस्नेले ‘खुइय……!’ सुस्केरासँगै भन्यो ।
‘बाँच्न गाह्रो भो आ’ब त…।’
चुक्चुकाएको थियो कान्छा साउ । सानो ‘पोके’ कागजको भकुण्डो गुडुल्किएर ऊ भएतिर आयो, तर, दुबैको कुनै रहर न देखी हुक्काको नलि किस्नेलाई दिएर माइलाले बल बच्चाहरुतिर फालेपछि उसँगै अडेसियो ‘खुइय…!’ गर्दै ।
‘हो …..! गाह्रो भो अब त ।’
एउटा सानो पोको पछाडि भिरेको, जताततै हिलो माटो, धूलो मैला लागेको अनि ‘झ्याप्प’ दाह्री-जुँगा पालेको मान्छेले जुगौँको प्यास मेटेझैँ धाराबाट आफ्नै हातलाई सोली जस्तो बनाई पानी पियो, तर अनुहार, शिर, अनि लुगाहरूमा लागेको फोहोरलाई सफा नगरी कुप्रिईँदै, लँगडिँदै आई तघारोको साहाराले अडियो झोँक्राएर । केटाकेटी, ठिटाठिटी आदिका प्रशस्तै भीड लागिसकेको थियो आँगनको एक कुनामा, र मादल ल्याएर कसैले ‘घिँताङ-घितिङ’ बजाउन थाल्दा कतैबाट मुर्मुरिएर जोशहरूकी भजनको रुपमा पोखिनथाल्यो, रमितेलाई आँखाहरु टन्न रमिता भइहाल्यो । रेशमले, केदारले बनाएको तूललाई कान्छा साउको बार्दलीको पालीबाट तघारोमा ठड्याइएको खामोमा बाँध्नलाई उक्त मान्छेलाई सघाउन भन्यो र उसले बिना आपत्ति, चुपचाप सघाइरहृयो एउटै हात निकालेर खोकिलाबाट ।
एकपटक फेरि ठूलो हावा चल्यो र बाटाभरि छिरल्लिएका सुकेका पातहरुलाई पर-परसम्म उडाएर लग्यो र लश्करै हिँडिरहेका केही यात्रीहरुलाई कान्छा साउको पसलमा शरण लिन वाध्य पार्यो । बार्दलीमा अड्याएको कागजका पँखाहरु ‘सिरिरिरि’ गर्दै घुम्यो र हावासँग मिस्सिएर हावाकै तेज सिट्ठीझैँ सुसायो र साथमा पँखासँग जोडिएको स-साना घण्टीहरु ‘टिनिनिनि’-’छिनिनिनि’ गर्दै एकोहोरो बज्न थाल्यो । मण्डपमा पण्डितले शँखघोष गरे ‘…पुइँ….अँ……।’
बाघ चाल खेल्न छाडेर भिमेका नातिहरु, मण्डपमा होम गर्न भ्याएर केदारको भाइ सुधीर अरु थुप्रै दौँतरीहरुसँग मिलेर भजनमा झ्याउरे मिलाएर गाउन थालेपछि पूजा घरमा झण्डै-झण्डै रोधिँघरको झैँ उन्माद छाएकोछ । रमेश र रेशमका श्रीमतीहरु, साबित्रीसँगै मिलेर सेलरोटी, तरकारी टपरीमा राखेर बाँड्न थाल्छन् । हरे, पण्डितसँगै मण्डपमा बसेर पूजामा साथ दिँदै गर्यो ।
कसैले उक्त बटुवालाई पनि एउटा टपरीमा सेल रोटी र तरकारी दिएछ र ऊ आरामसँग बसेर खानकोलागि यत्रो भीडमा बस्न मिल्ने ठाउँ खोज्दै पिँढीको वल्लो छेउ जुन मूलबाटोबाट टाढा पर्छ अनि खास मान्छेहरु नहुँदा पनि बाटोबाट यता देख्न नसकिने ठाउँ एक प्रकारले रछ्यान जस्तोमा बसेर खानलाई सर्दै ‘अभ्यस्त’ लँगडिँदै आयो । गाउँका केही ठिटीहरु पिँढीमा नै बसेर गीतको जवाफ गीतैबाट दिँदै चलबलाइरहेकाछन् । केही सालबाट यस ठाउँमा पनि जीवन यस किसिमले आधुनिक बन्दै गएकोथियो । कतै-कतै त लोग्ने मान्छेको अगाडि हिम्मतका साथ वादविवाद पनि गर्न सक्थे आइमाईहरु । भर्खरै कान्छा साउकी विधवी बुहारी ससुराकै अगाडि एकचोटी ‘छम्छम’ नाचेर गई पसलतिर । शहरतिर त पाइण्ट, सर्ट लगाएर आइमाईहरु अफिस जाने भइसकेका छन्, जसको प्रभाव यस गाँउमा पनि अवश्यम्भावी छ । नत्र त हूलका हूल आदिम रहर बोकेका मनहरु बादलझैँ यति बाक्लिएका छन् कि यस कुनामा……सायदै अन्य मनलाई घमाइलो लाग्ला ।
करेसाबारी तर्फको भुइँमा बसेर पिँढीको कुनाको डिलमा अडेसिई निहुरिँदै रोटी खाइरहेको उक्त बटुवा प्रत्यक्षतः मैलाको थुप्रो जस्तै देखिन्थ्यो नजिकबाट । वर्षौँको भोको जसरी ‘कपाकप’ खाँदै गरेको भए तापनि ऊभित्र आत्माश्लाघाहरुको विकृत मनोदशा छिन्नभिन्न भई साँगोपाँगो मन नै विस्फोट होलाझैँ भएर राँकिएको उसको धमिलो अनुहारबाट लख काट्न सकिन्थ्यो । पिँढीको यस कुनाबाट एकोहोरो उसैलाई नै हेरिरहेको मलाई देख्दा झस्किएको थिएन ऊ । भर्खरै रमेशकी आमाले केही चम्चा पानी मलाई पिलाउन आउँदा ऊ कछुवाझैँ आफैभित्र दोब्रिएको थियो । के सोँचेर हो, रमेशकी आमाले एक अँखोराभरि पानी उसको अगाडि राखेर फेरि भीडमा हराएकिथिई ।
lifeम पिँढीको यस कुनामा एउटा थन्किएको जाँतोसरी त्यसै पडिरहेकी थिएँ । सुन्न र हेर्न सक्ने भए पनि शरीरका शिर बाहेकका कुनै अङ्ग-प्रत्यङ्ग नचलेको लगभग एउटा सिङ्गै दशक बितेको थियो । बूढा बितेपछि अचानकै थलिएकी म, ‘घरले जा जा, बनले आइजा आइजा’ भन्ने बेलामा पनि अनवरतः यसरी जिइरहेकी छु कि मृत्यु बरु मीठो हुनेथियो । सास फेर्दै ‘ट्वाल्ल’ अगाडि वर-पर हेर्नु र मान्छेहरु पढ्नु नै यावतका दैनिकी हुन गएको छ । पहिले त रमेशकी आमाबाहेक कसैको पनि अनुहार देख्न सक्दिन थिँए, तर जब भित्र छिँडीबाट बाहिर यस कुनामा ल्याइएँ, जीवनमा जस्तो वहार आएको थियो ।
केही महिनादेखिको लगभग अनिँदो छु, निन्द्रा पनि शरीरको शक्ति जस्तै शरीरबाट गायब भएको झैँ छ । गए राति केही मानिसहरु अलि धेरै नै बेर त्यो तलको चौतारीमा बसी धेरैबेर यतै नियाली फेरि तलतिर झरेका थिए, जस्तो पहिला कहिल्यै भएको थिएन, अनौठो ! केकोलागि डर लाग्नु पर्ने मलाई ? आखिर बित्नु र मास्सिनु नै के छ र ? तर, आश्चर्य….! रातभरि मलाई कुनै अव्यक्त डरले सताइरहृयो, अचल शरीरभित्रको तठस्थ मनलाई धमिराले झैँ ‘कुतुर-कुतुर’ खाइरहृयो । पल्लो घरतिरबाट कुकुर रोएको आवाजले मेरो वरिपरि सबैतिरका अवयवहरुलाई-जस्तो रोइरहेको थियो, तर पनि नहुने केही भएन, धन्न !
शरीरले साथ पूर्णतः छोडेको थियो तर पनि सास आउने जाने क्रम जारी थियो, र त्यसैले अझै जीवित छु, मनभरि खाँदिएका लाखौँ कुराहरुसँगै, जसलाई व्यक्त गर्ने रहर शरीरका कुनै अङ्ग जस्तै मृत प्राय भइसक्यो ।
‘वारि जमुना, पारि जमुना’ बोलको गीतमा भाखा हालिसकेका थिए भिमेका नातीहरुले । कान्छा साउ, हुक्का हातमा नै लिएर गीतमा रमाई मस्तसँग झुम्दै थियो । रमेशकी श्रीमती मितिनीसँगै तघारोमा उभिएर ‘खिल्खिलाउँदै’ हाँस्दैथिई । बटुवी बूढीलाई सेलरोटी र तरकारी दिएर तघारोको भित्रपट्टि बस्न लगाई बुहारीलाई हेर्न अह्राएर आएकी रमेशकी आमाको, जस्तो, गोडा त भुइँमा नै थिएन । बर्षौँपछि यस घरमा खिल्खिलाहट, मादलका ‘घिन्ताङ-घिन्तिङ’का साथमा पूजाआजा भएर खुशी जो आएको थियो, र बर्षौँपछि छोराको वापसीले त उसको खुशीमा, जस्तो, पँखा थपिदिएको थियो, त्यसैले उड्दै जस्तै ‘फुरफुर’ हिँड्दैथिई । तघारोसँगै अडेसिएर उक्त बूढी आइमाई सेल खाँदै र कुनै दुखेसो सुनाउँदै हुनुपर्छ र त रमेशकी श्रीमतीसँगै कान्छा साउनी सहानुभूतिशील ‘मुख्याउरो’ बनाएर सायद, सान्वना बाँडिरहेकीछे र बूढी आइमाई सस्तैसँग त्यसमा तरकारी मिसाउँदै निल्दै गरी । सान्वना दिनबाट मानिस अझै सम्वेदनहीन भइसकेका थिएनन् । जतिसुकै खोक्रो भए पनि सान्त्वनाले केही न्यानो अवश्य दिन्छ । बटुवी बूढी आइमाई रोटीसँग आशाहरु चपाउँदै गई ।
आठ वर्षपछि रमेश घर फर्किँदैथियो अरबबाट । यतिका समयसम्म ‘मरे-बाँचे’ थाहा नदिएको ऊ अब कस्तो भयो होला – कति कमाएर ल्यायो होला – भन्ने हरेक गाउँलेको रुचिको विषय भएको छ । यसबीच यहाँ ‘हुनु नहुनु’ सबै भइसकेका या भइरहेका थिए । ऊ कस्तो भयो होला….? मोटोघाटो, एक मुरी चामल बोकेर एकैदिनमा बेसीको बजारमा बेची कहिलेकाँहि त घरमा ‘सम्साँझै’ र्फकन सक्ने खालको थियो, यसरी सारा बैँशलाई परदेशमा खन्याएर आउँदैथियो वर्षौँपछि । धेरै मुस्किलले माओवादीबाट अलग्याएर अरब पठाउन भ्याएको थियो हरेले । गाउँमा उसको बाँच्ने आशा साह्रै नै पातलिएकोले बिदेसिनु परेको रमेश, देशमा युद्धविराम भएको मौका छोपेर फर्कँदैथियो । ऊ गएपछि कुनै काम पनि सफल नभएकोले कूल देवताको पूजा बलि चढाएर, ग्रहदशाको शान्ति होम गरेर अनि सत्य नारायणको पूजा आदि गरेर छोराको आगमनलाई अर्थपूर्ण पार्दैथिए समस्त परिवारहरुसँगै हरेले यस गाउँको यो कुनाको यस घरमा । कसरी-कसरी जर्जर भई धमिराले झैँ भित्र-भित्रै खाइसकेको शरीरमा पनि, जस्तो नवस्फर्ति आएको छ, जीवन त्यसै रमाइलो लाग्दैछ ।
फेरि त्यो उताको बार्दलीबाट त्यो रातो प्लास्टिकको झोला, सीमलको भुवाझैँ आकाशमा उडिरहृयो । केहीबेर बार्दलीको पालीमाथि हराएपछि धानको बाला झुलेझैँ ‘लहलह झुल्दै र कहिले हुत्तिँदै अनि फेरि झुल्दै कान्छा साहूको घरपछाडि पुगेको छ । एकहूल बटुवाहरु एकैक्षण रमाइलो हेरेर ओरालो बर-पिपलको चौतारी भएर लागेकाछन् । चौतारीनजिकै एक मुस्लो धूलो भुमरी बन्दै आकासिन्छ । मण्डपमा घीउसँग होमेको जौले उब्ज्याएको धूँवा सीधा मेरा आँखामा पसेकोछ । आँखाहरु ‘भत्भती’ पोलेर आँशुले भरिएको छन्, जुन बिस्तारै-बिस्तारै डिल हुँदै चाउरिएका मेरा गालाका धर्साहरु भएर झर्दैछन् । लँगडो बटुवा नजिकै थियो र एकतमासले मलाई हेरिरहेको थियो । उसका आँखाहरु प्ानि आँशुले ‘टन्न’ भरिएका थिए । आफ्ना आँखाहरु ‘टल्पल्’ पार्दै ‘थरथर’ कामिरहेका उसका मैलो हातको औँलाले मेरो गाला र आँखाको डिल पुछिदियो, जसको औँलाको मैलोको पिरोले झन् ज्यादा आँखा रसाएको छ । तर पनि उसका ममतामयी, श्रद्धालु स्पर्शले म अनुगृहित भएकिछु । आफ्नो हात उसको शिरमा राखेर वात्सल्यपूर्ण सद्भाव व्यक्त गर्न सक्दिनँ, धन्यवाद सम्म बोल्न सक्दिनँ । ऊ मेरो देब्रेतिरको करेसामा बसेर पिँढीको डिललाई आड लगाउँदै कुपु-कुपु सेल रोटी चपाउँदै गयो । के थाहा..! साथमा कति अन्तर्निहित पीडाहरु चपायो होला ! उसकी आमा, हजुरआमाको स्थिति पनि मेरै जस्तो हुँदो हो ! भोग्नेलाई भन्दा स्याहार्नेलाई पीडा !
‘ए..रमेशकी आमा…! जा..जा.., बुइँकलबाट त्यो जोडी सेता परेवा ले’र आ’त ?’
हरेले जग्गेबाट बेस्सरी करायो तर त्यत्रो भीडमा, सबै आ-आफ्नो धुनमा मग्न भएको बेलामा कसले सुन्छ र ? अरु दईपटक चिच्याएर बोलाउँदा पनि श्रीमतीले नसुनेकी भएर आफै घरभित्र पस्यो एक्लै ‘फत-फताउँदै’ । उक्त जोडी सेतो परेवालाई मुक्त गर्ने भाका केदारेले राखेकोथियो क्यार ! ऊ उसको जमातमा चाहिनेभन्दा ज्यादा सम्वेदनशील बन्दैथियो । त्यसैको करमा तूल टाँगिएकोथियो बाटोमा । आफ्नो बाबालाई हृदयदेखि स्वागत गर्न चाहान्छ ऊ । ६ वर्ष जतिको न थियो त्यो जति बेला रमेशले गाउँ छोडेको थियो । बितेका आठ वर्षहरुले उसमा जीवनभरिको सन्ताप दिएको छ । एकदिन बिना प्रसँग काका किस्नेलाई सोधेको थियो-
‘ ….हाम्रो देशमा बिदेसिनु रहर हो कि वाध्यता हो ? एकैछाक खाएर पनि बाँच्न सकिन्न र घरमा सबै, सँगै ?’
किस्ने चुपचाप पिँढीको डिलबाट आँगनको पर छेउमा भएको तुलसीको मठमा, बाघचाल खेल्दै गरेको बाख्राहरु अर्थात् गोटीहरु एकपछि अर्को फाल्दै गएको थियो फगत यसपछि । यस्तै तर भिन्दै प्रकारको थियो केदार ! पोहोर साल आफ्नो अति मिल्ने एउटै साथीलाई माओवादीले उठाउन बिर्सेका बम दुर्घटनावश पड्किँदा तलको भन्ज्याँगमा गुमाएकोथियो र त्यसपछि ऊ अव्यक्तपनले अन्तर्मुखी भएकोथियो । हुन सक्छ, उसको मनमा कैद रहेका हजारौँ व्यथाहरुलाई परेवाका रुपमा स्वतन्त्र पारी त्यसको रहरमा आवद्ध हुन चाहान्छ सायद, या भित्र कतै त्यस अवोधको मनमा शान्ति होस् यस मुलुकमा भन्ने चाह थियो, त्यो त्यसैले जान्दथ्यो, किनकि, प्रायशः ऊ चुपचाप जो रहन्थ्यो ।
केही नयाँ अनुहारका एकथुप्रो मानिसहरु हुलमा मिस्सिएका छन्, गीत र नाचले आँगन गुल्जार भएको भए पनि मूलतः उनीहरु सँगीतको मजा नलिने खालका देखिन्छन् । चारैतिर जसो फैलिएका उनीहरु त्यसपछि लगत्तै चौतारीमा पुगेर ‘जम्मिएकाथिए’ । माझघरकी साइँली र उसकी भाउजू अनि लामिछानेकी छोरीहरु आएकाले आँगन रत्यौली घरझैँ हुन गएकोथियो । पण्डित एक्लै गृहमोचन पाढ गर्दैथिए, रुद्री सिध्याएर, त्यसपछि सत्य नारायणको पूजा गरी मूल देवतालाई भोग दिने हरेको बिचार थियो ।
रमेशका छोराहरु केदार र सुधीरसँगै केही केटाहरु, पण्डितले पूजा-तन्त्र-मन्त्र गरेर सँकल्प पूरा गरिदिई सकेकोले उक्त जोडी परेवालाई लिएर चौतारीमा पुगेकाथिए । त्यस थुप्रो मानिसहरु त्यसैगरी उभिँदै यता-उता नजर लगाउँदैथिए । उनीहरुकै छेऊ पुगेर हातबाट छोडिदिएका उक्त जोडी परेवा केहीबेर परसम्म उडेर फेरि बार्दलीको पालीमा बस्न आएकोथियो । उडेका परेवाहरुलाई पछ्याए जस्तो गरी सुधीर अन्य केटाहरुसँगै दौडँदै घर आइपुगेकाछन् । त्यो मानिसहरु पनि चौतारीबाट पलायन भइसकेकाछन् तर केदार चुपचाप त्यतै टोलाउँदैछ । तल-तल धेरै तल, त्रिशुली नदी अनवरत नागबेली पारामा बगिरहेको अनौठोसँग नियालिरहने उसको बानी छ । अलि-अलि देखिने बगर भएर उक्लिने बाटोहरुमा मानव आकृति ठम्याउने र पछि केही घण्टाको फेरले ‘लखतरान्’ भई चौतारीमा सुस्ताउन कोही आए यति बजेर यति मिनेटमा ‘त….ल’ बगरमा हिँहिरहनु भएका हजुरहरु हो कि होइन भनी सोध्ने र उसको अनुमान मिल्न आए सँसार जिते जसरी खुशी भई उफ्रिने उसको बानी गाउँभरिमा नै मीठो मानिएको थियो ।
मेरो छेउको करेसामा दोब्रिएर बसेको उक्त बटुवा अहिले त ‘ठ्याक्कै’ लुगाको थुप्रो जस्तै देखिन्थ्यो । ऊ आफूलाई पूर्णतः मैलो कपडाभित्र लुकाउँदैथियो यस्तो गर्मीमा पनि । उसको स्थिति आश्चर्यजनक नै थियो । ऊ धेरैबेरसम्म त्यसरी नै अचल लडिरहेकोथियो, जीवनको, जस्तो, नामोनिशान नै छैन । विस्तारै मैलो कपडाको एक छेउबाट सुस्तरी चिहृयाएर मेरो पछाडितर्फको आँगनमा शिर दाँयावाँया गर्दै कसैलाई खोज्दै थियो उसको नजर । अनुहार नीलो भएको थियो । जब उसका नजरहरु मेरोमा पर्यो..ऊ हडबडाएन, झसङ्गिएन र उस्तै गरी भीडमा केही वा कसैलाई खोज्न थाल्यो । कसैसँग भाग्दैछ ऊ….आखिर किन ? केही पहिले आएका मानिसहरुसँग ? आखिर किन ? चोर, डाँका त होइन, पक्कै नै । फेरि, को हो त ? म एकोहोरो उसलाई नै हेर्दै गर्छु । ऊ केही समयसम्मको निरीक्षणपछि थोत्रो कपडा आफ्नो शरीरबाट हटाउँदै तर अझै कुनातिर लेप्पिईँदै अचानक मलाई हेर्छ ।
कुनै पीडा छातीभित्र ‘बलजफ्ती’ दबाए जस्तो रुन्चे अनुहार, आँखाभरि डर, त्रास, दुखाइकासाथ छचल्किन ‘तमतयार’ आँशुहरु पारेर आँखाबाट ‘बेलगाम’ बोल्छ ऊ । जीवनको अथाह गहिराइमा ‘चुलुर्म्म’ डुबाउन सक्ने उसका व्यथाहरुको वजनले एकैपलमा मलाई गह्रुँगो बनाउँदै लान्छ, कुनै अचेतन सम्मोहनबाट खिँचिएको जसरी खिँचिन्छु म उक्त बटुवातर्फ । नजानिँदो किसिमले म आफूभित्र जकडिन्छु । उसको हेराइभित्रका व्यथाहरुको पीडाले मलाई जुगौँभरिलाई जस्तै गरी पीडित तड्पाउँछ । म उसलाई ज्यादा ध्यान दिएर हेर्छु, उसका आँखाहरुबाट ‘बलिन्ध्र’ आँशु उसको जुँगा र दाह्रीमा ‘लत्पतिँदै’ बहन थाल्छन् । ऊ मुस्किलले रुवाइ रोक्दै छ, उसलाई कतै बाहिरी चोट लागेको पनि हुन सक्छ, किनकि ऊ दोब्रिएर बसेको छ र लँगडाउँदै आएकोथियो । उसको शिरमा ढाकिएको रुमालको ‘सप्को’ शिरबाट काँधमा खस्छ या खस्न दिन्छ उसले । लगभग आधा जसो कपाल खुइलिएर अनि आधा जसो गुमाएर उसको शिर उदाङ्गिएको छ । माटोले पूरा अनुहार पोतिएको भए तापनि आँशुले र कपडाभित्र ऊ ‘लुट्पुटिएकोले’ गर्दा ज्यादा भाग उसको अनुहारबाट छर्लङ्गिएकोथियो । अनुहार त्यस्तो हिलो-मैलो स्वरुपमा पनि पँहेलिएको थियो, रगत नै छैन जस्तो ! उसका ओँठहरु ‘थर-थर’ काम्मिरहेकाछन्, केही भन्न चाहान्छ, सायद । उसको निधारको देब्रे कन्चटनिर टाँका लगाएको झैँ दाग अप्रष्ट देखिन्छ । ऊ निहुरिएर धेरै अप्ठ्यारोसँग एउटा पोका निकाल्छ खोकिलाबाट र ‘लग-लग’ काम्दै मेरोअगाडि बिस्तारै धकेल्छ । उसका हातहरु रगतले रङ्गएिका हुन्छन् । म क्षणभरमा नै निस्सासिन्छु, कारण, उसलाई उपचारको औधी खाँचो छ, त्यसै-त्यसै पँहेलिएकोछ, तर, म, न बोल्न सक्छु, न चिच्याउन !
अलि उताको आँगनमा लामिछानेकी छोरी, भीमेको जेठो नातीसँग नाचिरहेको हुन्छे र वातावरण ‘आत्थु-आत्थु’ पार्ने गरी तातिएको हुन्छ । भर्खरै कालो बोकोलाई बलि दिइएकोरहेछ, हरेले बेसार अनि तातो पानी सार्दै छ, किस्ने, कान्छा साहू अनि केदारसँग । रमेशकी श्रीमती र उसकी मितिनी धारामा नै पानी तताउँदै हुन्छन् बडेमानको खड्कुँडामा । एकपटक त्यसरी पानी तताउँदा चिप्लिएर लडी त्यही खड्कुँडाको बिटमा बजारिएर रमेशको निधारमा आठ टाँका लगाउन परेको……………..हे भगवान…..! म ध्यान दिएर फेरि उसलाइ हेर्छु, ऊ थाकेर जस्तो भित्तामा अडेसिएको हुन्छ । अनुहार रस निचोडिएको आँपको कोया जस्तै देखिन्छ । नाक उही, मुख जुँगा र दाह्रीले केही छोपिए पनि दुरुस्तै, दुब्लो तर उही बनोट…..अनि उही आँखा र उही आभाश…………………रमेश………! ………मेरो……..नाति !……रमेश…………………!!!
म चिच्याउन खोज्छु, कसैलाई सँकेतसम्म दिन खोज्छु आँखाको इशाराले, तर कोही नजिक आउँदैनन्, गलाभित्र, जस्तो, कसैले कपास थोपरिदिएकोहोस्, मात्र सुस्तरी ‘घ्याँ-घ्याँ’ निस्कन्छ, कसैले छातीभित्र मुटु निचोडे जस्तो । मेरो नाति वर्षौँपछि घर आएको छ, घरमा उसको आगमनको उपलक्ष्यमा पूजाआजा, नाचगान हुँदैछ, उसलाई लिन नौ घण्टाको बाटो हिँडेर पुग्ने बेसी बजारमा बिहान सखारै किस्नेको ज्वाँइ र कान्छीको लोग्ने गएका छन् । बिहानैबाट उसकी आमा र श्रीमती दुबै मिलेर सेलरोटी र तरकारीको भोज ख्वाउँदैछन्, उसका छोराहरु मिलेर बाबा आउने भएकोले एक जोडी परेवाहरुलाई स्वतन्त्र छाडेकाछन्, परिवार सबै अटाउनै नसक्ने जस्तै गरी खुशी भएकाछन् र ऊ यतिखेर पिँढीको एक कुनामुनिको करेसाबारीमा पिँढीको डिलमा अडेसिएर, छेउमा सँगै रछ्यानमा फालिएकी मेरा आँखाअगाडि घाइते अवस्थामा छ । थाहा छैन घाउको स्थिति…..तर ऊ सम्पूर्णतः थलिएको भने पक्कै छ । बोल्न पनि सक्दैन ….ओँठ ‘थर-थर’ काम्मिरहेकाथिए उसका अघि ।
suicideम छट्पट्टीका आघातहरुले मर्लान्त आत्मासँगै आर्तनाद गर्दैछु । मेरो लगभग काखैमा उसको प्राण जाँदैछ । म पूर्ण शरीर पक्षघातले थलिएकीले तुलसीको मठ नजिकै सारिएर पनि चम्चा-चम्चा पानीको भरले जीवित छु, जसको यस ठूलो सँसारमा नै जरुरत छैन, मरे तूल्य बाँचिरहेकी छु, फगत सास भित्र र बाहिर गर्दै । तर, जो, यति टाढाबाट, यति धेरै समयपछि, घर आयो, उसले घरमा कसैलाई नभेटी ‘खुसुक्क’ बिना जानकारी प्राण त्याग्दैछ । म हजुरआमा भएर, मात्र ‘टुलु-टुलु’ हेरिरहेकिछु……भित्र…छातीभित्र मुटु बेस्सरी चस्किएकोछ……सास कतै छुटिहाल्छ कि जसरी….आँखामा आँशुको मूल, जस्तो, फुटेको छ…….अविरल….अनवरत..कुनै वस्तुले जोडसँग अँठ्याइरहेझैँ मुटु पिल्सिएको छ……..सास नै छुट्छ कि…छुट्छ…जसरी….
………………………………..अँध्यारोले चारैतिर बिस्तारै-बिस्तारै ढाक्दैछ । भित्र कतै छातीभित्र चस्किन्छ, पीडामा म दोब्रिइन पनि सक्दिनँ । आँखाअगाडि धमिलो छाउँछ…………………… ……….अन्धकार………..निस्पष्ट………..कालो…………
(स्रोत : Prakash KC’s Blog)