फुकीढल तर अग्लो ज्यान सरासर भित्रिन्छ। साथीहरू जर्यााकजुरुक उठ्छन्। ऊ सरासर गएर कालोपाटीतिर कन्नो फर्काएर ठिङ्ङ उभिन्छ। दुवै हात पखेटाझैं १८० डिग्रीमा फैलाउँछ। र, खुम्च्याउँदै ‘बस’को इसारा गर्छ। ओठ खोल्दैन। साथीहरूका डब्लु बेन्चमा एक्कैचोटि छोइँदा ढ्याप्प आवाज आउँछ।
ऊ उभ्भेरै देब्रे हत्केलामा हाजिरकापी पिँ्कजाउँछ।
रोल नम्बर बोल्न थाल्छ। मुखबाट आवाज हैन, स्वर निकाल्छ। कक्षा शान्त भएकाले सुनिन्छ। मेरो रोल नम्बर छैन। मैले नाउँ लेखाएको छैन। त्यसैले म कान ‘अन’ गर्दिनँ। मेरा आँखा भने उसकै हुलियाबाहेक अन्तिन्नन्। हेरिरहन्छु उसलाई। साथीहरूको ‘एस्सर, एस्सर’ सुनेर पनि म सोच्छु– यस्तो पनि कहीँ सर हुन्छ? यो त पिउन हो।
दुवै गोल्डस्टारले अगिल्तिरबाट आँ गरेका छन्, गुँत खान खोज्या हुनन्। एउटा गोल्डस्टार धुलाम्य छ, अर्को पानीले छिटाम्य। मोहोतोले जुत्ता भेट्न एक बित्ता बाँकी छ। अचेलको ‘क्वाटरप्यान्ट’ पैरेका भनेर भने भो। मोजा फरक–फरक छन्, एउटा नीलो र अर्को खैरो। खैरो मोजा झोल्लिएर जुत्ताको बिटमा टङ्चेको छ। अर्को मोजाचाहिँ गोडामा टिनिक्क छ। कुर्कुच्चाले मोजामा पारेको प्वाल टाढैबाट देखिन्छ।
पैन्ट खुम्चीखाम्ची छ। दाइने–देब्रे दुवै गोजी पुटुस्स छन्। पछि थाहा पाउँछु– एउटामा सिग्रेट र सलाई अनि अर्कोमा चक र डस्टर रैछन्। सर्ट आकाशे छ। आकाशको किनारकिनारमा कालोकालोे बादलजस्तो छ। छातीको देब्रे साइडमा खल्ती छ। खल्तीमा डटपेनले वाकेको मसीको लतपत छ। विज्ञान किताबमा भएको मुटुको चित्रजस्तो देखिएको छ– खल्तीको दाग।
पेन्टबाहिरै लखतन्तन छ सर्ट। सर्टको सबैभन्दा माथिल्लो टाँक पनि लगाएका छन्। टाईविनै माथिल्लो टाँक कस्नेहरूलाई ‘खेपाखेपा’ भनेर खिज्याउने चलन छ। सर्ट लामै छ, तर ब्लाउजझैं टिमिक्क छ। सर्टमा मसिना प्वालप्वाल देखिन्छन्, सिग्रेटको झिल्कावर्षाले। चिउँडो र ओठमाथि चामल हुन लागेका दारी झुस्स छन्। ओठ राता र गुलाबीबाहेक कस्ता हुन्छन्, त्यस्तै छन्। आँखा बासी बेहुली–बेहुलाका जस्ता लाल छन्। कपाल बढेको छ, तर निकै पातलो। तेलले चिल्योर कपाल पछिल्तिर सिपिक्कै छ।
‘राष्ट्रपिता’ माविमै आज पैलो दिन हो मेरो। सातसम्म दाङमा पढेर आठमा पढ्न सल्यान आएको छु।
‘सिक्स्टिफो ˜…’
‘एस्सर’ संवादपछि हाजिरी सकिन्छ। रजिस्टरका ओठ जोडेर झ्यालमा राख्छन्। कालोपाटीमा चक घोट्तै गर्दा पुट्ठाबाहिर पैन्टमा धुलो टाँस्सेको देखिन्छ। उसले चक घोटिरहँदा पनि पत्यार हुन्न– यस्तो पनि कहीँ सर हुन्छ? खुकुलो मुठी मुखनेर लगेर कालोपाटीतिर फर्केर खोक्छ ऊ बेलाबेला। कक्षाभरि स्थायी मुद्रा उसको पहिचानकठिन भावशून्य मुद्रा!
आफूले स्कूल–कक्षामा चिनेका कोही थिएनन्, पहिलो दिन जो थियो। जुनै कक्षामा पनि मलाई ‘फस्ट इम्प्रेसन’ले अँचेटिरह्यो। आफ्नो उति बोल्ने बानी पनि नाइँ। मनमै कुरा खेलाइरहन्थेँ। एक लाइन त के, एक शब्द बोल्न परे पनि मनमनै दसपल्ट रिहर्सल गर्नुपर्ने आफ्लाई। सरको नाउँ रहेछ, मोहनसिंह थापा। पढाउने गणित। स्कुलबाट एक घन्टा टाढा थापागाउँमा रहेछ घर।
धेरैजसो ‘गुरु’हरूले छडी भिरेका। ती ‘नबोल है नबोल’ भनेर बोल्याबोल्यै गर्ने। लेख्दालेख्दैको चकका ठुटा विद्यार्थीतिर हुर्याउँथे। ती गुरु जब जोडजोडले ‘झल्लाहरू हो! हल्ला नगर’ भन्थे, साथीहरूका ओठबाट उल्टै हाँसो पो फुस्फुसाउँथ्यो। तर पैलो पिरियडको त्यो सरले न त डेस्कमा डस्टर ठटायो, न त छडी ठड्यायो। एकचोटि पनि ‘नबोल’ बोलेन। लेख्दालेख्दैको चक पनि विद्यार्थीतिर हुर्या एन। एकदम कम बोलेर पढाइरह्यो। उसको कक्षाभरि कोही कसैले चुँसमेत गरेन। यस्तो लाग्यो, पैलो पिरियडमा सबै विद्यार्थी भित्तेघडीको घन्टा सुई हुन्, शान्त चल्छन्, बाँकी कक्षामा ती सबै सेकेन सुई बनी छट्छट् छट्किरन्छन्।
बिस्तारै सरबारे अनेक ‘किंवदन्ती’ सुनिन थाले। साथीहरू ‘यस्तो हो रे, उस्तो हो रे’ भनी ‘रेरेे’ कुरा गर्थे– आफू एसएलसी पास गरेको छ, तर बीएसम्मलाई पढाउँछ। घरमा बिहानैदेखि साँझैसम्म पढाउँछ, तर फ्ँवास्यै। एसएलसीमा राप्ती अञ्चलमै फस्ट डिभिजनमा पास हुने ऊ मात्रै हो। उसले आफ्ना सबै कागतपत्र जलाइदियो। योभन्दा ‘टाइलेन्ट’ मान्छे कोही छैन। खत्रा˜˜ मास्टर हो यो। तर, बिहे गरेको छैन, रक्सी र चुरुटचैं खुप खान्छ। यसरी सरबारे अनेक किस्सा किस्ताबन्दीमा सुन्दै रहेँ मैले।
सर विचित्रको लाग्यो मलाई। पढाइभन्दा सरबारेको जाँचबुझतर्फ चाह बढ्दै गयो। तर कसरी नजिकिनु? उसै त सरको स्थायी मुद्रा रहस्यमयी, त्यसमा म परेँ यिनको विषय गणितमा आलुआलु। कक्षामा फाल्तु कुरा यिनले कहिल्यै गरेनन्। कक्षा यिनका लागि ‘टाइमपास’ कहिल्यै भएन। मैले नौ र दस कक्षामा पढ्दा यी लगातार आठै पिरियड पढाउँथे। ‘मेसिन टिचर’ यीमात्रै थिए स्कूलमा। मलाई गणितसँगै लेखासमेत पढाएथे। विद्यार्थीका जस्तासुकै समस्या जतिबेला जहाँ पनि फटाफट हल गरिदिन्थे। प्रश्न सुन्नासाथ उत्तर दिन सक्थे। साथीहरूले सबैजसो सर–मिसको ‘गिज्याउने नाउँ’ राख्या थिए, तर उनको थिएनन्। मैले एसएलसी दिँदा वर्ष स्कुलमा एक दिन सुनियो– मोहन सरले सदाका लागि स्कुल छोडे।
साथीहरूबीच खैलाबैला भो। किन छोडे, के कारणले छोडे, हामलाई थाहा भएन। साईभक्त लीला हेडसरबाट पनि सरले स्कुल छोड्नुको कारण पत्तो पाइएन। कक्षाको हर्ताकर्ता सहपाठी सन्तोष विश्वकर्माको अगुवाइमा कक्षामै आकस्मिक बैठक बस्यो। एक बुँदे सहमति भयो– सबै साथी स्कुलबाट सिधै सरको घरमा जाने। बेलुका छुट्टी भएपछि स्कूल भएको लुहापिङ डाँडाबाट एक घण्टा हिँडेर सरको घर थापागाउँ आयौं मलामीजस्तो उदास जुलुस लिएर। जसरी मलामी बाटैभरि ‘राम्रो थियो, भद्र थियो, गयो बिचरा’ भन्दै स्तुतिगान गाउँछन्– हाम्रा संवाद पनि ठ्याक्कै उस्तै हुँदा हुन्। साथीहरू सरको घरमा पढ्न आउँदा रैछन्, मैले भने घर पैलोचोटि देखेँ। घरमा दुई जनामात्र बस्दा रैछन्, सिंगल सर र सरकी सिंगलै बहिनी।
‘सर, हजोरले के कारणले छोड्नुभो सर? सर, हाम्लाई किन छोड्नुभो सर? सरले हाम्लाई छोड्न पाउनुन्न, हाम्लाई अब कोस्ले पराउँछ?’ साथीहरूले जम्लाहात गरेर सर–सर जप्दै यस्तैयस्तै टाइपका अलापविलाप सुनाए। म ती सब अलापविलाप तुरुन्तै दोहोर्या?उँथेँ मनमनै। आँगनमा एक घन्टाजति एकोहोरो कचकच गरेपछि बल्ल सरले मुख खोले, ‘म अब पढान्नँ इस्कुलमा।’
‘सर, किन सर? पिलिज भन्नु न सर?’ गठ्ठीहरूले सोध्यासोध्यै गरेपछि बड्डा फेरि बोले, ‘जंगे बोल्यो त बोल्यो, म पढान्नँ। तिमीहरू यहीँ आउनू, पढाइदिन्छु।’ यति भनेर घरभित्र छिरेका उनी बाहिरिएनन्। न त कुनै जवाफ नै दिए। सरकी बहिनीले दैलोमा पाला बत्ती बालिन्, तर सरले हरियो बत्ती बालेनन्। अँध्यारो छिप्पियो। हामी चप्पल घिसार्दै त्यहाँबाट छरपस्ट च्यात्तियौं।
सुनियो– लब्धांक र चारित्रिक कुनै पनि प्रमाणपत्र पेस नगरेका कारण उनी बाहिरिएका रहेछन्। लगातार १८ वर्ष पढाएपछि रित्तै हात तर भरी मन लिएर चुपचाप छोडी गए स्कुल। यो त्यही स्कुल थियो, जहाँबाट उनले २०२८ सालको एसएलसी परीक्षामा ६२ प्रतिशत अंक ल्याई राप्ती अञ्चलमै फस्ट डिभिजनमा पास हुने एकमात्र विद्यार्थी भएका थिए। त्यतिबेला परीक्षा केन्द्र दाङको घोराहीमा थियो। हिँडेर चार दिनमा दाङ पुगेका थिए उनी परीक्षा दिन। उनका अंग्रेजी शिक्षक भूतपूर्व प्रम मरिचमान थिए। पास हुनु नै ठूलो कुरा भएका बेला उनले अंग्रेजीमा ८५ र गणितमा ९० अंक ल्याइदिएपछि हेडसर मरिचका गोडाले अचानक भुइँ छोडे। खुसियालीमा हेडसरले आफ्नो नाकको नापो लिँदै उनलाई ‘मरिच–चिया’ खुवाए। सल्यानमा नेता मरिचमानभन्दा हेडसर मरिचमानका फ्यान धेरै छन् अझै पनि।
मरिचमानकै पहलमा सल्यानमा पहिलो क्याम्पस खुलेपछि २०४९ देखि उनले आइए र बीएलाई गणित र अर्थशास्त्र पढाउन थाले विना’योग्यता’। तर उनले आफ्नै जिन्दगीको ‘गणित’ कहिल्यै मिलाएनन्, न त ‘अर्थ’ नै खुलाए/कुम्लाए। ‘त्यस्तै प्लस स्वास्थ्यका कारणले’ २०६५ देखि त्यहाँ पनि पढाउन छोड्दे उनले। आइएमा अर्थशास्त्र पढेको थिएँ, मैले सरसँग। स्कुल र क्याम्पसमा एक दिन पनि उनको क्लास खाली भएको वा उनले पढाउन अल्छी गरेको मलाई सम्झना छैन। उनी कक्षामा त के बाहिरसमेत काम परे वा कसैले बोलाए मात्र बोल्थे एकदम फारुफारु गरेर। बोली एकदम सुस्त हुन्थ्यो सधैं। रिसाएको–खुसाएको केही थाहा नहुनी, सदावहार अनुहार!
स्कुलबाट बाहिरिएपछि उनलाई दिनभरि के गरौं–गरौं, सकसक भयो। केही दिन तास खेले पनि नपढाई बस्न सकेनन्। २०५९ मा आफ्नै पहलमा नर्सरीदेखि पाँच कक्षासम्मको स्कुल खोले। क्याम्पस पढ्ने खर्च जोहो गर्न गाह्रो परेको थियो मलाई। मेरो आइएको कक्षा बिहान हुन्थ्यो। दिउँसो सरको स्कुलमा पढाउने जागिर पाएँ। मेरो तलब दिनको तेत्तीस रुपैयाँ तेत्तीस पैसा नेरु थियो। किनभने विद्यार्थीको महिनावारी शुल्क पनि सय रुपैयाँदेखि दुई सयसम्म मात्र थियो। सुरुमा नर्सरीदेखि पाँच कक्षासम्म खुलेको त्यो स्कुल हरेक वर्ष एकेक कक्षा बढ्दै २०६४ मा दस कक्षासम्मको भयो। बिहान पढ्दै र दिउँसो त्यहाँ पढाउँदै म आइए पास भएँ। बीए पहिलो वर्षको जाँच हुँदा महिना पैलोचोटि काठमाडौं छिरेको म त्यसपछि उता फर्किइनँ। सरले मलाई संसार चियाउने ढोका दिए, सरलाई मैले नफर्केर धोका दिएँ।
स्कुलको सबै हिसाबकिताब सबैलाई सधैं छ्याङ्ङै हुन्थ्यो। प्रायः आम्दानीभन्दा खर्च नै बढी हुन्थ्यो। स्कुलका हरेक शिक्षक ‘एकाउन्टेन्ट’ थियौं। भिरालो बारीलाई सम्याएर टहरा, प्रार्थना सभास्थल र खेल मैदान बनाउँदा बनाउँदै अनि हावापानीले बिगारिदिने कटेराका छाना र मान्द्राका चौघेरा हरेक वर्ष फेर्दैमा सरको बेहाल हुन्थ्यो। ससाना केट्केटीलाई समेत मयालु पाराले दिनभर पढाएको देखेर म छक्क पर्थें। स्कुल छुट्टी हुँदा नहुँदै सरसँग पढ्न आउनेहरू त्यहीँ आइहाल्थे। सर उनीहरूलाई पढाउन थालिहाल्थे। सर पल्टेका हामी ‘फुच्चे सर’हरू चाहिँ प्रायः साँझैसम्म क्यारेमबोर्ड खेल्थ्यौं स्कुलमै।
एक दिन सर र म स्कुलको आँगनमा उभिएर गफ गर्दै थियौं। अरू नै जिल्लाबाट सल्यानमा सरकारी जागिरे भई आएका एक अभिभावक स्कुलमा आए। उनले सरतिर फर्केर अलि ठूलै स्वरमा भने, ‘ओ दाइ, खै पेन्सिपल सर्लाई भेटम् न।’ सरको सिँगारपटार प्रिन्सिपल देखिने र गुरु भनिने खालको कहिल्यै भएन। एक त सानो स्वर झन् सानो स्वरमा सरले तुरुन्तै सोझो जवाफ फर्काए, ‘मै हुँ।’ सरको विद्वता र लगन, सिधा र सादा जीवनको चर्चा सुनेका उनी तुरुन्तै जम्लाहात गरेर झुके। अचानक स्कुलको पढाइको प्रशंसा गरेको सुन्न लाज लागेर म त्यहाँबाट चोइटिएँ।
सरबारे जान्ने आशले बेला–मौका हेरी छुस्सछुस्स अनेक प्रयास गरेँ। तर अहँ। ‘किन चाहियो र, विमल? छोड्देऊ।’ मात्रै भन्ने सधैं। अचम्मका बड्डा! न आफ्ना कुरा गर्छन् न अर्काका, सधैं पढाइ, पढाइ, पढाइ। भाले नबास्दै सरका घरमा पढ्न जानेहरू सुनाउँथे, ‘कहिलेकाहीँ त सर दिउँसो लगाएकै लुगा र जुत्ता–मोजामै सुतेका हुने। हामी गएपछि जुरुक्क उठेर हिसाब देलान् अनि बल्ल बुरुस गर्दै नित्यकर्म थाल्लान्।’ स्कुलमा सर जब कहिलेकाहीँ एक्लै हुँदा भित्तातिर फर्केर टोलाएको, गुरु मरिचमानझैं चुरुट धेरै पिउने हुँदा ख्वाङख्वाङ खोकेको देख्थेँ, बूढाको बहुत माया लागेर आउँथ्यो।
छ कक्षादेखि बीएसम्म सरसँग पढेका पूर्ण बुढाथोकी काका मेरा छिमेकी थिए। हरेक साँझ म उनलाई भेट्थेँ। उनी सरका बारे सोध्थे र सधैं उही निष्कर्ष सुनाउँथे, ‘उहाँ मोहन महोदयजस्तो काम, क्रोध, लोभ, मोहभन्दा परको मनुष्य मैले देख्या छुइनँ। हामीले पुस्तकमा पढ्ने महापुरुष नदेखिएका र इतिहासका भएर महान् भएका हुन्। वास्तवमा उहाँ महामानव हो। नजिकको तीर्थ हेलाँ भन्यास्तो उहाँ भिल्लका देशमा मणि हुनुभएको छ।’ यी काका परे असाध्यै गरिबीमा पनि एसएलसीमा जिल्ला फस्ट भएर तुरुन्तै लोकसेवा पास गरेर खरिदार भएका गाविस सचिव। र त, ‘तपसिल’को भाकामा कतिका प्रवचन दिन्थे मलाई।
उनले आफ्ना कागतपत्र जलाएका बारे जत्ति सोध्दा पनि कारण बताएनन्। किंवदन्ती भने यस्तो छ– निम्छरो परिवारका मोहन सर इन्जिनियर बन्न चाहन्थे। तर आफ्नै नाउँसँग मिल्ने आफ्नै सबभन्दा नजिकको यारले उनलाई छिर्के हाली त्यो औसर पड्कायो। त्यसपछि उनलाई विरक्त लाग्यो र सबै प्रमाणपत्र आगो लगाइदिए। यो किंवदन्ती बहुमतले पास भएको छ सल्यानमा। कोही कसैले फरक मत दर्ता गरेको छैन अझै।
स्वास्थ्य निक्कै कमजोर हुँदा पनि उनले पढाउन छोेडेका थिएनन्। कतिचोटि त पढाउँदा पढाउँदै ढलेपछि अस्पताल पुर्यारउनुपरेको थियो। जस्तोसुकै बिमार हुँदा पनि सकी नसकी स्कुल आएर हिसाब सिकाउन थालिहाल्थे। हिँड्नै नसक्ने गरी थला परेपछि आफूले खोलेको स्कुल दुई वर्षअघि अर्कैलाई जिम्मा लाइदिइसके। उसो त ‘योग्यता’ नभएका कारण उनी आफ्नै स्कुलमा ‘प्रिन्सिपल’समेत हुन पाएका थिएनन्। भाले बास्नुअघिदेखि र झ्याउँकीरीको झ्याइँ–झ्याइँपछिसम्म जो दिलैदेखि पढाउँछ, उही अयोग्य लडाकु! हरे!!
फेसबुकमा हालसालै मलाई एउटा फ्रेन्ड रिक्वेस्ट आयो अमि्रकाबाट। ‘कारसँग खिचाएको उनको प्रोफाइल पिक्चर’ चिनेजस्तो लाग्यो। ती रहेछन्, सल्यानमा पढाउँदाका मेरा सहकर्मी ‘दार्जलिङका अर्जुन सर’। हाम्रातिर ‘दार्जलिङका सर’ हरेकजसो स्कुलमा भेटिन्थे। जिल्लामा तिनको भाउ सिडिओकै हाराहारी हुन्थ्यो। स्कुलले भर्ना खोल्दा ‘हाम्रा विशेषता’मा ‘दार्जलिङका शिक्षकबाट पढाइ हुने’ लेख्न भुल्दैनथे। एक दिन तिनले च्याटमा अंग्रेजीमा भने, ‘मोहन सर जस्तो साधुसँग झुटो बोलेकामा मलाई पछुतो छ। सरसँग भनिदिनुहोला– म दार्जलिङको हैन, भुटानी शरणार्थी हुँ। झापामा शरणार्थी शिविरमा हुर्के–पढेको हुँ। तेस्रो मुलुक पुनर्स्थापना भएर अमेरिकामा छु।’ सल्यानमा दुई वर्षमात्र बसेका उनी मोहन सरलाई सबैभन्दा बढी ‘मिस’ गर्छन् रे अमेरिकामा।
र, सरको हालखबर– दुई वर्ष भयो, उनको संसार सुत्ने कोठामात्रै हो। जिउ सुकीपाकी दाउरो छ। माटाको गारो र ढंुगाको छानो भएको सानो र सुनसान घरमा २०३७ सालमै आमा गुमाएका अविवाहित दाइ–बहिनी बस्छन्। उमेर साठी वर्ष चार महिनामात्र भो। खाटमै चढ्न नसक्ने भएपछि ओछ्यान भुइँमा सारेको पनि वर्ष भएछ। अविवाहित बहिनी ‘आमा’को भूमिकामा छिन्।
उज्यालो नहुँदैदेखि रातिसम्म पढाएको पढायै गर्ने। अक्सिजनभन्दा बढी धुवाँ लिने। चकको धुलो र रक्सी–’खाना’ले सरको स्वास्थ्य चाँडै भत्कियो। औषधि र खानेकुरा खाँदै नखाइदिने हुँदा ‘आमा’लाई सबभन्दा पिरलो खुवाउनकै छ। गुरुपूर्णिमामा समेत सरका घरतिर कसैले ‘बाटो नबिराएको’ सुनेर मलाई उदेक लाग्छ। सरकी ‘आमा’ भन्छिन्, ‘पैला पैला साँज–ब्यान जति बेला पनि पढ्न आउनेको बगाल थामिनसक्नु हुन्थ्यो। दाइ पढाउन नसक्ने भएदेखि दुई–तीन वर्ष भो, कोइ आउनुभया छैन।’
म सरका बारे बुझ्न चाहन्छु। बिस्तारै बिस्तारै कुरा कोट्याउँछु। तर मेरा प्रश्नको जवाफै नदिई उल्टै प्रश्न गर्छन्, ‘के गर्छाै अचेल?’ म सरभन्दा सुस्त बोल्छु, ‘फाट्टफुट्ट लेख्छु। पढाउँछु सर।’ ‘गुड जब, टिचिङ प्रोफेसनलाई खेलाँची नठान्नू, सधैं सेवा ठान्नू,’ यसो भन्दा सरको स्वरको डेसिबल अचानक बढ्छ। ‘सरबारे म केही लेख्छु होला,’ म डराउँदै बोल्छु। सरको मुखाकृति अचानक बद्लिन्छ। ‘विमल, केही नलेख्नू र नछपाउनू। मैले कसका लागि के नै गरेको छु र?’ कोल्टे परेर कुक्रक्क सुतेका सिद्राजस्ता उनी आँखा चिम्म गर्छन्। चिम्लँदा आँखाका कोस–कोसबाट रसाएको पानी न त बग्छ, न त सुक्छ नै। म सोच्छु, सरको जिन्दगी ओरालैमा अडिइरहेछ त्यही बूँदझैं। आधा घन्टासम्म सरले आँखा नखोलेपछि वीरेन्द्र भाइसँगै निस्कन्छु म। सर, मैले आज्ञापालन गरिनँ। लेख छपाएँ। क्षमा पाउँ!
(स्रोत : Nagarik News)