“ …………. कता पड्केकी ? खुरुक्क घर फर्कि !” पहिलो शब्द अपशब्द थियो ।
मूल सडकबाट छुट्टिने गल्ली बाट कोही चिच्यायो । मैले मान्छे देखिनँ । स्वर महिलाको थियो, त्यो चिनेँ । अलि छिप्पिएको र स्वर बाँस चिरिए झैं ककस ध्वनि ।
म बरन्डामा उभिएको थिएँ । तल सडकमा हिड्ने यात्रिलाई अघि देखि पछि सम्म नियाल्थेँ । म देख्थेँ, त्यहाँ सवै अनुहार नयाँ हुन्थेँ । सडक खाली के हुन्थ्यो, म पिच्च थुक उछिट्याउथेँ ।
“किन घरि घरि यो केटो आँगनमा थुक्छ ? सवै टाटै–टाटा बसिसकेछ । कस्तो फोहोरी बनेको ! घिन पनि नलागेको !”
घरमा आमाले मलाई यसै गरि गालि हुनुहुन्थ्यो । दिदी पनि हो मा हो मिलाउँदै आगोमा घिउ थप्थिन । बुवा दिउँसो प्राय घर बस्नु हुन्नथ्यो, त्यसैले मेरो यो दैनिकी संग अज्ञात हुनुहुन्थ्यो । त्यो आफ्नो आँगन र आफ्नाले मलाई सुध्रान गरेको गाली थियो । म बुझ्थेँ, त्यो गालीमा प्रेम थियो । म केही नबोली कोठामा पस्थेँ । अलि बेरमा फेरी थुक्न निस्कन्थेँ । यो पल्ट अलि पर आँगनको बाहिर एउटा कुनामा ।
म दुई वर्ष देखि डेरामा थिएँ । गाउँको दाई यहि डेरामा बस्ने भएकाले मलाई पनि परिवारले उनै संग यहाँ पठाएका थिए । उनैले मलाई कलेज खोज्न र डेराको अनुशासन सम्झाएका थिए । एक वर्ष पछि उनको कलेज सकियो र उनी अन्यत्र सरे । त्यस पछि म एक्लै बस्न थालेँ ।
सडकमा केटी देखापरि । यस्तै १२ वर्षकी हुँदिहो । लुति भएकाले अग्ली देखिन्थी । सेतो वृतले भरिएको रातो कुर्था लगाएकी थिई । खाली खुट्टा कता हिडेकी होला, मैले व्यर्थ उसलाई ध्यान दिएँ । तुरुन्तै अपशब्द सहितको कर्कस स्वरमा कोही चिच्यायो । त्यो उसकी आमा रहिछ । केटी स्तब्ध भई । उसका लामो खुट्टाहरु घुमे । ऊ मृगको पाठी जस्तै उफ्दै आमा भएतिर कुदी । मैले पुनः सडकमा थुक उछिट्याएँ । यसपटक मैले त्यो केटीकी आमाले बोलेको शब्दलाई पनि थुकेँ ।
“गुड आफ्टरनुन !” छोटो हिलले सिढि चढ्दा बजाएको टक–टक आवाजले यसलाई पछ्यायो । माथिल्लो तलामा बस्ने केटी म संग यसरी नै बोल्न सुरु गर्छे ।
कता बाट आएकी थिई ? निक्कै खुसी देखिन्थीे । उत्तिकै राम्री पनि । सिढि उक्लुन्जेल उसका र मेरा आखाँ जुधे । मैले पनि “येस, गुड आफ्टरनुन !” भनि सकेको थिएँ ।
– “सानो हेल्प गर्नुस् न है !” उसले माथिल्लो खुट्किलोमा एउटा खुट्टा राख्दै उभिएर भनि ।
“कस्तो होला ?” मैले जिज्ञाशु भएर सोधेँ ।
– “खास केही छैन् ! अहिले आउँछु नि है !” ऊ दोस्रो तलाको सिढि उक्लदै थिई । यति भनि सक्दा, उसको रफ्तार क्रमशः तिब्र भएको थियो ।
म पहिलो वर्षको परीक्षा लेखेर घर गएको थिएँ । फर्केर आउँदा नयाँ केटी पनि डेरा बस्न थालेकी रहिछ । सुरुमा मलाई ऊ घरबेटीकी आफ्न्त होली भन्ने लागेको थियो । पछि उसलाई पनि आफ्नै कलेजमा देख्दा बोल्ने आँट गरेर सोधेँको थिएँ ।
“तपाई पनि यहीँ ?”
– “हो त, रुम बाट नजिक लाग्यो अनि ।” तब मात्र मैले ऊ पनि डेरा बसेकी रहिछ भन्ने थाहा पाएको थिएँ ।
“बाई द वे, म ……. ।” भन्दै मैले मेरो नाम बताएको थिएँ ।
अनि उसले आफू पूजा भएको बताएकी थिई ।
त्यस दिन गफ भएको यत्ति थियो । उसको र मेरो कक्षा नमिल्ने भएकाले कलेज लाग्ने र सकिने समय पनि फरक थियो । डेरा पनि तला माथि र तल भएकाले प्राय भेट हुँदैन थियो । भेट भईहाले पनि बिहान, दिउँसो वा साझँ विचार गरेर यसकै अघि “गुड” थपेर सम्बोधन गर्ने गरिन्थ्यो ।
मध्य पुसको माहिना थियो । कसैले ढोका ढक–ढक परेको थियो । त्यस दिन विदा परेकाले म अलि ढिलो उठेँको थिएँ । अनि सधैँ जाने गरेको पसल पुगेर आधा लिटर दुध ल्याएको थिएँ । दुध खन्याएर बसाई सक्दा बाहिर कोही आएको थियो । को होला ? घरबेटी ! मैले अनुमान गरेको थिएँ । पुस महिनाको भाडा केही दिन अघि नै बुझाई सकेको हुनाले घरबेटी नहुने पक्क थियो । मेरो पाईला बढो कैतुहलका साथ ढोका तिर बढेँको थियो ।
मैले ढोका खोलेँ, हेरेँ, अरु को हुन्थ्यो ? उहि पूजा, हर्सित मुद्रामा उभिएकी थिई ।
– “गुड मनिङ्ग !” ऊ नै अगाडि बोलेकी थिई ।
उसले जोडेकी थिई ।
मैले जवाफ फर्कान नपाउँदै हातमा बोकिराखेको पारदर्शी सेतो प्लास्टीकको प्याकेट म तिर उचाल्दै उसले जोडेकी थिई – “आज मेरो बर्थ डे !”
“वेल, ह्याप्पि वर्थ डे । एण्ड मेनी मेनी ह्याप्पि रिटन्स अफ द डे !” मैले प्याकेट बाट स्टभरि फ्लेभरका दुई वटा चकलेट निकाल्दै शुभकामना दिएँ ।
– “थ्याङ्यू ।” ऊ तुरुन्त बोलेकी थिई ।
– “गएँ है ! अरु लाई पनि बाड्नु छ ।” यति भनि सक्दै ऊ मोडिन तत्पर देखिन्थी ।
“हैन, कसरी ढोकै बाट ? भित्र आऊ न ।” मैले पहिलो पल्ट कसैलाई जिद्दी स्वभाव देखाएँ ।
त्यस पछि के खुस पह्यो, म जान्दिन । ऊ आउन तयार भएकी थिई । मैले ढोका पुरा उघारेँ ।
ऊ आएर म बस्ने कुर्सीमा बसेकी थिई । म बस्ने पनि कसरी भन्नु ? भएको कुर्सी त्यहीँ एउटै थियो । उसले बजिरहेको रेडियो तुरुन्त बटारेकी थिई । ऊ संग बोल्दै मैले अर्को भाडामा एक कप पानी र एक कप दुध बसाएँ । कफिका लागि ।
“सोध्न त नहुने हो तर पनि सोधेँ है ! कति वर्ष पुग्यौँ ?” मैले लाईटर ठोस्दै सोधेँको थिएँ ।
पहिला ऊ हाँसेकी थिई – “कस्तो बाठो मान्छे तपाई ? म १७ पुगेँ । अनि तपाई ?” ऊ लाडिए झैँ सुनिन्थी ।
“म साढेँ १७ ।” ऊ खित्का छोडेर हाँसेकी थिई ।
कपमा ५ ७ दाना कफि राखेर मैले पहिला उसलाई दिएँ । अनि मैले आफ्नो लागि खन्याएँ ।
“खै ! लेऊ न ! बाई द वे, तिम्रो वर्थ डे ट्रिविट् ।” मैले हाँस्दै भनेको थिएँ ।
कफिको पहिलो चुस्की लिन साथै । हामी दुवैको मुख बिग्रेको थियो । कारण कफि खल्लो थियो । मैले गफको सुरमा चिनी सोध्नै बिर्सेको थिएँ ।
ऊ फेरी खित्का छोडेर हाँसेकी थिई । मैले तुरुन्त चिनी र चम्चा उसको हातमा थमाएको थिएँ । बरु उसैले सोधेकी मलाई थिई – “कति चम्चा लिनुहुन्छ ?”
“दुई !” मलाई कता कता ग्लानी अनुभव भएको थियो ।
उसले मेरो कपमा दुई र उसको कपमा पनि दुई चम्चा चिनी हालेर पहिला मेरो कपमा चम्चा चलाई । म अर्को चम्चा लिन फर्केको मात्र थिएँ ।
– “पर्दैन !” उसले मलाई भनि सक्दा आफ्नो कपमा पनि उहि चम्चा घुमाई सकेकी थिई ।
“तर किन …….?” मेरो कुरा नसकी उसले सरल भएर जवाफ दिएकी थिई – “मलाई चल्छ ।”
म अवाक् बनेर उभिदोँ मात्र भएँ ।
उसले मैले भन्दा छिटो कफि सकि । एक पटक पुनः धन्यवाद भन्दै ऊ तुरुन्त निस्केकी थिई । ढोकामा मैले पुनः उसलाई वर्थ डे विस गरेको थिएँ ।
ढोका लागएर बाँकी रहेको कफि समात्दा, रेडियोमा कृषिथोक बजार मूल्य बज्दै थियो ।
किन ऊ पुनः मेरो कोठामा आउँदै थिई । म अज्ञात थिएँ । म हठात् कोठामा पसेँ । परीक्षको मारामारमा कार्पेटमा कुचो परेको रहेनछ, स्पर्श गराईदिएँ । टेबलमा छारिएका किताब मिलाएँ । ब्लाङ्केट पट्याएँ । ओछ्यान मिलाएँ । किचन भएको एउटा कुना सफा थियो । आहा ! काम घट्यो खुसी भएँ । पर्दा उठाएँ, भ्याल खोलेँ । क्या ! उज्यालो कोठा । आफै दङ्ग परेँ ।
ढोका उस्तै गरि ढक–ढक गह्यो । ढोका खुल्लै थियो । ऊ हातमा ल्यापट बोकेर आएकी थिई । कलेजको प्रोजेक्टको लागि उसलाई सहयोग चाहिएको रहेछ । मैले पहिले आफूले बुझाएको प्रोजेक्टमा थपघट गरेर उसलाई दिएँ । यसपटक पनि उसलाई मैले उसलाई चिनी नहाल्ने गल्ती नगरी कफि “सर्व” गरेँ । अघिको घटना सम्झेर होला, ऊ एक पटक उसै गरि हाँसेकी थिई । जे होस, उसको काम भएकाले ऊ खुसी देखिन्थी ।
कौशीको आधा भाग डेरा बस्नेहरुलाई छुट्याईएको थियो । हामीलाई त्यहाँ लुगा धुन र सुकाउन सुविधा थियो । जाडोमा घाम ताप्न पनि सजिलो थियो । म संग बस्ने दाई रहुन्जेल कौशीमा गएर पढ्थे । मलाई भने आफ्नै कोठा नै रमाईलो थियो । बरु कोही बेला बरन्डामा उभिएर सडक नियाल्थेँ । अनि पिच्च पिच्च थुक्थेँ ।
पछिल्ला दिनहरुमा परीक्षा सकिएको भएर म पूरै फूर्सदी भएको थिएँ । नत्र कलेज धाउन्जेल एउटै रुटिनमा दिन बित्थ्यो । कलेज बाट फर्केर, धोएको लुगा लिन म दिउँसो कौशी उक्लन्थेँ । प्राय दिन, उनै पूजा त्यहाँ पढ्दै भेटिन्थी । कुनै दिन ल्यापटप चलाउँदै हुन्थी । कहिलेकाहीँ, पढाईको बारेमा सोध्थी पनि म जानेको सिकाई दिन्थेँ । अनि लुगा लिएर तुरुन्त फर्कन्थेँ ।
मैले उसलाई घर फर्कने केही दिन अघि जाँदैछु भनेर सुनाएँ । मैले किन उसलाई सुनाउन जरुरी ठानेँ, म जान्दिन तर पनि मैले सुनाएँ । के ऊ मेरो कुरा सुनेर दुःखी हुनुपथ्र्यो ? वा मलाई बाँकी वर्षहरुका प्रगतिका शुभकामना दिदै खुसी हुनुपथ्र्यो ? ऊ के भई, त्यो नदेखाई उसले मलाई मेरो सहयोगका लागि धन्यवाद दिई ।
– “अनि सुन्नु ।” कोठा फर्कन, सिढि ओर्लदै गरेको म टक्क अडिएँ ।
– “त्यो चिनी बिनाको कफि ……..”
“उफ ! अझै बिर्सेकी छौनौँ ?” मैले ऊ बोल्दा बोल्दै रोकेँ । अनि हाँस्दै तल झरेँ ।
केही दिन पछि, काकाको छोरी मेरो कोठामा बस्न भनेर आईपुगिन् । घर बाट पैसा र किनेर घर लानुपर्ने सामानको लिष्ट पनि पठाउनु भएको रहेछ । मैले केही दिन अघि नै घरबेटी संग मेरो कोठामा अरुकोही बस्ने कुरा गरिसकेको थिएँ । ऊ आएकै दिन म कोठाबाट निस्केँ । जाने बेलामा पूजालाई सम्झेँ । लागेको थियो भेटेर जाउँ र बहिनीको परिचय पनि गराईदिउँ । उसको कोठामा ताला झुण्डेको रहेछ । म पनि आफ्नो बाटो लागेँ ।
घर आईपुगेको भोलिपल्ट दिउँसो म रुखको छाँयामा विस्तारा ल्याएर पल्टेको थिएँ । दिदीले मलाई सोधिन् ।
— “भाइ, को हो पूजा ?”
“मेरो देखि माथिको तलामा बस्थी । कसरी चिन्नु भो ?” मैले चकित पर्दै सोधेँ ।
— “यो हेर त, तेरो सर्टमा थियो । भिजेर सवै नबुझिने भयो ।” दिदीले मलाई निलो मसी लतपतिएको कागज देखाउँदै भन्नु भयो । चिठीको ढाँचामा लेखिएको जस्तो देखिने त्यो कागजको अन्तिममा एउटा शब्द पूजा मात्र बुझिन्थ्यो ।
“यो मेरो सर्टमा कसरी आयो ?” म आफै चकित परेँ ।
— “अनि तैले बुझिनस् ?” दिदी यत्ति भनेर उठेर जानु भयो ।
“के ?” मैले सोधेँ तर उत्तर आएन ।
म सधैँ उल्टो गरी मेरो सर्ट सुकाउने गह्थेँ । एकदिन सुकेपछि लिन जाँदा सर्ट सुल्टीएको थियो । मैले नै सुल्टो सुकाएको रहेछु भनेर वास्ता गरिनँ । अहिले भने, त्यो सर्ट र फिका कफि मेरो दिमागमा एकैपल्ट नाच्न थाल्यो । मैले एक पटक धोएर सुकाएको सर्ट हेरेँ । यसमा इस्त्री पनि गरिएको रहेछ ।
(स्रोत : Sandip’s Blog)