भँगेरी हँसियामा साँध लाउँदै थिई । हँसिया उद्याउने ढुंगो निकै खिइसकेको थियो । भंगेरीले ढुंगापट्टी हेरी ।
तेरो र मेरो जीवन उस्तै भयो है, खिइँदै खिइँदै जाने – निर्जिव ढुंगासंग भँगेरी वोली ।
ढुंगाले कुनै प्रतिक्रिया जनाएन । हसिंयासंग घोटिइ रह्यो ।
यो हतियार उद्याउने ढुंगाको नाम के हो ? भँगेरीलाई थाहा थिएन । छोरो हर्केले
सानै हुंदा यो ढुंगाको नाम सोधेको थियो । भँगेरीले फ्याट्ट दर्शन ढुंगो भनिदिएकी थिइ । वस यसै दिनवाट यसको नाम दर्शन ढुंगो भयो । संसारमा सवै वस्तुको एउटै नाम हुंदैन ।
भँगेरीलाई निर्जिव वस्तुहरुसंग कुराकानी गर्ने आदत नै परीसकेको थियो । मान्छे हो, वोल्न मन लाग्छ । वोल्ने साथी नभए पछि निर्जिव वस्तुसंग पनि वोल्न, पीडा र खुसी साट्न मन लाग्दो रहेछ ।
भँगेरीले हंसियाको धार जांची । अव हंसिया लाग्ने भइसकेको थियो ।
जेठ महिनाको चर्को घाम । माथि देउरालीतिर घाम कतिखेल अस्ताउंछन् भनेर हेरी । घाम औंसी डाडामाथि पुग्नै लागेका रहेछन् । गल्दो शरिर । भँगेरीलाई घरवाट निस्कन त मन थिएन ।
तर के गर्नु, अलिकति विरौटो खेत छ । त्यसमा वीऊ राखेन भने अर्को वर्ष एक गेडो पनि धान भित्र्याउन पाइदैन । व्याड राख्ने गरामा घांसले ढाकेको छ । आज घांस काट्छु, भोली खनखान गरेर व्याड राख्नु पर्ला – भँगेरी आफैसंग वोली ।
घरवाट निस्कनै लागेकी थिइ । थलामा वाधेको गाइ करायो ।
मेरो पनि सुद्धि कहां गयो होला है, तलाई खाने कुरा नै दिइन छु – भँगेरी आफैसंग रिसाई – मेरा पो कोही छैनन्, म त तं प्रति यति निठुर हुनु नपर्ने नि ।
गाइप्रति उसलाई निकै माया लागेर आयो । पल्लाघरे वसाइ सर्दा वांकी रहेको अलिकति धानको भुस दिएका थिए । त्यही भुस हालेर भए पनि पानी तताएर दिनु प¥यो भन्ने सोची । हतार हतार आगो वाली । पानी तताइ र भुस हाली ।
आगो फर्फरायो ।
कोही आउंछन् कि – भँगेरीलाई आसा जाग्यो ।
तर को आउलान् र ? हेर्दा हेर्दै उसका आंखा टट्टाइ सकेका थिए ।
हेरी । घाम डुव्नै लागेका थिए ।
हतार हतार पेटमा नाम्लोलाई फनफनी वेरी । पहिला पहिला नाम्लो पांच फन्का भन्दा हुंदैनथ्यो तर भंगेरी धेरै दुव्लाइछे, आज त सात फन्को पुग्यो । भँभंगेरी घरवाट निस्कन मात्र के लागेकी थिइ, ऊ टक्क अडिइ । कताकता उसलाई विश्वास नै लागेन । उसको अगाडि उसको पति जितामित्र थियो ।
सपना पो हो कि भनेर भँगरीले हंसियाले दर्शन ढुंगोलाई ट्वाक हानी । ठ्वाङग आवाज आयो । अलिकति दर्शन ढुंगो नै चोइटिएर भँगेरीलाई लाग्यो र दुख्यो ।
सपना त होइन रहेछ ।
हामीले जित्यौ वुढी – जितामित्रले खुसीका साथ पहिलो वाक्य वोल्यो ।
आफ्नो अगाडि जितामित्रलाई देख्दा भँगेरीलाई पनि संसार नै जिते जस्तो भयो । अंगालोमा हालेर निकै वेर रोइ । जितामित्रले भँगेरीका आंसु पुछिदियो ।
अव हामीले जित्यौ, दुखका दिन सकिए, अव हाम्रा दिन आए वुढी नरोऊ – जितामित्रले भंगेरीलाई संझायो ।
वल्ल भँगेरीलाई छोराको याद आयो ।
छोरा भेटियो त ? – भँगेरीको पहिलो प्रश्न थियो ।
ऊ वेपत्ता नै छ – जितामित्र वोल्यो – अव पार्टीले सम्पुर्ण वेपत्ताहरुको खोजी गर्छ । पक्कै आऊला नि वुढी ।
एउटा भएको छोरो समेत वेपत्ता छ, के जित्यौ वुढा ?
भँगेरीले घुंक्कघुंक्क रुदै सोधेको प्रश्नको उत्तर जितामित्रले दिन सकेन । किनकी यस वारेमा पार्टीले उसलाई कहिले पनि प्रशिक्षण नै दिएन ।
© © © ©
पहिला त जीवन सुखी नै पो थियो । अलिकति वारी र खेत छंदै थियो । जितामित्र, भँगेरी र छोरो हर्के आफ्नो जग्गा कमाउंथे । अधिंया र कुतमा पनि खेत कमाउंथे । वाख्रा वस्तुवाट पनि कमाइ राम्रै हुन्थ्यो । दुई छाक खान र एक आङ ढाक्न पुगेकै थियो । ठुला सपना पनि थिएनन् र ठुला सपना देखाएर दुख दिने पनि थिएनन् ।
कहिलेकांही भँगेरी गनगन गर्थी – सवै मधेश झरे । कतिका छोरा विदेश गए । तर तिमी दुई वाऊछोराले यो गाऊ नछोड्ने भयौ र मलाई पनि यसै गाऊमा नै मर्नु पर्ने भयो । मलाई त यो युद्ध सुरु भए पछि कहिले गाऊ छाडौ जस्तो भएको छ ।
कहिले पनि जीवनमा गुनासो नगर्ने भँगेरीले सशस्त्र युद्ध सुरु भएपछि भने गुनासो गर्न थालेकी थिई । मनमनै डराएकी थिइ । किन किन यो गाऊ छाडेर टाढा जान खोजेकी थिइ ।
जितामित्र संझाउंथ्यो – यत्रो जीवन यहां विताइयो, अव कहां जाऊ ? अलिकति भएको सम्पत्ति यही छ, साहुहरु पनि माओवादीको डरले लगातार गाऊ छाड्दैछन्, टारी र गैरी खेत कमाउन पाइएको छ ।
अरुहरु मासिएर आफुहरुले राम्रा खेत कमाउन पाएकोमा भँगेरीलाई खुसी लागेको थिएन ।
सवै सुखी भए पो देश वन्छ – भँगेरी एक्लै भुतभुताउंथी ।
देश वदल्न भनेर वन्दुक वोकेका लडाकुहरु घरमा खान वस्न आइपुग्थे । भन्थे – हामी सवैलाई सुख दिनका लागि नै जीवन हत्केलामा राखेर हिडेका हौ आमा । भोली सुन्दर विहानी आउने छ ।
जितामित्र र हर्केका आंखामा आशाको किरण देखिन्थ्यो । तर भंगेरी निशव्द हुन्थी । भँगेरीले पढेकी थिइन । उसलाई अरुले भन्ने गरेको सुन्दर विहानीमा विश्वास पनि थिएन ।
आफुले गर्यो भने खान पाइन्छ नत्र अरुले भन्ने सुन्दर विहानीले हामीलाई केही दिदैन – भँगेरी एक्लै भन्थी । जितामित्र र हर्केले पनि भंगेरीका कुरा सुन्दैनथे । किनकी भँगेरीले केही जान्दिन भन्ने उनीहरुलाई लागेको थियो ।
अरुका छोराछोरी हतियार वोकेर गाऊ गाऊमा खांदै वस्दै हिडेको देख्दा भँगेरीलाई आफ्नो हर्केप्रति भने गर्व लाग्थ्यो ।
मधेश झरेन त के भो, विदेश गएन त के भो ? – हुर्कदो हर्केपट्टी हेरेर भंगेरी कल्पिन्थी – घरमा वसेर हामीलाई त सघाएको छ ।
दिन कुदिन वन्दै गए ।
युद्धमा लाग्न हर्केलाई दिनदिनै दवाव आउन थाल्यो । युद्धमा लाग्न भँगेरीले हर्केलाई निषेध गरेकी थिइ ।
वरु राती नै यो गाऊवाट भागी हाल तर युद्धमा नलाग – भँगेरीले हर्केलाई संझाउंथी ।
ए आमा, कसैले जवर्जस्ती मेरो हातमा वन्दुक थमाइ दिदैमा म पड्काउन जान्छु र ? भन्ने उनीहरुको काम हो, मान्ने नमान्ने मेरो विवेक हो – हर्के आमालाई संझाउंथ्यो ।
तर भँगेरीलाई चित्त वुझ्दैनथ्यो ।
छोरा तेरो वुद्धि आएको छैन, कुनै दिन त्यस्तो पनि आउंछ, मान्छे त के यी निर्जीव ढुंगामाटोहरु पड्कने छन्, हतियार वन्नेछन् र विनास सुरु हुने छ । विनास सुरु भएपछि कसैको पनि विवेक काम लाग्दैन । वुद्धहरुले वन्दुक वोक्नेछन् । पण्डितहरुले वम वनाउने छन् र पुरै दुनियां दुइतिर वांडिने छ, त्यसवेला त कसरी चुप रहन्छस् ? – भँगेरी छोरालाई यसै गरी संझाउन खोज्थी तर सवै अप्रिय वाक्यहरु वोल्न सक्दिनथी । भँगेरीका आंखामा भय थियो । तर हर्के र जितामित्रले भँगेरीका आंखाको भय र उसका शव्दलाई राम्ररी वुझ्न सकेनन् । वाऊ छोराले नै नवुझे पछि भँगेरीको के चल्थ्यो र ?े छोरालाई मुन्ट्याएर घर निकाला गर्न कुन आमाले सक्छन् र ?
हर्के र जितामित्र भने कसैको कुभलो नगरी गाऊमा वसेर गरी खाने खेती किसानलाई कसले गर्छ र भन्ने सोचमा थिए ।
दिनदिनै रेडियोमा मृत्युका खवर आउंथे ।
यी नेताहरुले आफुलाई लाग्ने वनाउन गरिवका छोराछोरीलाई यही दर्शन ढुंगा जस्तो वनाएका छन्, घोटेका छन् घोटेका छन् – भँगेरी दर्शन ढुंगो पट्टी हेरेर एक्लै भुतभुताउथी ।
कहिलेकाही हर्केलाई युद्धमा जाऔ भनेर उकास्ने लडाकुलाई गाली गर्न पनि भँगेरी पछि पर्दिनथी ।
हाम्रो जीवन खतरामा हालेर भएपनि तिमीहरुलाई खान दिएकी छु, वस्न दिएकी छु सयकडा तीनका दरले ऋण काढेर भएपनि चन्दा दिएकी छु, मेरो छोरोलाई चाही नलेगीदेऊ – गाली गरेर अन्तिममा संझाउंदै भँगेरीले भन्ने गर्थी ।
आमा तपाइ एउटी हर्केकी मात्रै आमा होइन, हामी सवैकी आमा हो, हरेक आमाहरुले आफ्ना छोराछोरीलाई आफ्नै अगाडि राख्ने र क्रान्तिमा जान नदिने हो भने यो देशमा कसले परिवर्तन ल्याउंछ ? कसले उन्नति ल्याउंछ ? कसले समृद्धि ल्याउंछ ? – लडाकुका नेताहरु संझाउंथे ।
भँगेरीलाई चित्त वुझ्दैनथ्यो ।
मलाई परिवर्तन, उन्नति र समृद्धि केही चाहिंदैन, एउटा हर्के भए पुग्छ, उसका वाऊ जितामित्र भए पुग्छ, हाम्रो जीवनमा आगो नलगाइ देऊ – भँगेरी विन्ती गर्थी – मेरो परिवार भए हाम्रो जीवन हामी आफै वनाउंछौ । हामीलाई ठुला सपना चाहिएको छैन । परिवार चाहिएको छ ।
लडाकुहरु जान्थे । भँगेरी हर्केलाई गाऊ छाड्न भन्थी । हर्के वुवाआमालाई छाडेर जान नसकेर हो वा कहिले गाऊ नछाडेको आंट नआएर हो गाऊ छाड्न सक्दैनथ्यो ।
त पछुताउछस् – भंगेरी भन्थी – पछुताउने मौका पनि पाउंछन् पाउंदैनस्, तर हामीलाई जिंउदै मार्ने भइस् ।
वाहिरी संसार नदेखेकी भँगेरीलाई आफ्नो गाऊ मात्रै अशान्त होला, अन्त त शान्ति नै शान्ति होला जस्तो लागेको थियो । तर स्थिति त्यस्तो थिएन । देश युद्धमा सल्किएको थियो र हरेक परिवार पिल्सिएका थिए ।
एक दिन राती हतियारधारीहरु आए । हर्केलाई जवरजस्ती लिएर गए । अहं रोक्न सकेनन् जितामित्र र भँगेरीले । उनीहरुले त हर्केलाई लैजाने यी हतियारधारी विद्रोही थिए कि सरकारी फौज थिए भन्ने समेत पनि वुझ्न सकेनन् ।
पीडामाथि फेरी पीडा थपियो । केही दिनमा सरकारी सेनाले आएर जितामित्रलाई पक्राउ गरेर लग्यो । भँगेरी एक्ली भइ । जुन डर मनमा थियो । अहिले सामना गर्नुप¥यो ।
तर जितामित्र भने केही दिनमा नै छुट्यो ।
जीतामित्रको जीऊमा घाऊ सिवाय केही थिएनन् । उसलाई माओवादीलाई आश्रय दिएको, खान दिएको, चन्दा दिएको र माओवादीमा छोरो पठाएको आरोप लगाइएको थियो ।
यातना यति चर्को थियो कि उसले आएर पनि कति कुरा आफै भँगेरीलाई सुनाउन सकेन भने कति कुरा भँगेरीले सुन्नै सकिन । यातनाको कथा सुन्दा सुन्दै भँगेरी कहालिएर रुन्थी र वाहिर निस्कन्थी । धेरैवेर वाख्रावस्तुसंग आलटाल गरिरहन्थी र मन अलिकति शान्त भएपछि फेरी आफ्नो लोग्ने सामु आउंथी ।
हर्के कहां छ होला, के गर्दै होला ? कि मारी सकेकी ? – यहां भन्दा वढी भंगेरी वोल्न सक्दिनथी ।
दुवै जना अंगालोमा वाधिएर रुन्थे ।
अव म घर छाड्छु – एक सांझ जितामित्रले निर्णय सुनायो ।
घर पो कहां सुरक्षित थियो र ? खोरवाट स्यालले कुखुराको चल्ला टिपेर लगेजस्तो जुनसुकै समुहले घरवाट लान सक्थे ।
भँगेरीले कुनै विवेक प्रयोग गरिन । घर छाडे भने वांच्छन् कि जस्तो लागेको थियो । त्यसैले घर छाड्न दिन सहमतिमा टाउको हल्लाइ । युद्ध सकिएपछि जितामित्र सकुशल घर फर्किएको छ । भँगेरीलाई वुझ्न गाह्रो परेन । यी वीचमा ऊ पनि युद्धमा नै लाग्यो र वांचेर पनि आयो । उसलाई सरकारी फौजले दुख दिएकोले पनि विद्रोहीमा नै लागेको थियो । त्यसैले त पटक पटक हामीले जित्यौ भनी रहेको छ । छोरो घरवाट नै लगिएको थियो, कसले लगे कहां लगे पत्ता छैन ।
© © © ©
भंगेरी भात पकाउन भित्र पसी । चामलको एक गेडो पनि रहेनछ । संगै भएको जितामित्रले देख्यो ।
पख म पल्लो घरमा गएर मागेर ल्याउंछु, अर्को वर्ष त फेरी खेती गरौला, कमाउंला नि, हामीले जितेका छौ, पक्कै केही होला – जितामित्र वोल्यो ।
चामल दिने हैसियत भएकाहरु गाऊमा वांकी नै छैनन् – भँगेरीले भनी ।
भंगेरीले भोली पल्ट व्याड राख्न राखेका धान निकाली र ओखलमा हाली ।
यी त तैंले वीऊका लागि राखेका धान रहेछन्, नखाऔ हो – जितामित्रको मन मानेन र भन्यो ।
युद्ध जस्तै त भयो नि हाम्रो जीवन, युद्धमा सवै विऊ नै मरे – भँगेरीले तितो पोखी । दुवै वोलेनन् ।
धेरै वर्ष पछि आम्ने साम्ने भएका थिए । भात त पकाए, तर खाने वेलामा हर्केलाई संझिए । अनि भोकै रुदै सुत्न गए ।
नरो वुढी, हामीले जितेका छौ, केही त होला नि – सुत्ने वेलामा जितामित्रले भँगेरीका आंखा पुछिदिदै भन्यो ।
© © © ©
समय वित्दै गयो । वनीवुतो गरेर जितामित्र र भँगेरीको गुजारा सुरु भयो । तर न त हर्के आयो । न त हर्केको खोजी नै भयो । आमाको मन पिरोलिइ रह्यो । भंगेरीले एक पटक काठमाडौ जान र मानव अधिकारवादी संस्थाहरु र पार्टीमा पनि खोजवीनका लागि आग्रह गरिदिन भन्नलाई जितामित्रलाई पठाइ । छोराले कमाएर पाल्नु पर्ने वेलामा जितामित्र छोराको खोजीमा लाग्यो ।
जितामित्र काठमाडौ पुग्दा त संविधानसभाको चुनावले देशलाई छपक्कै ढाकेको थियो । ऊ भन्दा पछि युद्धमा लाग्ने साथीहरुसंग त राजधानीमा वंगाला थिए, चिल्ला गाडीहरु थिए र विलासी जीवन थियो ।
संविधानसभाको निर्वाचन जिते पछि हाम्रो सत्ता आउंछ अनि हामीले भने जस्तो राज्य हुन्छ – जितामित्रलाई कमरेडहरुले सम्झाए । कमरेडहरुको भनाइ जितामित्रका लागि देववाणी जस्तै विश्वासयोग्य लाग्थे । काठमाडौमा उनीहरुलाई चुनावसम्म सवैभन्दा ठुलो शक्ति आवश्यक परेको थियो । राजधानीमा युद्ध र मजदुर हडतालको चपेटामा परेर वन्द भएका उद्योग देखि विभिन्न खाली ठाऊहरु उनीहरुका क्याम्पको रुपमा खडा भएका थिए । त्यसैले जितामित्र चुनाव भरी परिचालित भयो । जीतामित्रको पार्टीले अरु पार्टी भन्दा वढी ठाऊमा चुनाव जित्यो ।
साथीहरुले अव पार्टीले चुनाव जितेकोले सवै कुरा ठिक हुने वताए र गाऊमा गएर प्रतिक्षा गर्न भने । जितामित्र काठमाडौमा हुंदाहुंदै राजतन्त्र ढल्यो । गणतन्त्र आयो । जितामित्रलाई अव यो राजाका सेनाहरुले कहिले पनि गाऊमा गएर आफुलाई पक्राउ गर्दैनन् र दुख दिदैनन् भनेर खुसी पनि लाग्यो । सांच्चै नै उसलाई जिते जस्तो लाग्यो ।
जितामित्र गाऊ फर्कियो र भँगेरीलाई भन्यो – वुढी हामीले जित्यौ, अव सव ठिक हुन्छ ।
भंगेरीले आंखावाट आंसु मात्रै झारी ।
किन र के भयो ? – भंगेरीले भनी ।
अस्ति मात्रै तिम्रो पार्टीमा आएको त्यो दलमर्दनले हाम्रो विरौटो खेत कव्जा गर्यो, पहिलाको ऋण वांकी थियो रे नि त वुढा – भँगेरी रोइ – तिम्रै पार्टीको मानिसले हाम्रो खेत कव्जा गर्यो, के जित्यौ ?
जितामित्रले पार्टीका अरु मानिसहरुलाई भेटेर भन्यो । तर जितामित्रको भन्दा दलमर्दनको पार्टी हैसियत माथि भइसकेको थियो । किनकी ऊ धनी थियो । स्थानीय नेताहरुलाई चन्दा दिन सक्थ्यो ।
कमरेड, लिएको ऋण त तिर्नै प¥यो नि – जितामित्रका कमरेडहरुले नै फैसला सुनाए । जग्गा गुमे पनि पार्टीले छोरो त खोजिदेला नि भन्ने आस जितामित्र र भँगेरीलाई भयो ।
चुनाव जिते पनि आफ्नो पार्टीको नेतृत्वमा सरकार वन्न ढिलाइ भयो । फेरी भँगेरीको करकर सुरु भयो । जितामित्र ऋण लिएर फेरी काठमाडौ लाग्यो । त्यो वेला काठमाडौमा जग्गाको भाऊ चर्किएको थियो । जितामित्रले विरोधीहरुले भनेको सुन्थ्यो – जग्गाको भाऊ त विद्रोहको समयमा लुटेको पैसाको कारण वढेको हो । अहिले विद्रोहीहरुले युद्धको समयमा लुटेको पैसा जग्गामा लगाउंदैछन् ।
एकातिर आफु ऋण लिएर छोरो खोज्न हिड्नु परेको छ, अर्कोतिर संगै युद्ध लड्ने वा पछि पार्टीमा आउनेहरु अर्वौको जग्गा किन्दैछन् भन्ने सुन्दा कताकता जितामित्रलाई पनि नरमाइलो लाग्यो तर पत्याएन । उसका साथीहरुले भने – त्यो सवै विरोधीहरुले चलाएको हल्ला हो । हामीले अहिले जे किनिरहेका छौ, त्यो पार्टीका लागि नै किनिएको हो । गाऊवाट सहर कव्जा गर्ने हाम्रो नीति हो, अव गाऊ त कव्जा भइहाल्यो, सहर कव्जा गर्न सहरमा पनि घरजग्गा चाहिएन त ।
त्यो वेला आफ्नै पार्टीको नेतृत्वमा सरकार वनाउनका लागि चक्काजाम लगायतका आन्दोलनका कार्यक्रमहरु भइरहेका थिए । जितामित्र पनि आन्दोलनमा सरिक भयो । पार्टीको नेतृत्वमा सरकार वन्यो । अव चांहि जितामित्रलाई सांच्चै नै सवै कुरा ठिक हुन्छ भन्ने लाग्यो । किनभने उसलाई पार्टीप्रति पुरै विश्वास थियो । विचारमा संसार वदल्ने शक्ति हुन्छ भन्ने उसलाई पढाइएको थियो र यो विचारले सांच्चै नै संसार वदल्छ भन्ने जितामित्रलाई लागेको थियो ।
अव हामीले जित्यौ वुढी – अर्को चोटी फर्किएर जितामित्रले भन्यो । यो पटक भँगेरीलाई पनि विश्वास लाग्यो । यत्रो २ सय ४० वर्ष देखि शासन गर्नेलाई फाल्ने नेता प्रधानमन्त्री भएका थिए । तर अहं केही भएन । युद्ध पीडितका नाममा अरुले राहत पाएको समाचार वाहेक केही पनि सुन्न पाएनन् । आफुले त केही पनि राहत नै पाएनन् । किनकी उनीहरुको छोरो कसले लगेको हो भन्ने पुष्टि गरिदिने कोही पनि थिएनन् ।
जितामित्रको पनि साह्रै चित्त दुख्यो । अव सांच्चै नै काठमाडौ गएर झगडा गर्छु भन्ने सोच वनायो ।
अव म फेरी काठमाडौ जान्छु, वार कि पार नगरी आउंदिन – जितामित्रले एक सांझ सुनायो ।
छोरो खोज्न जान्छु भन्नेलाई कुन आमाले हुन्न भन्छिन् र ?
जितामित्र काठमाडौ पुग्दा आफुले आशा गरेका प्रधानमन्त्री प्रधान सेनापतिसंग झगडा गरेर पदवाट खुस्की सकेका थिए ।
काठमाडौ र काठमाडौ वाहिर रिमोट कन्ट्रोलवाट गठन भएको भन्दै सरकार विरोधी प्रदर्शन सुरु भइसकेको थियो । जितामित्रलाई पनि यो सरकारसंग रिस उठेको थियो किनभने उसलाई आफ्नो पार्टीको सरकारले छोरो खोजी दिन्छ भन्ने लागेको थियो । साथीहरुले सरकारले सवै काम सक्नै लागेका वेला सरकारवाट हट्नु परेकोले अव आन्दोलन गर्नुपर्छ भने । जितामित्र पनि कस्सियो । खेतीकिसानी गरेर खाने जितामित्र अव आन्दोलनको अम्वली भइसकेको थियो ।
यही क्रम दोहोरियो । सरकार वदलिरहे । कमरेडहरुले आश्वासन दिइरहे । जितामित्रले विश्वास गरिरह्यो तर हर्केको खोजी भएन । छोरो खोज्न आउने जितामित्रलाई आन्दोलनभरी काठमाडौं राखिन्थ्यो र आन्दोलन सकिएपछि आश्वासन सहित घर पठाइन्थ्यो ।
एकदिन जितामित्रले रेडियोमा सुन्यो । न्यायमूर्ति नै प्रधानमन्त्री भएरे । हर्केको खुसीको सीमा रहेन ।
वुढी अव, हामीले न्याय पाउने भयौ – हर्केले भँगेरीसंग भन्यो – न्याय दिने मान्छे प्रधानमन्त्री भएछन्, अव म काठमाडौ गएर भेट्छु ।
भँगेरीलाई भने यो कुराले खुसी दिएन ।
न्याय दिनु पर्ने मान्छे शासन गर्ने भएपछि कसरी न्याय हुन्छ ? पीडितहरुलाई न्याय दिनुपर्ने मान्छे गोली हान्ने आदेश दिने ठाऊमा गएपछि त्यो देशमा न्याय कहां हुन्छ ? – भंगेरीले भनी ।
जितामित्रसंग जवाफ त थिएन तर पनि झिनो आशा थियो । ऊ काठमाडौ गयो । यो पटक सरकारका मान्छेहरुसंग भेट गर्नै पाएन । कमरेडहरुले अव चुनावमा वहुमत ल्याउनु पर्ने अनि मात्रै हर्के लगायतका वेपत्ताहरुको खोजी गर्न सहज हुने वताए । जितामित्रका अगाडि निरासा वाहेक केही थिएन । काठमाडौमा अव तत्कालै संघर्ष गर्नु थिएन र मानिसहरुको आवश्यकता पनि थिएन । संघर्षवाट जनताको हातमा आएको सत्ता दलहरुले आफै अन्तैको इशारामा अन्तै वुझाएका थिए । जितामित्रलाई पनि यति समय पछि भँगेरीको याद आएको थियो । अव जितामित्रलाई त छोरो भेटिने नभेटिने भन्दा पनि भँगेरीको प्रश्न र त्यो अनुहारसंग नै डर पनि लाग्न थालेको थियो । तैपनि घर फर्कियो ।
जितामित्र घर पुग्दा घरमा कोही थिएन । थलामा गाइ कराइ रहेको थियो । जितामित्रले अलिकति खोसेल्टा हालिदियो । भँगेरीलाई कसरी हामीले जित्यौ भन्ने भनेर एक दुई पटक अभ्यास गर्यो । काठमाडौमा के के भयो भनेर सुनाउ भनेर मनमनै संझियो । तर भँगेरी आइपुगिनन् । थाकेकोले केही वेर सुस्ताउनु पर्यो ओछेनमा गयो । विऊझिदा झण्डै ४ वजिसकेको थियो ।
उठेर हतार हतार वाहिर निस्कियो । भँगेरीलाई गाइको थलामा देख्यो । त्यता जाऊ कि नजाऊ जस्तो गर्यो । के भन्ने होला भनेर मनमनै सोच्यो । र फेरी गयो ।
भँगेरी …………….. – जितामित्रले वाक्य पुरा गर्न पाएको थिएन । महिला फर्किएर जितामित्रलाई हेरिन् । तर ती त अर्कै महिला पो थिइन ।
ए भँगेरी खोइ त ? – जितामित्रले सोध्यो ।
महिलाको आंखावाट विस्तारै आंसु वग्यो । कुनै उत्तर आएन । जितामित्रले वाटातिर हे¥यो । मलामीहरु घर फर्किदै थिए ।
जितामित्र भँगेरीले हंसियामा सांध लाउने दर्शन ढुंगो माथि ढल्यो र वेहोस भयो । टाउकोमा चोट लागेछ । धेरै खिइसकेको दर्शन ढुंगामा जितामित्रके खुन लागेको थियो । होसमा आउने र वेहोस हुने गरिरहंदा जितामित्र भनिरहेको थियो – हामीले जित्यौ भँगेरी, हामीले जित्यौ ।
(स्रोत : Nepalplus.com)