म सानै छंदा छिमेकमा एकजना साँइली काकी बस्थिन | म सधै जसो उनका घरमा खेल्न जान्थें । त्यो बेलामा उनीहरुको रवाफनै बेग्लै थियो | जहिले पनि गाउलेले सुन्ने गरी ‘ए दिपक, गोमा, मासुभात खान आइज, खिर खान आइज,मिठाई छ छिटो आइज ……!’
हुन पनि उनको घरमा किसिम किसिमका पकवान पाक्थे | आमाले भुटेर दिएको मकै भटमास फ्रकमा पोको पारेर खादै हुन्थें । उनी म तिर हेरेर औल्याउँदै भन्थिन् ‘हाम्रा केटाकेटी त मकै भटमास मुखैमा हाल्दैनन ! हेर्नै मान्दैनन !!’ फेरि मेरो फ्रकतिर हेरेर भन्ने गर्थिन् ‘हैन, तेरा बाबु-आमाले अर्को किनिदिन सक्दैनन् की के हो र यस्तो लुगा लगाएकी ?, एकजोर चप्पल छैनन् तेरा …..!’ आदि-इत्यादि ।
यसरीनै सधैजसो केहि न केहि भनेर अपमान नगरेको दिनै हुदैनथ्यो । तर उनका अपमानजन्य शव्दहरुलाई सुनेको नसुनेझैं गरेर गोमा र म बहिरिन्थ्यौ । यो केटिले मेरी छोरी बिगारी भनेर धेरै पटक गनगन गरेको सुन्थें | पछि मबाट छुटाउन भनेर गोमालाई मामाघर लगेर राखिदिइन् उनले | त्यो दिन म असाध्यै रोएको थिएँ | तर अलिपछि छिमेकी राम्रा भएनन् भनेर त्यहाँबाट बसाइ सरे |
आज वर्षौंपछि ख्यौटे शरीर, निन्याउरो अनुहार लगाएर तिनै साइली काकी सडकमा हात पसारेर बसेको देखें । पहिला त मैले ती महिला उनै काकी हुन् वा होइनन् खुट्याउन सकिन । कतै चिनेझैं, कतै भेटेझै र कतै बोलेझैं लागेर म उनको नजिकै गएर सोधें । उनै रहिछन् ।
मैले हिम्मत बटुलेर ऊ बेलाको रबाफ सम्झाउदै सोधें ‘काकी कसरि सडकमा आइपुग्नु भो ?’ उनले ज्यादै खिन्नता र थकित स्वरमा जबाफ दिदै भनिन् ‘नानी छोराछोरी ठुला भए नी !’
(स्रोत : Inasociety.org)