कथा : गोठाले जिन्दगी

~सन्जित सापकोटा~Sanjit Sapkota

अर्ध-चन्द्राकारमा दक्षिण-पश्चिम मोहोडामा फैलिएको कालुको त्यो गाउँमा जम्मा-जम्मी चालिस घर थिए । बाहुन, क्षत्री, मगर र सार्की गरी जम्मा चार जातको त्यो गाउँ न्याय र एकताको लागि चिर-परिचित थियो । वल्लो-पल्लो गाउँकाले भन्थे – “गाउँ हुनु त त्यस्तो ।”
कालुको मधुर बाँसुरीको धुनसंगै तगारोको घेराबाट जब बस्तुभाउ गल्लीतिर अगि लाग्थे, अर्घुम्ले बूढालाई बस्तु फुकाउन हतारो हुन्थ्यो । दाम्लोमा बन्दक भएका बस्तुभाउ अनि खोरमा थुनिएका बाख्रा आफूलाई खुल्ला आकाशमुनि पाउँदा त्यसै-त्यसै बुर्कुसी मार्थे । कोल चौरमा दुइघरका बस्तुभाउले आत्मीयता

साटासाट गरुन्जेल कालु र अर्घुम्ले बूढा गन्थन-मन्थन गर्थे चौतारोमा बसेर । तेतिन्जेल सम्ममा कालुले खुर्पेटोबाट खुर्पा झिकेर चौताराको ढुङ्गोमा उद्यायर छुरा जस्तो बनाउँथ्यो । अलिकति मुख बाउँथ्यो र सिरिक्क बोका मुताई पारामा थुकको सिर्का निकाल्दै नाडी भिजाउँथ्यो र खुर्पा नाडीमा कुदाउँथ्यो । नाडीका रौँ खौरिएपछि प्रफुल्ल मुद्रामा बूढालाई हेर्थ्यो आफ्नो कौसल देखाउन । केटाको चर्तीकला हेरेर बूढा अगिदेखि नै मुस्कुराई रहेका हुन्थे ।
“आज कता लाने हो ?” बूढाले चरनको निधो गर्न कालुलाई सोधे । “डुम्रीचौर” उसले निधो दियो । बूढा अगि लागे र उनीसंगै बस्तुभाउ पछि लागे । गनेको खेतमा पुगेपछि बस्तुभाउ उतै मोडिए । बूढाले छेक्नै सकेनन् । “आज यतै लैजाउँ मइलु” बुढा फुस्फुसाय । कालु माइलो थियो र बुढाले प्यारो गरेर उसलाई यसरी बोलाउँथे । हिजो बेलुकीमात्रै धारामा पुड्केकी छोरी झुमा संगको बाचा थियो – खरबारीपट्टिको भित्तोमा गाई चराउँदा भेट्ने । बाचा तोडिने डरले उसले भन्यो “य़ाताबाट डुम्रीचौर हुँदै खरबारी तारौंला” बूढाले थोते गिंजा देखाएर समर्थन गरे । कालुले झुमालाई भेट्न पाउने रहरले मन चंगा बनायो ।
माघको अन्तिम हप्ता । घामको न्यानोपनमा जाडोले बिदालिए जस्तो लाग्थ्यो । दिउँसो खासै जाडोले छुन्नथ्यो । नीला आकाशमा बादलको कुनै टाटा थिएनन् । अर्घुम्ले बूढा खिर्राबोटेको ढिस्कोमा बसी पार ताप्दै लोलाउन लागे । कालुचाहिँ मेसो मिलाएर गाईबस्तुलाई डुम्रीचौरतिर लघार्न थाल्यो । झुमालाई भेट्ने उसको मनको हुटहुटी झन् बढ्दो थियो ।
***
बूढा दङ्ग परे जब उनी भुसुक्क निदाएर उठे । गाईबस्तुको नामो-निशाना थिएन । तर पनि उनी ढुक्क थिए । कालु भरपर्दो गोठालो थियो । उनका विश्वास-पात्र । कालु गोठालो आको दिन उनको निद्रा सधैं पुग्ने गर्थ्यो । बूढाले कान तीखो परे । कतै बाँसुरीको धुन गुन्जेजस्तो । हिंड्दा-हिंड्दैको बूढो जीर्णकाय टक्क रोकियो अलि वरको भीरनिर आएर । जहाँबाट डुम्रीचौर, भडारेको गैरी, हरेको खेत, खरबारी अनि पुरै धुसेनको पाटो सबै देखिन्थ्यो । चौरभरिका गाईबाख्राले घेरिएको कालुको बाँसुरीको लय थियो – खैरेनीमा गेट, अन्तै दील बस्योकी निर्माया हुनै छाड्यो भेट ।
बूढाले आफ्नो जवानी सम्झे – हाम्रो पालामा बेनीको बगर, जता माया उतै छ नजर चल्थ्यो । मनकामनाको जात्रामा रातभरि दोहोरी गाएर झिसमिसेमा गम्दारी कान्छाकी छोरी उँडाई घरमा हुल्दा बाउले ढिम्किन नदिएको र तीन दिनपछि खाट्टी मगरकी छोरी पत्तो लगाई भित्र्यायको उनलाई अस्ति जस्तो लाग्छ । कालुका बाजे उनका दमली । अर्घुम्लीनी जेठीलाई घरमा हुल्दा कालुका बाउ जन्मिएका पनि थिएनन् । सायद बाउका ढुंग्रामा हुँदाहुन् ! मुखभरिको थुकलाई घुटुक्क निलेर बूढाले गम खाए – बैंशमा स्याल पनि घोर्ले हुन्छ भन्थे । उ त गाउँको कृष्ण । के कम छ र ! यति भनेर उनले खरबारीतिर आँखा दौडाए, उनका धमिला आँखाले कसका बस्तुभाउ हुन् ठम्याउन सकेन ।
बूढा डुम्रीचौरमा पुग्दा बस्तुभाउ कटुसघारी भित्र छिरी सकेका थिए । आकाशतिर आँखा डुलाए र समयको अनुमान लगाए – दुइ जति हान्यो होला गोरखा दरबारमा । पानी खान गए हुन् बस्तुभाउ । उनलाई पनि तीर्खा लागेको थियो । उनले सम्झे – बिहानको खिचडी र गुन्द्रुक दुइवटैमा नून च्वास्स थियो ।
कटुसघारीको मुखमा एउटा चेप्टो ढुङ्गो थियो । सबैको चाक अड्याउने ठाउँ । कालु त्यहाँ बसेर टोलाएको निकैबेर भाको थियो । झुमालाई भेटेर के गर्ने होला आज, उ सोच्दै थियो । जति पटक भेटे पनि मोरीलाई छुन सकेको हैन । आङ्भरि काँडा उमारेर घुटुक्क थुक निल्यो अनि मसक्क मस्कियो । आज त उचालेर जसरी नि काखमै राख्छु । पेटभरि बात मार्छु ।
***
“माइलु” बूढाको दमित स्वरले उ झसङ्ग भयो । बूढाको मुखमा हेरेर फिस्स हाँस्यो । अनि लुरुलुरु बूढाको पछि-पछि कटुसघारी भित्र छिर्यो । कटुसघारीको बीचतिर पुगेपछि बूढाको जीर्णकाय अडियो । देब्रे-दाइने नजर डुलाए र दाइनेपट्टिको सानो ढिस्कोनिरको खोल्सोतिर लागे । कालुले अड्कल काट्यो – मुतको भारी बिसाउन गएका होलान् । बूढाले के गर्दारैछन् भनेर उ त्यहिँ उभिरय्हो हेर्नलाई । कटुसका काँडामाथि उनी सजिलै खालीखुट्टा हिड्न सक्थे । उनका पैताला बाक्ला र अररो परेका अचम्मका थिए । बूढाले जुत्ता-चप्पल लाएको कालुले आजसम्म भेउ पाएको थिएन । खोल्सामा पुगेर लौरोले भैंभरी भएका कटुसका पात सोहोर्न थाले । निमेषमै काय भैंतिर झुकाए अनि हातमा पहेंलो बस्तु समातेर कालुतिर फर्के र भने “छाक टार्न पुग्छ्की !” बल्ल उसले मेसो पायो, बूढा त च्याउ पो खोज्न गएका रहेछन । बाहुनको छोरो भएपनि उसलाई त्यो कुखुरे च्याउको स्वाद पत्तो थियो । उसका मुख रसाए । घुटुक्क थुक निलेर घाँटी भिजायो । धेरै थुक्दा कुनी के तत्वको हो नास हुन्छ भनेर कसैले भनेको उसले सुनेको थियो । त्यसैले कैले-कैले उ लेघ्रो तानेर आएको खकार पनि निल्ने गर्थ्यो । निलिसकेपछि उसको मनमा हुण्डरी मच्चिन्थ्यो – यो थुक र खकारमा के फरक छ ? सुन्दरे कान्छाले धेरै पढेका छन् क्यार, उनैलाई सोध्नुपर्ला भनेर आफ्नो चित्त शान्त पार्थ्यो ।
झुमाको तिर्सनामा तिर्खाएको कालु बैरेनीको भीरतिर लाग्यो । भीरको फेंदीमा एउटा कुवा छ जहाँको पानी मीठो छ । टाढैबाट गाजले गोरुले कुवामा थुतुनो जोतेको देखेर उसको तीर्खा त्यसै हरायो । “मेरा लौरो हरायो, भोली गोठालामा बनाईदेउ है” – झुमाले हिजो पँधेरामा भनेको कुरा उसले सम्झ्यो । उ खटिरे घारीभित्र पस्यो । लरक्क परेको खटिरेलाई देब्रे हातले हल्का आफूतिर तानेर तर्यो अनि खुर्पेटोबाट छुराजस्तो खुर्पा झिक्यो र बलीको बोको बनायो । खटिरेको हाँगोलाई घिसार्दै कुवानिरको चौरमा जाँदैगर्दा उसका आँखा कुवातिर परे जहाँ बूढा दुई हात-घुँडा टेकेर कुवामा मुख जोतेर पानीले पेट भर्दै थिए । उ खितित्त खित्खितायो मनमा यो सोचेर – बुढाले गाजले गोरुको जुठो पानी खाए ।
लौरोमा खाक्सीका पात दलेर चिल्लो पार्यो र बस्तुभाउ निखारेर कालु खरबारीको डिलमा उक्ल्यो । बूढा उसैगरी सुतेका थिए पर्खालमाथि जसरी पैले-पैले सुत्थे । कालुले मौकामा चौका हान्ने दाउले झुमाको खोजी गर्यो । उसका बस्तुभाउ त देखिए तर नजरमा झुमा देखा परिन । उसले बूढापाकाको भनाइ सम्झ्यो – जहाँ धुँवा हुन्छ त्यहाँ आगो हुन्छ । जहाँ झुमाको बस्तुभाउ हुन्छ त्यहाँ झुमा हुन्छे – उसको अल्लारे दिमागले त्यो भनाइलाई यसरी अर्थ्यायो र खरबारीको डिलबाट बनमारा घारीमा छिर्यो । घारी भित्र-भित्रै बस्तुभाउ हिड्दा बनेका कथित बाटाहरुको डोब पछ्याउँदै उ बल्लतल्ल झुमाका बस्तुभाउ भएठाउँ पुग्यो । धगेंरीको सानो बुटोको छेल परेर झुमा कहाँ छे भनेर नियाल्यो । तर झुमा उसको नजरमा दृष्टिगोचर भइन । उसको मनको हुट-हुटी झन् बढ्न लाग्यो । अर्कोपट्टि हेर्ने सुरले धंगेरीको बुटोलाई अलिकति पन्छायो । तर पर्यो फसाद ! धोति बारुलाको चाकापो रहेछ त्यहाँ त ! तीन-चारवटा बरुलाले सिकार गरिहाले उसलाई । उ थुचुक्क भुँईमा बस्यो दुइ कदम पछि हटेर । बस्दानबस्दै उसले आफ्नो ढुकुर समात्यो र चिच्यायो – “आत्था !” कतिबेला जाँघेभित्र बारुलो छिर्यो उसले पत्तो पाएन । उ रनाहामा पर्यो । रेडियोमा कैले हो उसले यो गीत सुनेको थियो – किन टोक्यो बारुलाले पत्तो पाको छैन, याँहीनेर टोक्यो भनी भन्न भाको छैन ।
त्यो गीतको भावमा आफ्नो पीडाको बिम्ब खोज्दै गर्दा उसले – “ए ! कालु बाबु पो !” पुड्केको को धोद्रो स्वर सुन्यो । उसको हंसले ठाउँ छोड्यो । रसिला आँखा पारेर पुड्के तिर हेर्यो उसले ।
“के भो बाबु ?” पुड्केले सोध्यो । रुन्चे स्वरमा “बारुलाले चिल्यो” कालुले भन्यो । “खै त कहाँ चिल्यो, म खुर्पाको धारले दल्दिन्छु, दुखाई अलि कम हुन्छ” कालुनिरै पुगेर उसले भन्यो । कालुलाई धर्मसंकट पर्यो । जाँघे बाहिरबाटै ढुकुर समातेका हात सहित उ पुड्केतिर फर्क्यो । त्यो चाला देखेर पुड्केले हतारिदै सोध्यो– “कतिवटा खनिए बाबु ?” कालुले लाजमान्दै भन्यो – “एउटा ।” “ए ! लामो-लामो सास फेर्नुस, ठीक हुन्छ ।” पुड्केले ढाडस दिदै भन्यो ।
***
चिल्लो लौरो दिएर झुमालाई काखमा राख्ने उसको धोको अधुरै रह्यो । बल्ल-तल्ल पुड्केको पन्जाबाट छुटेर उ खरबारीतिर हानियो । बूढाको निद्रा अझै खुलेको थिएन । उसको विरक्तिएको मन अलि शान्त भयो जब हरेको खेतमा लाहुरे पुलामीका र अर्घुम्ले कान्छाका गोरु घमासान गरिरहेका देख्यो । उ फाल हाल्दै निमेषमा गोरुछेउ पुग्यो । पुलामीका बने र अर्घुम्लेका बहादुरे गोरु गाउँका नामी गोरु थिए । जसरी पुलामी र अर्घुम्लेका बीचको शत्रुताको चर्चा गाउँभरि हुन्थ्यो त्यो भन्दा कम चर्चा यी दुइ गोरु जुधाइको हुन्नथ्यो । रातो रंगको बनेगोरु चिटिक्क परेको मझौला कदको थियो तर उसको जुरो भने आकाशै छुम्ला झैँ गरेर ठडीएका थिए । गाउँभरि हल्ला थियो – धेनुगाईले बनमै बनेलाई पाउँदा माइलो पुलामीले आफ्नो शीरको टोपी झिकेर बनेको जुरो तानेकाले यसरी आकाश छोको हो । चोरी हान्नु, गाउँभरिका गाईलाई भ्याउनु र बहादुरे गोरुसंग डटेर जुध्नु उसको बिशेषता थियो । अजंगको जिउ भएको बहादुरे गोरुको बिशेषता साना-साना बाच्छा-बाच्छीहरुलाई उधिनेर पछार्नु, अर्घुम्ले कान्छालाई बाहेक अरुलाई नटेर्नु र जहाँभए पनि बनेलाई टिप्पा लिनु थियो ।
एकछिन सम्म उ मात्रै रमिते भयो । त्यसपछि भने पुलामी माइला आइपुगे । उनले कालुबाट गोरु जुधेको निकैबेर भएको थाहा पाए । एकछिन पछि आफू बसेको ठाउँबाट उठे र गोरु जुधेको ठाउँनजिक पुगे । अनि चारैतिर नजर डुलाए । कालु बाहेक अरु कसैलाई न देखेपछि हातको लौरो दरोगरी समाते । बिस्तारै गोरुजनिक गए अनि बहादुरे गोरुको नाकभित्र लौरो घुसारे । अघिसम्म बेजोडले जुधेको अनि बनेलाई हायल-कायल बनाएको बहादुरे एक्कासी दुइकदम पछि हट्यो र भाग्यो । एकछिन सम्म बनेले बहादुरेलाई खेद्यो । जब भेट्टाउन सकेन, टक्क रोकियो र तीनपटक डुक्क्रियो अनि खेतका आलिमा सिघौरी खेल्न थाल्यो आफ्नो पौरख देखाउन । पुलामी माइलाले उसैगरी चारैतिर नजर डुलाए जसरी पहिले डुलाएथे अनि कालुतिर फर्केर फूर्ती लगाए – “पुलामीको साँढे पो हो धेनुगाईको छोरो ! गाउँभरिकालाई दाइँ हाल्छ यसले, के सोचेका छन् ती मूला अर्घुम्लेहरुले !”
माइला पुलामीको पारो चढेको देखेर उ केही बोलेन । तर गोरु छुट्याउने काइदा देखेर कालु दङ्ग पर्यो ।
कालुले आकाशतिर आँखा डुलायो । एक जुवा घाम बाँकी हुदोंहो । एक जुवा घाम हुँदा बस्तुभाउ घर लाने सुर नगरे बूढाको डिग्री बढ्थ्यो । बूढा बर्बराउने हुन् की भन्ने डरले खेतभरि भएका बस्तुभाउलाई जम्मा गरेर खरबारीमा उकाल्यो र बूढा भएछेउ गयो । “माइलु ! गाई बाख्रा सबै छन् त ?” बुढाले सन्देह ब्यक्त गरे । “सबै छन्, भर्खर गनेको” कालुले भन्यो ।
बूढा अघि लागे । कालुलाई थाहा थियो अब बूढा रम्तेलको बाँझो बारीको ढिस्कोमा गएर बस्नेछन् । कुरोको मुन्टो तान्नेछन् अनि नाकमा छिराई चार-पाँच पटक हाछिउं गर्नेछन् । कसैले सोध्यो भने भन्नेछन् – दिनभरिको चीसो फालेको !
***
कालुले बस्तुभाउ जम्मा पारेर उँभो बाटोतिर लगायो र न्यास्रो मानेर खरबारीको भित्तोपट्टि नजर घुमायो । शान्त त्यो भित्तोमा आफ्नो अशान्त मनको पीडा घोलेर एकपटक झुमालाई सम्झ्यो र एकछिन टोलायो अनि बाँसुरी मुखमा जोत्यो भाका उराल्न तर भाका फुरेन । बरु उसका आँखाले खोलापारि ठुलो चौरमा झुमाका बस्तुभाउ देखे । उ जुरुक्क उठ्यो तर आँखा अगाडि तोरीका फूल देखा परे अनि उसलाई रिंगाटा लागेजस्तो भयो । निमेष भरमा उसका आँखा ठीक भए । उसले देख्यो हरेको खेतमा असरल्ल पुलामीका बस्तुभाउ अनि फुङ्ग उडेको धुसेनको पाटो । स्मृतिमा झुमाका लोलाएका आँखाहरु देखापरे । त्यसैबेला एक्कासी कटुसघारीमा कोकलेका कर्कस आवाज सुनियो अनि दिवास्वप्नमा झुमालाई भोग गर्ने उसको रन्को त्यसै बिलायो । उसले बाघ आउँदा कोकले यसरी कराउँछ भन्ने सुनेको थियो । हतार-हतार खरबारीको डिलमा पुग्यो र पाँच-सात पटक करायो – “हउट……. हउट……. हउट…….. ……. …..!! ”
छिन् भरमा कोकले कराउन छाड्यो अनि उ बिस्तारै बाटोतिर लाग्यो । सदा झैं गाजले गोरुले उसलाई बाटोमा कुरिरहेको पायो । शान्त प्रकृतिको गाजले जब बुर्कुसी मारेर नाच्थ्यो, त्यो दिन जैले पनि पानी पर्थ्यो । सत्र बाली लाउँदा पनि गाजले अझै तन्देरी देखिन्थ्यो । अर्घुम्ले बूढा भन्थे – गाजले लक्षिन को छ । यसलाई नबेच्नु ।
***
रम्तेलको बाँझो बारीको ढिस्कोमा पुगेर कालुले बूढालाई खोज्यो तर देखेन । उसले सोच्यो सायद कोलचौर पुगेहुन् । उ एकछिन त्यहिँ सुस्तायो । नजिकै उग्राउँदै गरेको गाजलेलाई उसले – “जा” भन्यो । गाजले गाएन, बरु उल्टै जिउभरिका रौँ ठाडोपार्दै उ भए ठाउँ आयो र खुट्टाले भुइँ कोपर्न थाल्यो । उसको चर्तीकला कालुलाई ठीक लागेन । कालुले फेरी उसैगरी “जा” भन्यो तर गाजलेले मुन्टो हल्लाएर जान्नको संकेत दियो । झट्ट उसको आँखा गाजलेले कोपरेका ठाउँमा पुगे । कालु त्यो देखेर झसङ्ग भयो । उसका आङ्भरि काँडा उम्रिए । कुनै दिन अर्घुम्ले बूढाले गोठालोमा बाघले खोस्रेका डोब हुन् भनेर त्यस्तै देखाएका थिए । फेरी कटुसघारीमा कोकले करायो । माइला पुलामीका उस्तै हउट……हउट…. सुनियो । उसले कटुसघारी हुँदै डुम्रीचौर तिर आँखा कुदायो । एकछिनमा कटुसघारीबाट पुड्के निस्क्यो र भन्यो – ”बाघले बाख्रो खायो पुलामी दाइ !” पुलामी माइला निशब्द चौरमा थुचुक्क बसेको मात्रै देख्यो कालुले । कालुले आफ्नो ज्यानभरि करेन्ट कुदेको महसुस गर्यो र घम्लंग गाजलेलाई अँगालो हाल्यो । उसका आँखा अनायास रसायो गाजलेको मायाले । एकछिनसम्म आँखाबाट भल बग्न दियो र चित्त शान्त भएपछि उसले गाजलेलाई हेर्यो । उसका आँखाहरुमा आफ्नोभन्दा अझ बढी भल देख्यो । कालुले उसका आँखा पुछिदियो र भन्यो – “जाम् हिन् !” गाजले अघि लाग्यो र कालु पछि । गाजले हिड्दा बाटोमा फुङ्ग उडेको धुलोमा कालुले झुमाका रंग-बिरंगका तस्बिर देख्यो । उसका ती रङ्गीन सांसारिक दुनियाका सपनाहरु कोलचौर नपुग्दासम्म सिमलको भुवासरी माथि-माथि आकाशमा पौडीरहे ।
जब कालु कोलचौर पुग्यो, उसको मलिन अनुहार पढेर बूढाले सोधे – “के भो माइलु ?” “बाघले बाख्रा खायो” कालुका शब्द खस्न नपाउँदै “हाम्रा बाख्राहरु त सबै छन्, कसको लुँड्याएछ आज फेरी ??!!” बूढाले सोधे । “पुलामी माइलाका” कालुले सहज उत्तर दियो । “धर्म गरे पो ! गोरुका नाकमा लौरो कोचेर धर्म हुन्छ कहिँ ?!” बूढा रन्किए । बूढाको यो कुराले उ झसक्क झस्कियो र पुलामी माइलाले बहादुरे गोरुका नाकमा लौरो हालेको क्षण सम्झ्यो । कालुलाई त्यो बेला बूढाले देखेछन् भन्ने लाग्यो । आफ्ना गोरुलाई जिताउन अर्काका गोरुको नाकमा लौरो हालेको थाहा पाएर कालुलाई पनि पुलामी माइलासित रीस उठ्यो । उसले मन-मनै गाली गर्यो – “मर्न नसकेको असती बूढो !”
बूढा चौतारोमा बसेर औंला भाँच्न लागे । कालु अन्तिम पटक बस्तुभाउको निर्क्योल गर्नपट्टि लाग्यो । बस्तुभाउ सबै भएको पक्का गरेर उ फेरी बूढा भएछेउ गयो । दुबैजनाका आँखा जुधे, बूढा फिस्स हाँसे थोते गिंजा देखाएर र भने – सक्राती कैले पर्ने रैछ भनरे औँला भाँचेको । कालु मुसुस्क हाँस्यो । त्यसपछि बूढा बाटो लागे बस्तुभाउलाई आऊ … आऊ …आऊ ….भनेर बोलाउँदै ।
बस्तुभाउ बिस्तारै बाटो तताउन लागे । कालुले चौतारोमा बसेर फेरी एकपटक झुमाको तिर्सनामा आफूलाई डुबायो । उसका आँखा अगाडि दिनभरिका अनेकन् दृश्यहरु गोचरित भए । झुमाको हारा-हारीमा गाजलेले खोस्रेका डोबको झल्को आयो उसलाई । उसका आङ् सिरिंग भए । उ पशुवाक्य बुझ्दैनथ्यो तर आज उसलाई कता-कता गाजलेले खोस्रेका डोब र उसका आँसुको संकेत बुझेजस्तो लाग्यो । किन-किन उसले गाजलेलाई मात्रै सम्झ्यो त्यो क्षण । अनि सम्झ्यो अर्घुम्ले बूढाको भनाई – “गाजले लक्षिन को छ । यसलाई नबेच्नु ।”
कालुले गाजलेको खोजीमा बाटोतिर नजर लगायो । गाजले उसैगरी उसलाई बाटोमा पर्खी बसेकोथ्यो जसरी पैले-पैले बस्थ्यो । कालुका गह रसाए । नजिकै गएर उसले गाजलेको पिठ्युमा धाप मार्यो र भन्यो – “जाम् हिन् ।” उसका भाषा बुझेर गाजले अघि लाग्यो, कालु पछि-पछि ।
जति-जति अघि बढ्दै गयो, उति-उति कालुलाई गाजलेको प्रेम अघि झुमाको प्रेम फिक्का जस्तो लाग्यो । केवल एक हावाको झोक्का जस्तो, केवल पानीको फोका जस्तो, केवल एक orgasm जस्तो ।

सन्जित सापकोटा हाल चीनमा चिकित्सा शास्त्रमा स्नाकोत्तर गर्दै हुनुहुन्छ । उहाँ बिशेष गरि समाज सेवा, अध्यन अनुसन्धान, भ्रमण र साहित्यमा रुचि राख्नुहुन्छ । सम्पर्कको लागि उहाँको इमेल ठेगाना – sapkotasanjit@gmail.com.

(स्रोत : Nirmal Blog)

About Sahitya - sangrahalaya

We will try to publish as much literary work of different authors collected from different sources. All of these work is not used for our profit . All the creative work belongs to their respective authors and publication. If requested by the user we will promptly remove the article from the website.
This entry was posted in नेपाली कथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.