‘राइटर बाजे चर्च नजाने रे झ्’ हुण्डरीसरी धुरन्धर काकाको कानमा बज्रियो । उमेरले बयासी वर्ष नाघिसकेको राइटर बाजेले सबैले भन्ने गरेको धर्मकर्म गर्ने बेलामा झन् किन परमेश्वरबाट तर्किन खोज्दैछ ? गोरु बूढो भए भीर खोज्छ मान्छे बूढो भए निहुँ खोज्छ भन्थ्यो, साँच्चै हो कि क्या हो ? तर राइटर बाजे वास्तवमै निहुँ खोज्ने खालको त होइन । राइटर बाजेसँग पच्चीस वर्षको संगतमा धुरन्धर काकाले कहिले पनि घमण्डीपनको छनक पाएको थिएन ।
वास्तवमै भन्ने हो भने उनी कालिटार गाउँको पहिलो इसाई हुन् । उनैले दान गरेको जग्गामा विशाल मण्डली भवन ठडिएको छ । उपचारको सिलसिलामा भारतको रक्सौल पुग्दा परमेश्वरबारे सुन्ने मौका पाएका थिए राइटर बाजेले । एक महिनाको छोटो बसाइमा उनले विश्वास मात्र गरेनन् कि पानीको बप्तिस्मा समेत लिन भ्याए । गाउँ फर्किँदा भने उनले कुकुरले नपाएको दु:ख भोग्नुपर्यो । आजभन्दा तीस वर्ष अगाडि एकतन्त्रीय पञ्चायती राज्य व्यवस्थाले उनलाई धर्म परिवर्तनको आरोप लगाएर भीमफेदी जेलमा कोच्यो । यस्तो अवस्थामा पनि उनले हिम्मत हारेनन् । तीन वर्ष लामो कारावास सजाय भोगेर निस्केपछि उनी फेरि आÇनै कालिटार गाउँ गए । फेरि पनि सुसमाचार प्रचार गरे । आफू मात्र ख्रिस्टमा बाँचेर पुग्दैन, आÇनो समाज पनि बाँच्नुपर्छ भन्ने ज्वाला उनको हृदयमा दन्केको थियो । त्यत्रो कारावास सजाय भोगेर अझै नचेतेको भनेर गाउँलेले चुत्नुसम्म चुते । मर्यो भन्ठानेर साङ्ले खोल्सामा लगेर फाले । तर परमेश्वरले तीन दिनपछि उनलाई त्यहाँबाट पनि उठाउनुभयो । केही दिन आराम गरेपछि फेरि पनि उनले सुसमाचार अभियानलाई तीव्र पारे । कस्तो ज्याद्रो बूढो रहेछ भनेर बरु गाउँलेहरू नै थाके तर उनी चीलभैँm नविन सामथ्र्य पाएर उँभो उँभो उडे । ख्रिस्टको राज्य विस्तारमा दगुरेर कहिले पनि थाकेनन् न त हिँडेर नै क्लान्त भए ।
यसपछि बिस्तारै प्रभुले कालिटार गाउँमा आÇनो काम सुरु गर्नुभयो । डाक्टरले आशा मारिसकेको बिरामी राइटर बाजेको प्रार्थनाले चटक्कै निको भयो । बिरामी मानसिं मात्र नभएर पूरै परिवारले नै प्रभुमा विश्वास गरे । हिरामायाको घरमा जहिले पनि तर्साउन आउँथ्यो । अँध्यारो हुनासाथ देखिने गरी नै तर्साउन आएपछि परिवारका सदस्यहरू हायलकायल भए । थुप्रै धामीझाँक्री लगाउँदा पनि तर्साउन नछाडेपछि उनीहरू पनि राइटर बाजेलाई गुहार्न पुगे । एक हप्तासम्मको लगातार प्रार्थनाले हिरामायाको परिवारले मुक्ति पाए । उनीहरू पनि सपरिवारले प्रभुमा विश्वास गरे । यसरी सबैतिरबाट हार खाइसकेका मानिसहरू बिसेक हुन थालेपछि भने राइटर बाजेको परमेश्वर चानचुने परमेश्वर होइन भन्ने छाप गाउँलेमा पर्यो । त्यसमाथि राइटर बाजेलाई मरणासन्न कुट्ने दुई जना बिना कुनै लक्षण ठहरै मरेपछि झन् गाउँलेमा परमेश्वरप्रति भय र श्रद्धा उत्पन्न भयो । आफूले जस्तो जानेको छ त्यही अनुसार राइटर बाजेले झुण्ड सुरु गरे ।
बिस्तारै उनलाई सहयोग गर्न रक्सौलबाट मिसिनेरीहरू आइपुगे । एक वर्षसम्म उनीहरूले राइटर बाजेलाई संगति संचालनमा सघाए । गाउँलेहरू धमाधम संगतिमा आउन थाले । संगति गर्नलाई ठाउँको अभाव भएपछि राइटर बाजेले मण्डलीको लागि दुई रोपनी जग्गादान गरे । धुरन्धर काका यसको साक्षी बसे । तुरुन्तै पचास साठी जना अटाउने खरको झुपडी ठडियो । हेटौंडा बस्ने भए तापनि बेला बेलामा वचन प्रचार गर्न र सुसमाचार अभियानको सिलसिलामा धुरन्धर काका कालिटार पुगिरहन्थे । मिसिनेरीहरू रक्सौल फर्केपछि राइटर बाजेलाई संगतिमा सघाउने धुरन्धर काकामात्रै थिए । राइटर बाजेले गर्ने स्वागत सत्कारमा उनी निकै लोभिन्थे । लाग्थ्यो पाहुना सत्कारमा राइटर बाजेले वरदान नै पाएका छन् ।
परमेश्वरको लागि यति धेरै त्याग गरेका राइटर बाजे आखिर किन मण्डली जान हिच्किचाए त्यो पनि घरमाथि बनेको भवनमा ? धुरन्धर काकाको मथिङ्गल चर्कियो । उनी तुरुन्तै कालिटारतर्फ हान्नियो थोत्रो मोटरसाइकलको चर्को आवाजसँगै । भीरपाखाको कृषि सडकमा धूलो उडाउँदै चैतको उराठ मौसममा उनी निरन्तर अगाडि बढिरह्यो । दुई घण्टापछि बल्ल उनले राइटर बाजेको आँगनमा मोटरसाइकलको स्टार्ट बन्द गरे ।
ढोकाबाट पस्दा नपस्दै धुरन्धर काका कड्किए, “राइटर बाजे, बुढ्यौलीमा के भएको हँ ?” एक्कासि धुरन्धर काकाको रोष सुनेर घरका मानिसहरू वाल्ल परे । चाइनिज चादरमा गुटमुटिरहेका राइटर बाजे धुरन्धर काकाको चर्को आवाजले झसङ्ग भए । बिस्तारै उनी खाटमा बसे । कराउँदै धुरन्धर काका उनको कोठामै आइपुग्यो । “ए बाजे, स्वर्ग जाने बेलामा किन बुद्धि बिग्रेको ? कि बहुला कुकुरले टोक्यो ?” धुरन्धर काका साँच्चै रिसाएको रहेछ तर उनको रिसमा राइटर बाजेले कुनै प्रतिक्रिया जनाएनन् । उनी मूर्तिजस्तै जड भइरह्यो । उनको मौनताले धुरन्धर काकालाई झन् पोल्यो । “अब त सुन्न पनि छोड्यौ कि बाजे ? कि मलाई समेत चिन्नै छोड्यौ ?”
अब भने राइटर बाजेका आँखाहरू भिज्न थाले । तख्तामा बडो अदबसाथ राखिएको बाइबल छातीमा टाँसेर उनी धुरुधुरु रोए । अब भने उनलाई जथाभावी गाली गरेकोमा धुरन्धर काकाले पछुताउ माने । उनको रुवाइले घरका सदस्यहरू पनि कोठामा जम्मा भए । अब भने धुरन्धर काकालाई शर्म लाग्यो । उनले आफूलाई प्रष्ट्याउन खोजे, “राइटर बाजे, मेरो ध्येय तपाईंलाई रुवाउनु थिएन । म त … ।” उनको कुरा काट्दै राइटर बाजेले सुकसुकाउँदै भने, “दोष तिम्रो थिएन धुरन्धर । आखिर दुष्टले यस्तै नै हावा गाउँभरि र हेटौंडा बजारमा फैलाएका थिए । तिम्रो प्रतिक्रियाले म रोएको होइन । मप्रति तिम्रो अगाध मायाले मलाई रुवायो । हो, मैले चर्च नजाने निर्णय गरेको हुँ तर यसको अर्थ मैले परमेश्वरलाई त्यागेको भने पक्कै होइन । यसबारेमा वास्तविकता बुझ्न यति चाँडो तिमी आइपुग्नु नै मप्रति तिम्रो प्रेम हो । अरु सबैले हामीलाई त्यागे तर तिमीले मायालु हप्की दियौ । यसैले मेरो मन वरफभैँm जम्न सकेन ।”
गाउँमा विश्वासीको संख्या बढ्दै गएपछि खरको झुपडीले धान्न सकेन । सबैले मण्डली भवन तन्काउनुपर्ने सुझाव दिन थाले । अब त पहिलेजस्तो सबै बोझ आÇनो काँधमा बोक्नु नपरेकोले राइटर बाजे पनि मण्डली भवन तन्काउन राजी भए । अब मण्डली भवन बनाएपछि करिब दस वर्षलाई पुग्नेगरि बनाउनुपर्नेमा धेरैको राय मिल्यो । यसको लागि निकै खर्च लाग्ने भयो । सबैतिर हारगुहार गर्न थालियो । रक्सौलका मिसिनेरीहरूले पनि प्रार्थनासहित भेटी पठाए । सबै विश्वासीहरूले पनि आ–आÇनो गच्छेअनुसार भेटी दिए । राइटर बाजेले पनि एक हलको जग्गा बेचेर मण्डली भवन बनाउन भेटी दिए । सबैको मनकारी व्यवहारले भव्य मण्डली भवन बन्ने निश्चित भयो । तर अचानक मण्डलीको जग हाल्ने बेलामा अगुवा छलबहादुरले बखेडा झिक्यो । राइटर बाजेले मण्डलीको लागि जग्गादान दिए पनि अझसम्म जग्गा उनकै नाममा थियो । भोलि भवन तयार भएपछि जग्गा नामसारी गर्न अनकनाए त भद्रगोल हुन्छ । धेरैले छलबहादुरको भनाइमा सही थापे । जग हाल्न अगाडि नै सबैजना तीन जनाको नाममा जग्गा पास हुनुपर्ने निष्कर्षमा पुगे । तर कस–कसको नाममा जग्गा पास गर्ने भन्ने विवाद कायम भयो । धेरै पुराना विश्वासीहरूले राइटर बाजे र धुरन्धर काकाको नाम छुटाउन नहुने राय व्यक्त गरे । धुरन्धर काका हेटौंडा बस्ने भएकोले व्यवहारिक रूपमा कठिनाइ आउने भनी छलबहादुरले असहमती जनायो । आफूले जग्गादान गरिसकेकोले आÇनो नाम जोडिराख्न इच्छुक नभएको भनी राइटर बाजे आफै पन्छियो । निकै बेरको विचारविमर्शले दुई रोपनी जग्गा मालपोत कार्यालयमा गएर छलबहादुर, कपटमान र मक्खीचुसको संयुक्त नाममा नामसारी भयो । यसपछि बल्ल मण्डली भवनको लागि जग हाल्ने काम भयो । एक किसिमले सहजै समस्या टरेकोमा विश्वासीहरू खुशी भए । यस घटनाले राइटर बाजेको मनमा सानो चस्का पर्यो । आखिर एक दिन यो हुनुपर्ने थियो, भएर छाड्यो । उनले आफैलाई चित्त बुझाए ।
हेर्दाहेर्दै कालिटारमा विशाल मण्डली भवन तयार भयो । उद्घाटनको लागि रक्सौलबाट एक हुल मिसिनेरीहरू कालिटार आइपुगे । हेटौंडाबाट पनि धुरन्धर काकालगायत अग्रज पास्टरहरू कालिटार आइपुगे । उद्घाटन कार्यक्रममा राइटर बाजेको भन्दा पनि छलबहादुर, कपटमान र मक्खीचुसको बढी चुरीफुरी पाउँदा मिसिनेरीहरूलाई चित्त बुझेन । यसबारेमा एक जना बूढो मिसिनेरीले राइटर बाजेलाई कोट्याए । आफू अब बूढो भइसकेको र नयाँ पुस्तालाई मण्डली हस्तान्तरण गर्नको लागि चालेको पहिलो पाइला भनी राइटर बाजेले मुटुमा गाँठो पारी स्पष्टिकरण दिए । उनको स्पष्टिकरणलाई सहजै विश्वास गर्ने पक्षमा मिसिनेरीहरू देखिएनन् । वास्तवमा मण्डलीमा राइटर बाजेको पकड कमजोर हुँदै गएको आभास दिइरहेको थियो । राइटर बाजे काममा भाँजो हाल्नुभन्दा त्याग गर्न तम्सिन्थे । यसैले उनले आवश्यकताभन्दा बढी उनीहरूको चमकदमकलाई सहजै आँखा चिम्लिदिए । तर यसपछि भने उनले सोचेजस्तो यात्रा सहज भएन । मण्डलीका हरेक गतिविधिमा छलबहादुर, कपटमान र मक्खीचुसले सक्रियता बढाउँदै लगे । बिस्तारै राइटर बाजे थपना गरिएको मूर्तिमा परिणत हुन थाले ।
एकदिन राइटर बाजेलाई पास्टरीय सेवकाइबाट अवकाश मिल्यो । यो उनको खुशी भन्दा पनि बाध्यता थियो । छलबहादुर मण्डलीको पास्टरमा अभिषेक भयो । राइटर बाजेलाई धेरै फुर्सद मिल्यो । यस अवस्थामा आइपुग्दा पनि उनले सन्तोष नै मानिरहेको थियो । तर मण्डली भने पहिलेजस्तो आशिषित् रहेन । मण्डलीका हिसाबकिताबमा गोलमाल देखिन थाल्यो । संगति संचालनमा भेदभाव देखिन थाल्यो । यसले गर्दा जवानहरूमा असन्तुष्टि चुलिँदै गयो । फलस्वरुप छलबहादुरले कसैसँग सरसल्लाह नै नगरी जवान लिडर चिरनलाई पुलपिटबाटै अनुशासनमा राखेको घोषणा गर्यो । यसले मण्डलीमा थप संकट निम्त्यो । धेरैले राइटर बाजेलाई हस्तक्षेप गर्न बिन्ती गरे । मण्डलीको बैठकमा राइटर बाजेले यसबारेमा गम्भीर असहमति पोखे । धेरै जवानहरूले राइटर बाजेलाई पुन: मण्डलीको पास्टर बन्नुपर्ने जोडदार माग गरे । यसबाट डराएर छलबहादुर, कपटमान र मक्खीचुसले रातारात आÇनो तर्फको विश्वासीहरूलाई भेटघाट गरी गोप्य छलफल चलाए । अर्को शनिबार छलबहादुर, कपटमान र मक्खीचुसले संयुक्त रूपमा पुलपिटबाट बोल्दै राइटर बाजेलाई समेत अनुशासनमा राखेको घोषणा गर्यो । “यो मण्डली हाम्रो हो । कानुनी रूपमा पनि यो हाम्रै ठहरिन्छ । तसर्थ, चित्त नबुझ्नेहरू पाखा लागे हुन्छ ।” उनीहरूका आसेपासेले करतल–ध्वनी सहित ताली बजाए ।
“भनेपछि परिस्थिति यस्तोसम्म भएछ । उनीहरूले मण्डली भवनमाथि कब्जा जमाएछ । यो त राम्रो भएन ।” सबै कुरा सुनिसकेपछि पसिना पुछ्दै धुरन्धर काकाले प्रतिक्रिया जनाए । “के राम्रो, के नराम्रो अब कसरी भन्नु ? विश्वासी भनेर मात्र नहुँदोरहेछ । धनसम्पति धेरै देखेपछि लोभको जन्म हुँदोरहेछ । आफूले जन्माएको, हुर्काएको मण्डलीबाट आफैलाई निकालिँदा कस्तो भयो होला मलाई ? छोराले घरबाट निकालिएको बूढो बाउको हालत भयो । मेरो घाउमाथि नुनचुक छर्दै अझ म चर्च नजाने भन्ने हल्ला फैलाए । कपाल पाकेको बेला चैनमा बस्न दिएन ।” बर्कोले मुख छोप्दै राइटर बाजे धुरुधुरु रोए । “वास्तवमा मीका २:२ ले भनेको पूरा भएको छ, ‘तिनीहरूले खेतहरूको लोभ गरेर ती खोस्छन्, र घरहरूको लोभ गरेर ती कब्जा गर्छन् । तिनीहरूले मानिसको घर तथा उत्तराधिकार ठगेर लिन्छन् ।’ अब यस्तै पारा बढ्दै जाने हो भने मण्डलीको लागि जग्गा खरिद गर्न वा भवन बनाउन विश्वासीले मुठ्ठी खोल्न हिच्किचाउने बेला आउनेछ । जबसम्म सार्वजनिक सम्पतिमा व्यक्तिको नाम रहन्छ तबसम्म यो धुकचुक बाँकी रहनेभो । कसको नाममा राख्दा मण्डलीको जग्गा सुरक्षित रहने हो भन्नेमा नै आशंका पैदा भयो । जसको नाममा छ, उसको हैकम अरुले सहन बाध्य हुने भयो । मण्डलीकै जग्गा र भवनमा लुछाचुँडी भयो । नाम राखेकाहरूबीच नै कुरा नमिलेर मण्डली जग्गा र भवनलाई चिराचिरा पार्न थाल्यो । एक अर्कालाई भ्रष्टाचारीको आरोप लगाएर अदालत पुग्यो । जुन आÇनो होइन त्यसैमा अनावश्यक दाबी कायम भयो । यो गलत प्रथा बढ्दै जानु असल भएन । अब त देशमा गणतन्त्र आइसक्यो । मण्डलीको सम्पति गुठीमा परिणत गरे यस्ता छलकपट र लोभको आत्माले टाउको उठाउन पाउने थिएनन् कि ।” धुरन्धर काकाले दुखेसो पोखे । उनको रायमा कसैले केही प्रतिक्रिया जनाएनन् ।
समाप्त
क्वाइनोनिया भक्तपुर मण्डली
हाल: धुलिखेल, काभ्रे
प्रतिक्रियाको लागि: helpandcare99@gmail.com
(स्रोत : Ebachan.com)