“के भने त छोरी डाक्टरले, बिसेक छ आमालाई ?”
“उस्तै हो ठुलो बुवा, के सञ्चो हुनु, डाक्टर साक्टर कोही पनि आएका छैनन् । त्यही सिस्टर्नी मोरी आउँछे र पुर्लुक्क हेरेर जान्छे ।”
दिनेशकी श्रीमती थलिएकी एक महिना जति भयो होला । रोग पत्तो लाग्दैन र सञ्चो पनि हुन्न । खान मस्तै खान्छिन्, कुरा गर्ने बेलामा
अरुले पालो पाउन्नन् । ज्यान हेर्दा सर्लक्क रामै्र छ । पेट दुख्छ रे । टाउको पनि दुख्छ रे । कति बेला त मुटु खायो, कोप¥यो, लुछ्यो, यस्तै के–के भन्छिन् भन्छिन् । दिनेश उपचार गर्दा–गर्दा हैरान भएका छन् । अहिले बुटवलको अञ्चल अस्पतालमा भर्ना गरिएकी छन् । भाइकी छोरीले पालो दिएकी । उनैसंगको कुराकानी हो यो ।
“सिस्टर भन् न, के को सिस्टर्नी हो त …?”
“आ.. ठूलो बुवा पनि…, आईमाई मान्छे भएपछि सिस्टर्नी भएन त ? यस्तै नभएको नभएको कुराले उचाल्नु हुन्छ र त ठूली आमा बिरामी हुनु भएको नि ।”
“सकिन्न बाबै तिमीहरुसंग कुरा गर्न, ल तिनी कुरा छोड, डाक्टर कतिबेला आउँछन् रे ?”
“खोइ, डाक्टरको त आज पालो छैन रे, डाक्टर्नीको पालो परेकोछ भन्छन् । ”
“को डाक्टर्नी ? डाक्टरकी श्रीमती आएर हुन्छ रे ? ”
“ठुलो बुवाको कुरा सुन्दा पनि मै बिरामी हुन्छु कि जस्तो, श्रीमती भन्या होलान् र ? डाक्टर्नी के, उही डाक्टरले जस्तै पढेर आएकी आईमाई मान्छे ।”
“त्यो त डाक्टरै भयो नि, केही थाहा छैन तिमीहरुलाई, यस्तै बुद्धिले त तेरी ठुलीआमा पनि बिरामी हुने गरेको । रोग केही भेटिन्न, सञ्चो पनि हुन्न र मनमा सन्तोष पनि हुन्न । संझायो संझायो तेरै जस्ता कुरा हुन्छन् । अस्ति हेराउन जान्छु, सञ्चो भएन भनेर हिँडी । कहाँ जान्छेस् भनेको देबिनीकहाँ जान्छु पो भन्छे । देबिनी होइन, देबी भन्नुपर्छ भनेर सिकाएको त्यसै कुरामा झगडा गरेर आज यो हालत भएको छ ।”
डा. कृतिका आइन् र चम्पालाई जाँचिन् । चम्पा उनै बिरामीको नाम हो, दिनेशकी श्रीमती । रक्तचाप ठीक देखियो, सुगर छैन हिजै जँचाएको थियो । ज्वरो पनि छैन । मोटामोटी हेर्दा रोगै देखिन्न । किन सञ्चो हुन्न त ? डाक्टरहरु पनि अचम्म पर्छन् । “कस्तो छ तपाईलाई ?” डा. कृतिकाले बिरामी चम्पासंग सोधिन् । चम्पाले चारैतिर आँखा घुमाइन् र भनिन्, “डाक्टर्नी साहेब मेरो त ज्यान सबै सिल्का हान्छ, जताततै रगत दगुरेको जस्तो लाग्छ, बेगार परे जस्तो छ । बेगारको दवाइ हुन्छ कि हुन्न ? ”
डाक्टर मुसुक्क हाँसिन् मात्र, बोलिनन् । डाक्टर्नी भनेकोमा हाँसो लागे होला । औसत नेपालीको चेतना यस्तै छ त्यसैले त्यस बारेमा उनी बोलिनन् । बेगार पर्नु वा सिल्का हान्नु भनेको नशा संबन्धि रोगको लक्षण हो, उनले त्यो कुरो पनि बुझिन् र बोल्न चाहिनन् । र भनिन्, “हुन्छ सबै रोगको उपचार हुन्छ नआत्तिनुस् । ”
यसअघि चम्पा उनकी बहिनीलाई लिएर हेराउन भनेर गएकी थिइन् । तानसेनमा एउटी देबिनी छन् रे, ट्वाक्कै गराउँछिन् भन्ने भयो । साथमा दिनेश पनि गए, जानै प¥यो । तानसेन टक्सार टोलमा देबिनीको थान भन्ने कि घरै त्यहीं रहेछ । ठूलो हल जस्तै कोठा छ । टनन्न मान्छे बसेका छन् । मान्छे सबै महिला मात्र छन् । आधासरो त बिरामी मात्र र आधा महिलाहरु बिरामीको साथमा गएका । पुरुषहरु सबै भन्दा पछिल्ले लाइनमा बसेकाछन् । दिनेशसहित उनीहरु पनि त्यहाँ प्रवेश गरे । देबिनी ध्यानमग्न छन् । लाटी देवीको रुप धारण गरेकी रे । देख्दा राम्री, उमेरले ३० । ३२ बर्षकी जस्ती । कोठा धुमधामले सजिएको छ । पित्तलको हो वा ढलौटको बाघको मुर्तिमाथि उनको आसन छ । कथामा पढिएकी देवी जस्तै । फूल–मालाले सजिएकी देबिनीको लाटो रुप धारणको समय सकिएछ । “हारती माता” । उनले म हारती माता हुँ भनिन् । यिनी नेवारी संस्कारकी माता रहिछन् । गैह्र नेवारी महिलाहरुले हारती माताको बिषयमा धेरै जानेका छैनन् र त्यहाँ सबैले भन्ने गर्छन् “देबिनी ” । देबिनीले टोपी नलगाएका पुरुषहरुलाई मन पराइनन् र कि टोपी लगाएर आउनु नत्र बाहिर जानु भनिन् । दिनेशले पनि टोपी लगाएका थिएनन् । धेरै जसो पुरुष बाहिर निस्कनु प¥यो । बाहिर पसलमा टोपी भाडामा पाइने रहेछ । टोपी लगाएर फेरि सबै पुरुषहरु भित्र पसे । उनीहरु बिरामीका आफन्त, संरक्षक तथा धेरैजसो त बिरामी महिलाहरुका पति थिए । पुनः हलको पछिल्ले लाइनमा बसे ।
धेरै बेरपछि चम्पाको पालो आयो । उनको भन्दा पहिले अर्घाखाँची खिदिमबाट आएकी महिलाको पालो थियो । हेर्दा पढे–लेखेकी जस्ती । टाठी पनि । सन्तान नभएर हेराउन आएकी । “तिम्रै घरका मान्छेको काम हो सन्तान हुन नसक्नुमा । कि त्यो मान्छेलाई घरबाट धपाउ कि तिमीले त्यो घर छोड सञ्चो हुन्छ ।” हारती माताको भनाई थियो । के भनेकी हुन् थाहा भएन तर ती महिलाले उनकी सासुतिर संकेत गरेर त्यही बुढीले गर्दा सन्तान नभएको हो भनिन् । उनका पति दिनेशकै छेउमा बसेका थिए । सुने । के सोंचे त्यो कुरो थाहा भएन । घरमा एउटी आमा र छोरा बुहारी मात्र । सन्तान छैनन् । सासुको खटन–पटन सहन सकिनन् वा उनको खटन–पटन सासुले मानिनन् । यस्तै भएको हुनुपर्छ । पति बिचरा, आमातिर लागुन् कि पत्नीतिर लागुन् । सन्तान नहुनुमा आमाको के दोष हुन्थ्यो होला र ? यस्तै किचलो बोकेर उनीहरु पनि देबिनी खोज्दै आएका रहेछन् । ढोकाबाट के निस्केका थिए झगडा गर्दै गए । “तेरी आमा पनि उस्तै तँ पानी आन्द्रे पनि उस्तै …..। ” पतिलाई भन्नु नभन्नु भनिन् । धेरै कुरा त सुन्न सकिएन वा बुझिएन । जाने बेलामा देबिनीले पु¥याइन् भन्दै महिलाले दिल खोलेर भेटी चढाइन् र “त्यो बुढीलाई त….” भन्दै उठेकी थिइन् । उनीहरु निस्के ।
चम्पालाई देबिनीले चोखोनीतिमा बस्न भनिन् । के हो चोखोनीति भनेको ? नछुने हुँदा ७ दिन सम्म बार्ने रे । र पतिको ख्याल गर्नु उसैबाट गडबड छ भनिन् । दिनेश त्यहीं थिए । सबै महिलाहरुले दिनेशको मुखमा हेरे । देबिनीकी सहायकले सोधिन् , “के गर्छ उनको बुरोले ? ” दिनेशको मनमा कुरा खेल्यो । उनले मनमनै भने ठिकै भनिन् । चम्पाको चेतनाको स्तर भनेको देबिनी, सिस्टर्नी, डाक्टर्नी भन्ने जस्तो हो ।
देबिनीले भनिन्, “यिनका देउतालाई यिनका पतिले मान्दैनन् । यिनका कुरा पनि सबै सुन्दैनन् त्यसैले यिनी बिरामी हुन्छिन् । ” कुरो होजस्तो पनि लाग्यो । चम्पाले उपाय सोधिन् । देबिनीले के के ब्रत गर्न पठाइन् र हरेक महिनामा हारती माताको दर्शन गर्नु भनिन् । हारतीमाता उनै थिइन् । माताको उपचार बिधि भनेको सबै महिलाहरुलाई त्यस्तै प्रकारको हुन्थ्यो । ढोकाबाट बाहिर निस्केपछि समस्या पनि उस्तै र रोग पनि उस्तै । समय सकियो वा हेरेर सकियो, सबै उठे । देबिनीको यसै गरेर गुजारा चलेमो थियो र उनको घर परिवार समेत धानिएको थियो ।
अस्पतालबाट चम्पालाई डिस्चार्ज गरियो । दिनेशकी भतिजीको शब्दमा सिस्टर्नीले दबाइ कसरी खाने भन्ने कुरा सिकाइन् । बिहान एउटो गोली खाली पेटमा, भात खाएर यो गोली र साँझ सुत्ने बेलामा यो गोली । औषधि खाने तरिका त्यस्तै थियो । तर घरमा गएर चम्पाले औषधि खान मानिन् । मान्दै मानिन् । रोग उस्तै रह्यो, समस्या उस्तै रह्यो । जब उनका छोराहरु नोकरीबाट बिदामा घरमा आउँथे, उनीहरुले आमालाई नियमित औषधि खुवाउँथे । छोराका डरले खान्थिन् । खाँदासम्म सञ्चै हुन्थिन् । जब छोराहरु बिदा सकेर काममा जान्थे चम्पाको रोग घरमा पस्यो । रोगका सबै जिवाणु दिनेश नै हुन् भन्ने लाग्थ्यो । ससुराली, नाता–गोता सबैले चम्पाको कुरो सुन्थे तर सबैको कुरो दिनेशले सुन्दै सुन्दैनथे । टेर्दै टेर्दैनथे । टेर्नु वा चम्पालाई सञ्चो हुन उनी चम्पाको स्वभावमा जानु पर्ने हुन्थ्यो, त्यो संभव थिएन ।
एक दिन एका बिहानै म दिनेशको घरमा गएँ । उनीसंगको साइनो एउटा पब्लिक क्याम्पसको सञ्चालकको हो । हामी दुबै जना त्यस क्याम्पसको सञ्चालक । पार्टी त उनको र मेरो मिल्दैन तर पनि क्याम्पसको बिषयमा पार्टी भन्दा माथिबाट सोँच्नु पर्ने भन्ने मान्यता सबैले पालन गरेका हुन्छौं । हामीले मानेर मात्र नहुने । बिद्यार्थीहरुका संगठन हुन्छन् । प्राध्यापकहरुका पनि संगठन हुन्छन् । भएन भनेर कर्मचारीहरुका पनि छन् । उनीहरुको स्वतन्त्रता भन्ने कि ? अधिकार भन्ने कि ? कहिले–कहिले त दिक्क पनि लाग्छ र भन्न मन लाग्छ लफडा भन्ने कि ? त्यो बिषयमा हामी सञ्चालकहरुको एक मत हुनु जरुरी हुन्छ । दिनेश छिमेकी पनि भएकोले उनीसंग सल्लाह गर्न गएको हुँ । म जाँदा उनले चिया पकाउँदै रहेछन् । कुरो त सामान्य हो र पनि मैले “सोधेँ,मेडम खोइ र ?” उनले उनकी श्रीमती चम्पा कसैसंग कुरा गर्दै गरेको बताए । दुइटी बिद्यार्थी वा छात्राहरु कोठा खोज्न भनेर आएका रहेछन् । उनीहरु गएपछि चम्पाले भनिन्, “दुईटी बिद्यार्थीनी कोठा खोज्न आएका त्यसैमा अलमल भयो ।” मैले पनि मजाककै भाषामा “नमस्ते सरनी सञ्चै हुनुहुन्छ ? ” भनेँ । एकैछिन हाँसो पनि भयो । दिनेशलाई मैले सर भन्ने गर्छु । त्यो दिन भने चम्पा सञ्चै देखिइन् । “देबिनीले सञ्चो गराइन् ?” फेरि मैले जिस्क्याएँ । त्यो घरमा यस्तो हाँसो मजाक चल्ने गर्छ । दिनेश मुसुक्क हाँसे मात्र बोलेनन् । चिया खाँदै गर्दा चम्पाले कुनै देवी–देवताका नामको प्रसाद लिएर आइन् । “छोरो पोखरा गएको बागेश्वर्नीको मन्दिरमा पुगेछ, त्यसैको प्रसाद । ” उनले फारो पनि लगाइन् । प्रसाद काँचो नरिवल थियो त्यो पनि खाइयो । मैले मनमनै सोचेँ, भाषा हो , कुरो बुझियो । मगर–मगर्नी, बाहुन–बाहुनी, हल्दार–हल्दार्नी । यस्तो त हुन्छ । चम्पाले भनेको बागेश्वर–बागेश्वर्नी त्यस्तै त होला ? तब सम्म दिनेशकी नातिनी उठिछ , आँखा मिच्दै आइ र भनी, “हजुर मम्मी, हजुर मम्मी, हिजो ग्रेन डेडीले ल्याइदिसेको मेरो गाडी खोई ?” चम्पाले “तेरी मम्मीले राखेकी छ अहिले बुबु खाएर खेलाउने हो” भनेर मनाइन् । मैले सोँचेको थिएँ, चम्पाले तेरी पापिनीले राखिकीछे भनुन् । बाबालाई पापा भन्न सिकाएको भए त्यसै भन्थिन् होला । र हामीले एकैछिन कुरा गरेर सक्यौं ।
समयले अलि फेरो मारेको थियो । बर्षले पनि अलिकति औंला भाँचेको हुनुपर्छ । चम्पाको एउटा छोराको बिहे भएर सन्तान पनि भएका थिए । अरु दुई भाइ छोरा भने बिदेशमै थिए । घरमा छोरा–बुहारी, नाति–नातिनी, नाल–नाता इष्ट–मित्र आदि र अरु संगत तथा ब्यवहारले उनलाई फुर्सद हुन छोड्यो । तर पनि उनको खान–पान तथा अन्य पारिवारिक संस्कार पुरानै छ । यो बिषयमा कसैलाई पनि टेर्दिनन् । दिनेशलाई त गन्दै गन्दिनन् । एक दिन कुनै पर्बको दिन थियो, चौरासी ब्यञ्जनमध्ये ३०।३५ ब्यञ्जन त उनैको हातले बनाइन् । सबैले खाए । भोलिपल्ट उनी अचानक बिरामी भइन् । अहिले भने बेस्सरी ज्वरो आयो, कामज्वरो । फूड पोइजन भएछ । खानेकुरामा बिभिन्न रसायन हुन्छन् । कुनै–कुनै रसायन मिसिनु हुँदैन । जस्तो कि पाकेको कटहरसंग पोलेको मकै खान हुन्न । अथवा कटहरमा हुने यीष्ट प्रजातिको बनस्पति वा ढुसी र पोलेको मकैमा हुने खरानी । खरानीमा क्षार हुन्छ । यी दुबैको मिश्रणले पेट फुल्छ र झाडा पखाला समेत हुन्छ । दूध, घिउ, मह, खाँदेको अचार वा दही आदिको मिश्रणले कतै न कतै बिषको काम गर्छ । चम्पालाई यस्तै भएको हुनु पर्छ । यस्तो कुरो धेरैले जान्दैनन् पनि । अस्पतालको इमर्जेन्सी वार्डमा उनी बेहोश अवस्थामा थिइन् । सञ्चो हुँदै थियो । उनका आफन्त को–को थिए, को–को । कोही उनको संबन्धले आएका त कोही दिनेशको कारणले आएका । छिमेकीहरु त्यसै पनि जाने भए । हेर्न जानेहरुको भीड थियो । यस्तैमा एउटी महिला चम्पाको नजिकै पुगिन् । बिरामीको निधार छामिन्, आँखाका परेला पल्टाएर हेरिन् । खुट्टाका पैताला छामिन् । परिचारिकाहरु नजिकै थिए । उनीहरुले पनि एकैछिन ती महिलाको तमासा हेरे । ती महिला कुनै नौटंकी गर्ने उडन्ते बैद्य थिइन् भन्ने थाहा भयो । देख्दा पढे–लेखेकी जस्तै लाग्ने महिला । एकैछिन छाँटा देखाइन् र भनिन्, “मेडमलाई त लागो लागे जस्तो छ हेराउन लैजानु पर्छ । उ पर एउटी जान्ने देबिनी छे त्यहीं लैजाउँ ।” त्यो सुनेपछि परिचारिकाले ती महिलालाई हातले समातेरै पर सारे र अरुलाई समेत भीडबाट हट्न अनुरोध गरे । महिलाका आँखा राता गोलभेंडा जस्ता देखिए । “नर्सेनीहरुले मार्लान् हइ मार्लान् ….मैले भनेको कसैले पत्याएको छैन ” भन्दै उनी पनि पर–पर सरिन् । कुरो बुझ्दै जाँदा उनी कुनै देशी बाबाकी चेली स्वघोषित देबिनी रहिछन् । बाबाको नक्कली आश्रममा कुनै नक्कली देबिनी हुनु पर्छ भनेर दिनेशले प्वाक्कै मुख फोरे । उनलाई ती महिला कता–कता देखेजस्तो पनि लाग्यो । ती महिला लाजले भुतुक्क भइन् । उनी चम्पासंगै पाल्पाकी देबिनीकहाँ हेराउन गएकी खिदिमकी महिला रहिछन् । कुनै खण्ड खातिर परेर वा सासु र पतिसंग ¥याङ्ग–ठ्याङ्ग नमिलेर घर छोडेर हिँडेकी । चम्पा बिरामी भएको सुनेर त्यस वार्डमा पसेकी । चम्पा भन्ने नाम सुनेर संझिन् वा देखेर चिनिन् थाहा भएन । उनी अर्कै बिरामी भेट्न आएकी थिइन् वा कुनै देबिनीकहाँ उपचार गराउन भनेर फकाउन आएकी थिइन् भन्ने लाग्यो । गइन् ।
तीन दिन पछि मात्र चम्पालाई पूरा सञ्चो भयो । त्यो बेला पनि डां कृतिका चम्पाको सेवामा खटिएकी थिइन् । डा. कुतिका बुटवलकै स्थानीय बासिन्दा हुन् उनी अबिबाहित पनि हुन् । उनले त्यो अस्पतालमा सेवा गर्न थालेको धेरै बर्ष भएको छैन तर सेवाको दृष्टिले धेरै बिरामीबाट जश भने पाएकी डाक्टर हुन् । उनी इमर्जेन्सी सेवामा र्कायरत छन् । चम्पाले भनिन्, “डाक्टर नानी तपाईंले मलाई बचाउनु भयो धन्यबाद ।” डा. कृतिका चम्पाको उमेरको दाँजोमा पनि छोरी सरहकी थिइन् । “डाक्टर नानी” भनेकोमा उनको मन पग्लेछ । उनले चम्पाको बिषयमा पुरानो कुरो पनि संझिन् । कुनै समयमा चम्पाले “डाक्टर्नी साहेब ” भनेकी थिइन् । कति टा…ढा लाग्यो होला त्यसो भन्दा उनलाई ? र पनि कर्तब्य त छोडिनन् । आज छोरी सरहको स्नेह वा मर्यादा पाइन् । अहिले भने कृतिका हाँसिनन् । मनमनै सोंचिन्, “मैले उपचार गरेको बिरामीको पुरानो रोग पनि सञ्चो भएछ । ”
जुठे बाबा, नाम त के हो कुन्नि ? जुठापौवाबाट आएकोले जुठेबाबा भन्ने भन्छन् । उनले पहिले गाउँका बिरामीको नारी हेर्थे, आखत हेर्थे, तन्तर–मन्तर पनि जानेका थिए वा थिएनन्, हामीले नबुझिने शब्दमा बर्बराए जस्तो पनि गर्थे । खरानीले फुक्थे, पानी मन्तरेर खान दिन्थे । पेटमा चुर्ना परेमा खरानी पानी थिग्¥याएर खान दिन्थे । कहिलेकाहीं कुनै जरीबुटी पनि थिचेर खुवाउँथे । त्यो बेला आजजस्तो नजिक हेल्थ पोष्ट, अस्पताल वा औषधिका दुकान थिएनन् । पैसाको पनि त्यति पौल हुन्नथ्यो । उनको पढाई–लेखाई पटक्कै थिएन । सातो फुक्नेमा त नामै चलेको थियो । त्यसो त सातो जाने भनेको क्षणिक मानसिक बिचलन हो । डराएर बिरामी हुनु सातो जानु हो । एक पटक डराएर बिरामी भएको मान्छेलाई सञ्चो गराउन फेरि पनि डराउन दिनु पर्छ । बच्चाको सातो जानु र फुकेर सञ्चो हुनु भनेको त्यही कारण हो । उस्तैपरेमा यो रोग डाक्टरले पनि सञ्चो गराउन नसक्ने अवस्था हुन्छ । यस्ता धामी बैद्य धेरै हुन्थे र अझै छन् । उनीहरुले पनि कुनै सिद्धान्त जानेर होइन अनुभवको आधारमा उपचार गर्थे । अहिले जुठे बाबाले त्यस्तो काम गर्न चटक्कै छोडेका छन् । उनले नजानेर पनि होइन र कतैबाट अपजश पाएर पनि होइन ।
गुल्मी चोयगाका एकजना धामीले बच्चा नहुने महिलालाई बच्चा पाउने गराइदिन्छु भन्ने गर्थे । त्यस्तो काम सधै गर्थे होला । एक पटकको कुरो हो, साँझमा थप्लुङ्गकी एउटी महिला धामीकहाँ गइन् सन्तान पाउने आशाले । सन्तान नहुनेलाई सन्तान हुन सक्ने बिद्या जानेकोछ भन्ने हल्ला थियो । धामीले सक्छु भन्यो र झार–फुक गर्न थाल्यो । फुक्दा–फुक्दा आधा रात बितेको थियो । चोखो पानी चाहियो भन्यो । महिलाको साथमा उनका पति पनि गएका थिए । उनलाई पँधेराबाट एक लोटा चोखो पानी ल्याउन पठाइयो । पानी लिएर आउन आधा घण्टा लाग्दथ्यो । त्यही आधा घण्टामा त्यस धामीले ती महिलाको भित्री लुगा समेत खोल्यो, पेट छाम्यो । बच्चा जन्मने ठाउँ छाम्यो र यौन कर्मको एक्शनमा गयो । शुरुमा त महिलाले जाँच्ने भनेको यस्तै होला भनेर लाज मान्दा मान्दै पनि आँखा चिम्म गरेर सहिन् । जब धामीको चाला राम्रो छैन भन्ने लाग्यो महिला डराइन् र चिर्रिएर कराइन् । उनको मुटु काँप्यो । उसले ती महिलालाई गर्भवती गराउने चेष्टा गरेको थियो सफल भएन । धामीको सामुमा डरले वा अनेक कारणले महिला बोल्न सकिनन् । अरु महिलाहरुले त्यस धामीको बारेमा प्रशंशा गरेको सुनेकी थिइन् । कसैले धामीको कुनियतको बिषयमा बोलेको थिएन । अरु सबैको सन्तान हुने बिधि भनेको यस्तै होला भनेर सहिन् वा चुप लागिन्, हल्ला गर्नेतिर लागिनन् । त्यस्तो हैसियत उनमा छँदा पनि थिएन । लोग्नेले चोखो पानी ल्याए । धामीले चोखो पानी छर्केर फेरि मन्त्र बर्बरायो । त्यो दिनको खेलो सकियो । बिदा हुने बेलामा धामीले लोग्नेसंग सुस्तरी भन्यो “यी नानीलाई बेस्सरी बेगारले गालेको छ आजै सबै टुना झार्न सकिएन अहिल्यै सन्तान हुन्छ नै त भन्न सकिन्न फेरि पनि ल्याउनु, हेरम्ला ।” लोग्नेले हुन्छ भने र जे–जे भेटी दस्तुर दिनु पर्ने हो दिएर अँध्यारोमै घरतिर लागे । बाटोमा लोग्ने–स्वास्नीको बोल–चाल भएन, कुरा–कानी भएन । लोग्नेलाई त्यो छोरो पाउने बिधि बारे क्या, हो क्या हो ? भन्ने लागेको थियो भने स्वास्नीलाई ठूलो दुर्घटनाबाट बचियो भन्ने लागेको थियो । ती महिलाको नाम यशोदा हो तर जसोदा भन्छन् सबैले ।
त्यस घटनाको ठीक ९ महिनापछि जसोदाबाट सन्तान भयो, छोरी पाइन् । धामीले पनि जस पायो र परिवार पनि प्रशन्न भए । उनले छोरी पाएको २ महिना मात्र भएको थियो । अर्की कुनै महिला सन्तान पाउने रहरमा त्यसै धामीकहाँ गएकी थिइन् । धामीको नाटक पहिलेको जस्तै थियो । उनी भने फसिन् । धामीबाट बलात्कृत भइन्, मनोबैज्ञानिक बलात्कार । तर तत्कालै दुस्साहस गरेरै त्यस धामीको भण्डाफोर गरिन् । हल्लाखोर गरिन्, गुहार मागिन् । तत्कालै गाउँले जुटे । सबै कुरा बताइन् । दुस्साहस साहसमा परिणत भयो । धामी भने डरले जस्केलढोकाबाट फुत्त भाग्यो । कहाँ भाग्यो कसैले पत्तो पाएन । त्यस क्षेत्रमा त्यस धामीबाट सयकडौँ महिला गर्भवती भएका थिए । कसैले सन्तान भयो राम्रै भयो भनेर पचाएका थिए । कसैले बाध्यताले वा इज्जतको डरले पचाएका थिए । कुनै–कुनै महिलाको त खेलै त्यही पनि हुने गर्दो हो । यस पटकको घटनाले भने त्यहाँ हेराउन जानेहरु सबैको सातो गयो । सबैको पोल खुल्ने डर भयो । सारा इलाकामा मात्र होइन धेरै टाढा सम्म त्यो हल्ला फैलियो । कुनै गाउँ यस्तो भेटिएन जहाँका कुनै न कुनै महिला त्यस धामीकहाँ नगएको । त्यसै घटनाले जुठे बाबाले पनि उनको पेशा वा सेवा बन्द गर्नु परेको थियो यद्यपि उनलाई कसैले शंका गरेको थिएन ।
जसोदाकी सासु त्यसै पनि जखर्जण्डा थिइन् । त्यस हल्लाले झनै जाद्री भइन् । पहिले मेरै छोराको जस्तो नाक, थुतुनो वा अनुहार भएकी नातिनी जन्मी भन्ने गर्थिन् । अहिले भने काटिकुटी त्यही धामीको जस्तो अनुहार देख्न थालिन् नातिनीको । “हे भगवान, हाम्रो घरको, कुलको सबै इज्जत सत्यनाश हुने भयो” भनेर टाउको ठोक्न थालिन् । इज्जत बचाउने नाममा इज्जत फाल्न थालिन् आँबैले भन्दै छोराले संझाउने प्रयत्न त गरेकाहुन् जोर चलेन । बुढा मान्छे भने वाप न क्वाप, यसो–उसो चुँ बोलेनन् । अरु समाजले यस्तै हो, आँखाले देखिएको छैन, कुनै महिलाले म धामीबाट बिग्रेकी छु भनेका पनि छैनन् भन्ने बुझेर पचाए । त्यो घर भाँडियो ।
धामीबाट गर्भ रहेको भन्ने शंकाष्पद आरोप लागेकी महिलालाई समाजले न्याय दिएन । घरले स्वीकारेन । लोग्नेले त के गर्थे कुन्नि ? जुन दिन धामीकहाँ गएका थिए त्यस भन्दा पहिल्यै पनि त उनको गर्भ रहेको हुन सक्दथ्यो । धामीकहाँ जानु र त्यसैको ९ महिनापछि छोरी जन्मनु । काकताली मिलेजस्तो पनि भयो । जसोदाको आत्मालाई र धामीलाई बाहेक यो कुरो कसैलाई थाहा पनि छैन । लोग्ने बिचरा नकारात्मक त होइनन् तर नेवारीमा भन्छन् “छु ख, छु ख …?” अर्थात क्या हो क्या हो । नराम्रो हल्ला चलेपछि जसोदा त्यो घरमा टिक्न सकिनन् । एक रात दूधे बालिका, छोरी बोकेर बेपत्ता भइन् । माइती घरमा पनि गइनन् । नदीको पानी बगेजस्तै अथवा समयको बेगसंगै आमा–छोरी कता–कता भौंतारिए ।
उनी राम्री थिइन्, राम्रीको अर्थ यौवन पोखिएको अर्थमा होइन । सभ्य थिइन् । सामान्य पढे–लेखेकी पनि । महिलामा हुने धेरै गुण राम्रा थिए । परिबन्धसंग लड्न सकिनन् । घर र समाजले साथ दिएन । पतिले पनि ढाडस् दिन सकेनन् । सन्तानको रहरमा एउटा जीवन जितेर पनि हारिन् । यी सबै कुरा उनले जानेर अथवा नियतै खराब भएर गरेको पनि होइन । त्यसो त सन्तान भएन भनेर आत्तिने बेला पनि भएको थिएन । बिहे भएको तीन बर्ष मात्र भएको थियो । त्यसमा पनि पति पढ्न भनेर बाहिर गएका हुन्थे । साँच्चै भन्ने हो भने पति –पत्नीको बिचमा सिधै मुख हेराहेर पनि भएको थिएन । राम्ररी बोल–चाल पनि भएको थिएन । छोरा–बुहारीले रहर गर्नुभन्दा पनि आमाले कर गरेर मात्र धामीकहाँ हेराउन गएका थिए । नाति–नातिना खेलाउन पाइन भन्ने आमाको गुनासो हुन्थ्यो । भाउँ आमालाई त्यस धामीको चर्तिकला थाहा पो थियो कि ? जे होस्, त्यस घटनाले धेरै समय खेर फालेपछि उनी बुटवलमा पुगेर टिकिन् र एउटा सामाजिक संस्थाको जागिरमा अल्झिइन् । छोरीको न्वारानको नाम के थियो कुन्नि ? त्यहाँ भने उनले छोरीको नाम फेरिन् र उनैको नाम पनि जसोदा हो भनिन् । माइती र घरतिरको ठर–ठेगाना पनि घुमाउरो पाराले अन्यत्रै बताइन् । अर्कै नामले चिनिइन् । मान्छे सबै खराबै त हुन्नन् नि, र बुटवल जसोदाको टेकिने ठाउँ बन्यो । डेरा पाइन् । छोरीलाई पालन–पोषण पनि गरिन् ।
धेरै समयपछि, जसोदाको जीवनमा घाम झुल्क्यो । स्थानीय भद्र महिलाहरुको सहयोगमा, बिश्वाँसमा, कुनै योग्य पुरुषसंग जीवनको संबन्ध कायम राख्ने सल्लाह भयो । जसोदाले मानिन् । पुरुषले पनि माने । आर्थिक रुपले ठिकै, घर–द्वार भएको, सज्जन, उमेर पनि मिल्दो–जुल्दो, उनको शब्दमा झापातिरबाट बुटवल आएर बसेका र घरबार पनि त्यस्तै–त्यस्तै भएर एक्लै बस्नु परेका गतिला मान्छे भन्छन् समाजले, पुरुषले साथ दिए, जीवनभरको लागि । छोरी पनि स्वीकारे छोरीकै रुपमा । समयले एउटो डाँडो काट्यो र मैदानमा घाम लाग्न थाल्यो । जसोदाले पुराना कथा कहिल्यै कसैसंग पनि भनिन् । पुरुषको बारेमा पनि सोधिनन् । न पुरुषले त्यस्ता कुरा गरे । पुरुषले सामान्य आयुर्बेद पढेका रहेछन् । सरकारी जागिरको स्तरमा त्यो कामलाई कविराज भन्छन् । उनी पेशाले कबिराज थिए र सबैले कबिराज भनेर बोलाउँथे । औषधि मुलोको ब्यापार गरे । जीवन चल्यो , बश….। छोरीले पढिन् । पढ्नमा तेज थिइन् । डाक्टरै पढिन् । छिमेकले, समाजले र खास गरेर समयले सहयोग ग¥यो अथवा समय सुल्टो चल्यो । जसोदाकी छोरी, डाक्टर कृतिका उनै हुन् ।
जुठेबाबा एक्लै थिए । लामा–धामीको काम छोडेका थिए र अरु कुनै काम गरेर गुजारा चलाएका थिए । अहिले उनको बसाइ बुटवलको नजिकै पर्ने चरङ्गे भन्ने गाउँमा छ । कैलालीको लम्की भन्दा थोरै पश्चिममा राजमार्गकै छेउमा स्याउले बजार नामको गाउँ छ । त्यहाँकी एउटी महिलाले ढङ्ग न ढालसित सुत्केरी हुने महिलाको पेटको बच्चा जबर्जस्ति थुत्दा बच्चा म¥यो । त्यो आरोपबाट मुक्त हुन घर त के भन्ने, बस्ने स्थान छोडेर भाग्नु प¥यो । हल्खारिँदै उनी बुटवलमै पुगिन् र एउटा फक्कड खालको जोगीको संपर्कमा रहन पुगिन् । त्यसै फक्कडबाबाको माध्यमबाट कसो–कसो गर्दा जुठे बाबाको संपर्कमा आइन् । लसपस भएछ, जुठेबाबाकी पत्नीको रुपमा रहिन् । अस्पतालमा चम्पालाई भेटेर देबिनीकहाँ लैजान सल्लाह दिने उनै महिला रहिछिन् । भन्दा देबिनीकहाँ लैजान्छु भन्ने तर आफै देबिनी हुँ भन्दै ठग्ने गर्दिरहिछन् । घरमा लोग्ने र सासु आमाको अनुशासनमा बस्न नसकेर भाग्य खोज्न हिँडेकी उनी कैलाली पुगिछन् र यस्तै टाकन–टुकन पेशामा लागिछन् शायद कथित देबिनीको कृपा उनमा पनि परेछ ।
डा.कृतिकाकी आमाले जीवनमा एउटो ठक्कर खाइन् । त्यो अवस्थामा शायद कुनै महिला बाँकी रहन्थे होला । त्यस धामीबाट कैंयौं महिलाले सन्तानको रहर फेरेका थिए । कसैले त्यो कुरो जानेर पनि यस्तै हो संसार, भनेर चित्त बुझाएका थिए भने कसैले “फसियो अब बोल्नु पनि भएन” भन्दै मन बुझाएका थिए । कसैलाई नहुनु भन्दा कानो मामा निको भन्ने पनि लागेको हुँदो हो । अरु भन्दा पनि धामी देवता हो, कुरो तल–माथि पार्ने हो भने उसले जे पनि गर्न सक्छ भन्ने डर पनि थियो होला । जसोदाले पनि त्यसै गरेर सहेकी थिइन् । गाउँले छुल्याहाले बाइँ–बाइँ पारेर मात्र हो । त्यो पनि राम्रै गरे भन्ने कि के भन्ने ? तै कर्मकाण्डको बिधि तथा कानूनी बिधिले कृतिकाको पारिवारिक नाता बैधानिक भएको थियो फलानाकी छोरी भनेर । आरोपको अथवा नैतिकताको घाउ दुखेर मात्र छोरी टिपेर भागेकी । घटना भन्ने कि दुर्घटना भन्ने अनौठो थियो । उनले निर्दोष हुँदा–हुँदै पनि धेरै अडान लिन सकिनन् र समाजले पनि खासै साथ दिएन ।
चरङ्गेकी देबिनी पहिले खिदिमकी हुन् । उनको बैंश अलि जब्बर खालले चढ्यो । लोग्नेलाई टेरिनन्, सासुलाई टेरिनन्, समाजलाई टेरिनन्, माइतीलाई झन् टेरिनन् । हुँदा–हुँदा क्याकन उन्नति गर्छु भनेर कपिलबस्तुको बठनपुरा भन्ने गाउँमा रहेकी उनकी फुपूकहाँ पुगिन् । फुपूले पनि नरुचाएपछि उनैको सल्लाहले बर्दियाका कुनै जमिन्दारको भान्सेको रुपमा काम गर्न भनेर गइन् । कता–कता यौवनको बाटो बिराइछन् र त्यहाँ पनि टिकिनन् । त्यतैबाट बाउठिँदा स्याउलेबजार पुगेकी हुन् । बुटवलमा रहँदा कुनै प्रशङ्गमा जसोदासंग भेट भएको थियो । त्यस्तो परिचय त हुने कुरो पनि भएन र कुरै गरेनन् तर ती देबिनी जसोदाकहाँ आउने जाने गर्न थालिन् । उनले ज्यान पाल्ने मेसो भन्ने कि ठग धन्दा भन्ने जसोदाको मन दुहुने प्रयत्न गरिन् र साधु– सन्त र देबिनीको संगतमा जाने कुरा गरिन् । त्यो कुरा यसोदाले इन्कार गरिन् । ती चरङ्गेकी देबिनीले धेरै महिलाहरुको धन, यौवन अथवा चरित्र संकटमा पारिदिएको कुरा हल्ला चलेको थियो । त्यो कुरा जसोदालाई पनि थाहा थियो तर उनीसंग त्यसरी भेट भएको थिएन । उनले धेरै घुमाएर बोल्न त जानिनन् तर त्यस्तो संगत राम्रो होइन भन्न भ्याएकी थिइन् । देबिनीले धेरै बहानाबाजी गरेर चिल्लो घस्दै थिइन् । आनन्दका कुरा गरिन्, भाग्य बन्ने कुरा गरिन्, मुक्तिमा कुरा गरिन्, सुखका कुरा तथा नाम चल्नेका कुरा । के–के बोलिन् बोलिन् ।
कृतिकाको अस्पतालको बिहानको ड्युटी अलि छोंट्याएर छिटै घरमा पुगिन् । त्यो दिन उनको बिहेको कुरो छिन्ने दिन पनि थियो । उनका बाबु जसले उनलाई छोरी मानेर पालेका थिए । त्यो दिन सोमबार भएकोले पसलमा नगए पनि हुने थियो । सोमबार बुटवलको बजार बन्द हुन्छ । औषधिको दुकान बन्द नगरे पनि हुने हो उनले गरे । त्यसो त दुकान त्यस्तो ठूलो थिएन, बैद्यको कुटी जस्तो हो । दिउसो छोरीको बिहेको टुङ्गो लगाउने भन्ने पनि छ । घरमा पाहुना आउने हुनाले । त्यसैले आँगन सफा गरेर खरायोलाई दूबो खुवाउँदै थिए । जसोदाले गमलाको झार उँखेल्दै थिइन् र ती छट्टु देबिनी यस कथाको भाषामा छट्टुनी, जसोदाको पछि–पछि लाग्दै ताना–बाना बुुन्दै थिइन् । पतिचाहिँलाई ती सब कुराको खासै मेसो त थिएन तर उनकी पत्नी त्यस्ता लफडामा फस्दिन भन्ने बिश्वाँस थियो । हुन त उनलाई श्रीमती र छोरीको बिषयको कुनै राम कहानी थाहा थिएन, चासो पनि राखेनन् । दुःख पाएकी महिला, केही कारणले घरबार भएन होला भन्ने लागेको थियो र थोरै समयको उठा–बसीमा राम्री लागेर आफैले प्रस्ताव गरेका थिए । त्यसो त उनले पनि आफ्नै बिषयमा धेरै कुरा लुकाएर बनावटी परिचय दिएका थिए । “म झापाली बाहुन हुँ” भनेका थिए । उनले ती देबिनी भनिने छट्टु महिला र यशोदाका कुरा कान ठनासे । सुने । सुन्दै जाँदा धेरै कुरा फुस्कँदै गए । धामी, थप्लुङ्ग, जुठे बाबा सबै कुरा ती महिलाले गरिन् । उनको मनमा थोरै चिसो र थोरै तातो पस्यो, जिज्ञासा जाग्यो कुरामा ।
उता कुतिकाले पनि आमा र ती देबिनीका कुरा आफु नदेखिने गरेर कान थापेर सुनेकी रहिछन् । उनी बयस्क भएपछि, आफुहरु त्यसरी भौँतारिनु परेका कुरा आमासंग सोधेकी थिइन्, आमाले नचाहँदा नचाहँदै पनि भन्नु परेको थियो । त्यस कुराले गर्दा कृतिकालाई लामा–धामी, देबी–देबिनी, सन्त–साधु यस्ता कुरा सुन्यो कि त एलर्जी हुन्थ्यो, भाउन्न हुन्थ्यो । त्यसै पनि डाक्टर मान्छे, बिश्वाँस लाग्ने कुरो पनि थिएन । त्यहाँ ती देबिनी भनिने महिलाका घर भाँड्ने कुरा सुनेपछि झनक्क रिस उठ्यो र च्याप्प चुल्ठोमा समातिन् अनि तीन फन्का रिँगाइन् । देबिनीले के बोल्ने ठाउँ थियो र ? उनले कहिल्यै त्यो घरमा नफर्कने तथा त्यस्तो कर्म नगर्ने बाचा गरेर माफी माग्दै भागिन् । अरु महिलाले त्यसो गरेको भए त के गर्थिन् कुन्नि ? डाक्टरको फेला परिन् । कृतिकाले देबिनीलाई एउटी महिलाको हैसियतले धेरै कुरा भनिन्, संझाइन् पनि । ती कुरा त यहाँ उल्लेख गरिएन ।
पत्नीले छोरी लिएर घरबाट बेपत्ता हुनु, समाजले कुरा काट्नु, आमाले फेरि बिबाह गर्न गनगन गर्नु यी सबै लफडाले ती युवकको मन ठाउँमा अडिएन । एकदिन लाहुर गयो भनिदिनु भन्ने खबर छोडेर उनी पनि घरबाट हिँडे तर जाने कहाँ ? जिन्दगीका भित्तामा धेरै ठक्कर खाँदै हरिद्वार पुगे । थोरै हरिद्वारी रुप रंगमा परे, अथवा कपाल पाल्न थाले, दाह्री जुँगा काट्रन छोडे र ठाडो टीका लगाउने भए । लगभग बैष्णव भए । थोरै समय हल्लिएपछि यो पनि नाटक जस्तो लाग्यो । मनले मानेन । पढ्न शुरु गरे । के–के पढे थाहा भएन, उनले जान्दा कुनै काम लाग्दो बिषय पढे, सिके । काम पनि गरे । र अलिकति पैसा बचाए । यो अवधिमा उनले घरको कुनै वास्ता गरेनन्, परिवारको वास्ता गरेनन् । घरमा श्री–सम्पत्ति के थियो त्यो पनि वास्ता गरेनन् । अचम्म त घरबाट भागेर हिँडेकी पत्नी र छोरीको पनि वास्ता गरेनन् । घटना त संझे होलान् किनकि त्यसै घटनाले मुग्लान् पठाएको छ । मायाले संझेनन् । पत्नीको अनुहार पनि संझना छैन यो बेलामा । उनी एकोहोरिए ।
एकदिन के सूर चढेछ कुन्नि ? उनलाई मातृभूमिले छोयो । नेपाल फर्कने मन भयो तर घरमा जाने मन भने छैन । उनको मनले भन्ने गथ्र्यो, “म मरेको भए पनि हुने मान्छे न आमालाई संझाउन सकें, न पत्नी र छोरीलाई जिम्मा लिन सकें, न त समाजलाई नै बुझाउन सकें के नाक लिइर घरमा जाने ?” र पनि नेपाल हानिए । नेपालको मुख्य नाका बुटवल थियो । बुटवलमा उनले जानेको शिप बेचेर बसे । टुकुरो जोडे । बुकुरो पनि जोडे । गुजारा चल्ने अवस्थामा पुगे । केही बर्ष बसे त्यहाँ । एक दिन, समयले तान्यो वा ब्यवहारले तान्यो अथवा उनी भित्रको पुरुषले तान्यो र साथी–भाइको सहयोगमा कतै जात–भात, बर्ग, संस्कार अथवा सभ्यताको काँजो मिलाएर बिबाह गरे । ल्याइता ल्याए वा ब्याइता ल्याए यो भने सबैको चासोको बिषय भएन । सामाजिक सभ्यताले त्यस्ता कुराको नेटो काटेको थियो । घरजम भयो ।
चम्पाको परिवार अरु कुरामा फरवार्ड हो । छोराहरु पनि शिक्षित र सभ्य, दिनेश त त्यसै पनि टाठा–बाठामा पर्ने मान्छे हुन् । माइला छोराको बिहेको कुरो चल्यो । माइलो छोराले पढेको त के बिषय हो कुन्नि ? तर बेस्सरी पढेको हो । बेलायतको जागिरे हो । थोरै समयानुकुल हुन नसक्ने चम्पा हुन् भन्थे त्यो घरमा । उनी पनि अचेल सुध्रिएकीछन् । देबिनी, बोक्सिनी आदि चिन्तनको लफडाबाट मुक्त भएकी छन् । उनकै सल्लाहमा छोराको बिहे डा. कुतिकासंग कुरा चल्यो । कुरा दोहोरो भयो र सकारात्मक नै भयो भन्ने खबर आयो ।
कृतिकाको ती देबिनी भनिने महिलाप्रतिको रिस एकै छिनमा मरेको थियो । उनले उनको कोठा मिलाउँदै थिइन् । आमा पनि छोरीको कोठामा पुगिन् तर बोलिनन् । उनलाई छोरी रिसिएकी छ भन्ने लागेको थियो र खुशी गराउन त्यता गएकी थिइन् । बाउ पनि “छोरी…” भन्दै त्यही कोठामा पसे र टुसुक्क बसे । घर–कोठा सानै भए पनि सफा र आकर्षक छ । उनले पत्नी र छोरीको ध्यानाकर्षण गरे र पत्नी तर्फ फर्केर भने, “एउटा कुरा आज भन्नै पर्ने भयो, मैले पनि भन्छु र यस कुराले कसैको इज्जतमा आँच आएको मान्नु हुनेछैन । ”
“ भन्नुस् न ”
“तिम्रो खास नाम के हो ?”
पत्नी थोरै डराइन् र लजाइन् पनि । पतिको प्रतिज्ञा पछि भनिन्
“जसोदा” जसोदाले छोंटो जवाफ दिइन् ।
“गुल्मी हो घर ?”
“हो ”
“थपलुङ्ग हो ?”
“हो ”
“पतिको देहान्त भएको हो ?” अलि घुमाएर सोधे ।
“होइन”
“कहाँ छन् त ? ”
“थाहा छैन ”
“कसरी यस्तो भयो त ?”
जसोदा रोइन् मात्र बोल्न सकिनन् । कृतिकाले आँखा गाडेर सुनेकी छन् । आमाको बारेमा उनलाई थाहा थियो । तर आज उनको बिहे हुने दिनमा बाबाले यस्ता कुरा किन सोधे होलान् ? अचम्म मानेकी छन् । मनमा पाप सोँचिन् कतै यो झड्केला बाउले बर्बाद त पार्ने होइनन् ? मनमा कुरा खेलाइन् । जसोदाले सुख्खै पाइनन् । आखिर पति त हुन् , भत्केको जीवन पछिको बलियो आधार । बिश्वाँसको गृह । र कुरा सबै खोलिन् । उनका पतिले पनि सबै कुरा खोले ।
“बाबा……, ” कृतिका आश्चर्यको छाँगाबाट खसिन् र चिर्रिएर रोइन् र आमाको काखमा घोप्टिइन् । जसोदाले एक टकले पतिको अनुहारमा हेरिन् र पतिले पनि हेरे । गुमनाममा थिए दुबै । एक–आपसमा दुबैले दुबैको अनुहार पनि बिर्सेका थिए । बिर्सनु परेको थियो । दुबैले पुरानो अनुहार पढ्ने चेष्टा गरे । भेटियो । अतीत भेटियो । पतिको अनुहारमा जसोदाले आफ्नो जीवनको ऐना हेरिन् । सबै आकृति खुल्दै आयो फिल्म रि–स्टार्ट भयो । त्यही हालत पतिको पनि भयो ।
अहिले भने तीनै जनाका आँखामा संयोगका, आश्चर्यजनक संयोगका अथवा सपना जस्तो, पत्याउने कि नपत्याउने भन्ने खालको संयोगका उन्मादी आँशु बगे । अंकमाल गरे आपसमा । छोरी कृतिका अलि बढी भावुक भइन् र एकै छिन् सम्म त बोल्ने शब्द पनि भेटाइनन् ।
“कबिराज बाबु ” बाहिरबाट कसैले बोलायो । त्यो दिन पाहुना साहुना आउने दिन पनि थियो । जुठेबाबा आएका रहेछन् । उनी उनकी पत्नी देबिनी भनिने महिलाको बिषयमा अरु माफी माग्न भनेर आएका रहेछन् । जुठेबाबा यसबेला चरङ्गे थिएनन् यतै बुटवल बजारमा घुम्दै थिए । देबिनीसंग भेट भएछ र सबै कुरा थाहा पाएका रहेछन् । उनी कबिराजको घरका बालीघरे बैद्य थिए त्यो समयका । एकै छिन के–के कुरा गरे । शायद घरमा गएर कबिराजका बाबु–आमाको हाल बुझेर छोरीको बिबाहको दिनसम्ममा लिएर आउनु भने कि ?
९ पुस २०७०
(स्रोत : Gurudattagyawali.com)