कथा : कब्जा

~रोशन प्रजापति~Roshan Prajapati

‘राइटर बाजे चर्च नजाने रे झ्’ हुण्डरीसरी धुरन्धर काकाको कानमा बज्रियो । उमेरले बयासी वर्ष नाघिसकेको राइटर बाजेले सबैले भन्ने गरेको धर्मकर्म गर्ने बेलामा झन् किन परमेश्वरबाट तर्किन खोज्दैछ ? गोरु बूढो भए भीर खोज्छ मान्छे बूढो भए निहुँ खोज्छ भन्थ्यो, साँच्चै हो कि क्या हो ? तर राइटर बाजे वास्तवमै निहुँ खोज्ने खालको त होइन । राइटर बाजेसँग पच्चीस वर्षको संगतमा धुरन्धर काकाले कहिले पनि घमण्डीपनको छनक पाएको थिएन ।

वास्तवमै भन्ने हो भने उनी कालिटार गाउँको पहिलो इसाई हुन् । उनैले दान गरेको जग्गामा विशाल मण्डली भवन ठडिएको छ । उपचारको सिलसिलामा भारतको रक्सौल पुग्दा परमेश्वरबारे सुन्ने मौका पाएका थिए राइटर बाजेले । एक महिनाको छोटो बसाइमा उनले विश्वास मात्र गरेनन् कि पानीको बप्तिस्मा समेत लिन भ्याए । गाउँ फर्किँदा भने उनले कुकुरले नपाएको दु:ख भोग्नुपर्‍यो । आजभन्दा तीस वर्ष अगाडि एकतन्त्रीय पञ्चायती राज्य व्यवस्थाले उनलाई धर्म परिवर्तनको आरोप लगाएर भीमफेदी जेलमा कोच्यो । यस्तो अवस्थामा पनि उनले हिम्मत हारेनन् । तीन वर्ष लामो कारावास सजाय भोगेर निस्केपछि उनी फेरि आÇनै कालिटार गाउँ गए । फेरि पनि सुसमाचार प्रचार गरे । आफू मात्र ख्रिस्टमा बाँचेर पुग्दैन, आÇनो समाज पनि बाँच्नुपर्छ भन्ने ज्वाला उनको हृदयमा दन्केको थियो । त्यत्रो कारावास सजाय भोगेर अझै नचेतेको भनेर गाउँलेले चुत्नुसम्म चुते । मर्‍यो भन्ठानेर साङ्ले खोल्सामा लगेर फाले । तर परमेश्वरले तीन दिनपछि उनलाई त्यहाँबाट पनि उठाउनुभयो । केही दिन आराम गरेपछि फेरि पनि उनले सुसमाचार अभियानलाई तीव्र पारे । कस्तो ज्याद्रो बूढो रहेछ भनेर बरु गाउँलेहरू नै थाके तर उनी चीलभैँm नविन सामथ्र्य पाएर उँभो उँभो उडे । ख्रिस्टको राज्य विस्तारमा दगुरेर कहिले पनि थाकेनन् न त हिँडेर नै क्लान्त भए ।

यसपछि बिस्तारै प्रभुले कालिटार गाउँमा आÇनो काम सुरु गर्नुभयो । डाक्टरले आशा मारिसकेको बिरामी राइटर बाजेको प्रार्थनाले चटक्कै निको भयो । बिरामी मानसिं मात्र नभएर पूरै परिवारले नै प्रभुमा विश्वास गरे । हिरामायाको घरमा जहिले पनि तर्साउन आउँथ्यो । अँध्यारो हुनासाथ देखिने गरी नै तर्साउन आएपछि परिवारका सदस्यहरू हायलकायल भए । थुप्रै धामीझाँक्री लगाउँदा पनि तर्साउन नछाडेपछि उनीहरू पनि राइटर बाजेलाई गुहार्न पुगे । एक हप्तासम्मको लगातार प्रार्थनाले हिरामायाको परिवारले मुक्ति पाए । उनीहरू पनि सपरिवारले प्रभुमा विश्वास गरे । यसरी सबैतिरबाट हार खाइसकेका मानिसहरू बिसेक हुन थालेपछि भने राइटर बाजेको परमेश्वर चानचुने परमेश्वर होइन भन्ने छाप गाउँलेमा पर्‍यो । त्यसमाथि राइटर बाजेलाई मरणासन्न कुट्ने दुई जना बिना कुनै लक्षण ठहरै मरेपछि झन् गाउँलेमा परमेश्वरप्रति भय र श्रद्धा उत्पन्न भयो । आफूले जस्तो जानेको छ त्यही अनुसार राइटर बाजेले झुण्ड सुरु गरे ।

बिस्तारै उनलाई सहयोग गर्न रक्सौलबाट मिसिनेरीहरू आइपुगे । एक वर्षसम्म उनीहरूले राइटर बाजेलाई संगति संचालनमा सघाए । गाउँलेहरू धमाधम संगतिमा आउन थाले । संगति गर्नलाई ठाउँको अभाव भएपछि राइटर बाजेले मण्डलीको लागि दुई रोपनी जग्गादान गरे । धुरन्धर काका यसको साक्षी बसे । तुरुन्तै पचास साठी जना अटाउने खरको झुपडी ठडियो । हेटौंडा बस्ने भए तापनि बेला बेलामा वचन प्रचार गर्न र सुसमाचार अभियानको सिलसिलामा धुरन्धर काका कालिटार पुगिरहन्थे । मिसिनेरीहरू रक्सौल फर्केपछि राइटर बाजेलाई संगतिमा सघाउने धुरन्धर काकामात्रै थिए । राइटर बाजेले गर्ने स्वागत सत्कारमा उनी निकै लोभिन्थे । लाग्थ्यो पाहुना सत्कारमा राइटर बाजेले वरदान नै पाएका छन् ।

परमेश्वरको लागि यति धेरै त्याग गरेका राइटर बाजे आखिर किन मण्डली जान हिच्किचाए त्यो पनि घरमाथि बनेको भवनमा ? धुरन्धर काकाको मथिङ्गल चर्कियो । उनी तुरुन्तै कालिटारतर्फ हान्नियो थोत्रो मोटरसाइकलको चर्को आवाजसँगै । भीरपाखाको कृषि सडकमा धूलो उडाउँदै चैतको उराठ मौसममा उनी निरन्तर अगाडि बढिरह्यो । दुई घण्टापछि बल्ल उनले राइटर बाजेको आँगनमा मोटरसाइकलको स्टार्ट बन्द गरे ।

ढोकाबाट पस्दा नपस्दै धुरन्धर काका कड्किए, “राइटर बाजे, बुढ्यौलीमा के भएको हँ ?” एक्कासि धुरन्धर काकाको रोष सुनेर घरका मानिसहरू वाल्ल परे । चाइनिज चादरमा गुटमुटिरहेका राइटर बाजे धुरन्धर काकाको चर्को आवाजले झसङ्ग भए । बिस्तारै उनी खाटमा बसे । कराउँदै धुरन्धर काका उनको कोठामै आइपुग्यो । “ए बाजे, स्वर्ग जाने बेलामा किन बुद्धि बिग्रेको ? कि बहुला कुकुरले टोक्यो ?” धुरन्धर काका साँच्चै रिसाएको रहेछ तर उनको रिसमा राइटर बाजेले कुनै प्रतिक्रिया जनाएनन् । उनी मूर्तिजस्तै जड भइरह्यो । उनको मौनताले धुरन्धर काकालाई झन् पोल्यो । “अब त सुन्न पनि छोड्यौ कि बाजे ? कि मलाई समेत चिन्नै छोड्यौ ?”

अब भने राइटर बाजेका आँखाहरू भिज्न थाले । तख्तामा बडो अदबसाथ राखिएको बाइबल छातीमा टाँसेर उनी धुरुधुरु रोए । अब भने उनलाई जथाभावी गाली गरेकोमा धुरन्धर काकाले पछुताउ माने । उनको रुवाइले घरका सदस्यहरू पनि कोठामा जम्मा भए । अब भने धुरन्धर काकालाई शर्म लाग्यो । उनले आफूलाई प्रष्ट्याउन खोजे, “राइटर बाजे, मेरो ध्येय तपाईंलाई रुवाउनु थिएन । म त … ।” उनको कुरा काट्दै राइटर बाजेले सुकसुकाउँदै भने, “दोष तिम्रो थिएन धुरन्धर । आखिर दुष्टले यस्तै नै हावा गाउँभरि र हेटौंडा बजारमा फैलाएका थिए । तिम्रो प्रतिक्रियाले म रोएको होइन । मप्रति तिम्रो अगाध मायाले मलाई रुवायो । हो, मैले चर्च नजाने निर्णय गरेको हुँ तर यसको अर्थ मैले परमेश्वरलाई त्यागेको भने पक्कै होइन । यसबारेमा वास्तविकता बुझ्न यति चाँडो तिमी आइपुग्नु नै मप्रति तिम्रो प्रेम हो । अरु सबैले हामीलाई त्यागे तर तिमीले मायालु हप्की दियौ । यसैले मेरो मन वरफभैँm जम्न सकेन ।”

गाउँमा विश्वासीको संख्या बढ्दै गएपछि खरको झुपडीले धान्न सकेन । सबैले मण्डली भवन तन्काउनुपर्ने सुझाव दिन थाले । अब त पहिलेजस्तो सबै बोझ आÇनो काँधमा बोक्नु नपरेकोले राइटर बाजे पनि मण्डली भवन तन्काउन राजी भए । अब मण्डली भवन बनाएपछि करिब दस वर्षलाई पुग्नेगरि बनाउनुपर्नेमा धेरैको राय मिल्यो । यसको लागि निकै खर्च लाग्ने भयो । सबैतिर हारगुहार गर्न थालियो । रक्सौलका मिसिनेरीहरूले पनि प्रार्थनासहित भेटी पठाए । सबै विश्वासीहरूले पनि आ–आÇनो गच्छेअनुसार भेटी दिए । राइटर बाजेले पनि एक हलको जग्गा बेचेर मण्डली भवन बनाउन भेटी दिए । सबैको मनकारी व्यवहारले भव्य मण्डली भवन बन्ने निश्चित भयो । तर अचानक मण्डलीको जग हाल्ने बेलामा अगुवा छलबहादुरले बखेडा झिक्यो । राइटर बाजेले मण्डलीको लागि जग्गादान दिए पनि अझसम्म जग्गा उनकै नाममा थियो । भोलि भवन तयार भएपछि जग्गा नामसारी गर्न अनकनाए त भद्रगोल हुन्छ । धेरैले छलबहादुरको भनाइमा सही थापे । जग हाल्न अगाडि नै सबैजना तीन जनाको नाममा जग्गा पास हुनुपर्ने निष्कर्षमा पुगे । तर कस–कसको नाममा जग्गा पास गर्ने भन्ने विवाद कायम भयो । धेरै पुराना विश्वासीहरूले राइटर बाजे र धुरन्धर काकाको नाम छुटाउन नहुने राय व्यक्त गरे । धुरन्धर काका हेटौंडा बस्ने भएकोले व्यवहारिक रूपमा कठिनाइ आउने भनी छलबहादुरले असहमती जनायो । आफूले जग्गादान गरिसकेकोले आÇनो नाम जोडिराख्न इच्छुक नभएको भनी राइटर बाजे आफै पन्छियो । निकै बेरको विचारविमर्शले दुई रोपनी जग्गा मालपोत कार्यालयमा गएर छलबहादुर, कपटमान र मक्खीचुसको संयुक्त नाममा नामसारी भयो । यसपछि बल्ल मण्डली भवनको लागि जग हाल्ने काम भयो । एक किसिमले सहजै समस्या टरेकोमा विश्वासीहरू खुशी भए । यस घटनाले राइटर बाजेको मनमा सानो चस्का पर्‍यो । आखिर एक दिन यो हुनुपर्ने थियो, भएर छाड्यो । उनले आफैलाई चित्त बुझाए ।

हेर्दाहेर्दै कालिटारमा विशाल मण्डली भवन तयार भयो । उद्घाटनको लागि रक्सौलबाट एक हुल मिसिनेरीहरू कालिटार आइपुगे । हेटौंडाबाट पनि धुरन्धर काकालगायत अग्रज पास्टरहरू कालिटार आइपुगे । उद्घाटन कार्यक्रममा राइटर बाजेको भन्दा पनि छलबहादुर, कपटमान र मक्खीचुसको बढी चुरीफुरी पाउँदा मिसिनेरीहरूलाई चित्त बुझेन । यसबारेमा एक जना बूढो मिसिनेरीले राइटर बाजेलाई कोट्याए । आफू अब बूढो भइसकेको र नयाँ पुस्तालाई मण्डली हस्तान्तरण गर्नको लागि चालेको पहिलो पाइला भनी राइटर बाजेले मुटुमा गाँठो पारी स्पष्टिकरण दिए । उनको स्पष्टिकरणलाई सहजै विश्वास गर्ने पक्षमा मिसिनेरीहरू देखिएनन् । वास्तवमा मण्डलीमा राइटर बाजेको पकड कमजोर हुँदै गएको आभास दिइरहेको थियो । राइटर बाजे काममा भाँजो हाल्नुभन्दा त्याग गर्न तम्सिन्थे । यसैले उनले आवश्यकताभन्दा बढी उनीहरूको चमकदमकलाई सहजै आँखा चिम्लिदिए । तर यसपछि भने उनले सोचेजस्तो यात्रा सहज भएन । मण्डलीका हरेक गतिविधिमा छलबहादुर, कपटमान र मक्खीचुसले सक्रियता बढाउँदै लगे । बिस्तारै राइटर बाजे थपना गरिएको मूर्तिमा परिणत हुन थाले ।

एकदिन राइटर बाजेलाई पास्टरीय सेवकाइबाट अवकाश मिल्यो । यो उनको खुशी भन्दा पनि बाध्यता थियो । छलबहादुर मण्डलीको पास्टरमा अभिषेक भयो । राइटर बाजेलाई धेरै फुर्सद मिल्यो । यस अवस्थामा आइपुग्दा पनि उनले सन्तोष नै मानिरहेको थियो । तर मण्डली भने पहिलेजस्तो आशिषित् रहेन । मण्डलीका हिसाबकिताबमा गोलमाल देखिन थाल्यो । संगति संचालनमा भेदभाव देखिन थाल्यो । यसले गर्दा जवानहरूमा असन्तुष्टि चुलिँदै गयो । फलस्वरुप छलबहादुरले कसैसँग सरसल्लाह नै नगरी जवान लिडर चिरनलाई पुलपिटबाटै अनुशासनमा राखेको घोषणा गर्‍यो । यसले मण्डलीमा थप संकट निम्त्यो । धेरैले राइटर बाजेलाई हस्तक्षेप गर्न बिन्ती गरे । मण्डलीको बैठकमा राइटर बाजेले यसबारेमा गम्भीर असहमति पोखे । धेरै जवानहरूले राइटर बाजेलाई पुन: मण्डलीको पास्टर बन्नुपर्ने जोडदार माग गरे । यसबाट डराएर छलबहादुर, कपटमान र मक्खीचुसले रातारात आÇनो तर्फको विश्वासीहरूलाई भेटघाट गरी गोप्य छलफल चलाए । अर्को शनिबार छलबहादुर, कपटमान र मक्खीचुसले संयुक्त रूपमा पुलपिटबाट बोल्दै राइटर बाजेलाई समेत अनुशासनमा राखेको घोषणा गर्‍यो । “यो मण्डली हाम्रो हो । कानुनी रूपमा पनि यो हाम्रै ठहरिन्छ । तसर्थ, चित्त नबुझ्नेहरू पाखा लागे हुन्छ ।” उनीहरूका आसेपासेले करतल–ध्वनी सहित ताली बजाए ।

“भनेपछि परिस्थिति यस्तोसम्म भएछ । उनीहरूले मण्डली भवनमाथि कब्जा जमाएछ । यो त राम्रो भएन ।” सबै कुरा सुनिसकेपछि पसिना पुछ्दै धुरन्धर काकाले प्रतिक्रिया जनाए । “के राम्रो, के नराम्रो अब कसरी भन्नु ? विश्वासी भनेर मात्र नहुँदोरहेछ । धनसम्पति धेरै देखेपछि लोभको जन्म हुँदोरहेछ । आफूले जन्माएको, हुर्काएको मण्डलीबाट आफैलाई निकालिँदा कस्तो भयो होला मलाई ? छोराले घरबाट निकालिएको बूढो बाउको हालत भयो । मेरो घाउमाथि नुनचुक छर्दै अझ म चर्च नजाने भन्ने हल्ला फैलाए । कपाल पाकेको बेला चैनमा बस्न दिएन ।” बर्कोले मुख छोप्दै राइटर बाजे धुरुधुरु रोए । “वास्तवमा मीका २:२ ले भनेको पूरा भएको छ, ‘तिनीहरूले खेतहरूको लोभ गरेर ती खोस्छन्, र घरहरूको लोभ गरेर ती कब्जा गर्छन् । तिनीहरूले मानिसको घर तथा उत्तराधिकार ठगेर लिन्छन् ।’ अब यस्तै पारा बढ्दै जाने हो भने मण्डलीको लागि जग्गा खरिद गर्न वा भवन बनाउन विश्वासीले मुठ्ठी खोल्न हिच्किचाउने बेला आउनेछ । जबसम्म सार्वजनिक सम्पतिमा व्यक्तिको नाम रहन्छ तबसम्म यो धुकचुक बाँकी रहनेभो । कसको नाममा राख्दा मण्डलीको जग्गा सुरक्षित रहने हो भन्नेमा नै आशंका पैदा भयो । जसको नाममा छ, उसको हैकम अरुले सहन बाध्य हुने भयो । मण्डलीकै जग्गा र भवनमा लुछाचुँडी भयो । नाम राखेकाहरूबीच नै कुरा नमिलेर मण्डली जग्गा र भवनलाई चिराचिरा पार्न थाल्यो । एक अर्कालाई भ्रष्टाचारीको आरोप लगाएर अदालत पुग्यो । जुन आÇनो होइन त्यसैमा अनावश्यक दाबी कायम भयो । यो गलत प्रथा बढ्दै जानु असल भएन । अब त देशमा गणतन्त्र आइसक्यो । मण्डलीको सम्पति गुठीमा परिणत गरे यस्ता छलकपट र लोभको आत्माले टाउको उठाउन पाउने थिएनन् कि ।” धुरन्धर काकाले दुखेसो पोखे । उनको रायमा कसैले केही प्रतिक्रिया जनाएनन् ।

समाप्त

क्वाइनोनिया भक्तपुर मण्डली
हाल: धुलिखेल, काभ्रे
प्रतिक्रियाको लागि: helpandcare99@gmail.com

(स्रोत : Ebachan.com)

About Sahitya - sangrahalaya

We will try to publish as much literary work of different authors collected from different sources. All of these work is not used for our profit . All the creative work belongs to their respective authors and publication. If requested by the user we will promptly remove the article from the website.
This entry was posted in नेपाली कथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.