~विश्वराज अधिकारी~
‘वहाँले एउटा पलंग किनेर ल्याउनु भएको थियो। त्यो पलंग किनेर ल्याउनु भएको दिन, दिन भरि मैले केवल झगडा गरेर बिताएँ, ‘मसँग सल्लाह नै नगरेर किन पलंग किनेको’ भनेर। हरेक वर्ष, दसैंको समयमा, वहाँलाई घुम्न जान मन लाग्थ्यो, खास गरी भारत र श्रीलंका तिर। दसैं आयो कि हामी बीच झगडाको शुरुवात हुन्थ्यो। वहाँ घुम्न जाउँ भन्नु हुन्थ्यो, म ‘मेरो पनि त घुम्न जाने इक्षा हुनु पर्यो, कसैले भन्दैमा लुरुलुरु पछि लागेर जाने हो?’
भनी घुम्न जाने योजनाको बिरोध गर्थें । हामी पति पत्नी बीचमा हुने विवादले गर्दा कुनै वर्ष विदेशतिर घुम्न जान्थ्यौ, कुनै वर्ष जान्थेनौं। खाना खाने विषयमा पनि कम विवाद हुन्थेन हामी बीच। जुन तरकारी मलाई मन पर्ने हो त्यो वहाँलाई मन पर्थेन, अनि वहाँलाई मन पर्ने मलाई मन नपर्ने । वहाँको स्वभाव अलि अन्तरमुखि भएकोले घरमै बसेर, अध्ययन गरेर, समाचारहरु सुनेर दिन बिताउन रुचाउनु हुन्थ्यो। मलाई भने साथीहरुसँग भेट्न, गफ गरेर समय विताउन रमाइलो लाग्थ्यो। सबै भन्दा दिक्कदारी कुरा त मलाई रक्सीको र….. पनि मन नपर्ने, वहाँलाई भने महँगो महँगो रक्सी खानु पर्ने, तर केवल महिनामा एक वा दुइ चोटि मात्र। घरमा मैले कहिले रक्सी ल्याउन दिईनं, वहाँले घरमा रक्सी ल्याएर खाने त दूर देशको कुरा हुन्थ्यो। कतै कुनै रेष्टुरेन्ट, वा साथी कहाँबाट वहाँले रक्सी खाएर आएको दिन त झगडा नै हुन्थ्यो। म रीसले बैठकमा मै सुत्थें, वहाँको मुख गन्हायो भन्दै। त्यति मात्र हो र ‘किन त्यसरी पिएर आएको’ भनेर म हप्तौं वहाँसँग बोल्थिन |
ममताको लामो गन्थन सुनिसकेपछि मैले भनें- ठिकै गर्यौ बैनी डिभोर्स गरेर। अनि, त्यसरी जहिले पनि कुरा नमिल्ने मान्छेसँग कसरी जिवन बिताउनु त, है?
ममताले मेरो प्रश्नको जवाफमा भनिन् ‘गल्ति वहाँको भए पो ठीक भयो भन्नहुन्थ्यो। गल्ति मैले नै गरेको रहेछु। वा हाम्रो सम्बन्ध विच्छेद हुनुमा केवल मेरो नै गल्ति थियो। सम्पूर्ण गल्तिको भागेदार म नै हुँ। त्यस्तो लाग्न थालेको छ अब मलाई।’
मैले प्रश्न गरें- किन तिमीलाई त्यस्तो लाग्न थाल्यो त, ममता?
ममताले प्रष्ट पारिन ‘सम्बन्ध विच्छेदको प्रस्ताव मैले नै राखेको थिएँ। वहाँले त सम्बन्ध बिच्छेद गर्न मान्नु नै भएको थिएन। र सबै भन्दा ठूलो कुरा त, वहाँले कहिले पनि मलाई गाली गर्नु भएन, हाम्रो सम्बन्ध त्यस्तो हुँदा पनि। मसँग चर्को स्वरमा वहाँले कहिले बोलेको समेत मलाई याद छैन।’
ममताको यो पछिल्लो कुरा सुनेपछि मैले सोधें- अनि………….?
ममताले भनिन ‘अब त मलाई यस्तो लाग्न थालेको छ कि सुख अनुभूत गर्ने मेरो तरिका नै गलत रहेछ। जुन कुराले मानिसलाई सुख दिने हो त्यसलाई मैले दुख दिने ठानें। सुखी र खुशी हुन सकिने कुराहरुबाट पनि सुखी र खुशी हुन सकिनं, बरु मैले आफ्नै मनोविज्ञानद्वारा, व्यवहारद्वारा उल्टो तिनलाई दुखको स्रोत बनाएँ । सुगन्धको आनन्द लिन सकिनं। कतैबाट सुगन्ध आउँदा नाक थुनेर हिँडे। दुर्गन्धित कुराहरुमा पनि सुगन्ध छर्केर त्यसलाई सुगन्धित बनाउनु त सुदूरको कुरा हुन गयो मेरो लागी। जीवन जिउने कलाको सर्वथा अभाव रह्यो ममा। र सबै भन्दा ठूलो र अन्तिम कुरा त, सम्झौता गर्न जानिनं मैले, जव कि जीवन सम्झौताहरुको शृंखला रहेछ।’
ममताका पछिल्ला कुराहरु सुने पछि म तिनको अर्थ बुझ्नमा तल्लिन भएँ।
br2063_adhikari@yahoo.com
हाल: नोरमेन, ओक्लहोमा
(स्रोत: KhassKhass.com)