~महेश राई~
“अचम्भै भयो-कस्तो लाजैबिनाकि रहिछे, काग र बकुल्लोको कस्तो नमिल्दो जोडी !” ऊ विस्मातले भरिपूर्ण मनभित्र भुट्भुटाउँछ । उसलाई लाग्छ, कुनै वाहृय पुरुषको अतृप्त ओडारे आँखाहरु गाडिएकोछ, ती नारी सुकोमल अङ्ग प्रत्याङ्गमा । गाडीको हुइँकाइसंगै युगलजोडीको प्रेमलापरुपी चङ्गा अझ आकाशिँदै हुइँकिरहेछ । ती नारी दाँया-वाँया नजर दौडाउँछे तर उसलाई लाग्छ उसका आँखाहरु चोर बाख्राका आँखाहरु हुन् । ऊ पछिल्लो कोणिक क्षेत्रबाट क्रियाकलापप्रतिको
दृष्टिगोचरमा एउटा भ्रान्ति दस्तावेज तयार गर्दैछ अनि काल्पनिक अन्दाज फ्याकिरहेछ । यस्तो अन्दाज जसले उसलाई ईष्र्यालु वायु मडारिदै ईन्तु न चिन्तु बनाइरहेको छ । उसलाई लाग्छ, त्यो धुस्रे लाम्चो अनुहारमा खै, कताबाट एउटा प्रज्योलित रोशनी सल्बलाइरहेको छ अनि प्रसन्नताको उच्चतम तहसम्म पुगेर भिन्नै आकस्मिक आनन्दमा ठूलो विजय प्राप्त गरेको छ ।
प्रेमालापको झन्कारमा वातावरण रंगीन लागेको हुँदो हो , मदहोस भएर अर्धचेतनमा लुट्पुटिए जस्तो लाग्छ उसलाई । तिनीहरुको रोमान्चकतामा ऊ आफ्नो मुटु चिस्याइरहेको छ । चिसो पसेको मुटुभित्र धड्कन अझ बढ्दो छ तर क्रियाकलापप्रतिको आर्कषणमा थप नियाल्ने प्रयत्नका दाउपेच लगाइरहेछ ।उही चेहरा प्रत्येक विहानीमा नजर गर्दै गरेको कयौ दिनहरु छन् । उनी उत्तरतिरबाट आउँथिईन् , कहिले पछि हुन्थिईन्, कहिले अघि हुन्थिईन् । पहिलो दिन ऊ निक्कै विचारमग्न भएको थियो – उनी सम-मुलुकी हो कि होइनन् । ऊ कतै हेर्ने निहुँले उनैको देब्रेपटि्टबाट चोरीदाउले नियालिरहेको थियो ताकि स्वदेशी छाप उनको नाकमा देख्न सकियोस् । प्राय सधै विहान उसको नजरमा आउथिईन् उनी , त्यसरी नै गाडी चढ्दथिईन् अनि कुनै बिसौनीमा ओर्लीएर कतैतिर रवाना हुन्थिईन् । महिनौ दिन उदाउँथिईन् अनि फेरि पलायन भएर जान्थिईन्, सूर्य उदाउनु र अस्ताउनुको नियतिलाई उनले पनि अङ्गीकार गरेकी झैँ लाग्थ्यो ।
जति ऊ विगततिर डुबुल्की मार्दै जान्थ्यो त्यति नै मनको चिसोपन तिख्खारिएझैँ लाग्दथ्यो । मनमा औडाहाले डेरा जमाउथ्यो, रिसले आँखा तिर्मिराउँथ्यो, ईष्याले भत्भती पोल्थ्यो उसको छाती । कहाँ छु, कता छु, के गरौँ, कसो गरौँ, केही भनौँ, खै ? कसरी भनौँ, ऊ यथास्थानमा नै धेरै चल्मलायो/चट्पटायो । तिनी उसको चेली भैदिएको भए, औँला ठड्याएर खुव हप्काउन सक्थ्यो, दुईचार झप्पु लगाउन सक्थ्यो र भन्ने थियो “तँ बिग्रिस्, अब मुख देखाउनु सक्नु छैन” । अनि मजबुत चपेटामा पारेर काबुमा राख्न भरमग्दुर कोशिस गथ्र्यो होला । यदि उसको प्रियसी भैदिएको भए, अनैतिक र चरित्रहीनको आरोप लगाउँदै बदनाम ईज्जजप्रति संकेत गर्दै धेरै धम्की दिन सक्थ्यो र भन्ने थियो “विश्वासहीन नारीप्रति मेरो कुनै माया छैन” र प्रेमको वन्धन चटक्क चुँडाएर खुव रुष्टता पोख्ने थियो । साँच्चै उसकी स्वास्नी भैदिएको भए, घरबाट निकाला गथ्र्यो र बालबच्चालाई “तिमीहरुकी आमा मरिसकी” भन्ने गथ्र्यो र आफ्नो कूल घरानको ईज्जत गएको र आफ्नो जिन्दगी बरवाद पारेको आरोप लगाउँदै त्यो नारीको कन्तविजोग हेर्न लालाहित हुने थियो ऊ । जस्तो त्यो नारीलाई कसैले दया नगरोस् र यस्तो संकट आवोस् कि आफ्नो कुकुर्ममा पश्चतापले जली जली ध्वस्त होस् । यदि तिनी कुनै चीर परिचित भैदिएको भए, उसले आफ्नो मर्दपन यसरी देखाउने थियो कि सारा समाजभरि उनको मर्यादामा कलँकको आगो सुक्खायामको डढेलोझैँ सल्काइदिनसक्थ्यो । बदनामीको हूरी चलाइदिन सक्थ्यो र डढेर खरानी भएको बेईज्जतको कालो मोसो अनुहारभरि पोतिएको रमिताधारी हुँदै आनन्दित हुनेथियो ऊ । तर ऊ मौनतामा धेरै चल्मलाइरहेको थियो, स्थीर आसनमा ज्यादै अस्थीरता महसुस गर्दै थियो ।
गाडी आफ्नै रफ्तारमा बिसौनी बिसौनीमा विश्राम गर्दै गन्तव्य पथ पछ्याउँदैथियो । कयौँ यात्रीहरु चढ्थे र ओर्लन्थे । आफ्नै रितले नियमितता पाएको थियो गाडी अनि यात्रीहरुमा । उसले पुन एक नजर त्यो यूगलजोडी तर्फ फ्याँक्यो । युवतीको नाक माथि एउटा गहिरो डोब प्रष्ट देखिन्थ्यो । उसलाई यस्तो लाग्थ्यो कि डोब रित्तो फूलदानी जस्तो ठडिएको छ । एउटा अभाव छ फूलको त्यहाँ । त्यो गमला फूलको अनुपस्थितिमा देखासेखीको जंजीरमा जकडिएर कालो मुख लगाएको छ, यानी उनी स्थानीय हुनुमा दम्भ गर्छिन् या त प्रियतमको मन पनि राखिदिएकी हुन सक्छिन् । यसरी उसले कल्पना र अन्दाज वमन गरिरहेथ्यो । घृणा र हीनताको दृष्टि वृष्टिपात गर्दै थियो । अब रुष्टताको पारो अझै उकालिदै थियो । नमीठो कल्पनाले ढल्फलाएझैँ लाग्थ्यो उसको हृदय र चिसोपनले मुटु कमाउन लागेझैँ लाग्थ्यो उसलाई तर ऊ निकम्मा थियो । वस्, यसरी नै जलिरहेथ्यो त्यो नारीप्रति, त्यो युगल जोडीप्रति ।
यही गाडीको यात्रा थियो, एउटा समान पहिचानमा झुण्डिएर सममुलुकीको नाताले पछ्याइरहेको थियो । समयका दिनचर्यासंगै तिनीहरु दगुरिरहेथे, सडकहरु कुदिरहेथे, मौसमहरु बदली भइरहे, तिनीहरु एकैतिर बगिरहेथे, न एकको बगाई फेरियो, न अर्काको नै । बिनाचिनाजानीको क्षणिक सहयात्री तिनीहरु । त्यो भेट, ती दिनहरु, अनौपचारिक चिनाजानीमा सीमित छ । मात्र चिनाजानी यतिमा सीमित छ, जो सममुलुकी हो । एक आपसका नजरमा दिनैपिच्छे उदाइरहन्छन्, अस्ताइरहन्छन् । बस् यति थियो भूतकालका क्षणहरु ।
गाडी आफ्नो रफ्तारमा थियो, ऊ आफ्नै एकलौटी संसारभित्र कुण्ठाका लप्काहरुमा जल्दै थियो, रुष्ट भएर अघोरै घृणा र हेला, निन्दामा चोईटिँदै थियो, यसैक्रममा गाडीको रफ्तार एक्कासी धीमा भएर स्थीर भयो । गाडीमा यात्रीहरु चढ्ने उत्रने गर्न थाले । ती युगल जोडीले पनि बाटो तताए । ओझेल नपरुन्जेल परसम्म अद्भूत टीठले आँखा तेर्सायो उसले । त्यसैक्रममा अचानक नयाँ यात्रीको आगमनसंगै कुनै शब्द श्रवण गर्यो उसको कानले । नजर दौडियो, शब्द आएतिर तर यात्रुहरु आ-आफ्नै धुनमा निमग्न थिए ।
अब यहाँ अनायासै आत्मकथा मानसपटलमा यसरी प्रस्तुत हुन थाल्यो यस्तै शब्द शीर्षकमा । जुन शीर्षकसंग ऊ निक्कै गहिरिन सक्छ । यति निकट छ कि अर्थ प्रयोग सफल तवरले भन्न र प्रयोग गर्न सक्छ, त्यति मात्र कहाँ हो र ? ऊ त्यससँग जोडिएका कयौं शब्दका शब्दभण्डार नै छ उसँग । तर म केवल एउटा यससँग जोडिएको लघुकथा सुनाउँदैछु ।
एउटा युवक अलपत्रे भेषमा ठाँउ न ठेगान बहकिरहन्छ, अनियन्त्रित ढुङ्गाजस्तै । एउटा रङ, एउटा उमङ्ग, देश गुनाको भेषमा डुबुल्किरहेछ । साधारण अनुहारमा असाधारण लीला, पृथक रोमाञ्चकता हरेक आइतवार प्राय पाउने गर्छ । रमणीय एकान्त कुनाहरु, त्यो पार्क, चौर, नीला समुद्रका किनारहरु, नामी तारे पानीजहाजघाट, वरिपरिका विश्राम स्थलहरु विदाको दिनको शुभ प्रभातसंगै एउटा रौनक खुसी लुटाउने हाँसोहरु, भाषाको अस्पष्टतामा पनि मूर्त ख्याल-ख्यालख्याल ठिटीहरुको जत्था-जत्थामा रोमाञ्चकता, उफ्रने, पाफि्रने क्षीण क्रियाकलाप सुमधुर साँझसंगै थप रौनकताले विजय प्राप्त गर्छ/गरिरहन्छ ।
यसरी धेरैजनासँग रौनक साटिएकोथियो । एकपछि अर्को गर्दै सम्वन्ध असम्वन्ध हुदै गए । सुख यही हो यानी की उसको ठूलो लक्ष्य यति नै थियो । बस यतिखेर त्यही उसको लक्षप्राप्तिका पाना पल्टँदैछ । यस शहर आगमनको केही समयपश्चात पछि तारे पानीजहाजघाटछेउ ज्याकमार्फत जेनीसँग परिचय भएको थियो । त्यो गुधुली साँझ, ऊ खिरिलो धूँवासंगै भलाकुसारीमै मस्त भयो धेरैबेरसम्म । त्यतिन्जेलसम्म ज्याक कता हरायो थाहा भएन । तर जेनीको सानिध्यमा उसले धेरै मित्र राष्ट्रका मीतेरीसंग मित्रता गाँसिसकेकोथियो । गोधूली साँझको मौनतामा ऊ हराइसकेको थियो । कति उज्याला दिनहरु नै गोधूली साँझका लुकामारीमा परिवर्तन भएका थिए । भनौँ, मस्त जवानीहरु मस्तैसंग मौलाए । यसरी “देश अनुसारको भेष कपाल गुनाको केश” उक्ति चरितार्थ गर्दै उसको जीवनको सुरुवात भएथ्यो । हप्तैपिच्छे रौनकताहरु साटिएका थिए झण्ठै एक वर्षसम्म जेनीसंग ।
क्रम-उपक्रम चलिरहन्छ, उसको जीवनमा पनि । जेनीको विछोडले कुनै असर पारेन उसलाई । कुनै दिन पार्कमा करिना भटिई । शिल्की कपाल, रिमिक्क परेका आँखा, सलक्क परेका सुडौल वान्की परेको रुपरङले खुवै मोहनी लगायो उसलाई । अन्ततः प्रेमी-प्रियसीको चलनलाई मूर्तरुप दिँदै संगै उठबस गर्न थाले । करिना हरतरहले उसप्रति समाहित भएकीथिई । हरेक कुराको ख्याल राख्थी, साँच्चै, अति नै माया गरेको भान हुन्थ्यो । यसरी राम्रै सन्तुष्टी पाएको थियो करिनाबाट तर यस लीलाको तेस्रो वसन्तनजिक एउटा लघु-घटना घट्यो । पालुवा फेर्दै गरेको मौसमकोबीच कतातिर पालुवा फेर्न पुगी, थाहा भएन । कामैबाट गिदी थिल्थिलिएर आएको ऊ घर आइपुग्दा होस नै गुम भयो । सानो चिटमा सूचित थियो -मलाई खोज्ने प्रयास सबै व्यर्थ हुनेछ । उसले साथीसंग सुझाव माग्यो तर व्यर्थ थिए सबै । एउटा असजिलोपन यस्तो थियो कि तीन वर्षदेखिको पसिनाको भण्डार एकाएक रित्तो थियो । सम्झ्यो कि मोरीले आफ्नो दस्तूर लिएर गई । उसले करिना सम्झियोस् कि न सम्झियोस्, तर एउटा फाइदाको नजरले मङकोक्को रंगीचंगी ढोका अनि भर्याङहरु सम्झियो, जोर्डनका पाले बजैहरु सम्झियो, भनौँ, गुप्त स्थानका मधुर रंगीन रोशनी अवश्य सम्झेको हुनुपर्छ ।
तर यी सब व्यर्थ नै थिए । त्यसको केही महिनापछि नै जोयसंग भेट भयो । तर ऊ त्यति राम्री थिईन, सुकुमारी भने अवश्य थिई । विदाका समयमा ऊ र जोय केही दूर रमणीय स्थल घुम्न पुगेका हुन्थे । समुन्द्र तटतिर प्रफुल्लित मुद्रामा हराइरहेका हुन्थे त कहिले क्षणिक बहाले कोठामा परमान्द पिउँदै नशामा च्याम्मै डुबेका हुन्थे । आधा वर्ष नपुग्दैको कुरा एकदिन, अचानक मध्यारातमा उसले फोन गरेकी थिई । उसले उसैको नासो पाल्दैछे भन्दै थिई तर उसले यति थाहा पायो कि एउटा सड्ढटको सामना गर्नुछ उसले । जोयले अब वारम्वार फोन गर्थी र समस्याको निकास खोज्दथिई तर उभने जोयबाट नै निकासा चाहन्थ्यो । एकदिन फेरि जोयले विवाह गर्ने प्रस्ताव राखी, तर उसको स्थिति त्यस्तो थिएन जो अब कोहीसंग विवाह गर्न सकोस् । यसै विषयमा धेरै टाउको दुखायो उसले अन्ततः आनीमार्फत एउटा निकासाको बाटो खुल्यो तर केही मूल्य तिर्नै पर्ने भयो । उसले साथीबाट सापट पैसा चलायो र जोयसँग मुक्तिको बाटो पायो । त्यो मुक्तिको बाटो थियो गर्भपतन । तर एक महिनामा नै यो सूचित भयो कि जोय न देश फर्कँदैछे, न ऊ गर्भवती थिई न त्यो साँचो थियो । वस् त्यो त पैसा असुल्ने वहाना मात्र रहेछ भन्ने बुझेकोथियो । त्यो गर्भपतन नभै मूल्य पतन रहेछ ।
त्यस्ता थिए उसका विगतका आत्मकथाका केही पानाहरु विगतमा कोरिएका र कोरिँदैछ अझै पनि । अब उसलाई गाडीका झ्यालबाट छिरेको दृष्यहरुले हठात एउटा सूचना प्रभाव गर्दै रोमाञ्चकताका रङमङ्चभित्र मधुमासको अन्तरङमा समाहित हुन संकेत गर्दै थियो । गाडीले विश्राम लिइसकेको थियो । सबै यात्रीसंग ऊ पनि बाहिरियो । अब स्मरण गर्नु पर्यो एउटीलाई जो मेई थिई । भ्याङ्ले सुरवालबाट उसले मोवाइल निकाल्यो र नम्वर दबाउँदै कानमा राख्यो तर फोन उठेन । अब केही बेरमा नै मेइको फोन आयो र उसले सूचित गरि कि ऊ मेक्डोनाल्सअगाडि उभिएकी छे । उसका अनुहारमा आवर्तन परावर्तनहरु दौड्न थाले, एउटा प्रज्वलित रोशनी छायो, खुसी छायो, जस्तो अघिसम्म ती नारीसंगै बस्ने मान्छेको अनुहारमा छाएको थियो, हुवहु त्यस्तै तर अघिसम्मका उतावचढाव अहिले सबै बिर्सियो । बस, ऊ व्यग्र बनेर लक्षतिर मात्र दौडँदै थियो । ऊ मेक्डोनाल पुगेर चारैतिर हेर्दै थियो, अचानक उसको पेन्टपछाडि झुण्डिएको लामो साङ्ला कसैले तानेजस्तो लाग्यो । ऊ पछाडि फर्कियो, मेई मुस्कुराइरहेकी थिई । ऊ त्यो कुटील हाँसोमा मख्ख पर्दै चुम्वनमा चुर्लुम्मै डुब्यो । केहीबेरपश्चात तिनीहरु पनि अरु युगल जोडीजस्तो आलिङ्गनबद्व हुँदै भीडभित्र हराउँदै गए, आफ्नै प्रियसीको मायाजालमा मदहोस हुँदै हराउँदै गयो । अरुको आँङको जुम्रो देख्ने ऊ आफ्नो आँङमा हात्ती बोकेर हराउँदै गयो, बस हराउँदै गयो ।
June 3rd, 2007
बिराटनगर १६ , कोशी प्रोजेक्ट
हाल : हुङहम, हङकङ
(स्रोत : Nepalisahityasansar)