जिङ्रिङ्ग कपाल, फुस्रो अनुहार र कलेटी परेको ओठ देखेपछि
नाक खुम्चाउँदै मेरो एक मित्रले सोधे।
के तिमी ऐना हेर्दैनौ?
प्रश्न सुनेर मलाई हाँसो उठ्यो।
मैले भने मसँग ऐना नै छैन।
सत्य हो, जव म ऐना हेर्छु
म आँखा, नाक, मुख र सिङो अनुहार सबै देख्छु।
दार्ही काटेको चिल्लो गाला, क्रिम दलेको नरम अनुहार,
र काँइयोले सलक्क मिलाएको कपाल सबै देख्छु।
तर मलाई थाहा छ, यो त मेरो अनुहारै होइन।
यदी यो मेरो अनुहार हुँदो हो त
खै मेरो दिमागमा मडारिरहेको शैतानको दुष्ट अनुहार?
खै षड्यन्त्रको तानाबाना बुन्दै गरेको शकुनीको अनुहार?
खै यौनको प्यासले पशु भएको पिपासुको अनुहार?
खै धन र सम्मानले भोकाएको लालचीको अनुहार?
तर ऐनाले देखाउने त केवल एउटा मुकुन्डो मात्र हो, अरु केही होइन।
झुक्किएर कहिलेकाँही ऐना हेरे भने
म खोज्छु, म भित्रको
अशान्ती र घ्रिणासँगको युद्दमा पराजयले लुत्रुक्क परेको बुद्धको अनुहार,
झुठ र धोखाको कठोर प्रहारले थिलथिलो भएको युधिष्ठिरको अनुहार,
लक्ष्मीको प्रसादको लोभमा पुरिएको लक्ष्मीप्रसादको अनुहार।
तर म देख्छु त केवल मुकुन्डो, मात्र मुकुन्डो, त्यो बाहेक अरु केही छैन।
म यो मुकुन्डोलाई हेरेर आँफैलाई झुक्याउन चाहन्न।
आफूभित्रका कुरुप अनुहारहरुलाई पालेर
म दुनियाँसामु यो मुकुन्डोलाई चिटिक्क पार्न चाहन्न।
जवसम्म म भित्र त्यो शैतान छ, त्यो शकुनी छ, त्यो यौन पिपासु छ,
म दशवटा अनुहार भएको रावण हुँ, मुकुन्डोरुपी राम होइन।
त्यसैले म ऐना हेर्दिन, ऐनामा देखिने त केवल मुकुन्डो हो, म होइन।
(अन्तराष्ट्रिय नेपाली साहित्यिक समाज, कोलोराडो च्याप्टरद्वारा आयोजित १०१ औं देवकोटा जयन्तीको अवसरमा वाचन गरिएको कविता )
(स्रोत: Raju Sitaula’s Facebook)