कथा : ‘रोयल स्ट्याग वाइन’को कथा

~शरद चिराग~

एउटी पूर्व सहकर्मीले केही वर्षपछि अचानक फोन गरिन्- ‘होइन, यो वर्ष पनि जन्ती जान पाइँदैन कि के हो ? कि अझै ‘रोयल स्ट्याग वाइन’ खाँदै हुनुहुन्छ ? यी र यस्तै अरु जिस्क्याइका केही झटारा हानेर उनले फोन त राखिन् तर मलाई भूतकालमा फर्काएर ।

हामी केटीको खोजीमा धुलिखेल हान्निएका थिएनौं । एउटा गैरसरकारी संस्थामा काम गर्ने चारजना सप्ताहान्तमा सुन्दरीजल हुँदै चिसापानी जाँदै थियौँ । त्यसमा दुई महिला सहकर्मी थिए । मूलखर्कसम्म त पुगेकै पनि हो । तर झम्के साँझमा कतै बास पाइएन । अरु केही घन्टा हिँडेर मूलखर्कसम्म पुग्ने आँट पनि आएन । हामीसँग एउटै विकल्प बाँकी थियो, काठमाडौं फर्किने । शिवपुरी राष्ट्रिय निकुन्जको जंगल हुँदै आउने बाटो समाएर हामी राति साढे आठ बजे चावहिल आइपुग्यौं । तर केटीहरू ज्यान गए घर जान मानेनन् । घरबाट बल्लबल्ल राति बाहिरै बस्ने अनुमति लिएर आएका उनीहरू त्यो मौका गुमाउन चाहँदैनथे । तर जाने कहाँ ?

‘मेरो घरमा जाउँ,’ ब्वाइप|mेन्डसँगै बस्ने एउटी सहकर्मीले भनिन्, त्यहीँ गएर यो तीन बोटल वाइन सक्नुपर्छ ।’

‘होइन नगरकोट कि धुलिखेल जाउँ,’ अर्कीले थपिन् ।

‘धुलिखेल नै जाउँ,’ अखिलेशले मुख खोल्यो । झन्डै १५ मिनेट हामीले ट्याक्सीसँग बार्गेनिङ गर्दै बितायौं । ‘हेर्नुस्, ९ बजिसक्यो, २५ सय दिनुस् म धुलिखेल त के दोलालघाटसम्म नि पुर्‍याइदिन्छु ।’ ट्याक्सी ड्राइभरले खोक्यो ।

धेरै पैसा तिर्ने हैसियत हामीसँग थिएन । हामीमध्ये कसैलाई नयाँ जुक्ति फुर्‍यो, पैसा तिरेर यो यात्राभर कुनै गाडी नचढ्ने । कि हिड्ने, कि लिफ्ट माग्ने । मान्छेले के भन्छन्, बाल नदिने ।

र, त्यसको २० मिनेटजतिमा हामी सल्लाघारीमा थियौं । भक्तपुर जाने सरकारी गाडीको सहृदयतामा । तर अब झन् मझधारमा परियो । १० बज्नै लागेको थियो । र, सडक सुनसान हुँदै थियो । धन्न, त्यो शुक्रबारको दिन थियो । त्यसैले हामीले हारचाहिँ मानिहालेका थिएनौं । अन्ततः एउटा होटलको सामान ओसार्ने गाडीका जवान ड्राइभरले हाम्रा महिला सहकर्मीको अनुरोध अस्वीकार गर्न सकेनन् । मिराबेल रिसोर्टमा उनले हामीलाई छोडिदिँदा रातको ११ बज्नै लागेको थियो ।

हाम्रो सौभाग्य त्यो गाडी चढ्न पाउनुमा मात्र रहेछ, होटल पाउनुमा होइन । धुलिखेलका सबै रिसोर्ट र होटल प्याक थिए, सप्ताहान्त मनाउन आउने काठमाडौंका मिडल क्लास र सेमिनार प्याकेजमा बिदा मनाउन आउने विकासे कार्यकर्ताले ।

महिला सहकर्मी साथमा हुनुको फाइदा हामीले त्यहाँ पनि लियौं । मिराबेलका म्यानेजरले अरनिको होटलमा फोन गरेर हाम्रा लागि बन्दोबस्त गरिदिए । हामीले र भूतले झन्डै सँगसँगै जस्तो खाना खायौं ।

अर्को दिनको बिहान हाम्रा लागि बडो रमाइलो भएर आयो । हिजो बेलुकी धित मर्ने गरी पिउन नपाएको वाइनका बोतल बिहान कफी पिउनुअघि नै खुलिसकेका थिए । र, त्यो रमरम शरीर लिएर हामीलाई नमोबुद्ध जानु थियो ।

‘गाडी चढ्दा पैसा नतिर्ने निर्णय भएको छ नि,’ एउटीले हिजो कुन लहडमा गरेको निर्णय सुनाइन् । लौ ट्राई मारौं । हामी धुलिखेल बसपार्कमा थियौं । पब्लिक बसमा पैसा नतिरी जान सकिँदैनथ्यो । केटीहरूले शनिबार मनाउन आएका केटाहरूको बाइकमा लिफ्ट पाए, हामी दुई भाइले ट्याक्टरको । अखिलेशले भन्यो, ‘अर्को जुनीमा हामी पनि केटी भएर जन्मिुनपर्छ, बुझिस् ।’

यो यात्रा स्मरणयोग्य हुनु नै रहेछ । नभए एउटै यात्रामा यति धेरै चिज हुनुनपर्ने । भुटानी भिक्षुकी एउटी सहयोगीसँग मेरो आँखा जुधाजुध हुन थालेको थियो । साथीहरु लन्ठू थिएनन् । उनीहरुले यो पत्तो पाइसकेका थिए । तर मुख्य समस्या, मसँग ‘गट्स’ थिएन, साथीहरूले भनेका । तर बेलामौका त्यो आउँदोरहेछ । हामी धुलिखेल फर्किने बेला भुटानी भिक्षु पनि यतै फर्किंदै रहेछन् । र, मेरा साथीहरूले हाम्रो फिर्ती सवारीको प्रबन्धको जिम्मा मलाई सुम्पिए ।

गजबकै दिन परेछ । हामीले भिक्षुको गाडीमा धुलिखेल पुग्नु चार किलोमिटरसम्म लिफ्ट पायौं । हाइलेक्स गाडीमा हामी पछाडि थियौं । त्यो भुटानी केटी र मेराबीच ‘सिसा’ भिलेन बनेर ठडिएको थियो । धन्न आँखाले चाहिँ सन्तोष पाए । तर त्यतिले केही हुनेवाला थिएन । त्यो आकृति त्यतै छुट्यो । राम्रै भयो, समीक्षालाई भेट्नुरैछ ।

धुलिखेलबाट काठमाडौं आउन ठिक्क परेको बसको लास्ट सिटमा हामी थियौं । आफ्ना गाजलु आँखा नचाउँदै एउटी केटी आफ्नी साथीसँग आई । उसका आँखा यसरी नाच्थे कि हामी उसलाई नहेरी बस्नै सकेनौं । यो त आँखाको मात्र कुरा भो, उसले हल्टरभित्र लुकाउन नसकेको शरीरको मादकताले मलाई छोइसकेको थियो ।

‘तपाईंसँग गट्स नै छैन, त्यसैले अहिलेसम्म लभ नपरेको,’ साथीहरु हौस्याउन थाले । म चुप थिएँ । मेरा सहकर्मीहरू मेरा लागि डिनर ‘स्पोन्सर’ गर्न तयार थिए । तर, उनीहरुको सर्त थियो- मैले त्यो केटीसँग बोल्नुपर्ने ।

त्यसपछि के भयो मलाई त्यति याद छैन । यतिमात्र सम्झना छ- सल्लाघारीमा बसबाट ओर्लिने बेला त्यो केटीले आउटर लगाई । अनि मेरो हातमा उसको फोन नम्बर लेखिदिई । मैले साथीहरूतिर हेरें । तर केही बोलिनँ । मलाई थाहा थियो, कहिलेकाहीँ नबोले पनि ठूलो स्वरले चिच्याएभन्दा बढी सुनिन्छ । त्यो त्यस्तै बेला थियो ।

अर्को हप्ताको शनिबार म काठमाडौं मलको हट चिल्लीमा थिएँ । यो त्यतिबेलाको मेरो पि्रय ठाउँ थियो । त्यसको औपचारिक उद्घाटन हुनुअघि नै म त्यसको ग्राहक भइसकेको थिएँ । त्यसैले मैले पहिलो डेटका लागि यही ठाउँ रोजेको थिएँ । समीक्षासँग यसबीचमा झन्डै सात सय एसएमएस आदानप्रदान भइसकेको थियो । र, हरेक बिहान म अफिस ढिला पुग्न बाध्य भएको थिएँ, किनभने राति १० बजेपछि फोन गर्दा सस्तो हुने स्किम भर्खर सुरु भएको थियो ।

फोनमा उसले भनेकी थिई ‘अंग्रेजी विषय लिएर १२ कक्षामा पढ्दै छु’ भनेर । इन्जिनियरिङ पढ्ने ब्वाइप|mेन्डसँग उसको भर्खरै ब्रेकअप भएको थियो । यसबाहेक उसका बारेमा मलाई अरु केही थाहा थिएन ।

त्यतिबेला दिउँसोको १२ पनि बज्न भ्याएको थिएन । यति चाँडै डेटमा जाने मेरो उमेर कटिसकेको थियो । तर कुनै बेला कृष्णप्रसाद भट्टराईले भनेका थिए रे, ‘हरेक मान्छे बिहे नगरेसम्म बच्चै हुन्छ ।’ त्यसैले मैले उमेरको ख्याल गर्ने जरुरत ठानिनँ । किनभने, के थाहा, फिल्मी शैलीमा सुरु भएको एउटा चिनजानले मेरो जिन्दगी बदल्न पनि सक्थ्यो । र, यही नाममा मैले एउटा डिनर सित्तैमा खाइसकेको थिएँ ।

संविधानसभाको चुनाव भर्खर सकिएको थियो । गिरिजाबाबु माओवादीलाई सत्ता हस्तान्तरण गर्न ढिलाइ गरिरहेका थिए । त्यसैले काठमाडौंको राजनीति र मौसम दुवै गरम थिए । भो, मेरो मनको हाल नसोध्नुस् । लभ पर्न लागेका बेला कसरी ज्वरो बढ्छ मैले त्यतिबेलै थाहा पाएको थिएँ ।

समीक्षा आई । उसको लुगा लगाउने शैली पुरानै थियो । लुगाको रंग मात्रै फरक । फोनमा र एसएमएसमा त्यति धेरै समय बिताएकोले होला हामीले आफूलाई वर्षौं पुरानो जोडीजस्तो ठान्यौं । उसले फ्याट्ट भनी, ‘ठमेल जाउँ न, मलाई कफी होइन, वाइन खान मन छ ।’

‘तिमी त खान्न भन्थ्यौ हैन र ?’ मैले सोधें ।

‘होइन कहिलेकाहीं वाइन मात्र खाने हो,’ उसले भनी, ‘हार्ड डि्रंक्स चाहिँ गर्दिन ।’

‘कुन वाइन ?’ अचानक मलाई यस्तो प्रश्न सुझ्यो । आखिर जुन भए पनि वाइन त वाइन नै हो ।

‘रोयल स्ट्याग’ उसले भनी । थाहा छैन, अरू बेला भए म कति हलको मेलो हाँस्न सक्थें । त्यति बेलाचाहिँ केही बोल्न मसँग कुनै शब्दै थिएन ।

(स्रोत : Sharad’s Blog)

About Sahitya - sangrahalaya

We will try to publish as much literary work of different authors collected from different sources. All of these work is not used for our profit . All the creative work belongs to their respective authors and publication. If requested by the user we will promptly remove the article from the website.
This entry was posted in नेपाली कथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.