कथा : ढीँचूँ ढीचूँ अथवा गर्दभ राग

~जगदीश घिमिरे~Jagadish Ghimire

भलबाढी आयो । यो भलबाढी अर्कै प्रकृतिको थियो । कतिका लागि यो अत्यन्त अप्रत्याशित र अस्वाभाविक थियो भने कतिका लागि यो प्रत्याशित र स्वाभाविक ।

प्रतिकृयामा मन्त्रीहरुले ढीँ …. चूँ … ढी … चूँ …गरे । ढीँ … चूँ … ढी … चूँ … गर्ने मन्त्रीहरुको आदत हुन्छ । यो मन्त्रीहरूको सातसालदेखिको

साश्वत संस्कृति हो । यो आदत यस कालखण्डमा बितेको आधा शताब्दी देखि सबै नेता र मन्त्रीहरुमा एड्स जस्तै लागेको थियो, फैलिएको थियो, झांगिएको थियो । ढीँ … चूँ … ढी … चूँ … उनिहरुका मूल मन्त्र, तन्त्र, यन्त्र थिए । धर्म, कर्म, मर्म थिए ।

बाढी घटेन ।

मन्त्रीले फेरि ढीँ … चूँ … ढी … चूँ … गरे र भने “हामी यस देशको सरकार हौँ । यो जाबो नदीको यो जाबो भेलले आफलाई के ठानेको छ ?’

भेल झन् बढ्यो ।

बर्षहरु बित्दै गए ।

भेल बढ्दै गयो ।

थरीथरीका चुनाव आए । गए ।

भेल बढ्दै गयो ।

मन्त्रीहरु ढीँ … चूँ … ढी … चूँ … गर्दै रहे ।

हजारौंको ज्यान गयो । लाखौं शरणार्थी भए । करोडौं–अर्बौंको सम्पति नाश भयो । नदीको भेलबढ्दै गयो । मन्त्रीहरु ढीँ … चूँ … ढी … चूँ … गर्दै रहे ।

भेल अन्यायका विरुध्द थियो । अनाचार र अत्याचारका विरुध्द थियो । भोक–शोक–रोगका विरुध्द थियो । यी सबै कुरा बढ्दै थिए । अतः भेल पनि बढ्दै गयो । बढ्दै गयो ।

देशका सम्पूर्ण मन्त्रीले ढीँ … चूँ … ढी … चूँ … गरे – केही लागेन । सम्पूर्ण नेताले ढीँ … चूँ … ढी … चूँ … गरे – केही लागेन । सम्पूर्ण पत्रकारहरुले छापे – मन्त्री र नेताले “यसो ढीँ … चूँ … ढी … चूँ … गर्नु भयो”, “उसो ढीँ … चूँ … ढी … चूँ … गर्नु भयो” । तर केही अर्थ भएन ।

मन्त्रीहरु विक्षिप्त भएर झन् चर्को स्वरमा ढीँ … चूँ … ढी … चूँ … गर्न लागे – “हामी सरकार हौं, हामी नदीलाई गोली ठोक्छौं” भने । र भेलबाढीमा गोलीका पर्रा छाडे । केही लागेन । भेल बढ्दै गयो । रोपेका खेतका गरा भत्किदै गए । खेत र श्रम दुबै बग्यो । सम्बन्धित मान्छे पनि बगे । मर्ने मरे । बाँच्ने शरणार्थी भए । बाढी बढ्दै गयो ।

मन्त्रीहरुले ढीँ … चूँ … ढी … चूँ … गरेर रेडियोको जाली फोरे । टेलिभिजनको पर्दा च्याते । अखवारका पाना छेडे । जल–थल–आकाश ढाके । चर्पीको उद्घाटन बिसर्जनमा पनि त्यही ढीँ … चूँ … ढी … चूँ । कर्मचारीको उद्घाटन बिसर्जनमा पनि त्यही ढीँ … चूँ … ढी … चूँ … । जात जातिका उद्घाटन बिसर्जनमा पनि त्यही ढीँ … चूँ … ढी … चूँ … । जन्तमा पनि त्यही ढीँ … चूँ … ढी … चूँ … । मलामीमा पनि त्यही ढीँ … चूँ … ढी … चूँ … । कपाल काट्ने स्यालूनको उद्घाटन बिसर्जनमा त्यही ढीँ … चूँ … ढी … चूँ … ।

थाकेर मान्त्रीले ढीँ … चूँ … ढी … चूँ …ग¥यो – “भेलबाढीले हामीसंग वार्ता गर्नु पर्छ । हामी भनेको सरकार हौं ।”

बर्षौं बिते ।

हजारौं थप मरे । लाखौ थप शरणार्थी भए । करोडौं–अर्वौंको थप सम्पति नाश भयो । बाढी बढ्दै गयो । मन्त्रीहरु ढीँ … चूँ … ढी … चूँ … गर्दै गए ।

अन्तत भेलले वार्ताको कुरा स्वीकार ग¥यो । दोहोरो वार्ता टोली बने ।

वार्ताको मुख–मुखमा सबभन्दा मूल मन्त्रीले ढीँ … चूँ … ढी … चूँ … ग¥यो – “ए भलबाढी पनि छ ?” “पैरो पनि छ ?” “वार्ता पनि छ ?” “वार्ताको एजेण्डा पनि छ ?” के के छ एजेण्डेमा मलाई त थाहै छैन” “ढीँ … चूँ … ढी … चूँ … ढीँ … चूँ … ।”

दोहोरो संवाद भयो । हात्ती आयो हात्ती आयो फुस्सा । कुनै समाधान भएन । समाधान हुनै कुरै थिएन । किनभने दुवैलाई चाहिएको उही एउटै कुरा थियो ।

भेल बढिरह्यो । गोली चलीरह्यो । नागरिक घाइते भइरहे । मर्ने मरिरहे । विस्थापित हुने भैरहे ।

भेलउर्लीरह्यो । गोली चलिरह्यो । अनाचार, अत्याचार र भ्रष्टाचार बढिरह्यो । कोलाहल भैरह्यो । मर्ने मरि रहे । बाँच्ने बाँची रहे । घाइते हुने भैरहे । विस्थापित हुने भै रहे । चुनाव आइरह्यो । संसद चलिरह्यो । योजना बनिरह्यो । ढीँ … चूँ … ढी … चूँ … बढी रह्यो ।

भेल बढिरह्यो । ढीँ … चूँ … ढी … चूँ …चली रह्यो ।

– मगलबार, 15 कार्तिक, 2068

About Sahitya - sangrahalaya

We will try to publish as much literary work of different authors collected from different sources. All of these work is not used for our profit . All the creative work belongs to their respective authors and publication. If requested by the user we will promptly remove the article from the website.
This entry was posted in नेपाली कथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.