‘विष्णु नवीन‘ सम्झेपछि मैले इलामलाई सम्झनैपर्छ। इलाम, म थोरै दिन बसेर पनि धेरै अनुभव सँगालेको ठाउँ। इलाम, म थोरै दिन बसेर पनि धेरै अनुभव संँगालेको ठाउँ। इलाम, म त्यही थलोमा नजन्मेको भए पनि जन्मेको सरह माया ममता पाएको ठाउँ। हो, म त्यह िइलाममा सम्झन्छु, चैतको उराठलाग्दो महिना। तुँवलोभित्र पारी आइतबारे, नामसालिङ्गका गाउँहरू देखिन्छन्। तलतल माइबेनीको सुसाइसँगसँगै न्याहुलीको विरक्तिलो
भाखा एकजनासँग आइरहन्छ। वर्षाको घाम माथि–माथि माइपोखरीको लेकतिर भूइँकुहिरोबीच खस्रु, पात्ले र सल्लाका थुम्की रुखहरू देखापर्दछन्। त्यसपछि क्रमसँगै चिलाउनेका रुखहरू, बाँसघारीमाथि दरबारवरिपरिका धुपीका बोटहरू र पारिलो पाखामा चियाका बुटाहरू पाउलिएका देखिन्छन्। जहाँ एक बथान तरुनीहरू लैवरीको भाखामा स्वर हालेर चियाको पातहरू टिपिरहेका हुन्छन्। यस्तै प्राकृतिक बनोटमा बसेको छ सानो तर सुन्दर गौंथलीको गुँडजस्तो सहर इलाम। यो यही इलाम हो, जहाँ हरेक याममा जिन्दगीजस्तै चियाका नयाँ पातहरू पाउलिन्छन् र टिपिन्छन्, फेरि पाउलिन्छन् पुनः टिपिन्छन्। यस्तै क्रम बोकेर सयौँ वर्षदेखि यो इलाम आफ्नै अस्तित्व लिएर बाँचिरहेको छ।
वास्तवमा विष्णु नवीन पनि त्यही इलामको चियाको निरीह बोट हो जसले जाडोको चिसो तुषारो सहेर, वर्षाको पानी र झरीबतास सहेर अरुको हितका निम्ति हरियो चियाको पात भएर पाउलिने चेष्टा गर्यो। दुःखी त ऊ स्वयं दुःखी नै थियो तर दुःखलाई व्यङ्ग्य गरेर ऊ दुनियाँलाई हँसाइर–हन प्रयत्नशील रह्यो। त्यसैले मेरै चियाको बोट सम्झेपछि विष्णु नवीन सम्झनैपर्छ। विष्णु नवीन सम्झेपछि इलामलाई सम्झनैपर्छ। म फेरि आफ्नो विगतसँगै इलाम सम्झन्छु। दिनहरू गनेर त अब साध्य छैन, महिना पनि गन्न मुस्किल छ। वर्ष गन्छु अहो! वर्ष पनि त १८ वर्ष बितिसकेछ। थाहै छैन हिजो अस्तिजस्तो लाग्छ इलाम छोडेको। आज १८ वर्ष लामो जीवन यात्रा हिँडीसीकएछ। संसारमा आफूलाई एकदमै एक्लो ठानेर १७ वर्षको उमेरमा भोजपुरको घर छोडेर परदेश लागेको अल्लारे ठिटो, जसको अगाडि कुनै निश्चित जाने ठाउँ थिएन। हुरीले उडाइल्याएको पत्करजस्तो जिन्दगी लिएर म यत्रो फराकिलो संसारमा भौंतारिइरहेको थिएँ। यसरी भौंतारिदै १९ वर्षको पूर्वार्द्धमा म त्यही इलाम आइपुगें। तपाई इलामको लागि नयाँ हुनुहुन्छ? यदि तपाइँ साहित्यमा चाख राख्नुहुन्छ भने तपाईले पक्कै पनि इलाम पुगेर विष्णु नवीनको घर कहाँ हो भनेर सोध्नुहुनेछ। तब तपाईलाई जनभवन जाने बाटोको उत्तरतिर गल्लीको छिँडीबाट एउटा एकतले घर देखाउँदै कसैले भन्नेछ। ऊ त्यही हो विष्णु नवीनको घर हो। विष्णु नवीनको बाल्यकाल त्यही घरको आँगनमा खेल्दै बित्यो, त्यही घरमा ओत लागेर घामपानी, आधीहुरी, बतास छेल्दै हुर्कियो बढ्यो। कहिले–कहिले प्रसङ्ग उठ्दा उसले मलाई भन्ने गर्थ्यो ‘आमा बहिनी काममा जानुहुन्थ्यो। म यही घरको आँगनमा बहिनीसँग खेलिरहन्थें। बहिनीहरू सानै थिए। जब आमा घर फर्किनुहुन्थ्यो तर सिल्भरको कचौरामा भात बोकेर आउनुहुन्थ्यो। म बहिनीसँग त्यही भात बाँडेर खान्थें। कहिले त्यो भातले अघाइन्थ्यो, कहिले अघाइँदैन्थ्यो। तर सन्तोषै थियो।‘ वास्तवमा आमा थिइन्। त्यसैले नवीनले आफूलाई कहिलेकाहीँ अनाथ र असहाय सम्भि्कएता पनि उसले आफूलाई कहिल्यै विपन्न र गरीब पनि सम्झनु परेन।
सही अर्थमा एउटा माउ गौंथलीको र एउटा बच्चा गौंथलीको जीवनजस्तो थियो नवीनको बाल्यकाल। जब नवीन बाल्यकालबाट युवा अवस्थामा प्रवेश गर्दै गयो तब एक दिन उसले थाहा पायो जुन घरलाई उसले आफ्नो मानेको थियो, त्यो त पुर्खाको नाममा बनाएको धर्मशाला पाटी पो रहेछ, पाटी! जुन भात आमाले सिल्भरको कचौरामा ल्याएर उसलाई खान दिने गरेकी थिइन् त्यो भात दश जना कर्मचारीहरूको घरमा भाँडा माझ्दा एक–एक सिताहरू सँगालेर ल्याएको आमाको माया ममता पो रहेछ। ती दिनहरू सम्झेर नवीन अक्सर गरेर रक्सी खाएको बेला मलाई भन्ने गर्थ्यो ‘रसिक जी! मैले आमाको धेरै ऋण खाएको छु। छ नि, यो घर… मेरो घर होइन, यो त धर्मशाला पाटी हो, पार्टी….!‘ कस्तो संयोग कस्तो भाग्यको खेल, जीवन यात्रामा हिंड्दा–हिंड्दै म पनि एक दिन त्यही दुःखी गरीब नवीनको धर्मशाला पाटीमा बास बस्न पुगें। नवीनको सुखदुःखको नदीमा एउटा सानो खोल्सो भएर म पनि मिसिन पुगें। मैले इलाम सम्झेपछि धर्मशाला पाटी सम्भि्कनैपर्छ। धर्मशाला/पाटी सम्झेपछि विष्णु नवीनलाई सम्झनैपर्छ। विष्णु नवीनलाई हेर्दा यस्तो देखिन्थ्यो मझौला खालको भकुण्डोजस्तो टाउको, छोटो–छोटो तर तह्रो केश। दाह्री जुँगा कहिले पालिहाल्ने र कहिले चाहिँ खौरिहाल्ने। उचाइँ पाँच फुट दुई इन्च पनि नपुग्ने। लुगा जुत्ता साधारण होस् तर घाँटीमा टाई नछोड्ने। हातमा ब्याग बोकेर कि हिंडिरहने कि गफ गरिरहने। कसैले हेलो भने हात उठाइहाल्ने। अफिस जाने समय भ्याएर दिनको एकपटक पूर्णभण्डारमा पुगेर इन्द्र दाइ र माइला दाइसँग गफ गर्दै कि खैनी खाने कि पान चपाइरहने। कुनै नयाँ पुस्तक वा पत्रपत्रिका झुण्डिएको देखें मागेर कालो ब्यागमा घुसारिहाल्ने। पत्रपत्रिका र पुस्तकहरू सङ्कलन गर्ने बडो गजबको बानी थियो उसको। तर घरमा पुस्तक वा पत्रपत्रिका राख्ने र्याक थिएन, दराज थिएन, कुनै सुरक्षित ठाउँ थिएन। केवल मझौला खालका साबुन राख्ने काठका बाकसहरू थिए जुन बाकसलाई दुईटा कामका लागि प्रयोग गरिएको थियो। एउटा पत्रपत्रिका, पुस्तक राख्ने काम र दोस्रो तिनै बाकसहरू जोडेर खाट बनाई त्यसमाथि बिस्तरा लगाएर सुत्ने। यसरी बाकस जोडेर एउटा ठूलो खाट र अर्को सानो खाट बनाइएको थियो, जुन सानो खाटमा म र नवीन सुत्ने गर्दथ्यौं। ठूलो खाटमा नवीनजीको खाटमा, नानी र बहिनी सुत्ने गर्दथे। हामी सुत्ने त्यो कोठा कस्तो थियो होला तपाइँ आफै कल्पना गर्नोस्। एउटै मात्र कोठा, त्यहाँ पूर्व छेउमा भात पकाउने चुल्हो। पश्चिम र पश्चिम–दक्षिणपट्टि तिनै बाकसका दुईटा खाट। भित्र आउने जाने एउटा मात्र ढोका। उज्यालोको लागि एउटै मात्र झ्याल। साँच्चै त्यो कोठा कस्तो खुल्ला थियो भने बस्नेहरूबीच कुनै गोपनीयता लुकाउने ठाउँ थिएन। सबैको आँखामा सबै खुला। मैले भेट्दा यस्तो थियो नवीन, ऊ बस्ने घर र उसको संसार।
नवीनजी मभन्दा उमेरले निकै नै पाको तर घनिष्ठताले गर्दा साथी भयो। त्यसैले नवीनजीको श्रीमतीलाई मैले भाउजू भन्न मुख लागेन, दिदीको साइनो लगाएँ। दिदीको धेरै नबोल्ने स्वभाव, मैले कहिल्यै ठूलो स्वरले कुरा गरेको सुनिनँ, झर्केको पनि सुनिनँ। बरु कहिलेकाहीँ नवीनजी, दिदी र म साँझपख सोमरस खाँदै अबेरसम्म दुःख सुखको कुरा गर्दै घरायसी गन्थन गर्थ्यो। जुन गन्थन गर्दा नवीनले आफ्ना बाबुको कुरा कहिल्यै निकालेन। अति निजी कुरा भएकोले मैले कहिल्यै सोध्ने प्रयत्न पनि गरिनँ। तर सोध्ने धोको भने मेरो मनमा सधैंको लागि बाँकी रह्यो। कहिलेकाहीँ एक्लै बसेर सोच्थेंं म कहाँको मान्छे, कहाँ आएर बिना सङ्कोच यसरी अरुको घरमा बसिरहेछु। कतिन्जेल यसरी बस्ने हो? कतिन्जेल यसरी अरुको बोझ हुने हो? जसले आफ्नो जन्मघरलाई घर नसम्भि्कएर नयाँ घरको खोजीमा परदेश लाग्यो, के त्यस्तो मान्छेले यसरी सधैं अरुको आश्रयमा बस्नु ठीक होला त? त्यसैले नवीनजीको घर छोडेर अन्तै सर्ने विचार पनि मनमा आउँथ्यो। तर कहाँ जाने? प्रश्नहरू धेरै थिए। सरेपछि सुत्नको लागि ओढ्ने–ओछ्याउने चाहियो, भाँडावर्तन चाहियो, महिनाभर खाने सरदाम चाहियो, जसको सारा प्रबन्ध एकै पटक मिलाउन मेरो तलबले सम्भव थिएन। त्यसैले त्यसै घरमा बस्नु पनि एउटा बाध्यता थियो। जुन बाध्यताबाट म उम्कन सकिरहेको थिइनँ। तर यसैबीच अञ्चल पञ्चायतले प्रेस किन्यो। प्रेस किनेपछि दार्जिलिङ्ग गएर आशालक्ष्मी प्रेसमा मेची पाक्षिक पत्रिका छपाउने काम बन्द भयो। नयाँ प्रेसमा काम गर्ने एउटा साथी आए, जसको नाम थियो रूप प्रधान। हो, रूप प्रधान आएपछि सल्लाह गरेर नै नवीनजीको घर छोडंे। मैले छोड्दा घरको वातावरण एकदमै गर्हुँगो थियो। दिदीले केही नमिठो मान्नुभयो। नवीनले केवल यति मात्र भने ‘तपाईको विचार, जहाँ सजिलो हुन्छ त्यहीँ बस्नुहोस्।‘ त्यसपछि मेरो बसाई रूप प्रधानजीसँग संयुक्तरूपमा एउटै कोठामा भयो।
खाना बाँडा होटलमा दुवै जना खान थाल्यौं। नवीनजीसँग केवल अफिसमा मात्र भेट हुनथाल्यो। एकै ठाउँमा खाने, एउटै कोठामा सुत्ने. भएकोे बेलुकाको समयमा प्रायः रूप प्रधानसँग सङ्गत बढ्दै गयो। तर रूप प्रधानसँग मेरो पाटनरी धेरै दिन बस्न सकेन। हामी दुईबीच मौलिक आनी–वानीमा भिन्नता थियो। त्यसैले गर्दा केही दिनमै मैले अर्को डेरा खोजेर सर्नुपर्ने स्थिति सिर्जना भयो। म चियाबारी माथि दरबार मुन्तिर डेरा लिएर सरें। यसरी सरेपछि म फेरि एक्लो भएँ।यो एक्लोपनमा मैले विष्णु नवीनजीको घर सम्झेँ। दिदीको आत्मीयता र मायाममता सम्झें। एक रात म बिरामी परेको थिएँ निद्रामा बर्बराएँ। दिदीले राति उठेर चिसो पानीमा रुमाल भिजाएर शिरमा राखिदिनुभएछ, औषधी खुवाउनु भएछ। एउटा होटलभित्र छिर्यौं। मैले उहाँसँग धेरै कुराहरू सोधें तर मेरो सोधाइको सही जवाफ धेरै कम थियो। तापनि मैले यति कुरा प्रष्ट बुझें, चन्द्रगढीमा छोरी ज्ञानू छ। ज्वाइँ ड्राइभर छ। छोरीले चिया पसल थापेकी छे। म त्यहीँ पुगेर इलाम हिंडेको बस्। मैले नवीनजीलाई अन्तिम पटक भेट्दा यस्तै मानसिकरूपले अर्धविक्षिप्त अवस्थामा पुगेको थियो। पार्टीमा बस्ने एउटा माग्नेको भन्दा उसको अवस्था अलिकति पनि माथि थिएन। यस्तै अवस्थामा नवीनलाई त्यहीँ छोडेर म बस चढेर चन्द्रगढीतिर लागें। नवीन बिर्तामोडको चोकमा एक्लै उभिएर चारैतिर हेरिरहेको थियो। त्यसपछि नवीनजी र मेरो फेरि भेट भएन। केही महिना पछाडि गोरखापत्रमा उसको मृत्युको खबर पढें। तर मलाई उसको मृत्युले अलिकति पनि अचम्मित तुल्याएन। किनभने विष्णु नवीन त त्यस दिन नै मरिसकेको थियो जुन दिन उसले लोग्नेमानिसको लुगा खोलेर स्वास्नीमानिसको पहिरन लगाएको थियो। मेरा धेरै साथीहरूमध्ये एउटा बेग्लै कथा बोकेको साथीको यस्तो दुःखान्तपूर्ण अन्त्य भयो। त्यसैले म सम्झन्छु, मान्छेको भाग्यमा जन्म कसरी हुन्छ र मरण कसरी हुन्छ भन्ने कुरा जन्मेको दिन र मरेको दिन मात्र थाहा हुँदो रहेछ।
(स्रोत : इलाम टाइम्स)