२०५४ सालको नयाँ वर्षे तीन रात काटेपछिको बिहान हो आज । सिक्किमको रिगु बस्तीस्थित के.बी.राईको घरमा हिजो आइपुगेका थियौँ जय छाङ्छा र म । म साथी र जयजी ज्वाइँ यस घरको । बिहान ब्यूँझनासाथ जयजीलाई हेर्छु, उहाँ उठेर बाहिर गइसक्नुभएको थियो । बार्दलीमा आएर हेर्छु जतासुकै अग्लाअग्ला डाँडाहरू देखिन्छन् । बिस्तारैबिस्तारै हुस्सुका झुन्डहरू आरोहण गर्न खोजिरहेका छन् । विभिन्न नाम र जातका चरीहरू चिरबिराइरहेछन्, त्यसैको धुनमा हावा कमर मर्काउँदै ओहोरदोहोर गरिरहेको छ ।
कोठामा चिया आइपुग्छ र म चिया पिएर तल आँगनमा ओर्लन्छु । केहीबेर गफिन्छौँ पहाडको प्रकृति र गाउँलेहरूका प्रवृत्तिका बारेमा । केही सम्झेजस्तै गरी के.बी.दाइले भन्नुहुन्छ – “आज रामनवमी हो, नेपाली वर्षको पहिलो चाड । यता यो चाडमा खाएरपिएर निकै रमाइलो गरेर मनाउँछन् । आजको दिनमा सिकार खेल्नैपर्छ ।
मलाई अचम्म लाग्छ, हिन्दूसंस्कृतिमा त झन् रामनवमीको दिन मांसाहारीहरू पनि शाकाहारी बन्दछन् । आजको दिनमा काटमार गर्न हुँदैन भनी मासुपसलेहरूले पनि पसल बन्द गर्छन् । तर यहाँ काटमार गर्नैपर्ने, एउटै संस्कृतिमा किन यति ठूलो अन्तर भएको होला – म आश्चर्य मान्दै जिज्ञासा राख्छु के.बी. दाइप्रति ।
“आज राम जन्मिएको दिन, उहाँ बाण लिएर सिकार खेल्नुहुन्थ्यो, जङ्गल पस्नुभएको थियो । हामी उहाँकै सन्तति भएकाले हामी यताको सबैजना जङ्गल पस्छौँ । हुनेहरू बन्दुक बोकेर सिकार गर्छन् । नहुनेहरू गुलेलीले भए पनि चराचुरुङ्गी मार्छन् ।”
एकै जाति, एकै संस्कृति भए पनि भूगोलले पारेको प्रभावमा आश्चर्य मान्दै थिएँ म । जयजीले प्रसङ्ग मोड्दै भन्नुहुन्छ- “अहिले जङ्गलमा फूलहरू पूरै फुलेका हुन्छन्, यो समयमा त चराहरू पनि भाका फेरेर मीठो आवाजले गाउँछन् । यस्तो वातावरणमा जङ्गल पस्दा जो पनि टेन्सनमुक्त हुन्छन् ।”
सिकार कस्तो हुन्छ भन्ने चलचित्रमा हेरेको र पुस्तकमा पढेको मात्र छु, त्योभन्दा बढी एउटा भँगेरा पनि मारेको छैन मैले आजसम्म । जे भए पनि जङ्गल घुम्न रुचाउने गरेकोले यस्तो अवसर गुमाउन चाहन्नथेँ म । यात्रा प्रारम्भ हुन्छ । जङ्गलका पातपतिङ्गर टेक्दै, बुट्यानहरू पन्साउँदै घरबाट खोलातिर ओर्लन्छौँ । चिलाउनेका रूखहरू हाम्रो उपस्थितिले सतर्क भएर उभिएका जस्ता छन् । हामी लठ्ठीले झारपातमा हान्दै हिँड्दै छौँ ।
“रूखमा उक्लेर सुनाखरी कसरी फुलेको होला ?” म प्रश्न गर्छु।
“खोइ, फुल्छ जसरी फुले पनि ।” जयजी ठट्टैमा टारिदिनुहुन्छ ।
उहाँ अघिअघि र म पछिपछि छु । अलि अप्ठेरो ओरालोमा डराईडराई ओर्लँदै थिएँ । जयजीले आत्तिएजस्तो गरी कराउनुभयो -सर्प, सर्प ! म डराएर कालो हुन्छु, पछि उहाँ मरीमरी हाँस्न थाल्नुहुन्छ । केको सर्प हुनु, उन्यूका काला लहरा हुन् भन्दै समाउनुहुन्छ ।
“श्रीओमजी, हेर्नुस्, उः त्यो फलेदाको रूख हो, ऐँसेलु चिनिहाल्नुहुन्छ, त्यो कुकुरडाइनो, त्यो धूपीको बोट हो ।”
जयजी चुप लाग्नासाथ के.बी.दाइ आएर बताउनुहुन्छ- “हामी बसेको ठाउँ रिगु हो । लेप्चा भाषामा रि भनेको डाँडा र गु भनेको नौ अर्थात् यो बस्तीको नाम नौ डाँडा हो ।” हामी गफिँदै सानो झोलुङ्गे पुलमा आइपुग्छौँ । पुलको वारि दक्षिण रिगु र पारि उत्तर रिगु बनेर छुट्टिएको रहेछ । अब हामी एकदम सानो एकजना मात्र हिँड्न मिल्ने गोरेटोमा आइपुगेका छौँ, गोरेटाको दाहिनेतिर ठूलो डाँडो छ र देब्रेतिर भीर छ । हामी कमिलाझैँ लाइन लागेर हिँडिरहेका छौँ । यही बेला केही घोडाहरू दुई-दुई बोरा बालुवा र लामालामा काठ बोकेर आउँछन् । डाँडाकाँडाको एक मात्र भरपर्दो यातायात हो यो हाम्रो देशको । केही अगाडि समथरमा पुगेपछि जयजी र म मात्र बाँकी हुन्छौँ । अन्य अन्यत्र लाग्छन् । हामी प्रकृतिलाई खोजेजस्तो गरी हेर्नका लागि अग्लो डाँडामा उक्लिन्छौँ र नदीमाथिको भीरतर्फ लाग्छौँ । जयजी फटाफट अगाडि हिँड्नुहुन्छ, मचाहिँ बसेर घाँसहरू समाउँदै बिस्तारै सर्न थाल्छु । जयजी मस्तले हाँस्दै भन्नुहुन्छ- “के डराउनु भा’ तपाईँ, मलाई त पटक्कै डर लाग्दैन । यस्तै भीरभीरमा गएर घाँस काट्नुपर्थ्यो ।
कुथर्के चराको क्वारक्वार आवाज र खोलाको आवाजले वातावरण सोचेभन्दा साङ्गीतिक बनेको छ । लामिडाँडाका दुई डाँडाबीच माथि नीलो आकाश र सेता बादलहरू हामीलाई चियाइरहेका जस्ता छन् ।
हलेदाको रूखमुनि अलिकति घाम र बढी बतासमा झ्याउँकीरी नजिक आएर जोडजोडले कराएजस्ता छन् । जुका लाग्ला भन्ने शङ्का मनमा पिङ बनेर मच्चिरहेको छ । जोडी न्याउलीको आवाजले मनोरम र सन्त्रास दुवैलाई बढावा दिइरहेको छ । जयजी आफ्नै धुनमा लेखिरहनुभएको छ, हामी प्रकृतिको सौन्दर्यपान गर्न नभई लेख्नका लागि आ’ जस्ता भएका छौँ । उकालोमा हिँड्दा पनि कहिले उहाँ कापी झिकेर लेख्नुहुन्छ र पछाडि पर्नुहुन्छ कहिले म लेख्न थाल्छु र पछाडि पर्छु।
“ऐया…. सातचोटेले टोक्यो ।” म अलमल्ल पर्छु र सोध्छु – “सातचोटे कमिलाले टोक्यो – यस्तो अप्ठेरो ठाउँमा नजाऊँ त म भन्दै थिएँ ।” मेरा लागि होइन तपाईँका लागि हो भन्दे अगाडि बढ्नुभएको थियो उहाँ।
एउटी बूढी बजै घाँसको भारी बोकेर बाटो लाग्छिन् । दुईजना स्कुलड्रेस लगाएका केटाकेटी सम्भवतः घरटिर फर्कँदै छन् । एउटी केटी भने अलैँचीको झाङवरिपरि घाँस काट्दै डोकामा राख्दै गरेको देखिन्छे। यतिन्जेलसम्म पनि दाइहरू नफर्कनुभएकाले सुनसान जङ्गलमा यताउति भौँतारिएर खोज्न थाल्छौँ । केहीबेरपछि म भुइँमा बस्छु थकाइ मार्न । जयजी यताउता गर्दागर्दै देखिनुहुन्न । एक्लो भएपछि त्यसैत्यसै आत्तिन थाल्छु म । यता हेर्छु उता हेर्छु कतै देख्दिनँ। जयजीले मलाई तर्साउन खोज्नुभएको होला भनेर मन बलियो गर्छु तर जयजी कतै देखा पर्नुहुन्न । ठूलो ढुङ्गामाथि उक्लेर जोडले सिटी बजाउँछु, आफ्नै आवाजबाहेक केही सुनिँदैन । के गर्ने के – स्वाराक्क हावाले पात हल्लाउँछ, त्यतै फर्कन्छु । हावाले पातहरू बज्न थाल्छन्, त्यतै हेर्छु कुनै जनावर आयो भने के गर्ने – अर्को डर पस्छ मनभित्र । जाऊँ भने कता जाऊँ – कहाँसम्म जाऊँ – फर्कूँ भने कसरी – छाती ढुक्क फुल्छ, पानी छिट्याउला जस्तो हुँदै थियो । केहीबेर अत्तालिएरै बित्यो । मन दरो पारेर चिच्याउँछु जयजीको नाम लिएर । त्यति नै बेला टाढाबाट जयजी हतारिँदै आउँदै गरेको देख्छु । खुसीले दौडेर अगाडि पुग्छु । उहाँ त दाइहरूलाई खोज्दैखोज्दै निकै टाढा पुग्नुभएको रहेछ र म पछिपछि आउँदै छु भन्ने ठानेर ढुक्कसँग अगाडि बढ्नुभएको रहेछ ।
मान्छेलाई मान्छेको साथ कत्तिको महत्त्वपूर्ण हुँदो रहेछ भन्ने ठूलो ज्ञान भयो मलाई । सधैँ काठमाडौँमा मान्छेको जङ्गलमा घुम्ने मान्छे भएकाले मान्छेको महत्त्व यसरी बुझ्न सकेको थिइनँ। मान्छेलाई चिन्न मान्छे भेटेर हुँदैन, मान्छेलाई जान्न मान्छे जोखेर हुँदैन रहेछ ।
पानी पर्न थालेकाले ओत लाग्नका लागि ठूलो रूखको छहारीमुनि जान्छौँ । त्यही बेला दाइहरू पनि दौडँदै त्यही रूखमा ओत लाग्न आइपुग्नुहुन्छ । हामी सबैजना खुसी हुन्छौँ । पानीलाई बेवास्ता गरेर केही समय कुरा गर्छौँ तर पानी रोकिने छाँट पटक्कै देखिँदैन । साँझ पनि पर्न थालिसकेको थियो, बाटोमा अप्ठेरो हुन सक्ने भएकाले पानीमा रुझ्दै घर फर्कन्छौँ पहिलेकै बाटो पङ्क्तिबद्ध भएर । वर्षको पहिलो पर्व रामनवमीको संस्कृतिले दिनभरिको जङ्गलयात्रा र साँझभरिको मुसाचुटाइ जहिले पनि हिजै जस्तो लाग्छ अहिले पनि ।
-हिमाली गुराँस, २०५५
(स्रोत : Nepalisahitya.webs.com )