लेख : नेपाली डायोस्पोराको सन्दर्भमा

~हाङयुग अज्ञात~Hangyug Agyat

अज्ञातको अराजकता
————————————————————————
नयाँ नेपाल बन्ने क्रमको प्रथम प्रहरमा प्रवासी नेपालीहरूलाई हेर्ने दृष्टिकोणले केही अलग क्षितिज नियाल्दैछ । मुग्लाने, लाहुरे, परदेशी, प्रवासी जस्ता परम्परागत शब्द र बोधहरूको ठाममा हिंजो आज आप्रवासी या नेपाली डायोस्पोरा शब्दको प्रचलन बढेको छ । नेपालका विद्वानहरू मुलुकबाहिर रोजगारीका निम्ति गएका नेपालीहरूलाई डायोस्पोराको कन्धनी बाँध्नमा व्यस्त छन् भने रोजगारीका निम्ति प्रवासमा हाम्फाल्ने केही विद्वानहरू समेत आफूलाई आप्रवासीका रूपमा चिनाउन मरिहत्ते गरिरहेका छन् । अझ साहित्यमा यो डायोस्पोरा या आप्रवासी शब्दले बढी आतङ्क मच्चाइरहेको छ । हामी नेपालीहरू रोजगारीका निम्ति विश्वका विभिन्न राष्ट्रहरूमा जरूर गएका छौं तर सधैँका निम्ति गएका होइनौं । अध्ययनका निहुँमा जाने थोरै संभ्रान्तहरूको हविगत पनि आखिर प्रवासमा श्रम नै प्राथमिक अभ्रिप्राय बनिरहेको सत्य छर्लङ्गै छ । केही वर्ष विदेश या प्रवासमा श्रम गरेर अन्ततोगत्वा आफ्नै मुलुकमा फर्किने सपना मुलुकबाहिरका नेपालीहरूले हरेक क्षण देख्ने साझा सपना हो । यसो हुँदा हिंजो आज नेपाली डायोस्पोराका नाममा हामी रोजगारीका निम्ति केही वर्ष मुलुकबाहिर गएका नेपालीहरूलाई जुन कुटनैतिक प्रहार गरिंदैछ त्यसको विरूद्घमा हामीले बेलैमा आफ्नो वास्तविक पहिचानका निम्ति आवाज उठाउनु जरूरी छ, तर्क गर्नु छ । डायोस्पोराको अर्थै नबुझी कतै तपाईं हामी रोजगारीका निम्ति विश्वका विभिन्न राष्ट्रहरूमा केही समयका निम्ति छरिएका नेपालीहरूले केही नेपाली अर्ध-विद्वानहरूको लहैलहैमा लागेर आफ्नै घुँडा ठुँगिरहेका त छैनौं – तेसो र र्सवप्रथम डायोस्पोरा शब्दको अर्थको खोजीनीति गर्नु श्रेष्यकर हुनेछ ।

ल्याटिन शब्दहरूबाट निर्मित डायोस्पोरालाई अर्थ्याउने क्रममा बेलायती विश्वविद्यालयका प्रोफेसरद्वय डेभिड र जुलिया जारी लेख्छन्- ‘जबरजस्ती-निर्वासन या स्व-इच्छाले संसारभरि तितरबितर भएको मानिसहरूको समूहको स्थिति-बसाइँसराइ लाई आप्रवास-डायोस्पोरा भनिन्छ जसले विशेष रूपमा यहुदीहरूको अनुभवलाई सिफारिस गर्दछ भने यो डायोस्पोरा पदावली यस स्थितिसित मिल्दो कुनै पनि बसाइँ सरेको समूहका निम्ति प्रयोग गर्न सकिन्छ । आजको ग्लोबोलाइजेसनको संसारमा डायोस्पोरिक समुदायहरू विश्वपरिवेशको बढ्दो आकर्षण या अभिरूचि बनिरहेका छन् साथै यिनीहरूको सामाजिक र राजनीतिक तार्त्पर्यहरूको अध्ययन पनि बढ्दो छ ।’ डेभिड र जुलियाले संकलन गरेको डायोस्पोराको यो परिभाषा नै मानक र सार्वभौमिक रहिआएको स्थितिले हामी हङकङका नेपाली या खाडी राष्ट्र या मलेसियाका नेपालीहरू पक्कै आप्रवासी होइनौं न अमेरिका, मकाउ, जापान, बेलायत आदि राष्ट्रहरूमा रोजगारीका निम्ति बसोबास गरिरहेका नेपालीहरू नै आप्रवासी या डायोस्पोरिक नेपालीहरू हुन् । यदि हामी आप्रवासी होइनौं भने आखिर हामी को हौं – प्रश्न उठ्छ । गैरआवासीय नेपालीका नाममा संघसंस्थाहरू गठन हुने कार्य पनि यतिबेला तीब्र भइरहेको छ । संगठित हुनु राम्रो हो तर संगठित हुनुको अभिप्रायले हामीलाई हाम्रो पहिचानबाट अझै टाढा लैजान्छ भने त्यस्तो संगठनको नेतृत्वले निश्चित रूपमा स्वार्थ बोकेको हुन्छ । हङकङलगायत अन्य राष्ट्रहरूमा रोजगारीका निम्ति गएका नेपालीहरूलाई दोहोरो नागरिकता या स्वदेशमा लगानी गर्न पाउनुपर्ने जस्ता मागहरू लागु हुँदैनन् । कति नेपालीहरूले आफ्नो नागरिकता त्यागेर अन्य राष्ट्रमा बसोबास गरिरहेका छन् – त्यसको तथ्याङ्क न नेपाल सरकारसित छ न गैरआवासीय नेपालीका नाममा राजनीति गर्ने संस्थासित नै छ ।
त्रिभुवन विश्वविद्यालयमा राष्ट्रका भावी विद्वानहरू तयार गर्ने प्राध्यापकहरू समेत गैरआवासीय, आप्रवासी या डायोस्पोराले दिने अर्थहरूमा ज्ञानी छैनन् भने स्वार्थका निम्ति संगठन बनाउने धूर्तहरूसित मिमांशाको अपेक्षा गर्नु मुर्खता हुनेछ । डा. गोविन्दराज भट्र्राईज्यूले खै ! किन हङकङमा बसेर लेखिएको नेपाली साहित्यलाई हङकङ डायोस्पोरा भन्नुहुन्छ – मलाई थाहा छैन, तर म विश्वमा नेपाली डायोस्पोराको रेखाङ्कन भइसकेको मान्दिनँ । दार्जिलिङसिक्किमतिरको नेपाली साहित्यलाई बरू डायोस्पोरिक नेपाली साहित्यको रूपमा मानेर भारतीय नेपाली साहित्यलाई अरू नजिक बनाउन सक्छौं । तर, हङकङ या अन्य मुलुकहरूमा नेपालीहरूले लेखिरहेको साहित्यलाई डायोस्पोरिक साहित्य भन्नु चाहिँ हामीलाई आफ्नो मुलुकबाट टाढा धपाउनु हो । हाम्रो सप्पै नेपालमै छ । हाम्रो घर र आफन्तहरू, हाम्रो नागरिकता र पासपोर्टहरू, हाम्रो नाम र कामहरू, हाम्रो लगानी र योजनाहरू सप्पैसप्पै नेपालमै छन् । त्यसो र हामी कसरी आप्रवासी भयौं – कसरी हामीले लेखेको साहित्य डायोस्पोरिक भयो – विद्वानहरूले गम्भीर भएर सोच्नु जरूरी भएको छ । बेलायतले भूतपुर्व गोर्खा सैनिकहरूलाई बेलायतमा बसोबासको अधिकार दिएपछि जो नेपालीहरू नेपालको नागरिकता त्यागेर, आफ्नो घरजग्गा बेचेर, आफ्नो परिवार बोकेर त्यता लागेका छन् यसले चाहिँ बेलायती नेपाली डायोस्पोराको संभावनालाई त्रि्र बनाएको छ । अहिले व्यक्तिमा गइरहेका नेपालीहरू पछि कालान्तरमा जब समष्टिमा चिनिन थाल्नेछन् तब उनीहरूलाई बेलायती नेपाली डायोस्पोरा भन्न सकिन्छ । हङकङका नेपालीहरूसित हङकङमा बसोबासका निम्ति स्थाइ रूपमा इजाजतपत्र छ तर यहाँका नेपालीहरूले नेपालसित सम्बन्ध तोडिसकेका छैनन् । अर्थात्, उनीहरूसित नेपाली नागरिकता छ, नेपाली पासपोर्ट छ, नेपालमै घरपरिवार, आफन्त र इष्टमित्रहरू छन् । त्यसो र हङकङका नेपालीहरूलाई आप्रवासी नेपालीका रूपमा व्याख्या गर्न मिल्दैन न उनीहरूले यहाँ निर्माण गरिरहेको नेपाली साहित्यलाई हङकङ डायोस्पोराका नाममा मूलभूमि नेपालबाट टाढा धपाउन मिल्छ ।

(स्रोत : Shrijana.com)

About Sahitya - sangrahalaya

We will try to publish as much literary work of different authors collected from different sources. All of these work is not used for our profit . All the creative work belongs to their respective authors and publication. If requested by the user we will promptly remove the article from the website.
This entry was posted in लेख and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.