जीवनसँग जुझ्दै
हारहरूलाई स्वीकार्दै
दृढ अठोट मनभरि पाल्दै
बिचलित नभैकन
चुला र चौकामा
ढिकी र जातोमा
विवशतामा रमाइरहेकी
प्रफुल्ल मेरी आमा
तिमीले आफ्नो
पीडाको क्षणलाई
हाँसी-हाँसी
हामीलाई हसाउँदै
अस्मिताको जोखिमहरूलाई भुली
रज्वस्वलाको कष्टप्रद
गर्भाधारणाको पट्यारलाग्दो
समयको ख्याल नगरी
निरुत्तर जन्म दियौ
“को खा को खा” भन्दै
“नानी खा” भन्दै
उदास छाप्रोमा
एकादेशको कथा सुनाउँदै
खान सिकायौ
मनभरि आँशुको
सलेदो सल्काउँदै
पसिना रुँदै
तिम्रा मलिला हातहरूले
काखभरि-भरि खेलायौ
ओठभरि सुम्सुमायौ
मुस्कान छर्दै हाँस्न सिकायौ
तर म टाढा छु आमा !
बिरक्त बन्दी जस्तो
बादलको छेउबाट चिहाइरहेछु
मनका छिटाहरूबाट
आमाको खातिर
हाँगा बिनाको
हिउँदको रुख झैं
एकान्की चिन्तन
पालिरहेछु।
उषा गिरी
चारपाने,झापा
हाल,ब्रसेल्स बेल्जियम ।।
(स्रोत : Silichung.blogspot.com)