~हरिमाया भेटवाल~
धेरै छन् तिमीलाई हेरेर आनन्द लिनेहरू
तिम्रै किनारमा तिम्रो वखान गरी जिउनेहरू
तिम्रो गीत गाइरहन्छन्
तिम्रो नीलो शरीर हेर्न
कोसौँ टाढाबाट पनि धाइरहन्छन्
ओ समुद्र…
मलाई डरलाग्छ तिम्रो स्तब्धता
तिम्रो गहिराई
तिम्रो बेमौसमी छाल ।
म त फगत्
वर्षामा बर्सिने खहरे हुँ
नीलो आकाशको मलाई भर छ
बोकेपछि पिठ्यूँमा उसले
म झर्नै पर्ने कर छ
बाचुन्जेल
चट्टानका चेप र गल्छेडाहरूबाट
नागबेली हुँदै म बग्दा
तिमी बोकेर गर्भभित्र विषालु जन्तु
रमाउँदै हुन्छौ
म बोकेर फोहोरहरूलाई हाम फाल्दै गर्दा
तिमी चुपचाप
मेरो मृत्यु कुरिरहेका हुन्छौ
ओ समुद्र…………………
तिमीलाई के थाहा झर्नु के हो ?
पखालेर फोहोर चट्टानमा ठोक्किएपछि
तिमीसम्म आइपुग्दा नपुग्दै मर्नु के हो ?
तर पनि म गर्व गर्छु मेरै मृत्युको
जसको तिमी पर्खाइमा हुन्छौ
म भएरै त बाँचेका छौ तिमी
जसलाई भेट्न सधैँ तिमी तिर्खाएकै हुन्छौ
ओ समुद्र…………………..
जतिसुकै गुनगान गाए पनि अरूले तिम्रो
म भने भित्रभित्रै त्रसित नै हुन्छु
लामो समय पर्खिएर भए पनि
म पुनः फेरि खहरे नै हुन्छु
किनकि……………..
मलाई डरलाग्छ तिम्रो स्तब्धता
तिम्रो गहिराइ,
तिम्रो बेमौसमी छाल ।
(स्रोत : मधुपर्क २०६८ चैत्र)