हास्य-कथा : टीपन

~दीप हाँडिगाउँले~

यस्तै ९/१० बर्खको थिएँ हुँला म। मंसिरको बेला थ्यो, जाँच भरखरै सकिएको। एक दिनको कुरो हो भात खाएर नयाँ सडक हिनें। बाउको फुपुकी छोरीले छोरा पाईछन त्यस्को टीपन दिएर पठाएका थिए मलाई। नयाँ सडकमा हाम्रा एकथरी नातेदार थिए, उनीहरुले कुन चाईने महापण्डीत चिनेका थिए कुन्नी, असाध्यै गुनगान गाउँथे ती पण्डीतको। तिनै पण्डीतले चिना नबनाईदीइ भएन रे भनेर मलाई त्यो टीपन दीएका थिए घराँ। त्यै

भएर नयाँ सडक हिनेको म। अन्त भए त के जान्थे, तर त्यहाँ ती नातेदार कहाँ जहिले जाँदा नी जेरी स्वारी टन्न खान दिन्थे। मलाई जेरी स्वारी एकदम मिठो लाग्ने। घराँ बिहान जेरी स्वारी किन्द्याओ न भन्यो “अहिले भात खाने बेलाँ तँलाई के को जेरी स्वारी” भन्थे, दिउँसो किन्द्याओ भन्यो “भरखर भात खाको हैन?” भन्थे, अलि ढिलो भन्यो “के एउटै कुरो दस चोटी भनीरा? अहिले तेरो हजुरबालाई हलुवा बनाउँदा तँलाई नी दिम्ला ल अब चुप लाग भन्थे।” हलुवा खान्छु त कल्ले भन्या थ्यो र? त्यो हलुवा खाँदा मुखाँ लेस्सारीएर प्याक प्याक हुन्थ्यो, गुलीयो मात्रै भएर हुन्छ र? त्यो हलुवा खाएर एक गिलास पानी तन्काएर चिया खायो, चियामा स्वाद छैन त! त्यस्तो हुन्थ्यो। हलुवाले भाँडथ्यो नी चियाको गुलियो। अनि फेरी साँझ तिर जेरी स्वारीको कुरो झिक्यो, उही बिहानको सम्बाद दोहोर्‍याउँथे “एक छिनाँ भात खाने बेला हुन्छ, के को जेरी स्वारी?”

त्याँ नयाँ सडकाँ जाँदा आफुले केही भन्नु पर्दैनथ्यो, खुरुक्क जेरी स्वारी ल्याउँथे। चियाको स्वाद त जेरी स्वारीले नी नभाँडने त होईन, तै पनि आफुलाई मन पर्या कुरोले भाँडेको। चित्त दुखाई थिएन। त्यही हेराई हो, अर्काले हेरे ‘स्टेर’ देको भन्दै तात्थे काका, तरुनीले हेरे लल्याक लुलुक भएर साथी भाईलाई चिया ख्वाउँथे। त्यस्तै त होला नी।

“टिपन राम्रो संग राख है” भनेको सुन्दा सुन्दा च्यात चुत पारेर काकाले चुरोट निभाको जसरी किचिदिम की जस्तो लाग्न थाली सकेको थ्यो मलाई। हाम्लाई थाह छैन, सामानको कसरी हिफाजत गर्नु पर्छ भनेर? अस्ति साँझ ट्वाकले देको चुरोट महादेवको फोटो पछाडी भित्तामा राखेको थिएँ। अघि बिहान हेर्दा पनि जस्ताको तस्तै थ्यो। त्यो देउताको फोटो परै बाट ढोग्थे, छेउछाउमा चलाउन कोही आउँदैन थ्यो। अनि हाम्लाई हिफाजतको पुराण सुनाउन खोजे पछी सुन्न मन लाग्छ त? त्यो फोटोमा म धुलो पर्नै दिन्न थें, बेला बेला आफै सफा गर्थें। भन्नलाई त घराँ यस्ले केही गर्दैन, भन्थे। गर्नु पर्ने कुरा त म गरी नै राथेँ नी। दुई ट्याम भात, खाजा खाईदेकै थिएँ। राती उनीहरुले मिलाईदेको ओछ्यानमा सुत्देकै थिएँ। उनीहरुलाई त के थियो र महिनामा एक चोटी फिस तिर्दीन्थे, झोला बोकेर स्कुल त मलाई जानु पर्थ्यो नी दिन दिनै, गएकै थिएँ। साथी भाई पनि राख्नै पर्यो। एक छिन फुर्सद हुँदैन थ्यो आफुलाई। भ्याई नभ्याई थियो, तै पनि घराँ “यो बेगारी पानी पनि आफै सारेर खाँदैन” भन्थे, अब घराँ गाग्रै थिएन, अनि के सार्नु त? भन्नेले जे भने पनि आफुले गर्नु पर्ने कुरा चैं रीत पुर्याएर गर्ने गर्या थिएँ।

अनि लर्खरीदै – लरबरीदै होईन नी फेरी — नागपोखरी पुगेको थिए, झुरुप्प मान्छे देखें। अब नहेरी हुन्थ्यो के त त्यो तमासा? भिडको बिचमा एउटा मान्छे डमरु प्याटाटाट प्याटाटाट पार्दो रे छ–के के हो फलाक्दो रे छ। छिटछिटो बोल्थ्यो उ। निक्कै हतार छ कि झै गर्थ्यो। फनफनी घुम्दो पनो रेछ भिड भित्र। भुईँमा अनेक थोक छरेको थ्यो — एउटा पुरानो टिनको बाकस पनि खोल्या थ्यो–त्यसमा पनि के के हुन सामान थिए। यता बाट उता अनि उता बाट यता फलाक्दै हिन्दै गर्दा बिचाँ उस्ले छर्या (उसैले त छर्या होला नी) सामान तिर देखाउँदै गर्जियो –

अब यस्लाई म मन्तरले भुईँ बाट उठाएर हावामा झुन्डाउँछु–अनि सर्प निस्किन्छ यसबाट हावामा अनि आकाशबाट गरुड एक्कासी आएर त्यो सर्प — भन्दै टाउको झटकार्यो उस्ले। अब त्यहाँबाट त्यो तमासा नहेरी यता उती लाग्नु हुन्थ्यो के त?

उस्ले त्यो भुईँबाट उठाएर हावामा झुण्डाउँछु अनि सर्प निस्किन्छ अनि गरुड आउँछ भन्या चिज तिर मैले हेरें। एउटा डल्लो थ्यो, ५ नम्बरको भकुण्डो भन्दा अलि ठुलो। त्यहाँ भित्र सर्प होला भनेर मैले निक्कै ध्यान सँग कति बेर हेरें। सर्प चल्मलाएको देखिन। यस्ले लट्ठ पारेर राख्या होला भन्ने ठाने, पर्खिए। त्यो मान्छे अनेक थरी कुरा गर्छ, कैले के किन भन्छ, कैले के भन्छ। डल्लो उडाउँदैन त। केही किन्नलाई त्यस्ले भन्नु पर्थ्यो ? के किन्ने हाम्लाई थाह नभाको कहाँ हो र? पैसा नभएर पो त।

कत्ति बेर भैसक्यो। मलाई अलि अलि झोंक चल्न थाली सक्या थ्यो। ह्या यस्ले केई नी उडाउँदैन, हिन्दीम कि जस्तो पनि निक्कै चोटी नलाग्या होईन, फेरी सम्झें दशैको दक्षिना मैले सुरोतमा राखुन्जेल पान डबल पर्थ्यो, मैले पानमा सारे पछी सुरोत डबल आउँथ्यो। त्यै सम्झें। अब यतिन्जेल पर्खि सकें, म पनि हिन्नु यस्ले नी त्यो ड्ल्लो उडायो भने त? खत्तम भएन? पर्खें। संगैका गुरुले नागपोखरी तिर गए नाग लाग्ला भनेर होला — टेबल टेनिसको बोर्ड भए तिर गएर सुरालको ईँजार खोल्ने लाउने गरेर आको अहिले हैन, घरबाट हिन्दा पछील्तिर भाका घाम अघिल्तिर लागी सक्या थिए। डल्लो अझै जहाँको त्यै थियो।

उस्ले डल्लो उडाउँछु भन्न छोडेको थिएन। १०/१५ मिनेट १०/१५ मिनेटमा उ त्यो डल्लो छेउ पुग्थ्यो, अब उडाउँछु भन्थ्यो आकास तिर हेर्थ्यो, हामी पनि ठाडो मुन्टो लाउथिम। म चै गरुड देखिन्छ कि भन्थे। के को! उ फेरी फनफनी घुम्थ्यो, के के किन भन्थ्यो। बज्याको डल्लोलाई लात्तले हानेर हिन्दीम कि जस्तो पनि लाग्न थाल्या थ्यो मलाई। फेरी त्यस्ले लट्यार राख्या सर्प न ब्युंझिसक्यो– ब्युंझ्या रे छ भने? राम राम राम! पिंडौलामा च्याप्प स्टिच लाईदियो भने?। अनि त, सकिगो नी!

आफुलाई भोकले रन्थनाउन थाल्यो, जेरी स्वारी सम्झेर एक माना जति त थुकै निलीसक्या थिएँ हुँला। नागपोखरीमै थिएँ। नयाँ सडक त कता हो कता।

म आफैंले पनि टेबल टेनीस बोर्डका खुट्टा अघि नै हतार हतार सिंचाई गरेर आईसक्या थिए। भिडको अघिल्तिर गएर बसेको थिएँ म। खटपटीदै थिएँ। समय निक्कै घडकिसक्या थ्यो। नयाँ सडक पुगेर आउँदा रातै पर्ला जस्तो छाँट देखिन्थ्यो। म फेरी घाम लागुन्जेल आफुलाई महारथी सम्झिन्थें, रात परे पछी साथी खोज्थें। त्यस्तो थ्यो। हाँडीगाउमा धेरै जसो बाईपंखे घोडा, किचकन्नी, ख्याक (कालो र सेतो दुईटै), अनेक नामधारी भूत प्रेत पिशाच डङकीनी जस्ता बिषयमा धारा प्रबाह प्रबचन दिन्थे। दिनभरी त केई लाग्दैनथ्यो, राती यसो बाहीर निस्क्या बेला कसैले पछाडी हवात खोक्यो भने त्यही घुत्रुक्क हुने गरी ज्यान बिच्किन्थ्यो।

डमरु बेस्सरी पडकायो उस्ले। आकास तिर हेरेर के के भन्यो। हामी सबैले फेरी आकास तिर हेरीम। कस्ले के देख्यो कुन्नी मैले चै घाम झन पर्तिर पुगेको देखें। अब चै जान्छु भन्ने सोचेको थिएँ त्यो डमरु बजाउने ले उस्का सामान टिप्न थाल्यो। टिपेर सबै त्यै टिनको बाकसमा हाल्यो। त्यै एउटा डल्लो मात्रै बाँकी थ्यो भुइँमा। त्यसैलाई फन फनी घुम्न थाल्यो के के फलाक्दै।

भिडमा सबैको ध्यान त्यै डल्लोमा गयो। मुटु छिटछिटो ढुक ढुक गर्न थाल्यो। त्यै डल्लो उ अझै फन फनी घुम्दै थियो। उस्को खल्तीमा एक मुट्ठा नोट देखिन्थे। निक्कै बेचेछ क्या रे।

उ त्यो डल्लो छेउमा बस्यो। हात वरीपरी घुमायो त्यो डल्लोको आँखा चिम्लियो अनि के के पढ्न थाल्यो। अनि एक्कासी उ उफृयो। भिड पनि उछिट्टियो अलि पछिल्तिर। एक चोटी त म पनि आतिएँ। हेरेको डल्लो त जहाँको तहीँ छ। उडेको नी छैन, सर्प नी छैन, गरुड त झन कता हो कता।

उ अलि चिन्तित देखियो। आकास तिर हेर्यो। मैले सोचें, यस्ले त्यो डल्लोमा ग्यास भर्या बेलुन जस्तो के राख्या होला, अनि बेलुनमा सर्प होला, यस्ले पाल्या गरुड यता उती कता रुखाँ राख्या छ यस्ले, गरुड बोलाउँदै छ यो –गरुड आको देखे पछी कुन सडको बेलुन उडाउँछ यस्ले अनि गरुडले आएर सर्प लैजान्छ–खेल खत्तम। सबै हिने पछी यो पनि गरुड र सर्प लिएर हिन्छ, गरुडले सर्प खाएछ भने अर्को सर्प ल्याउँछ यस्ले। यै रे छ यस्को टिडीक। अहिले यस्ले बोलाउँदा गरुड आईरा छैन। त्यै भएर यो चिन्तित भाको। मैले निष्कर्ष निकालें।

न गुलेली ले कुन चै ले ढाल्दीसक्यो यस्को गरुड, सोचें। फेरी सोचे, मूर्ख बनायो त यस्ले आज मलाई? भिड निक्कै बाक्लो थियो, कलिलो छिप्पेका पाकेका सबै थिए। मलाई त ल केटाकेटी भनेर अलमलायो रे–यत्तिका मान्छे छन यहाँ, सबै त केटाकेटी छैनन नी। सम्झाएँ।

उ अब फेरी डल्लो छेउ गयो, आँखा पल्टाउन थाल्यो, मन्त्र पढ्न छाडेको छैन, बेला बेला गर्जिन्छ पनि, फेरी उ बुद्रुक्क उफृयो अनि आकास तिर हेर्यो। केई छैन। डल्लो जहाको तहीं।

“आज एकादशी होईन त?” उ जंगीयो। सबै एक अर्कलाई हेर्न थाले। त्यै अघिका गुरुले भने, के को एकादशी आज, हिंजो थ्यो एकादशी त, आज द्वादशी र त्रयोदसी जुधेको छ, बोली बालाचतुर्दसी भैगो।”

त्यो डल्लो उडाउँछु भन्ने झोक्कियो अब। भिड तिर हेर्दै भन्यो “अघि नै भन्नु पर्दैन मलाई? मन्त्रले यो उडाउने, सर्प आउने, अनि गरुडले लैजाने खाली एकादशीमा मात्रै काम गर्छ भन्ने बर्दान छ मलाई गोरखनाथले दिनु भाको — त्यै त किन उडदैन भन्छु नी, सधैं उडाईराको — गरुड आउने पनि संकेत छैन — के चै गडबड छ भन्ने त मलाई लाग्या थ्यो— भन्नु पर्छ नी बेलैमा — सित्तैमा दिन गयो कि गएन अब? उस्ले घडी हेर्यो। ल हेर यति ढिलो भैसके छ, भोलीको बालाचतुर्दशी अघि पशुपती पुगीसक्नु पर्ने म।”

अलि अलि मान्छे हाँस्न थाले अलि अलि छक्क परे। उ त्यै टिनको बाकस अनि एउटा झोलामा त्यो डल्लो कोचेर निस्कियो भिडबाट।

दुलही अन्माईसके पछी माईतमा हुने जमघट जस्तो भो भिड । भोकले रींगटा लाग्ला जस्तो भो, नयाँ सडक पुग्न सकिएला जस्तो लागेन। घर तिर फर्किए। फर्किन त फर्किएँ, अब घराँ भन्ने के?

उ बेला हिनेको। अनेक थरी बहाना सम्झिएँ, कुरो मिलाउन सकिएला जस्तो लागेन। ह्या अब जे भाको हो त्यै भन्दिन्छु। ढाँटदा पो दशवटा कुरो मिलाउने झन्झट भाको कुरो त एउटै न हो। आज नगएर के भो त? भोली गैदिम्ला। भैगो नी। मन दरो पारें। गहना पोखरी पुगेको थिएं। तै पनि धुर्ब्या बाउको वाई बी जस्तो हुन खोज्थ्यो मन बेला बेला। त्यो धुर्ब्या बाउको वाई बी थ्यो मोटर साईकल, बेला बेला यसै स्टार्ट बन्द हुन खोज्ने।

हैन यो टीपन भन्नेमा लेख्या चै के हुँदो रे छ भनेर पछाडीको खल्तीबाट टिपन झिक्न खोज्छु त छैन बा! अब भो की। मनको स्टार्ट झ्याप्पै बन्द भो। खुट्टा रोकिए। घर नजिकै पुगीसक्या थिएँ। जाने आँट् आएन। अब मार्ने भए भन्ने सोचें। टीपन काँ हरायो हरायो।

भगबती मन्दीर पछाडी गएँ। ढोग्दा टिपन दिन्छीन कि झै गरी ढोगें पनि। तर समस्या जस्ताको तस्तै।

एकातिर भोकको चेप, जेरी स्वारी त स्वाहा भै गो –अर्को तिर टिपन छैन, महादेबको फोटो पछाडी चुरोट छ कोठामा– कलिलो उमेर– कति कुराको टेन्सन मलाई।

त्यो मन्दीर पछी जति बसे नी केई न केई। निस्किएँ। धन्न नयाँ सडक सम्म पुगेन छु टिपन न सिपन। अनि सोचें अब टिपन खोज्दै नागपोखरी पुग्नु पर्यो फेरी–बाटाँ त खस्यो होला नी। मन्दीर बाट गहना पोखरी तिर बाटाँ घोरिएर लाग्दै थिएँ, काकाले गर्दन समातेर सोधें, के खोज्दैछस तँ?” सातोपुत्लो उड्यो।

“गठेमंगलको औठी थ्यो कता खस्यो कता।” एक थोक त भन्नु पर्यो नी।

“त्यो औठी लाएनी, नलाएनी दशा तँलाई लाग्न छोड्या छैन ” भन्दै उनी हाँस्दै लामढुङ्गा तिर लागे।

आजको कुरालाई ताकेर भने की औसत दिनको लेखाजोखा गरेर भने थाह छैन तर डर बढाएर हिने। टंगाल स्कुल सम्म पुगें। भेटीएन टीपन। भोकको रन्को, जाडो पनि हुन थाल्यो, रीस उठेको उठेकै छ को संग हो पनि थाह छैन। सक्दिन म नागपोखरी सम्म जान। जे गर्ने हो गरुन भनेर फर्किएँ। त्यै एक छिन हो हल्ला गर्ने त होलान नी। जे पर्ला अब भनेर बाँधे। मुड्क्याएछन भने नी सहनु पर्ला अब। हराईहाल्यो। भनें घर तिर फर्कें। डर गाको त कहाँ थ्यो र?

घराँ घिसारेर कसैले छिराको जसरी छीरेको मात्रै के थिएँ, बाउले स्वागत गरे। “सवारी होस, सवारी होस कहाँ सम्म पुगेर फिर्ती सवारी भो यती बेला?”

अघि नागपोखरीमा कुन चै दुष्मनले देखेर कुरा सुनाईसकेछ भनेर तर्सें। फेरी सोचें राम्रै भो। मैले भन्नै परेन।

अनि आमाले भनीन, “बाबु, झन त्यति बिधी होस गर है भनेको टीपन त कोठैमा खसालेर हिनीछस”

मलाई नी ज्यानमा ज्यान आयो, हाम्रा पुरेतले डकार्दाको झै गर्जनमा भनें “अघि नै भन्नु पर्छ नी — सित्तैमा नागपोखरी र यहाँ ओहोर दोहोर गर्दैमा दिन बित्यो – सक्दिन अब म यो टीपन सीपन पुर्याउन कतै नी”।

(स्रोत : Sajha.com)

About Sahitya - sangrahalaya

We will try to publish as much literary work of different authors collected from different sources. All of these work is not used for our profit . All the creative work belongs to their respective authors and publication. If requested by the user we will promptly remove the article from the website.
This entry was posted in नेपाली कथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.