कथा : चमेलीको डायरी

~प्रतिमा पौडेल~

एक साँझ अनायासै छिरेको थियो ऊ मेरो कोठामा । त्यसपछी हरेक साँझ आउन थालेको छ ऊ मकहाँ। यो शहरमा शायद ऊ नयाँ हो। शायद उस्का कोही आफन्त छैनन यहाँ वा हुनसक्छ ऊ आफन्तहरूबाट भागेर आउछ मकहाँ । ठीक्क मोटाइ, चौडा छाती, हँसिलो अनुहार, सयौँ वसन्त ऊ सङ्सङै भित्रीय झैँ लाग्छ मलाई। “को होला ऊ?” दिनभरि यो प्रश्नले चिमटी रहन्छ । त्यही चिमटाइँ खप्न नसकेर मैले उस्लाई एक दिन सोधेको थिएँ “तपाइँको नाम के को?”

“कमल” छोटो उत्तर दियो उस्ले । मैले थप केही सोधिनँ । हाम्रो सम्बन्धको लागि त्यति जानकारी आबस्यकता भन्दा बढी थियो। “कमल!!!” धेरै दिनसम्म मेरो कानमा गुन्जीरह्यो त्यो स्वर। तर “कस्तो कमल?”, “कहाँको कमल?”, “कस्को कमल?”, “के गर्ने कमल?” यी “क” बाट उठेका शब्दहरूले कहीले चिमटेर, कहिले काउकुती लगाएर, कहिले जिस्क्याएर हैरान खेलाउछन मलाई।
***
हुन त सिंगारिएर बस्नु मेरो पेसानै हो। तर आजकाल म आँफैलाई राम्री देख्न थालेकी छु। चमेली मेरो नाम मात्र नभएर वातावरणनै मगमग बनाउने चमेली फूल हुँ जस्तो लाग्छ। कमल मेरो सुगन्धले मोहीत भएर लठीदै आएको भँमरा हो। म आँफैसँग प्रण गर्छु म कहिलेपनि ओइलाउने छैन। म मेरो सुगन्धले कमललाई सधैं लठ्याइरहने छु। ९ बजिसकेछ तर ऊ आइपुगेन । सधैं त ८:३० मा आइपुग्थ्यो । मलाई यो ३० मिनेट पनि ३० बर्ष झै लाग्यो । १० बज्यो, ११ बज्यो, म उस्को प्रतीक्षामा झ्यालबाट हेरेर बसिरहेँ तर ऊ आएन । म आत्तिएँ “कहाँ गयो होला?” “के भयो होला?” “कतै गाडीले पो …?” “होइन होइन काम पर्यो होला केही।” दोस्रो चोटी म छ्ट्पटीए, म निसासिएँ। मेरो आफ्नै बाउले मलाई यहाँ छोडेर गएको दिन म यसरी नै निसासिएको थिएँ। अनि म छक्क परे कहाँबाट आए यति धेरै पीडाहरू, यति धेरै भावनाहरू मसँग? यी भावनाहरू त फक्रिन नपाउँदै ती काला, गोरा, पुड्का, आग्ला, मोटा, दुब्ला, बुढा, भर्खरका अनेकथरी मान्छेहरूका वासनाले मारिसकेका थिए । म मान्छे हुनुको वास्तविकता बिर्साएर “बेस्या” भन्ने शब्द बनाइदिसकेका थिए। “जीवित रहेछु” म मक्ख परेँ । अनि आफूलाई जीवित पाएको खुसीमा एकछिन रोएँ। *** आज ऊ आयो। ऊ आउँदै गरेको मैले परैबाट देखेँ। म खुसीले उफ्रीए। हिजो उजाडिएको मेरो बगैँचामा आज लाखौं कमल र चमेलीहरू फुले। “हिजो किन नआउनु भएको?” मैले उसँग टासिँदै सोधेँ । उस्ले सहज उत्तर दियो “बिहे गर्न केटी हेर्न गएको थिएँ… किन अरू कोही ग्राहक पाइनौँ?”म डङ्ग्रङ्ग बिपनाको धरातलमा पछारिएँ। सपना र बिपना बीचको गहीराइ कति धेरै रहेछ भन्ने थाहा पाएँ। त्यति माथिबाट थचारिएँ म तर उस्ले पत्तै पाएन। उस्को अनुहार अझै उज्यालो थियो। म निशब्द भएँ। कति सजिलै उस्ले ऊ र म बिचको भिन्नता अभास गरायो।”बिहे हुने भयो त?” थाहा छैन मैले यो प्रश्न किन सोधेँ। केवल ती शब्दहरू कानमा गुन्जिए मुखबाट निस्कीएको पत्तै पाइन। “अँ हुने भयो। म भोलि देखी आउँदिन। मलाई नकुर्नु।” उस्ले इमानन्दार उत्तर दियो। यो भन्दा कति इमानन्दार हुन सक्छ र ऊ एउटी बेस्यासँग?” मलाई हिजोको रात सपना जस्तो लागिरहेको छ। म अझै बौरीन सकेको छैन। “किन अरु कोही ग्राहक पाएनौ ?” यी शब्दहरू मेरो कानमा झ्याउँकिरी झै कराइरहेका छन्। “बन्द गर यो झ्याउँ झ्याउँ” म चिच्याएँ। म फेरि एक पटक रोएँ आफ्नो दोस्रो मृत्युमा। जसलाई लाखौं फूल फुलाउने बसन्त भन्ने सोचेको थिएँ ऊ त शिशिरझैँ रित्तो रहेछ । फेरि उस्को हँसिलो अनुहार सम्झेँ। “कसरी हाँस्न सक्छ ऊ मलाई मारेर?” मलाई रिस उठ्यो। त्यो अनुहार चिथोरीदिन मन लाग्यो। “किन उस्ले अरुसँग बिहे गर्न सक्छ मसँग मात्र सक्दैन वा गर्न चाहँदैन?” बेश्याहरू अपवित्र हुन्छन् अरे सभ्य समाजमा। त्यसो भए किन ऊ उस्को समाजबाट मेरो समाजमा आयो त ? मैले त बोलाएको थिइँन। मसँग रात बिताएर ऊ किन अपवित्र भएन वा म पवित्र भइँन। किन ऊ ऊ नै भइरह्यो म म नै रहेँ। त्यो कमलमा म हिलै हिलो खन्याउन चाहन्छु। म उस्लाई आफू जस्तै बनाउन चाहन्छु।
***
कमलले साँच्चै भनेको रहेछ। त्यस रात पछी ऊ आएन। मेरोलागी उस्को प्रतिक्षा गर्नुको कुनै औचित्य पनि थिएन। म फेरि ती अनेक थरी मान्छेहरूको भीडमा होमीएँ। शायद यसैलाई भन्छन् बाँच्नको लागि सङ्घर्ष। ऐनाको उतापट्टिको आकृतिले सोध्यो “तँ फेरि बाँचिस्?” एक चड्कन लगाइदिन मन लाग्यो त्यो आकृतिलाई। ती अनेक थरी मान्छेहरूले चिथोर्दा, थिच्दा, घोपट्याउँदा मलाई न कतै दुख्छ न मज्जा नै आउँछ भने कसरी त्यस्ले म जीवित भएको शंका गर्न सक्छे?
***
आज पल्लो घरकी बिमलीलाई भेटें। बजारको भीमेले ल्याएर बेचेछ यसै गल्लीको एउटा कोठीमा । मलाई देखेर “तँपाइ चमेली दिदी होइन?” भनेर सोधी। मैले पनि उस्लाई एकै चोटीमा ठम्याउन सकिँन। हामीले पोतेका लाली, पाउडर र गाजलले आफ्नो अनुहार आफैँले नचिन्ने बनाइदीएको थियो। “हो तर तिमी…?” मेरो प्रश्न नटुङ्गीदै उस्ले भनी “म पल्लो घरकी बिमली के त, दर्शेको बहिनी।” “ए हो त नि। कसरी आइपुगिस तँ यहाँ?” म चिन्तित भए। मेरो प्रश्नले ऊ भक्कानिएर रुन थाली। निक्कै बेर रोइ ऊ मैले थुमथुम्याइ रहेँ।”काम लगाइदिन्छु, चमेलीले झैँ धेरै पैसा कमाउलिस् भन्यो भीमेले। घरका मान्छेले पनि जा जा भने। उसैको भर गरेर आएकी, मोरोले नर्कमा जाकेर गएछ।” उस्ले सुक्क सुक्क गर्दै भनी। उस्का आँसुले ती भद्दा गाजल केही पखालीए। मलाई ऊ अघि देखेकी भन्दा अलिक राम्री लाग्यो। ” कसरी बाँच्छौ दिदी तिमी यहाँ?’ उस्ले सोधी। म अलमल्ल परें। न म उस्लाई यहाँ बाँच्ने मन्त्र दिन सक्थें न त पटक पटक मरेको यथार्थ बताउन सक्थें। म मौन रहें। एकछिन है भन्दै ऊ फुत्त भित्र छिरी। हात मा एउटा पट्याएको कागजको पाना लिएर निस्की। “यसोधीले दिदीलाई भेट्यौ भने यो चिट्ठी दिनु है भनेकी थिई। लाऊ दिदी तिम्रो चिट्ठी। उस्ले चिट्ठी मतिर तेर्स्याइ। ” केही पर्यो भने मकहाँ आउनु है” भन्दै चिट्ठी च्यापेर म आफ्नो बाटो लागें।
***
प्यारी दिदीतिमी यहाँबाट गएकी पनि ३ बर्ष भयो। कस्ती भेयौ होला? म पनि ठूली भएँ अब त। घरधन्दा सबै म नै भ्याउँछु। बा आमालाई बेसीमा खेत किनेदेखी भ्याई नभ्याई छ। दिदी अब त हाम्रो घरमा पनि टिनको छानो छ । तिमो परिश्रमले हामीलाई अब दुई छाक चामलको भात खान दु:ख छैन। साँहिली र काँहिलीलाई पनि बाले स्कूल भर्ना गरिदिएका छन्। हामी सार्है खुशी छौं दिदी। तिमी पनि त त्यता सर्हैं रमाएकी छौ जस्तो छ। त्यसैले त फर्किएर एक चोटी पनि आएकी छैनौ। तिमीलाई हाम्रो याद आउँदैन?तिम्री साथी सीताको पनि बिहे भयो अस्ती। तिमी यहाँ भएकी भए बाले तिम्रो पनि बिहे गरिदिन्थे होला। कस्ती राम्री देखिन्थौ होला तिमी सिन्दूर, पोते लगाउँदा। घरमा मेरो बिहेको कुरो गर्छन् तर मलाई तिम्रो बिहे हेर्ने असाध्यै रहर छ। हामीले नदेख्ने गरी उतै बिहे नगर है। अर्जुनले सधैं सोध्छ ” तिम्री दिदिले केही खबर गरिन” भनेर। तर सधैं “छैन” भन्नु पर्छ। निराश भए झैं लाग्छ ऊ। मैले भनेको लाग्ने भए तिम्रो बिहे अर्जुन सँग गरिदिन्थें। तिमीलाई अर्जुन मन पर्छ?आमाले तिमीलाई सधैं सम्झिन्छिन्। घरमा तिम्रो कुरा चल्यो भने बा केही बोलदैनन किन को कुन्नी। तिम्रो खसी पनि बाले पोहोरको दसैंमा खड्कादाइलाई बेचिदीए। मैले दिदी आएर रिसाउँछिन् भनेर कत्ति अड्डी गरें तर बा मानेनन्। मैले दुइवटा पाठाहरू पालेकी छु। तिमी आएपछी एउटा तिमीलाई दिन्छु भनेर। घास दाउरा जाँदा, मेला पात जाँदा तिम्रो याद सार्है आउँछ दिदी। यसपाली दशैँमा त आऊ है। अब त धादिङ बेशीबाट गाउँसम्म बस पनि चल्न थालेको छ। हिंड्नु पनि पर्दैन। आऊ है दिदी। उही तिमीलाई सधैं सम्झीरहने बहिनी यसोधा
***
मैले त्यो चिट्ठी पटक पटक पढें। ठुली भएँ भन्छे यसोधी तर मैले चिट्ठी भरि उस्को अबोधपन भन्दा पर केही पाइन। उस्लाई संसार कति कुरुप छ भन्ने कुराको सुइँको समेत छैन। स-साना कुराहरूमा कत्ति खुसी छे ऊ। तर मैले भने बेशीको खेत, टिनको छानो अनि चामलको भातमा कुन खुशी लुकेको हुन्छ भन्ने पत्तै लगाउन सकिन। तँलाई के थाहा म यहाँ कति रमाएकी छु भनेर। म यति रमाएकी छु कि म को हो भन्ने नै बिर्सिसके। अँह मलाई तिमीहरूको याद आउँदैन । आफ्नै याद आउँदैन भने तिमीहरूको के आओस्?बहिनी तँलाई के थाहा बाले यहाँ ल्याएर मेरो बिहे हजारौं मान्छेहरूसँग गरिदीएको कुरा। ती मान्छेहरूसँग सिन्दूर, पोते हुँदैन त्यसैले कागजका नोट थमाएर जान्छन् । तँलाई के थाहा मेरो सिन्दूर, पोते किन्ने पैसाले टिनको छानो हालेको, बेशीको खेत किनेको कुरा। के थाहा तँलाई। मेरो बिहे हेर्ने हिम्मत नै गरिस् भने पनि तँलाई भ्याइ नभ्याइ हुनेछ। उस्तै मौका परे म दिनमा ३,४ चोटी सम्म बिहे गर्छु। आमाले सम्झीरहन्छिन् रे मलाई। अहिले सम्झिनु नै थियो भने किन तिमीले मलाई बासँग पठायौ त आमा? म पिडाले छट्पट्टीदा कति चोटी “आमा आमा” भनेर कराएँ। खै त तिमीले एक चोटी पनि सुनिनौ। बाले मेरो खसी बेचेर के भयो र यसोधी ? त्यो खसी बेच्नु भन्दा अगाडि उन्ले मेरो नारित्व बेचिदिएका थिए। बहिनी के तैले २ वटा नारित्व पालेकी छस् ? म केहीगरी यो दसैंमा आइ हालें भनें के तँ मलाई एउटा दिन सक्छेस् ?
***
मरुभूमिमा चलेको बतासले झैं यसोधिको चिठ्ठीले समयको बालुवाले छोपेका अनुहारहरू सबै उदाङ्गो पारिदियो। अर्जुन को स्मृतिलाई त झन् मैले ह्यकुलाले थिचेर राखेको थिए। त्यही निसास्सिएर मर्यो होला भन्ने सोचेको त त्यो पनि सल्बलाउन थालेको छ। अर्जुन र म एक अर्कालाई माया गर्छौ भन्ने कुरा मलाई धेरै पछी मात्र आभास भयो। धेरै बोलदैन थियो ऊ। उस्का आँखाका भाका बुझ्न मलाई धेरै समय लाग्यो। एक दिन म घाँस काट्दै थिए, ऊ नजिकै आएर भन्यो “चमेली म इन्डियाको गोर्खा रेजिमेन्ट्मा छानिएँ। तँ मसँग बिहे गर्छेस्?” म अवाक भए। ती दुईवटा वाक्यहरू बिच कस्तो तालमेल नमिलेको जस्तो लाग्यो। म नबोलेको देखेर धेरै अगाडि पुगेंछु जस्तो लागेछ कि के हो फेरि सोध्यो “तँ मलाई माया गर्छेस्?” म लाजले भुतुक्क भए, भुइँतिर मात्र हेरिरहे। शायद उस्ले मेरा लाजाएका आँखामा सहमति देख्यो अनि फेरि सोध्यो “मसँग बिहे गर्छेस्?’ मैले सुस्तरी “बसँग कुरा गर्नुपर्छ ” भने। उस्ले फेरि भन्यो “म पर्सी बिहानै यहाँबाट जानु पर्छ, छ महिना पछी आउँछु त्यती बेला तेरो बासँग मागेर बिहे गर्छु, तँ मलाई पर्खिराख है”। मैले “हुन्छ” मा टाउको हल्लाएँ तर मलाई के थाहा त्यो छ महिनामा हाम्रो संसारमा प्रलय जान्छ भनेर। मैले उस्लाई ३ महिन पनि कुर्न पाइँन। अर्जुनले त्यो भनेको भोलिपल्ट हाम्रो भेट फेरि जंगलनेरीको चौतारोमा भयो। म फेरि लजाएँ। उस्ले मलाई उस्को नजिकै बस्न भन्यो। म डरले काम्दै उस्को नजिक बसें। पर पुरुषसँगको त्यो पहिलो निकटता मलाई त्राशमय लाग्यो। उस्ले मेरो हात समाउँदा खै कुन तरङ दौडियो मेरो जिउमा मुर्छीत भएँ झैं लाग्यो। जब होस आयो आफुलाई उस्को अंगालोमा पाएँ। सर्है न्यानो थियो त्यो अंगालो। “तँ जा अब ढिलो होला” केहीबेर पछी उस्ले भन्यो। उस्का आँखामा आँसुहरू टल्पलाई रहेका थिए मानौँ उस्लाई थाहा थियो त्यो हाम्रो अन्तिम मिलन हो भनेर। तर अबोध म बिछोडको पिडा कस्तो हुन्छ भन्ने कल्पना समेत गर्न जानेको जानेकी थिइन।
***
मलाई कैलेकाँही असाध्य जाडो हुन्छ। ती अनेक थरी मान्छेहरूका चीसा अंगालोमा कठाङ्रिएर मर्छु जस्तो लाग्छ। सिरकमा गुटुमुटु पर्छु अनि, अर्जुनको अंगालोको न्यनोपन पाउन। तर त्यो त एउटा मृगतृष्णा मात्रा हो। शायद त्यही न्यनोपनको तिर्खा मेटाउन म कमलको पछी दौडीएको थिएँ। अर्जुन र कमल, कमल जस्ले मेरो शरीरका हरेक अङ्ग छोएर पनि कहिलै मेरो मन देखेन अनि अर्जुन जस्ले मेरो मनको कुना कुना छोएर पनि कहिल्यै शारीरिक तृप्ति पाएन । आखिर दुबै परिस्थितिमा हार मेरै थियो । कस्तो हुँदो हो कुनै पुरुषसँगको मानसिक र शारीरिक मिलन, एकैसाथ?
***
आजको रात सार्है लामो लागिरहेको छ। उफ्!! कहिले बिहान हुने हो? पुनमका शब्दहरू ओछ्यानभरि काँडा भएर छरिएछन् । पुनम यसै कोठीकी अर्की केटी। उमेर पनि मेरो जत्तिकै हुँदो हो तर ऊ यही कोठीमा जन्मिएकी अरे । पछी आमाले छोडेर कता गइ थाहा छैन भन्थी। एक, दुई महिना देखी साह्रै शिथिल देख्थें उस्लाई। कत्ति चोटि डक्कटरलाई जँचाउन जा भन्थें, मान्दै मान्दिनथी। आज साँझ एक्कासी मेरो कोठामा आएर रुन थाली। म छक्क परें। “के भयो, किन रोए कि?” मैले सोधें। “म अब धेरै बाँच्दिन चमेली” उस्ले बरबर आँसु झार्दै भनी। के भएछ यस्लाई एक्कासी भन्ठानेर फेरि सोधें ” किन त्यसो भनेकि?” उस्ले रुन्छे स्वरमा भनी “म हिजो डक्कटरलाई देखाउन गएको थिएँ। रगत जाँचेको रिपोर्ट आज आउँछ भनेर फेरि आज बोलाएको थियो। आज गएको त मलाई एड्स लागेको छ भन्यो। यो रोगको त औषधी नै हुँदैन अरे। ” मन खङ्रङ भयो। उस्ले फेरि भनी “तँ पनि गएर रगत जँचाइ हाल चमेली।” मैले उस्का अरु केही कुरा सुनिन। केवल उस्का आँखाबाट झरेका आँसुहरू हेरिरहें। भगवान पनि कत्ती निष्ठुरी रहेछ। के गल्ती थियो र पुनम को यो कोठीमा जन्मिनुमा। अनि के गल्ती थियो र मेरो त्यो बिकट गाउँको गरीबिमा जन्मिनुमा। पूर्वजन्मको सजाँय हो भने किन त्यही जन्ममा दिएनौ त? यो पूर्वजन्मको खेल भनेर हामी निरिह मान्छेहरूलाई झुक्याउने भगवानहरूको आफ्नो कमजोरी लुकाउने उपाय मात्र हो।
***
मेरो रगत जाँचेको रिपोर्ट आज आयो। मलाई एड्स लागेको रहेनछ। त्यो थाहा पाएर मनमा फेरि एक चोटि ईच्छा र चाहनाहरूको फिलुङ्गो उठ्यो। त्यो कोठीमा आज नफर्किएर कतै भागौँ जस्तो लाग्यो। आकाशको चरी झैँ उन्मुक्त भएर उडौँ जस्तो लाग्यो। यसो ब्याग मा हेरें कति पैसा छ भनेर। १३५ रुपौयाँ रहेछ। हुन त मलाई पैसाको के दु:ख भयो र? म त एउटा जीवित चेक हुँ। आवश्यक्ता परेको खण्डमा आफुलाई जति बेला पनि भजाउन सक्छु। अर्को मनले भन्यो त्यसरी आफुलाई भँजाउने हो भने भागनुनै किन पर्यो र? फेरि मन उत्तेजित भयो कहाँ जाऊँ , कता भागौँ? अर्जुनलाई यहीँ कतै बाटोमा टुप्लुक्क भेटे पनि हुन्थ्यो झैँ भयो। भीड मा यताउती आँखा दौडाएर उस्लाई भेट्ने असफल प्रयास गरें। घर जान मन लाग्यो। आमको काखमा धीत मरुन्जेल रुन मन लाग्यो। यसोधीले दशैमा बोलएको सम्झें । अनि बालाई सम्झें। अगाडि बढीरहेका मेरा पाइलाहरू टक्क रोकिए। घर जान मन लागेन। यो समाजले कलंकीत बनाएको मेरो अस्तित्वलाई म आँफै पखाल्ने छु। मनमा अचम्मको साहस पलायो।म हतार हतार रेल स्टेसन तिर लागें एउटा सुनौलो यात्राको लागि।

(समाप्त)

(स्रोत : Mero Dolakha )

About Sahitya - sangrahalaya

We will try to publish as much literary work of different authors collected from different sources. All of these work is not used for our profit . All the creative work belongs to their respective authors and publication. If requested by the user we will promptly remove the article from the website.
This entry was posted in नेपाली कथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.