आफ्नै आँखाअगाडि थुप्रिएको भग्नावशेष देखेर पनि दिलमायालाई विश्वास लागिरहेको थिएन, अब यहाँ घर होइन, केवल तिनका भग्नावशेष मात्र छन् भनेर। केहीअघिसम्म यहाँ गुजुमुज्ज परेका घरैघर थिए। विद्यालय जान हतारिएका नानीहरूको हल्लाखल्ला, प्रेसरकुकरको सिट्ठी र काममा जानेहरूको खलबलले यस बस्तीको जीवन्तताको परचिय दिइरहेको थियो। तर, अहिले केही क्षणमै…अहिले…
शून्य..केवल शून्य…मात्र मौनता…मौनताभित्र पीडा, अन्योलपूर्ण भविष्य र घरहरूको भग्नावशेषसँगै केवल समाधानहीन समस्याहरू मात्र…समस्याहरू मात्र…।
दिलमायालाई थाहा छ, ११ वर्षअघि यो खोला किनारमा झुप्रो हालेर बस्न आउँदा ऊजस्तै अरू पनि १५/१६ परिवार यहाँ थिए। तर, त्यस्ता परिवारको संख्या दिनदिनै थपिने क्रममा आजको दिनसम्ममा आइपुग्दा तीन सय नाघिसकेको थियो। हेर्दाहेर्दै खोला किनार विपन्न परिवारहरूले भरनि थाल्यो। घरको नाममा सबै परिवारको झुप्रो मात्र थियो। पानीको अभाव, शौचालयको अभाव, विद्यालयको अभाव आदि अभावहरूको महानगरमा आयस्र्रोतको चरम अभाव खेपेर दिलमायाको परिवार काठमाडौँको अत्यधिक मह ँगीमा येनकेन प्रकारेण बाँच्ने प्रयत्न गररिहेको थियो। दुई साना छोरीहरू डोर्याएर दिलमाया राजधानीका हुनेखानेहरूका घरघरमा गएर भाँडा माझ्थिन्, लुगा धुन्थिन्। दिलमायाका नानीहरूले थोरै मात्र हल्लाखल्ला गरे पनि साहुनीहरूबाट दुर्वचन दिलमायाले सुन्नुपथ्र्यो। दिनभरि साहूहरूको भारी बोकेर साँझमा घर फर्किंदा थकानले चूर भएर दुई छोरीहरू डोर्याउँदै दिलमाया पनि घर आइपुग्थिन्।
दम दिने स्टोभमा छड्किरहेको भातलाई टुकीको उज्यालोमा नानीहरूले बडो आशा र उत्सुकताका साथ हेररिहेका थिए। तरकारी काट्दै दिलमायाले सुकमानलाई सुनाइन्, ‘बुकीको बा, हाँरो टोलाँ नि इस्कुल खुल्ने हल्ला छ नि !’
‘तेसो भे त राम्रै हुन्थो नि ! इस्कुलाँ हाँरा भुराले नि साउँअच्छेर चिन्न पाउँथे कि?’
विद्यालय खुल्ने आशा र उत्सुकताामा दिलमाया र सुकमानले जिन्दगीमा आफूहरूले कहिल्यै नदेखेका सपनाहरू विपना बनेर फुल्न तम्तयार थिए।
भात खाइसकेपछि बुकी र सुनाखरीबिना छानोको ओछ्यानमा लुटुक्क निदाए। तर, दिलमाया र सकुमानको आँखामा निदरी थिएन। त्यही बेला सिमसिम पानी पर्न थाल्यो। टाँड पारेर प्लास्टिक ओढाएर नानीहरूलाई पानीबाट जोगाए तापनि जोईपोइचाहिँ रातभरि दर्के झरीमा रुझिरहे। किनभने, ओतिनका लागि भएको एउटा झाप्रो पनि बिहान मात्रै डोजरले भत्काइदिएपछि दिलमाया र सुकमानका लागि अँधेरी रातमा रातभरि रुझ्नुको विकल्प थिएन। हुन त सपनाको राजधानी काठमाडौँ छिर्नुअघि दिलमाया र सुकमानका कुनै ठूला सपना थिएनन्, योजना थिएनन्, महत्त्वाकांक्षा पनि थिएनन्। थियो भने दुई जनाबीचको केवल पे्रम थियो, स्नेह थियो र आत्मीयता मात्र थियो। त्यसैको आडभरोसामा अभाव र गरिबीलाई मिहिनेतले नै जित्ने आँट बोकेर राजधानी छिरेपछिको जीवन उनीहरूका लागि आर्थिक दृष्टिले कहिल्यै सहज हुन सकेन। दस नङ्ग्रा खियाएर कमाएको पैसाले उनीहरूलाई खान नै धौ धौ हुन्थ्यो। त्यसैले उनीहरूले भाडा तिरेर डेरामा बस्ने आँट र कल्पनासमेत गर्न सकेनन्। सुकुमबासी बस्तीभित्र ठडिएको यही झुप्रोमा बुकी र सुनाखरीले यो धर्तीलाई स्पर्श गरे, घामको न्यानो अनुभूति गरे। दु:ख, पीडा र अभावको सगरमाथा ठडिएर जीवनको गति रोकिएला कि भनेजस्तो गरी सकस हुँदा पनि अभावमा नआत्तिईकन-नरोईकन दिलमायाको परिवारको चार जीवन जसोतसो घसि्ररह्यो। उनीहरूको जीवनमा अभाव कहिले खाली भाँडा भएर दुखिरह्यो, अभाव कहिले च्यातिएको धरो भएर दुखिरह्यो। जीवन जताबाट दुखे पनि सुकमान दम्पतीले त्यसलाई हाँसीहाँसी स्वीकार गररिह्यो। परश्रिमबाट कहिल्यै मुख नमोड्ने उनीहरूलाई लोभ थिएन, लालच थिएन, स्वार्थ थिएन, बरू थियो त श्रमप्रति आस्था र स्वाभिमानप्रति अगाध स्नेह, अपनत्व अनि अपार श्रद्धाभाव।
दिलमायालाई टड्कारै सम्झना छ, देशका ठूला नेताहरू भोट माग्न हात जोड्दै यही सुकुमबासी बस्तीमा पटकपटक आएको, सुकुमबासी बस्तीका धु्रस्रेफुसे र सिंगाने नानीहरूलाई देखावटी माया गर्दै काखमा बोकेर चकलेट बाँडेर चेपारे माया गरेको। चुनाव जितेपछि यस ठाउँमा खानेपानी, बाटो, स्वास्थ्यचौकी, पाठशाला, शौचालयजस्ता न्यूनतम अत्यावश्यकता पूर्ति गरिदिने वचन दिएर गएका नेताहरूको हँसिलो अनुहार चुनाव जितेपछि दिलमायाले आजसम्म देखेकी छैन। अरूले देखे/देखेनन् दिलमायालाई थाहा छैन। तर, जीवनका लागि नभई नहुने न्यूनतम आवश्यकताको पूर्ति नहुँदा सुकुमबासी बस्तीका मानिसहरूले भोग्नुपरेको पीडा सम्झिँदा पनि दिलमायालाई कहाली लाग्छ। तैपनि, दिलमायाको परिवारले जीवनसंग हार मानेको छैन, हार खाएको छैन।
अघिल्लो वर्षायाम सुरु हुनुभन्दा अघि मात्रै दिलमायाले घरखर्चबाट बडो कठिनका साथ जोगाएर राखेको नौ सय रुपियाँको त्रिपाल र बाँस किनेर जोईपोइले झुप्रोको मर्मत गरेका थिए। त्यति गरसिक्दा बल्ल वर्षाको पानीबाट ओतिन सकियो भन्ने सन्तोषको लामो सास फेरेका थिए उनीहरूले। तर, जिन्दगीमा जताततै अभाव र समस्याको पहाडले थिचिरहँदा सुख भन्ने बस्तु कस्तो हुन्छ भनेर सुकमान र दिलमायालाई कहिल्यै थाहा भएन। सन्तोषको छोटो सास फेर्दा नफेर्दै र आँखामा एक अँगालो निद्रा हुँदै कालझै भयंकर गर्जना गर्दै दिलमाया दम्पतीको आफ्नो भन्ने त्यही झुप्रो पनि भत्काउन आइपुग्यो, सरकारी डोजर।
निद्रा कचल्टिएर रातो भएको आँखाले सुकुमबासी बस्तीको भग्नावशेषलाई हेररिहिन् दिलमायाले। दिलमायाको नि:स्वार्थ र सोझो मनमा काँढा बिझेझै भयो र दुई आँखाका डिलबाट दुई थोपा आँसु दुई गालातिर बहेर गए।
‘भो, किन रुन्छेस्? सर्खारले अन्यत्र बास दिन्छु भनेकै छ, देलान् नि ! सारै अन्नेइ त नगर्लान् है हामी गरपि मुन्छेलाई।’ सुर्ती माँडेर फाँको मार्द्रै सुकमानले भन्यो।
‘आश त छ नि ! तर, सधैँ ढाँट्ने नेतारूको कसरी भर पर्नु, बुकीका बा ! कैले कता बास दिन्छु भन्चन्, कैले कता बास दिन्छु भन्चन्। तर, खै देका छैनन्। निमुखारूलाई माया अर्ने सर्खार भन्या यै हो त?’ मैलो मजेत्रोले आँसु पुछ्दै दिलमायाले भनिन्। घाम आँखामै आइपुग्दा बस्तीमा खल्याङमल्याङ सुरु भयो। मानिसहरूको खल्याङमल्याङसँगै नेताका विश्वासपात्रहरू र सरकारी मान्छे चढेको गाडी बस्तीबीचमा आएर रोकियो। गाडीबाट ठूलाबडा मान्छेहरू जर्याकजुरुक ओर्लिए।
‘तपाईंहरू आत्तिनु पर्दैन। तपाईंहरूलाई सरकारले सुन्दरीघाटमा बस्ने व्यवस्था मिलाइसकेको छ।’ सुकुमबासी बस्तीका मानिसहरूलाई आश्वासन दिएर सरकारी मान्छेहरू चढेको गाडीले धूलो उडाउँदै बस्ती छाड्यो। मानिसहरूको मनमा जागेको थोरै आशालाई उडिरहेको धूलोले जित्ने पो हो कि हो कि भइरह्यो। आशा र आशंकाको बीचमा झुलिरहेका मानिसहरूले समाचारमा पढे, ‘सुकुमबासीहरूलाई सरकारका तर्फबाट इचंगुमा घर बनाएर व्यवस्थित बसोवास गराइनेछ।’ हिजो मात्र डोजरले भत्काएर भग्नावशेष भएको घर र समाचारका अक्षरहरूमा विश्वास खोज्दै सुकुमबासी बस्तीका बासिन्दाहरूमाझ सुकमान र दिलमाया पनि टोलाइरहे। पत्रिकाले लेखेको समाचारमा आफ्नो भविष्य खोजिरहे।
सुन्दरीघाटका स्थानीय बासिन्दाको चर्को विरोधका कारण सुकुमबासीहरूलाई त्यहाँ व्यवस्थित गर्ने काम हुन सकेन भने डालीगाउँमा पनि त्यस्तै परिस्थिति सिर्जना भएपछि सरकारी निर्णयले मूर्तरूप लिनै सकेन। परिणामस्वरूप वर्षायाममा छानोविहीन भएका सुकुमबासी बस्तीका मानिसहरू रातोदिन झरीमा रुझ्नुपर्दा कतिपय ज्वरोले थला परेका थिए। कतिपय धूलो, धूवाँले गर्दा र स्वच्छ पानीको अभावमा झाडाबान्ता र श्वासप्रश्वासको समस्याले ग्रस्त भएका थिए। तैपनि, सरकार कानमा तेल हालेर बसेको थियो। यस्तो बेलामा केही सामाजिक संघसंस्थाले तत्परता देखाएकाले पीडितहरूले थोरै भए पनि राहत पाइरहेका थिए। घर भत्किएपछि सबैका नानीहरू फुर्सदिला भएका थिए। किनभने, बस्तीमाझको एउटै मात्र प्राविलाई पनि डोजरले किचिमिची पारिदिएको थियो। विद्यालयको अस्तित्व यहीँ थियो भनेर भग्नावशेषबाट आधा मात्र देखिएको विद्यालयको बोर्डले वास्तविकता भनिरहेझै लाग्थ्यो। खुला आकाशमुनि ओढ्ने, ओछ्याउने र पकाउने भाँडाकुँडा त्यसै असरल्ल छाडेर काममा जान पनि उनीहरूलाई अप्ठ्यारो भइरहेको थियो। कामबाट फर्किंदा त्यही सामान पनि भएन भने फेरि अर्को बिचल्ली आइपर्ने सम्झेर घरको भग्नावशेष कुर्नमै अरू मानिसझै सुकमान र दिलमाया पनि व्यस्त थिए, बाध्य थिए।
बुकी ज्वरोले तंगि्रदा नतंगि्रदै सुनाखरीलाई पनि ज्वरोले थला पार्यो। दिलमाया काममा नगएको पनि १५ दिनजति भइसकेको थियो। एक्लो सुकमानको आम्दानीले मात्र परिवारको खर्च के थेग्थ्यो र? दिउँसो कुनै संस्थाबाट आएका स्वास्थ्यकर्मीको पाउमा शिर राख्दै दिलमाया भक्कानिइन्, “डागदर बाबु ! करजोरी विनीत छ, मेरी सुनाखरीलाई बचाउनूस्।” दिलमायाको अनुनयविनयले पग्लिएका हुन् वा सेवाभावले हो, ती डाक्टरले सुनाखरीको स्वास्थ्य परीक्षण गरसिकेपछि तीन-चारथरी औषधी दिए र खाने तरिका पनि सिकाइदिए। उता सुकमानलाई अचेल कामधन्दाभन्दा पनि बढी बासको व्यवस्थाको पिरलो थियो। जताजता समूहहरूको खासखुस वा भेला भइरहेको हुन्छ, ऊ त्यतात्यता नै कुदिरहेको हुन्छ। अरूले बोलेको कुरा ध्यानपूर्वक सुनिरहन्छ। अरूले पढिसकेर छाडेको पत्रिकामा ऊ सुकुमबासीहरूका बारेमा लेखिएको कुरा ध्यानपूर्वक पढ्छ। दिनदिनै हुने भेलामा मानिसहरूले बोलेको देख्दा उसलाई पनि आफ्नो मनको पीर र छटपटी सबैसामु यसरी नै पोखूँपोखूँ लाग्छ । तर, उसले त्यसो गरहिाल्ने आँट पनि गर्न सक्दैन।
‘यो ठाउँ छाडेर जानेलाई सर्खारले पैसा दिन्छ रे नि, हो?’ दिलमायाले सुकमानलाई भात थपिदिँदै सोधिन्।
‘दिए पनि औलेको महँगीमा त्यो जाबो दुई-चार हजार लेर काँ जानु? तेल्ले के गर्नु?’ दिलमायाको कुरा सुनेर निकै बेर गम खाएपछि चुठ्न उठ्दै गर्दा सुकमानलै भन्यो। उसले दिलमायालाई जवाफ दिए तापनि उसको जवाफमा समस्याको मूल जड भएको प्रश्नको भारी थियो। यो अनुभूति दुवै बूढाबूढीलाई भइरहेको थियो।
‘हेर दिलु, यो सर्खारले हाँरो लागि केइ गर्दैन। हाँरो लागि हामी आफैँले केइ गर्नुपर्छ।’ दह्रो स्वरमा सुकमानले भन्यो।
‘हन, के भन्छौ, मैले त केइ बुझिनँ नि, बुकीको बा !’ दिलमायाको मुहारमा आश्चर्य र अन्योलको छायाँ गाढा थियो।
‘यी नेतारूले भोट चाइँदा मात्र हाँरो अगाडि हात जोड्दा रचन्। तर, हामीलाई गारोसारो पर्दा सिंदर्बारमा बसेर गफ मात्र गर्दा रचन्, केइ गर्दा रैनचन्। तेसैले हाँरो हक र अधिकारका लागि अब जुलुस निकाल्ने, धर्नामा बस्ने र आन्दोलन गर्नुपर्च भन्दैचन् सबै जना। खोलाकिनारमा पनि बस्न नपाएची अब आन्दोलनबाहेक अर्को उपाय छैन भन्चन्। सप्पै नबुजे पनि टोलको अगुवाहरूले भनेको ठीकै हो जस्तो लाग्छ मलाई त। तेसैले तँ र नानीरूले पनि भात छिटो खाओ। नानीरू लेरै जुलुसाँ जानुपर्च। भको एउटा झुप्रो नि सर्खारले नै भत्काइदेपचि घर न थरका मुन्छे हामीलाई मर्नदेखि केको डर?’
‘हन तेसो अर्ने हो र बुकीको बा ! लौ न मलाई त डर पो लाग्न थालो। लौ न नि कसो अर्ने हो?’ दिलमाया आत्तिइन्।
‘मसक्क आँटेर तेसै अर्ने हो।’ मैलो टोपी टक्टक्याएर शिरमा लाउँदै सुकमानले भन्यो।
‘भोकै र अनिँदै भ’र मर्नुभन्दा आफ्नो हक र अधिकारका लागि आन्दोलनमा होमिएरै मर्नु जाति भनेको मलाई त ठीकै हो भन्ने लागो।’ सुकमानले भनेको दिलमायाले केही बुझिन्, केही बुझिनन् र ट्वाल्ल परेर सुकमान गएतिर निर्निमेष हेररिहेपछि झट्ट केही सम्झिएझै हतारहतार जुठा भाँडा माझिन् र त्रिपालले लुगाफाटा छोपछाप गरसिकेपछि नानीहरूलाई डोर्याउँदै उनी पनि जुलुसमा जान लमकलमक लम्किँदै अगाडि बढिन् ।
(स्रोत : नेपाल साप्ताहित अंक: ६०२)