हर्के समाजका ठूलो महत्वकांक्षा बोकेर हुर्कदै गरेको युवा हो । उ अरुभन्दा भिन्न देखिन चाहन्छ । त्यसको लागि उ छल, कपट, खर्च अनेक गर्न सक्छ । यसको एकमात्र उद्देश्य समाजमा स्थापित हुने हो ।
सानातिना मानिसलाई हतपत हर्केले गन्दैन । ठूला नेता, मन्त्री र विभिन्न कार्यालयका हाकिम साबहरुसँगको संगत
चाहान्छ हर्के । यो उसको नानीदेखि लागेको बानी हो ।
गोरखाको बिकट गाउँमा जन्मेर प्राथामिक शिक्षा उतैको विद्यालयमा पाएको हर्के अहिले काठमाडौंमा बस्छ । काठमाडौं आएदेखि प्रायः एक्लै बसेको हर्के आजकाल एक्लो छैन । उसले अघिल्लो महिना मात्रै विहे गरेको हो । अहिले हर्के आफ्नी श्रीमतीको साथ बस्छ तर उसको आनीबानीमा कुनै परिवर्तन आएको छैन ।
करिव एक महिना अघिको कुरा हो । पञ्चे बाजाको साथमा सयौं जन्तीहरु नाच्दै–गाउँदै बेहुली लिन हतार गर्दै गन्तव्यतिर लम्किरहेका थिए । जन्तीमा स–साना सडकेदेखि सांसद, मन्त्री र पूर्वमन्त्रीलगायत विशिष्ट व्यक्तिहरु समेत सहभागी भएका थिए ।
जन्तीहरुको बीचमा कालो कारमा सजिएको झिल्के ठिटो मख्क परेर आफ्नी बेहुलीको व्यग्र प्रतिक्षामा थियो । कारबाहिर लेखिएको थियो एच प्लस आर । कारमा दुलाहाको भेषमा सजिएको युवा अरु नभएर हर्के नै थियो ।
बिहेमा सहभागी भएका मानिसहरुको ताँतीले प्रस्ट देखाउँथ्यो हर्केमा आफ्नो इज्जतको कति भोको छ भन्ने । सकेसम्म उ सबैमाझ आफू एक प्रतिष्ठित व्यक्ति बन्न चाहान्थ्यो वा देखाउन चाहन्थ्यो । हरप्रयास गरिरहृको थियो यसले आफ्नो व्यक्तित्व ठड्याउनको लागि । तर यसपाली उसको यो कदम सफल भएन । अरुको अगासिड रवाफ देखाउनु पर्ने हर्के यसपाली आफ्नी दुलहीको सामु फेल भएको छ ।
तामधामको साथ बेहुली लिन गएको हर्केको दुलहीको घरमा भव्य स्वागत पनि भयो । केटी माग्नदेखि विहेसम्मै कारमा सरर आएको दुलाहालाई देखेर सबै छक्क परेका थिए । सय जन्तस् सबै भद्रभलाद्मी, नेता, मन्त्री र समाजका प्रतिष्ठित व्यक्तिहरु । कुल घरानाका खानदानी श्रीमान पाएकोमा रेखाको खुट्टा पनि कहाँ ठाउँमा थियो र ?
दुलाहा राजासँग जग्गेमा बस्नै नपाई उसले बाइरोडको बाटोमा चिल्लो कारमा हुँइकिदै गरेको सपना देख्न थालिसकेकी थिई । मनमनै पण्डितलाई तुरुन्त बिहे सक्कियो अब दुलही अन्माउने बेला भो भन्दिए हुन्थ्यो जस्तो गर्दै थिई । बेलाबेलामा टोलाएर जग्गेमा फूल अच्छेता छर्न भूल्नुले त्यो कुरा प्रस्टसँग बताइरहेको थियो । कहिलेकाँही अहिल्यै हिडिहालुँ गरेजस्तो देखाउँथ्यो उसको हाउभाउले ।
रेखा मनमनै कार चढेर हनिमुन मनाउने योजना बुन्दै थिई उता हर्के भने दुलन फर्काउन आउँदा कसको कार माग्ने सोच्दै थियो । त्यतिकैमा जग्गेको काम सकियो ‘दुलाहाले दुलहीलाई सिन्दुर हाल्ने बेला भो…’
बेहुली पक्षले सकेसम्म राम्रो गरेर बिहे सम्पन्न गरे दुलही हर्केको जिम्मा लगाउँदै भने, ‘लौ ज्वाईंसाब छोरी तपाईंको जिम्मा लगाएका छौं पाले पुण्य मारे पाप ।’ बिहे सक्किएपछि दुलाहदुलही बढो सानसहित गाडीमा बसे, ड्राइभरले गाडी बढायो । जन्तीहरु पनि रमाइलो गर्दै पछिपछि लागे । केही समयपछि हर्केको डेरा आइपुग्यो । दुलही भित्र्याउने बेला भयो गाडीबाट र्ओिलएर दुलाहादुलही हर्केको डेरामा रहेकाले उीहरुको भव्य स्वागत गरे, आर्शिवाद दिए । विस्तारै चहलपहल घट्दै गए नजिकका आफन्तहरु घरतिर लागे, त्यहाँको माहोल घट्दै जाँदा रेखा आफ्नो लोग्नेको सम्पन्नता माथि सोच्न बाध्य थिई श्रीमान साँच्चै सम्पन्न हुन या देखावटी । तर, राम्री दुलही पाएकोमा हर्के मख्ख थियो र उता रेखापनि सम्पन्न दुलाहा पाएकोमा दंग परेकी थिई ।
विस्तारै पाहुना घट्दै गए । रात पर्यो । नविवाहित जोडी सुहागरात मनाउनमै व्यस्त बने । रंगीन रातसँगै मिमिर्रे भयो । नयाँ दुलहीलाई कामकाज सक्काएर आफ्नो दुलाहाराजासँग घुम्नजान हतार भएको थियो । खाना खाएर उनीहरु घुम्नजान तयार भए तर रेखाले हिजोको चिल्लो कार वारपर देखिन । अझै यताउता आँखा नचाई तर पनि देखिन यत्तिकैमा श्रीमानले तल बेलाए, ‘रेखा, ए रेखा छिट्टो आउ न ढिलो भयो ।’
‘ए कार आइसकेछ..’ भन्दै रेखा तल झरी तर त्यहाँ सामान्य ट्याक्सी देखेपछि श्रीमानलाई सोधी, ‘खोइत हाम्रो गाडी ?’ हर्केले उल्टो सोध्यो, ‘कुन गाडी हिजोको ?’ रेखाले इसारा गर्दै ‘हो’ भनी । हर्केले फेरी जवाफ दियो, ‘लाटी त्यो त बिहेको गाडी पो हो त’ रेखा झसंग भई, केही बोल्न सकिन, एकछिन अड्डिई र बल्ल हर्केको रवाफ बुझी, विस्तारै ट्याक्सीमा बसी । हर्के र रेखाको संगै मर्ने, संगै बाँचने जीवन चाहिँ त्यहीँ छाडेर ड्राइभरले ट्याक्सी बढायो ।
(स्रोत : Nepalsandesh.com)