तिम्रो ब्रेकफास्ट तयार छ र लन्च पनि । म र्फकन अलि ढिला हुन्छ होला । सिन्तिया आफूलाई बाहिर निस्कनको लागि तयार पार्दै बोल्छे । ठूलो ऐना अघिल्तिर छ ऊ, भर्खर लुगा फेरेर मेकअपतिर लागेकी छ । ओठमा लिपिस्टिकको धर्का कोर्दैछ । ब्रेन्डा बेडमा नै छ । ओड्नेभित्र शरीर छ । अनुहार मात्र निकालेर सिन्तियालाई अघिदेखि हेरिरहिछ ।
उनीहरू यसरी सँगै छन्, केही समय भयो, केही वर्ष नाघिसक्यो,
यसरी एकै एपार्टमेन्टमा भएको । चार वर्ष छ महिना । गएकै राति भनेकी थिई ब्रेन्डाले- ”हामी साढे चार वर्षदेखि सँगै छौँ तर मलाई यस्तो लाग्छ पहिलो जन्मदेखि सँगै थियौँ ।” सँगै बस्ने प्रस्ताव पनि ब्रेन्डाकै थियो ।
पहिलो भेट डायनेष्टिको बेबी सावरमा भएको थियो । सिन्तिया डायनेष्टीको श्रीमान्को साथी थिई, ब्रेन्डा डायनेष्टिकी । यसैले एउटै पार्टीमा पुगेका थिए दुवै- ब्रेन्डा र सिन्तिया ।
-”तिमीलाई यो सबै मन पर्छ ?”
ब्रेन्डाले सोधेकी थिई । सङ्केत बेबी सावरतर्फ । चुरोट पिउन बाहिर निस्केको बेला पहिलो कुरा भएको-”तिम्रो हातमा जस्तो चुरोट कसैको हातमा सुहाएको देखेकी थिइनँ । भगवान् कसम ।” ब्रेन्डाले भनेकी थिई-”तिमीले दाँतको क्लिनिकमा काम गर्छु भनेकी थियौ, होइन ?” सिन्तियाले सोधी ।
”भन्न त म यो तिम्रो चट्ट मिलेको शरीरको लुगा मेरो डिजाइनको पनि त भन्न सक्छु । यी दाँत हेर । ठूलो स्वरमा हाँसी बे्रेन्डा । ब्रेन्डाको दाँत हेरेर भन्न सकिन्थ्यो, चुरोट उसको ज्यादै नजिकको साथी हो ।
अब उनीहरू एकै एपार्टमेन्टमा छन् । सिन्तिया आएपछि ब्रेन्डाको कोठा नै अर्कै भएको छ । सिन्तियाले भनेकी थिई- तर म भने साँच्चै इन्टरनल डेकोरेसनको विद्यार्थी छु नि । अस्तव्यस्त किचन, बेडरुम सबैको रूप फेरिएको छ । ‘टु बेडरुम’ एपार्टमेन्ट भए पनि एउटा बेडरूम खाली रहन्छ । सबैजसो कुरा कमन थियो तर जिब्रोको स्वाद भने फरक । जति रुममा खाना बन्छ, सिन्तियाको हातबाट नै बन्छ । ब्रेन्डा किचन छिरी भने अनौठो गर्छे, नुन राख्नेमा चिनी राख्छे ।
-‘यो के गरेको ?’ सिन्तियाको प्रश्नमा उसको जवाफ-
-‘एक्स्पेरिमेन्ट’
-‘यस्तो पनि हुन्छ ?’
-‘किन नहुनु । चियामा चिनी नै हुनुपर्छ, तरकारीमा नुन नै हुनुपर्छ भन्ने के छ ?’
-‘छ । नत्र कहाँ टेस्ट आउँछ ?’
-‘आउँछ । किन आउँदैन
टेस्ट ? बचपनदेखि तिम्रो जिब्रोलाई त्यस्तै बनाइयो । टेस्ट भनेको जिब्रोको कुरा हो । फरक टेस्टको बानी गर । बूढा-पुर्खाले जे जसो गरे त्यसै गर्नुपर्छ भन्ने कहाँ छ ? उनीहरूले संस्कार, रीतिरिवाजको त दास बनाए नै, यो जिब्रोको टेस्टको समेत दास बनाए । के तिमी मेरो यो कुरा स्वीकार्न तयार छौ ?’
ब्रेन्डा कहिलेकाहीँ बिरालोलाई ए मुसा Û भन्थी र मुसालाई बिरालो अनि एक्लै मरिमरि हाँस्थी । ‘यसलाई बिरालो नाम किन राखेका ? मुसा भनिदिएको भए हुन्थेन । जसले जे भनोस् म यसलाई मुसा भन्छु ।’ बिरालो सुमसुम्याउँदै बोल्थी ।
-‘तिमी जे मन लाग्छ गर । जुत्ता टाउकोमा लाऊ अनि टोपी खुट्टामा, सिन्तियाको जवाफ ।
-‘के टोपीलाई जुत्ता भन्न मिल्दैन ?’
-‘भन, सर्टलाई पाइन्ट भन, पाइन्टलाई सर्ट भन । तिम्रो मर्जीको कुरा हो मर्जी गर । सधैँ यस्तै बहस हुने र लम्बिने डरले सिन्तियाले छोट्याई… ।
अन्तिममा भनी- ”तिमी अप्राकृतिक भने पक्कै हौ ।”
ब्रेन्डा झट्ट उठेर ‘एसी’ बन्द गर्छे ।
-‘ल, तिमी प्राकृतिक मान्छे । गर्मीमा बस! यो एसी चलाएर चिसोमा बस्नु पनि प्राकृतिक -क्लाइमेट)लाई चुनौती दिनु हो ।
-‘यो कुनै प्रश्न भयो ? गर्मी छ त्यसैले शीतल पनि ।’
-‘हो यो प्रकृतिले दिएको गर्मी होइन ? यसलाई हामीले आफू अनुकूल बनाउनु, आफू अनुकूल पार्नु प्राकृतिक हो कि अप्राकृतिक ?’ ब्रेन्डा कड्किन्छे ।
विषय बन्द गर्ने निर्णय भयो । त्यसपछि कहिल्यै यस्ता विषयमा छलफल भएन । ब्रेन्डाले जे गर्छे हेरेर बस्थी, कुनै कमेन्ट गर्दिनथी सिन्तिया ।
झगडा पर्थेन उनीहरूको ।
साना-मसिना कुरामा समेत एक अर्काको अति ख्याल राख्थे उनीहरू ।
कामको समय नमिल्ने हुँदा दिउँसोको खानसँगै खान भ्याउँदैनथे । बिहान अलि ढिलोसम्म सुत्नुपथ्र्यो ब्रेन्डालाई । त्यसैले ब्रेकफास्ट पनि एक्लाएक्लै लिन्थे । साँझको खाना भने सँगै हुन्थ्यो ।
जे जति खाना बन्थ्यो सिन्तियाको हातबाट नै बन्छ । सिन्तियाको काम छ र कलेज पनि । ब्रेन्डाले मात्र विजनेस हेर्ने हो, काम हैन । अहिले सिन्तियासँग गाडी भएको हुँदा अलि सजिलो छ । ब्रेन्डाले आफैँ सिकाएकी हो चलाउन । दुई पटकसम्म नसकेपछि तेस्रोपटक ट्रायलपछि बल्ल पाएको हो लाइसेन्स सिन्तियाले ।
साँझको खानाको लागि उनीहरू टेबलमा छन् ।
ब्रेन्डाको लागि पनि सर्भ गरिरहेकी छ सिन्तिया ।
ब्रेन्डाको आँखा सिन्तियाको औँलामा पर्छन् ।
च्याप्प सिन्तियाको हात समाउँछे ब्रेन्डा ।
हीराको औँठी छ औँलामा ।
सिन्तियाको अनुहार हेर्छे । बिनाआवाज प्रश्न सोध्छे ।
अलि लाज मान्दै ब्रेन्डाको हातबाट आˆनो हात छुटाउँदै ब्रेन्डा यति मात्र बोल्छे- ‘हो ।’
चुपचाप खान्छन् दुवैले ।
राति सिन्तियाले उही सपना देख्छे ।
बिहान ब्रेकफास्ट बनाउँदा ब्रेन्डा पनि उठिसकेकी छ अलि नजिक गएर प्रश्न सोध्छे- ‘को हो त्यो ?’
-‘जोसेफ ।’
-‘मललब, उही ?’
-‘हो ।’ सङ्केतमा टाउको पनि हल्लाउँछे ।
जोसेफ, ब्रेन्डाको बिजनेस पाटर्नर थियो पहिला । अहिले पनि पुराना गाडी सप्लाई गर्छ उसको लागि । यही भएर आउने जाने गर्छ । पहिलो पटक ब्रेन्डाले नै परिचय गराएकी हो जोसेफसँग सिन्तियाको ।
सिन्तिया लन्चबक्स तयार पारेर निस्की, सदाजस्तै । दिउँसो ब्रेन्डा आउने र ऊ र्फकने । यसरी पालो मिलाएका थिए । ब्रेन्डाको विजनेस थियो । कार रिकन्डिसन ।
एक ‘सिˆट’ सिन्तियाले हेर्थी, अर्को ब्रेन्डाले ।
दुई बज्यो, तीन बज्यो, चार पनि बजिसक्यो, अहँ बे्रन्डा आइन पालो दिन ।
फोन, मोबाइलमा रिङ्ग जानासाथ म्यासेज छाड्न भन्छ ।
सिन्तिया एपार्टमेन्ट पुग्छे ।
ब्रेन्डा सुतिरहेकी छ ।
-‘के भयो ?’
-‘चक्कर लाग्यो, सायद ब्लडप्रेसर बढ्यो ।’
-‘डक्टरसँग समय लियौ ।
-‘हो, लिएँ ।’
सिन्तिया छेउमै बसी ।
ब्रेन्डाको स्याहारमा व्यस्त छ ।
डाक्टर एकले अर्को, अर्कोले अर्कोमा रिफर गरिरहेछन् ।
जाँच पड्ताल सबैजसो भयो ।
रोग फेला पार्न सकेनन् ।
ब्रेन्डा दुब्लाउँदै दुब्लाउँदै गएकी छ ।
रातमा अनिद्रा छ ।
सिन्तियाले बिहान सुप बनाएर खुवाई । घडी हेरेर खाना खुवाउँछे तर ब्रेन्डा अझ दुब्लाउँदै गएकी छ ।
क्रिसमसको खुसियाली बढेको कुरा सपिङ कम्प्लेक्समा स्पष्ट देखिन्छ ।
ठूलोठूलो सेल लागेको छ । गिˆट किन्नेको भीड छ ।
सिन्तिया दुई गिˆट किन्छे ।
जोसेफको लागि नीलो धर्के सुट र ब्रेन्डाको लागि सेतो मोती भरेको ‘पार्टी डे्रस ।’
ब्रेन्डाले कहिल्यै यस्तो लगाउन्न । उसको रुचि जिन्सको पाइन्ट र सर्टमा छ । छोटो कपाल, अलिकति रातो पारेकी छ, अघिल्तिर । यो पटक भिन्न उपहार रोजेकी छ सिन्तियाले ।
जोसेफले आकर्षक प्याकिङ गरेको उपहार दिँदै भनेको थियो, सिन्तियालाई, भोलि तिमी यही लाएर आउनु ।
उसले उपहार दराजमा राखेकी थिई सोच्दै- भोलि नै खोल्नेछु ।
सिन्तिया चाहन्थी उसको जोसेफले पनि क्रिसमसको दिन त्यै लुगा लाओस् जुन किनिदिएकी छ ।
तर बिहानसम्म दिन भ्याएकी छैन ।
बिहान उठेर ब्रेन्डाको लागि प्यान केक बनाई । ओ जुस सकिएछ ।
ऊ स्टोर पुगेर फेरि ग्रोसरी ।
मनसँग कुरा गर्दैछ- अब फर्केर गएपछि पहिलो जोसेफलाई उपहार पुर्याउँछु । साँझको पार्टी ऊ त्यही सुट लाएर आउनेछ ।
उसको मनमा नीलो धर्के सुट लाएको जोसेफ उभियो ।
फर्केर आई । निक्कै दङ्ग परी ।
जोसेफ उही सुट लाएर आँखा अघिल्तिर उभिएको छ ।
ऊ खुसी हुँदै बोल्छे- ‘मेरो जोसेफ ? यो कस्तो सरप्राइज ।
पछाडिबाट अँगाल्छे ।
आफूतिर फर्काउँछे ।
एकैचोटि सारा खुसी हराउँछ ।
ऊ चिसिन्छे ।
-‘ब्रेन्डा तिमी!’
अरू शब्द निस्कदैन योबाहेक । सिन्तियाको आँखाले अरू पनि देख्छ कोठामा ।
थप दृश्यसँगै चिसिनेक्रम थपिँदै जान्छ । तापक्रम स्वाट्टै घट्छ जब देख्छे पलङमाथि टुक्राटुक्रा कपडाको थुप्रो जोसेफले दिएको आकर्षक ब्यागमाथिको गुलाफको फूल पत्रपत्र छुट्टएिको । ठम्याइ उसले पक्का जोसेफको उपहार हो त्यो । केही घण्टापछि लगाएर रात्रिभोजमा सामेल हुन । ब्रेन्डा, नीलो धर्के कोट तान्दै, चुरोट र सुर्तीले खियाएको दाँत देखाएर हाँस्छे । सिन्तियाले सम्झन्छे- रातको अनौठो सपना । त्यो ऐठन । औँलाबाट हराएको औँठी ।
ब्यूँझदा लथालिङ्ग लुगा र दुखेको शरीर ।
(स्रोत : मधुपर्क २०६६ बैशाख)