सौरहाको पवमा वसेर रापतीतिर आँखा डुलाउँदै गर्दा आकृतिलाई देखें । ऊ अगाडिको टेवलमा साथीहरुसँग थिइ । रापती नदी पारी लटरम्मै फूलेका झ्याक्सी नियाल्दै जिवजन्तुको उपस्थितितिर आँखा तन्काउँदै लठ्ठ देखिन्थी उ । रापती नदी पार गर्दा हात्तीले धकलेको पानी नदीको किनारमा छकल्किएको हेर्दै थिई सायद । कुनै चिजको पर्वाह नभए झैं बालुवामा लम्पसर परेर घाम तापेका गोही पो हेर्दै थिई कि ! अँगालोमा बेरिएर
लसक्क लसक्क पानीको खोजिमा यदाकदा टुप्लुक्क देखा पर्ने बाघ र बघिनीका रहर लाग्दा जोडीको कल्पनामा डुबेकि थिई की ! आफ्नै जिवनसित तुलना गर्दै ।
बोलाउँ कि नबोलाउँ भएँ म ।
मेरो त्यत्रो मायालाई चटक्कै लत्याएर गइ । अब वोलाउनुको के अर्थ ?
एक मनले भन्यो । अर्को मनले मानेन ।
आफैले आफैलाई बुझाउन कति गाह्रो लाग्छ कहिलेकाहीँ ।
माया मारी । उसको कुरा । अझै माया गर्छु । जीवनभर गर्छु । मेरो कुरा ।
मेरो मायाले उसलाई वांँध्न सकिन र त ऊ म वाट टाढा भई । यो मेरो गल्ती ।
अँगालोमा वाँधेर जीवन नै विताउँला भनेर सपना बुनेकी केटीलाई जीवनभर भएन त सही, केही छिन त भेटौं । मनको तर्कना । मनले बोलाउने निधो गर्यो ।
आकृति
लौ जा त वोलाइदिएँ ।
बोलौ कि भागौं जसो गरी ।
उसका जुनसुकै निर्णय मलाई मान्य थिए । जीवनभरकै लागि त छोडेर भागी भने एक पल नहेरी दिए पनि के नै पो फरक पर्थ्यो र ? तर, मनै त हो, आशा लागी हाल्छ । उसको साथ जे भए पनि प्रिय लाग्छ । जहिले पनि आफ्नै लाग्छ । जीवनमा एक पटक देवता मानेर पूजा गरेपछि म जीवनभर देवता नै मान्न चाहन्छु ।
ऊ मलाई छाडेर अर्काकी भइ । चित्त दुखाइन । दुखाउँदिन पनि । एउटा चित्त कति ठाउँ दुखाउनु । क्षण क्षणमा चित्त दुखाउनु पर्ने अवस्था आउँछन् । आइरहने छन् । दुखाइरह्यो भने चित्त नै छिया छिया हुन्छ जस्तो लाग्छ । आजकल त चित्तको मलमको खोजीमा छु, दुख्न खोज्छ कि मलम लगाइ हालौं भनेर ।
उसले आवाज चिनी हाली । पहिला पहिला मैले आकृति भनेको सुन्न ऊ प्रतिक्षारत हुन्थी । मैले आकृति नभनी उसको समय शुरु हुँदैनथ्यो । आज मैले बोलाउँदा ऊ भाग्न खोज्छे । मसँगका पल सायद अब दिमागको फोल्डरबाट सदाका लागि डिलिट गर्न चाहन्छे । म कम्प्युटरमा झै कन्ट्रोल जेड गरेर ती पलहरु मेरो जीवनमा ल्याउन चाहन्छु । तर संभव त छैन । ऊ मेरो संवोधनलाई सदाका लागि अन्त चाहन्छे कि ? तर भएन ।
तिमी ?
स्वभाविक प्रश्न गरी ।
अरु कसैको अपेक्षा गरेकी थियौ ? – मैले छेड हान्न खोजें ।
होइन, सौरहामा देखेर मात्रै आश्चर्य लागेको हो – उसको जवाफ थियो ।
मलाई छोड्ने उसको निर्णय मेरा लागि क्षेप्यास्त्र नै भएको थियो । म त केवल छेड मात्रै हान्दै थिएँ । तर यो पनि मात्रामा भर पर्छ । कसले कसलाई कति दुखाउँछ । एउटा अजंगको हात्तीलाई सिरुको सानो सुइरोले छुँदा आत्तिएर चिच्याएको देखेको छु । प्रहार कहाँ हुन्छ भन्नेमा भर पर्छ । भेटे पनि नभेटे पनि माया गर्ने र मुटु दुखाउने म नै त हुँ । आकृतिले मेरो मुटुमा प्रहार गरी । धेरै दुख्न खोज्यो । मैले त केवल उसलाई छेड हानेको हुँ । कहाँ दुख्छ कि दुख्दैन थाहा छैन । जति गरेपनि आकृतिको मनमा पस्न सकेको होइन । साथी छाडेर मेरो टेवलमा आइ ।
भेट होला भनेर सोचेकी थिइन – मेरो गालामा चिमोट्दै भनी ।
छोडेर गइ र मात्रै । गाला चिमोट्दा त मेरै आकृति नै हो जस्तो लाग्यो । मलाई स्वभाविक रुपमा अँगालो मारी । अर्काकी स्वास्नी भइसकेकीले गर्दा असजिलो त मलाइ नै लाग्यो ।
भेट होला भन्ने सोचेकी थिइनौ कि भेटै नहोस भन्ने चाहेकी थियौ ? – मैले जान्न चाहेँ ।
एक कप चियाको पनि अफर गर्दैनौ, चिया खाँदै भन्छु नि – उसको प्रस्ताव थियो ।
जीवनभरकै साथ प्रस्ताव गछ्यौ होला भन्ने लागेको थियो, तर एक कप चियाको प्रस्ताव गर्यौ, यो मेरो अहोभाग्य हो ।
मैले भने ।
खोलाको किनारामा वसेर तिर्खाएको छु भन्ने मानिस हौ तिमी – उसले भनी ।
म रन्थनिएँ । उसको भनाइको अर्थ के थियो ? उसका साथीहरु विदा भएर गए । आकृति मेरो टेवलमा एक्ली भइ ।
उनीहरु आज हेटौंडा जाँदैछन्, म काठमाडौं । त्यसैले उनीहरु गए – आकृतिले आफ्ना साथीहरुको वारेमा जानकारी गराइ । मलाइ उनीहरु दृश्यवाट हटिदिउन् भन्ने लागेको थियो । खोजेजस्तै भयो ।
ऊ कसैकी भएकी छे । पहिला र अहिलेकी आकृतिमा भेटीएको अन्तर त्यत्ति हो जस्तो लाग्यो । आकृत्तिसँगको एक पल नै सही । कसले कसलाई कति समय साथ दिन सक्छन् के ग्यारेन्टी छ र ?
मैले धेरै जीवनहरु देखेको छु, जो आफ्नी जीवन साथीसँग वा प्रेमिकासँग लामो जीवनको प्रार्थना गर्दा गर्दै एक पलमा विदा भएका छन् । मैले भाले माहुरीलाई सम्झें । जो रानी मौरीसँगको एक पलको अपेक्षा गर्छ र त्यो पल प्राप्त हुनासाथ जीवन नै उत्सर्ग गर्छ । भाले मौरीको जीवन सार्थक हुन्छ । जुन जीवन धेरै भाले मौरीले पाउँदैनन् । त्यसैले साथ भनेको समयको आयतनसँग होइन, तात्कालिक क्षणका लागि नै खोज्नु पर्छ । तत्कालका लागि तय गरिएको साथ कहिले चाँडै टुंगिन्छ, कहिले दीर्घकालीन हुन्छ । यो समयलाई छाडिदिनु पर्छ ।
तर मन कहाँ मान्छ र नि ? मन त कतै लागे पछि मसान लागे जस्तो पो लाग्छ ।
आकृत्ति रेष्टुराँको कुर्सीमा मपट्टी नै बसी । अर्कोतिर बसेकी भए शायद फेरी चित्त दुख्थ्यो कि ? संँगै बस्नु र बिक्चमा टेवल पारेर बस्नुमा दुरीको खासै फरक त हुँदैन तर मनले मान्ने दुरीमा भने हजारौ कोषको फरक हुन्छ क्यार शायद । वर्षौको साथमा उसँगै बस्न अभ्यस्त भइसकेको थिए । त्यसलाई निरन्तरता दिने आकृतिलाई मनमनै धन्यवाद दिएँ ।
खुसी छ्यौ ? – उसका आँखाका कोषहरुवाट बग्नै लागेका आँशुहरुपट्टी हेर्दै सोधें ।
धेरै कालपछि मलाई भेटेर आफैंलाई सम्हाल्न नसकेकी हो वा दुखी छे भन्ने मैले ठम्याउन सकिन ।
छैन – आँखावाट वरर आँशु झारेर रोइ ।
विगतमा आकृत्ति हिम्मति थिई । केटा भएर रुनु हुन्न भनेर के गर्नु ? ऊ र म साथमा हुँदा धेरै म नै रोएको थिएँ । पिन्चे छु साह्रै जस्तो लाग्छ । ऊ मेरा आँशु पुस्थी । मलाई मनपर्ने खालका भविश्यका योजना सुनाउँथी । मलाई खुसी वनाउँथी । तर आज मैले उसका आँशु पुस्न सकिन । किनकी ऊ अर्काकी भइसकेकी थिइ । साथ छोडेपछि आफ्ना आँशु आफै पुछ्नु पर्दो रहेछ ।
यो भीडभाड भन्दा धेरै धेरै टाढाका सुन्दर वस्तीवाट सपना बुन्दै म यो राजधानी काठमाडौं छिरेको थिएँ । शायद म राजधानी छिरेको अर्को वर्षतिर होला आकृत्तिसँग भेट भएको थियो । आकृत्ति शहरमा हुर्किएकी थिइ । ऊ र मवीचमा हजारौँ असमानता थिए । म अन्तर्मुखी । आकृत्ति वहिर्मुखी । म भावी योजना र सपना वुन्न रुचाउने । आकृत्ति आजै जीवन जीऊ भोली के हो भन्ने ?
कसरी हो एउटा समानता कायम भयो – हामी दुवै एकले अर्कालाई मन पराउँथ्यौ, साँच्चै माया गर्थ्यौं । तर मायाको लालपूर्जा वा तमसुक हुँदोरहेनछ । मनमा हुन्जेल छ, न त्र सकियो । कहीँपनि दावी विरोध गर्न नपाइने । मेरो मायाको मानहानी वा अतिक्रमण भयो भनेर क्षतिपूर्तिको दावी गर्दै रीट हाल्न नपाइने । उसले छोडेर गइ अब त माया थियो पनि कसरी भन्नु ?
मैले सधैं स्वस्थ माया गरें । तर मायाको दायरा पनि प्रष्ट त छैन । मनले माने जति त हो नि । निश्चय नै अलिकति जीवन बनाउन संघर्ष मैले गर्नै पर्थ्यो । गरी नै रहें । मेरो प्रगतिबाट ऊ सन्तुष्ट थिई, उसको व्यवहारवाट थाहा हुन्थ्यो । व्यवहारले हामी मायालु जोडी हौं भन्ने प्रष्ट थियो । मुखै फोरेर उसले कति चोटी त विवाह गरेपछि त यसरी जीवन चल्दैन भनेर चेतावनी पनि दिएकी थिइ । म मुस्कुराएको थिएँ ।
कैयौ रात आकृतिले म एक्लो केटाको कोठामा बिताएकी थिइ । मप्रतिको विश्वास र माया यो भन्दा बढी के हुन सक्छ ?
तिमी मलाई कति माया गर्छौ ? – ऊ मलाई पटक पटक सोध्थी ।
म दुवै हातलाई सकेसम्म पर फैलाउँथे र भन्थें – यति धेरै ।
त्यत्ति मात्रै ? – ऊ दोहोर्याउँथी ।
यस भन्दा पर मेरा हात जाँदैनन् – म भन्थें – म आफुलाई भन्दा बढी माया तिमीलाई गर्छु ।
ऊ पत्याउँथी वा पत्याउँदिनथी । नढाँटी भन्दा म पनि अन्योलमा नै थिएँ । हातलाई टाढासम्म फैलाएर यति धेरै माया गर्छु भन्नु पर्थ्यो कि अँगालोमा सकेसम्म कसेर यति धेरै माया गर्छु भन्नुपर्थ्यो ? मैले आफैंबाट उत्तर पाउन सकेको छैन ।
मलाई कसरी माया गर्छौ ? – उसले मलाई फेरी सोध्थी ।
म मुस्कुराउँथे ।
आकृत्ति मलाई खाना पकाएर खुवाउन भान्सा तिर लाग्थी । म कुनै बहाना बनाएर बहिर निस्कन्थें । कुनै पनि ग्राहक नभएको औषधि पसल खोज्न निकैबेर भौंतारिन्थें । तर प्राय ग्राहक नभएको पसल हुँदैनथे । म रातो अनुहारबनाएर पर्खिरहन्थें । जब सबैग्राहक गइसक्थे र पसले एक्लै हुन्थ्यो । म पसले सामु पुग्थें । अ हँ तर आँटै आउँदैनथ्यो । अनि सिटामोल वा स्ट्रेपसील लिएर फर्कन्थें । रमाइला कुरा गर्दै रात बित्थे ।
त्यति धेरै माया, त्यत्ति धेरै विश्वास र त्यति धेरै समर्पणलाई चटक्कै विर्सिएर मलाई किन आकृतिले छोडी ? न त उसले नै बताइ । छोडेर गए पछि मैले पनि खोजेर सोध्न संभव थिएन ।
पहिला पो आकृती जीवनभर साथमा हुन्छे भन्ने लाग्थ्यो । अहिले त केवल केही क्षणका लागि मात्रै छे भन्ने कुरा मलाई थाहा छ ।
तिमी आजै काठमाडौ फर्कने त ? – मैले जान्न चाहें ।
काम सकियो, एक्लै के बिताउनु यता ? – उसको जवाफ थियो ।
तिमी एक्ली छैनौ, म छु नि – मैले उसको मन जान्न चाहें ।
उसले र मैले कार्यतालिका बदल्यौ । केही छिनमा नै हामी हात्ती चढेर जंगलतर्फ लागिसकेका थियौं । केही क्षणका लागि सही, आकृति मेरी भएकी थिइ । हात्तीको ढाडमा वसेर जंगल घुम्दा आकृति लपक्कै मसँग टाँसिएकी थिइ । भुर्र भुर्र उडेका चरा देख्दा हामीपनि त्यसैगरि उड्नु पाए ! भन्थी । मुजुरका जोडी लरक्क लम्किँदै नाचेको देख्दा उ पनि रहर गर्थी । जंगलमा ढमक्क फूलेका सिमलका फूल हेरेर ऊ तत्कालकै लागिगि किन नहोस् जिवन हाम्रोपनि त्यसैगरि ढकमक्क फूलेको, रंगिन देख्थी । जंगलबाट फर्कदा ज्यान लखतरान भएर थाकेको थियो । तर मन उत्साही भएको थियो । घाम पश्चिमपटी पहेलो हुंदै थियो तर मन भने यता रंगीन भएको थियो ।
हामी एउटा रिसोर्टमा पस्यौं । कोठामा पसेपछि ऊ चेन्ज हुन वाथरुमतिर गइ । म खाने कुरा अर्डर गर्न लागें । आकृति कोठाबाट निस्कँदा वेटरले तात्तातो मम ल्याइदियो । मम खान हामी टेवलमा बस्यौं । ममवाट तात्तो वाफ र प्रकृतीबाट जवानी हवारहवारी उडिरहेको छ ।
कपाल सुम्सुम्याएँ । ऊ विस्तारै मेरो काँधमा ढल्कीइ ।
मैले अँगालोमा बेरें र सबै माया व्यक्त हुने गरी ओंठमा माया गरें । ऊ टलपल पोखरी जस्ती भइ । अलिकति कुलेसो काटिदिने वित्तिकै जसरी पानी आफै डिल भत्काउँदै बग्न थाल्छ, त्यसैगरी आकृतिको बाढी आयो म मा । ऊ भावविह्वल भइ । उसले एकै पलमा मेरो शरीरमा उसका हात र ओंठलाई दौडाई । यो पल कतिवेर रह्यो । हेक्का रहेन । यो क्रम रातभर दोहोरिइ रह्यो । कुनवेला उज्यालो भयो, पत्तै भएन ।
विहानीपख, आकृत्ति मबाट छुट्टिई । मेरो गालामा पहिला जस्तै गरी समाइ । मेरो शरीरलाई राम्ररी नियाली । आँखामा आँखा जुधाई । शायद आज मलाई राम्ररी बुझी ।
यति माया पहिला नै किन नगरेको ?– आकृत्ति कानै नजिक फुसफुसाई ।
बल्ल वुझें – जवानीमा हात फैलाएर यति धेरै माया गर्छु भन्नुको सट्टा अँगालोमा कसेर यति धेरै माया गर्छु भन्नु पर्ने रहेछ । आकृत्ति अर्काकी भएकी थिइ, जानुपर्थ्यो र गइ । तर, मनमा राखिरहें ।
(स्रोत : Nepalplus.com)