कथा : स्वतन्त्रता

~राजु स्याङ्तान~Raju Syangtan_1

……..त्यस पछि उनले आफ्नो केश डल्लो पारी, अनि दुई लालावालाको मुखतिर पुलुक्क हेरिन् । हेराई असामान्य थियो । अनुहारमा विछिप्त कहानीहरू मडारिरहेको थियो । दुई बच्चाहरूलाई खस्रा हातले सुम्सुम्याए पछि गाडीको झ्यालबाट पर पर हेर्दै आफैसँग हराउन थालीन् । गाडीको बेगसँग सरोकार थिएन उनलाई । रोसीखोलाको नागबेलीसँग पनि कुनै मतलव थिएन उनलाई । वेगिरहेको गाडीलाई उछिन्दै एक हुल पंछीहरू तिमाल डाँडातिर सोझियो । उनका आँखाहरूले लोहोरी खेल्दै उडिरहेको पंछीको हुललाई निकै परसम्म पछ्यायो । परदेशिदै गरेका जस्ता देखिने युवाहरू बाराम्बार गाडीको बेगले छोडी आएका पदचापहरू फर्किफर्की हेर्थे । तर उनी वेपर्वाह तिमाल डाँडातिर उडिरहेको पंछीको हुललाई हेरिरहन्थीइन् ।

गाडीले आफ्नो गन्तव्य (काठमाण्डौं) भेटाउन थालिसकेको थियो । म चाहिं हिजो मात्रै काठमाण्डुबाट रामेछाप जाँदै गर्दाको यात्रा सम्झन पुगेछु । अघिल्लो दिन हामी केही साहित्यकार, पत्रकार साथीहरू काठमाण्डुको ब्यस्त जीवनको भारी बिसाउने र साहित्यको विषय खोज्न भनेर रामेछापको बेथानका लागि निस्किएका थियौं । स्वास्थले साथ नदिए पनि साथीहरूसँग जाने बाचा गरेको थिएँ मैले । यात्रामा सहभागी थियौं स्तम्भकार दिलरत्न मानन्धर, पत्रकार तथा समिक्षक जि.यम. शर्मा, त्यसै गरी क्यामेरा पर्सन तथा युवा कवि थिए मंजिल शाह र एउटा म भएँ, टुटेफुटेको कविता लेखि टोपल्ने कल्पित यात्री ।

काभ्रे रोशी खोलाको तिरैतिर, तिमाल डाँडाको मनोरम शृङखलाहरू छिचोल्दै नार्के, मंगलटार, नेपालथोक हुँदै लुभुघाटमा पुगेर हाम्रो पहिलो दिनको याात्रा टुङ्गियो । त्यहाँ पुग्दा साँझको ९ बजिसकेको थियो । हामी सबै जना थाकेका थियौं । लुभुघाटमा खाना बस्नका लागि राम्रो बन्दोबस्त रहेनछ । काठमाण्डुको धुलो टकटक्याउँदै थियौं । एक्कासि बाटोभन्दा माथिल्लो पट्टी जोड जोडले चिच्याएको आवाज काममा ठोकिन आई पुग्यो । बच्चाहरू चिल्लिविल्ली गर्दै रोएको सुनियो । एउटा पुरुष आवाज लुभुघाट थर्किने गरी गर्जिन थाल्यो । “राँडी, खै भात ? तेरो काम भात पकाउँने होइन ? मैले रक्सी खाएँ त मेरो बाउको सम्पति खाएँ । तास खेलें त मेरो बाउँको सम्पति खेलें । तेरो बाउको केही नास् भो ? भन् ए राँडी भन् ।” हलो जोत्दा सुतेको गोरुलाई चुटेको जस्तै आवाज आयो । जोड जोडले रोइरहेको नारी आवाज बन्द भयो । बच्चाहरू आमा ! आमा ! भन्दै रुन कराउँन थाले । केही बेर पछि नारी आवाज सुनिन थाल्यो । रुवाइ मिसिएको नारी आवाजमा सहाराको खोजी सुनिन्थ्यो । “ किन संसारमा जन्म दियौ आमा मलाई ? रात दिन यस्तो अन्याय अत्याचार सहेर बस्नुभन्दा त बरु शहरमा गइ बेश्या बनेर बस्छु” । नारी आवाज झन जोड जोडले सुनिन थाल्यो ।

लुभुघाट भने मस्त निदाइरहेको थियो । के रे ? जा अहिले नै जा ? मेरो घरमा एक छिन नबस् ।” फेरि सुरु भयो कुटाई । नारी आवाज चित्कारमा परिणत भयो । उनी भन्दै थिई “ गुहार गुहार, मलाई मार्यो मार्यो, मलाई बजाऊ ” । हामी जर्याक जुरुक उठेर झुपडीको नजिकै गयौं । आगनमा दुई वटा बच्चाहरू रोइरहेका थिए । एक जना कुनै निर्जीव बस्तुलाई कुटे झैं एकोहोरो कुटिरहेको थियो । आगनमा लडिरहेको मान्छे उठ्न खोज्थ्यो । पिट्नेले एकसूरले पिट्थ्यो । हामी के गरौं गरौं भयौं । पिटिरहेको मान्छे लौरो फालेर घर भित्र पस्यो । लडिरहेको मान्छे उठेर भाग्न खोज्दै थियो । भित्र गएको मान्छेले अँध्यारोमा टिलिक्क टल्किने कुनै हतियार लिएर आयो र लर्खराउदै उठ्न खोजेको मान्छेतिर झम्टेर गयो । ऊ उठेर भाग्न खोज्दै थियो । त्यति नै बेला हामीले छापामार शैलीमा उसलाई च्याप्पै समायौं । ऊ आत्तियो, डरायो । भाग्न खोज्यो । “के गर्न लाग्नुभएको यो ? तपाईलाई कारवाही हुन्छ अब” । ऊ झन आत्तियो । कसो कसो ऊ हाम्रो हातबाट फुत्किएर अँध्यारोमा विलायो । “यो अलाच्छिनी आए देखि घरमा सुःख छैन । परारसाल ससुरा खाई । पोरसाल दुहुना भैंसी खाई । अब यसपाली पोइ खान्छे यसले” । घरभित्रबाट एउटा कर्कस् बृद्धा आवाज खोकी मिसिएर आयो । आगनमा लडिरहेको महिलाले कसिलो गरी बच्चाबच्चिलाई काखीमा च्यापिन् । अनि धरधरी रोइन् । हामी चार जना अकमक्क भयौं । “तपाईहरूलाई धेरै धेरै धन्यवाद छ, मेरो ज्यान बचाइदिनु भएकोमा । तर तपाईहरू को हो ? हामीले हाम्रो परिचय दियौं । उनले हामीलाई दलानमा बस्न गुन्द्री ओछ्याइ दिइन् । हाम्रो अगाडि बिकल्प थोरै थिए । हामीले रात त्यही बस्ने निधो गर्यौं । महिलाले हुन्न भनिनन् ।

हामी घर भित्र पस्यौं । अँध्यारो गुफा जस्तो घर । धुवाको मुस्लोले घर पुरै छोपिएको । कुनामा बुढीआमा सुतिरहेकी थिइन् । घरमा को आयो ? को गयो ? केही मतलव थिएन उनलाई । महिलाले हाम्रा लागि खाने कुराको जोहो गर्न लागिन् । “चार वर्ष अगाडि बिहे गरेर भित्रिएँ यस घरमा, यी दुईवटा छोरीहरू छन्, श्रीमान भनाउँदा जहिल्यै तास खेल्छ । थाल बटुका समेत बेचेर रक्सी खान्छ । बेलुकी आएर नकुटेको दिन छैन । लोग्ने भनाउदाले कुटेरै एक वर्ष अगाडि देब्रे हात भाँचियो । छाती सारै दुख्छ । के गर्नु भाइ आफ्नो त भाग्य नै खोटो रहेछ” । उनी पिलपिल आँशु झार्दै ब्यथा पोख्न थालिन् । हामी शहरिया बटुवालाई बास दिने महिलाको बिलौना सारै नरमाइलो लाग्न थाल्यो । “भाइ शहरमा केही जागिर पाइन्छ होला नि है ? उनले पटक पटक बिना प्रसंग यही कुरा दोहोर्याइरहिन् । “अनि दिदी तपाई हेर्दा पढे लेखेकै जस्ती देखिनुहुन्छ, किन बिहे गर्नु भा यस्तो घरमा ? दिलरत्न मानन्धरले जिज्ञासा राखे । “छ भाइ जीवनको छुट्टै कथा” । उनले अरु कुरा गर्न चाहिनन् । हामीले दुःख सुःख खाना खायौं । कोही टुकी बालेर यात्रा संस्मरण लेख्न थाले । कोही कथा तयार गर्छु भन्दै महिलालाई नाना थरि प्रश्नहरू सोध्न थाले । उनी प्रश्नकर्ता प्रति खासै ध्यान नदिई आफ्नो छोरीहरूलाई सुम्मुम्याउँदै आँशु झार्थिन् । साथीहरू चाहिं कोही फोटो खिच्थे, कोही चाहिं एकसुरले घोप्टो परेर लेखिरहेको थियो । मलाई भने दिउँसैबाट अलि सञ्चो नहोला जस्तो भइरहेको थियो । सब कुरा हेर्दा हेर्दै निदाएछु ।

बिहान झल्याँस्स ब्यूँझँदा कवि साथीहरू ठाउँको ठाउँ मै घुर्दैरहेछन् । बच्चाहरूको नाकमा झिंगाहरू तछाड मछाड गरिरहेको रहेछ । कुनामा बुढीआमा गनगन गर्दै थिइन् । महिला घर धन्दामा लागिसकेकी थिइन् । मेरो स्वास्थ निकै नै नाजुक भएको महसुस गरें । म सुतेको ठाउँबाट उठेर भित्तामा अडेस् लाएर बसें । अगाडिको मुल खाँबोमा एउटा सानो फ्रेममा फोटो देखें । नियालेर हेरें । त्यो फ्रेम भित्र एउटी कम्ब्याड लगाएकी महिला छापामारको फोटो रहेछ । नजिकै गएर हेरें । त्यो फोटो तिनै महिलाको रहेछ । कालो ध्वाँसोले निलेको फोटोमा उनी यस.यल.आर. बोकेर मुस्कुराइरहेकी थिइन् । कम्बरमा ग्रिनेट थियो । कुम देखि छाती हुँदै कम्बरसम्म गोलीको माला कुनै तिलहरि जडित पोते लहरिए जस्तै देखिन्थ्यो । चिटिक्क मिलेको जिउडाल, मुस्कुराइरहेको चम्किलो अनुहार, शिरमा सिन्दुरको डोभ छोपिने गरी बाँधिएको रातो तारा । आहा ! कस्तो राम्रो सुहाएको ”मुहारमा न कुनै बन्धनको धाजाहरू, न कुनै पीडाको संकेत नै । म त हेरेको हेरै भएछु । “भाइ के हेर्नु भा ? खै दिनुस् त” । उनले फोटो निकालेर पुछि अनि कागजले बेरिन् । ‘दिदी तपाई छापामार ? मेरो स्वर आश्चर्य मिसिएर अस्वभाविक ठुलो भयो । साथीहरू जर्याक जुरुक उठे । “मेरो जीवनको छुट्टै कथा यही हो भाइ ।” समयले कस्तो खेल खेल्दो रहेछ मान्छेको जिन्दगीमा । किन चुँडिएन पोतेको बन्धन ? किन फेरिएन एउटी छापामारको जिन्दगी ? साथीहरूले कुराको मेसो पाएछन् क्यार । कुनै ठुलो नेतालाई घेरे झैं उनलाई वरिपरि घेरेर बर्साउन थाले अनगिन्ती निर्उत्तरित प्रश्नहरू । “तपाई कसरी यहाँ आइपुग्नुभयो ? तपाईले ५ लाख पाउँनु भएन ? छापामार बन्दा र आजको दिनमा के फरक पाउँनु भएको छ ? तपाईले कतिवटा लडाइँ लड्नुभयो ? के तपाईको जीवनमा गणतन्त्रले केही प्रभाव पारेन ? उनी चुपचाप आफ्नो घरधन्दामा लागिरहिन् । साथीहरू फेरि कपि, क्यामेरा, रेर्कडर निकालेर पत्रकारिताको कर्मकाण्डीय चरित्र निभाउन थाले । उनको मुहार भावसुन्य थियो । प्रश्नहरूमा कुनै दिलचस्बी थिएन । मलाई भने सञ्चो नहोला जस्तो भयो । डक्टरको सल्लाह सम्झें । म भित्रभित्रै काठमाण्डौं फर्कने मनसायमा पुगिसकेको थिएँ ।

साथीहरू भन्दै थिए “साहित्यको विषय नै फुरेको छैन, कोही विरामी हुने, कोहीलाई गर्लफ्रेण्डको यादले सताउने, बेकार आईएछ” । साथीहरूले तितो पोखे । साथीहरूसँग सहयात्रा बिचमै टुटाउनु परेकोमा माफी माग्दै झोला बोकेर आगनमा निस्किएँ । क्यामेरा म्यान साथीले सिंगानको टाटाहरू बोकेका दुई बच्चाहरूको फोटो यङगल मिलाई मिलाई खिच्न थाले । “भोलि पत्रिकामा आउँछ है तिमीहरूको फोटो” । बच्चाहरूलाई चुइङगम हातमा दिदै भने । बास दिने महिलासँग बिदा माग्न उनलाई बोलाउँन थाल्यौं । कतै पनि देखिएन । यता उति हेर्यौं तर कतै पनि भेटिएन । अन्तमा उनी घर भित्रबाट बाहिर निस्किन् । हामी छक्क पर्यौं । उनी पेन्ट र रातो टिसर्ट लगाएर, दुई बालबच्चा र भोलामा लुगा फाटो बोकेर हाम्रो अगाडि ठिङ्ग उभिन आइपुगिन् । “भाइहरू शहरमा म जस्तालाई केही काम त पाइन्छ होला नि है, यो नर्क जस्तो जीवनभन्दा त बरु शहरमा भाँडा माझेर भए पनि दुई बालबच्चा हुर्काउँछु” । साथीहरू मुखामुख हेर्न थाले । के बोलुँ बोलुँ भयौं । आगनको डिलबाट उनी अघि लागिन् । म पछि पछि लागें । साथीहरू हामीलाई हेर्दै हाँस्दै हाँस्दै बेथानतिर सोझिए ।

हामी सुनकोशी वारि नेपालथोक आएर गाडी चढ्यौं । स्वास्थको कारणले उनीसँग खासै धेरै बोल्न सकिन । उनी गाडीको झ्यालबाट पर पर हेर्न थाली । पटक पटक झोलाबाट फोटो निकालेर सुम्सुम्याउँथिन् । “आमा हामी कहाँ जाने ? बच्चाहरूले धेरै पटक यो प्रश्न सोधिसकेको थियो । “जागिर खान जाने छोरी, यही उत्तर हुन्थ्यो उनको । “आमा, जागिर कस्तो हुन्छ ? मलाई धेरै दिनु ल ? छोरीको प्रश्न नियाउरो गरी सुन्थिन् अनि फेरि पर पर तिमाल डाँडाभन्दा पनि पर उडिरहेको चराहरूलाई हेर्थिन् । दुई छोरीहरूको टाउकोमा सुम्सुम्याउँदै पिलपिल पिलपिल आँशु झार्थिन् । “भाइ म जस्तोलाई काम त पाइन्छ नि है ? आँशु पुछ्दै प्रश्न गर्थिन् । “पाइन्छ नि दिदी किन नपाउँनु” । म उत्तर दिन्थें । “नपाए भिख मागेर भए पनि यी दुई लालाबाला हुर्काउछु पढाउँछु” । छापामार बनाउछु भाइ म यिनिहरूलाई, मैले तोडेको बन्धन अपुरो भएछ ।” उनी दारा किट्दै मुठ्ठी कस्थिन् अनि फेरि झ्यालबाट पर पर हेर्थिन् । हामी धुलिखेल नजिकै आइपुथ्यौं । सोचें यो बेसहारा महिला दुई बालबच्चा बोकेर कहाँ जान्छे अब । तावाको माछा भुङ्ग्रोमा भने जस्तै हुने त होइन ?

हामी बनेपा कटेर काठमाण्डुतिर सोझियौं । गाडी जति जति नजिक आउँथ्यो । मलाई उति उति धेरै पोल्थ्यो । यो काठमाण्डु, मानवता हराएको काठमाण्डु, गरिबको आँशुमा चिप्लेटी खेल्न सिपालु काठमाण्डुमा आज फेरि एउटा बेसहारा जिन्दगी थपिदैछ । फेरि सम्झें, उनले तोडी आएको बन्धन, उनले चुँडाली आएको एक लुङ् पोतेको साङ्लाभन्दा त कयौं गुना प्रगतिशील छ उनले रोजेको बाटो । हामी भक्तपुर आइपुग्यौं । उनी अलि पर नगरकोटको काख नै काख भएर उडिरहेको पंछीको हुल गहिरो गरी हेरिरहेकी थिइन् । अन्तमा आँट बटुलेर भनें । “दिदी तपाई अप्ठेरो मान्नु हुन्न भने एउटा कुरा भन्छु । म अलि पर चावहिलमा आमा र श्रीमतीसँगै बस्छु । तपाई, मसँगै केही समय बस्नु । तपाईको लागि म पनि काम खोजीदिन्छु । काम भेटेपछि जानु, हुन्न ? मेरो कुरा नसकिदै उसले भनिन् “भाइ, तपाईलाई धन्यवाद छ, यतिका सहयोग गर्नुभयो । अब म कसैको सहारा बिना नै उठ्न चाहान्छु” । आजबाट मैले सुरु गरें नयाँ अभियान, जुन रोकिने छैन कुनै आँधी हुरीमा पनि ।” मैलेपछिल्लो कुराको भेउ पाइन । गाडी कोटेश्वरमा आएर रोकियो । सडकमा साँझको बाग्लै बत्तीहरू बलेको थियो । “लौ त भाइ कुनै दिन समयले भेट गराए फेरि भेटौंला . . . . . ।” म त भावुक भइसकेछु । केही पनि बोल्न सकिन । उनी आफ्नो दुई लालाबाला बोकेर गाडीबाट ओर्लिन् । क्षण भर मै उनी काठमाण्डुको भीडमा हराइन् ।

भारी मन र बिसञ्चो शरिर लिएर कोठामा आईपुगें । त्यसपछि बिरामीले तीन दिनसम्म सुतेको सुत्यै भएछु । तीन दिन पछिको विहान, जीवन साथी अनिरा तलबाट नै चिच्याउँदै आई र एउटा दैनिक पत्रिका देखाउँदै भनी यो सब के हो ? पत्रिका हेरें । ठुलो झड्का लाग्यो । ओछ्यानबाट जुरुक्कै उठें । पत्रिकाको भित्री पेचमा ठुलो अक्षरले लेखिएको रहेछ “विवाहिता, पूर्व छापामारलाई लिएर, कवि कल्पित यात्री फरार” ।

(स्रोत : Sunakhari.com )

About Sahitya - sangrahalaya

We will try to publish as much literary work of different authors collected from different sources. All of these work is not used for our profit . All the creative work belongs to their respective authors and publication. If requested by the user we will promptly remove the article from the website.
This entry was posted in नेपाली कथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.