निबन्ध : मानिस ठूलो जातले हुन्छ, दिलले हुँदैंन

~गोविन्द्रप्रसाद आचार्य~

मलाई एउटा पंक्तिको सम्झना आइरहेछ, महाकवि लक्ष्मीप्रसाद देवकोटाले लेखेका छन् “मानिस ठूलो दिलले हुन्छ, जातले हुँदैन।” यसलाई साम्यवादी कोणबाट हेर्ने हो भने कार्लमार्क्सको वर्गसंघर्षको विचारलाई अपनाएको पाइन्छ र सामन्तवादी संस्कृतिको अन्त्य हुनुपर्छ भन्ने विषयमा गम्भीररूपमा प्रकाश पारेको पाइन्छ। अर्कोतर्फ मानिसका बीचमा जातीय प्रथाले जमाएको अविवेकी खाडाल पनि पुरेर मान्छेको बीचसम्म मैदान बनाउन खोजेको छ। मानवताका दृष्टिले पनि कसैले कसैलाई होच्याउनु राम्रो होइन। वर्तमानको सन्दर्भबाट हेर्दा यो पंक्तिलाई उल्ट्याउन मनलाग्छ। किनभने आज मानिस ठीक विपरीत दिशामा गयो। यस पंक्तिले दिएको उदार विचार प्रति ख्याल नराखी नयाँ नेपालमा पुरानो अस्तित्व बोकेको संस्कृतिले बलियो रूपमा जरा गाड्दै छ। अब भन्नुपर्ला कि “मानिस ठूलो जातले हुन्छ दिलले हुँदैन। सन्दर्भ मिल्दो छ, सबैलाई जातीय राज्य चाहियो, सबै जातीय विचारबाट अगाडि बढे, क्रमिक रूपमा हट्दै गएको जातिवादी सोचाई विकसित हुँदै गयो।कसैलाई जातीय आधारमा राज्यको टुक्रो पाउन पाए घ्शासक हुने रहर पलाएर आयो, मष्तिष्कले काम गर्न छाड्यो। यथास्थितिले प्रबल रूपमा जार गाड्यो। जसले आफूलाई मार्क्सको सच्चा अनुन्यायी हुँ भन्दै वर्गसंघर्षको नीतिलाई तिलाञ्जली दिंदै छोटा राज्य बनाएर विदेशीलाई चलखेल गर्ने अवसर दिंदैछन्। फुटाउ र हत्याउ भन्ने साम्राज्यवादीहरूको नीति भन्दा पनि पर गएर त्यसलाई सहयोग पुग्ने गरी जातीय राज्य निर्माण गर्ने जस्तो कम्युनिष्टहरूले गर्न नहुने कुरा नेपालका बादबहादुर कम्युनिष्टहरूले ऐंजेरूको हरियोमा रमाउने प्रयास गरेका छन्। यसले लैजान खोजको दिशा कहाँ हो माओको सांस्कृतिक क्रान्तिलाई सामन्तवादी शैलीमा विकास गर्न खोजे। अन्तर्राष्ट्रियवादी हौं भन्ने कथित कम्युनिष्टका मुुकुन्डामा अलमलिएर जातिवादी संस्कृतिका लागि संघर्ष गर्नु मुलुककै लागि विडम्बना हुनेछ।

जनताले कम्युनिष्टहरूप्रति ठूलो आधार गरेका थिए र छन्, पनि तर जातिवादी संस्कृतिको विकास गरेर मुलुक हाँक्छु भन्नु फिस्टोले सासको हाँगो नगाउनु र कम्युनिष्टहरूले जातिवादी संस्कृतिको विकासगरी माओको अनुन्यायी बन्नु हाँस्यास्पद नाटक र सिद्धान्तबाट पतन भएको दृश्य राम्ररी देखिन्छ। त्यसलाई शैक्षिक सवालसँग जोड्ने हो भने कुनै पनि डाक्टरले विरामीको अपरेसन गर्दा सर्वप्रथम जातलाई महत्व दिन पर्ने भयो। अप्रेसन जातले गर्ने हो कि दिले, कथित कम्युनिष्टका बबुराहरू किन नबुझी रहेका हुन्? आज जे जति भत्किने प्रक्रिया चलिरहेछ के भत्काए के हुन्छ भन्ने ख्याल नराखिकन त्यसको परिणाम के हुन्छ भन्ने नबुझीकन केवल ध्वस्त पार्ने मात्र उद्देश्य लिएका बाँदरे प्रवृत्तिले कम्युनिष्ट आन्दोलनलाई कहाँ पुर्‍याउने हो। यस विषयमा एउटा भनाई छ कुुकुरले घाउ चाटेर निको पार्छ तर बाँदरले कोट्याएर झन् ठूलो पार्छ। यहाँ जातीय घाउ निको हुनु पर्थ्यो। तर कोट्याउँदै झन् ठूलो पारिंदैछ। तसर्थ अब बुद्धि, विवेकको काम छैन। लक्ष्मीप्रसाद देवकोटा जीवित भए उनलाई यो सुझाव छ कि तिम्रो पंक्ति फेर किनकि यहाँ अब विवेकको अन्त्य भइसक्यो देश टुक्रा–टुक्रा पारेर जातीय आधारमा तिनै जातिलाई शोषण गर्दै केही टाठाबाठाहरूलाई मुख्य मन्त्री बनेर बडापन देखाउन मन लागिसक्यो। जातीय आधारमा मान्छे पिटेर तेरो र मेरो राज्यको अवधारणा आइसक्यो। तसर्थ कविजी तिमी उदारा थियौ। सामन्तवादी संस्कृतिले देश खाएको देख्यौं। जातीय आधारमा तल्लो र उपल्लो भन्दै घृणा गरेको देख्यौं, जातीय पर्खाल भत्काएर यस धर्तीमा मानवताको हरियो बसन्त डुलाउने रहर गर्‍यौं विचार विवेकको आधारमा समानताको फुल फुलाउने रहर गर्‍यौ, विज्ञानले जातपात मान्दैन। तिमीले पनि त्यसलाई स्वीकार गर्‍यौं कविजी तिमी मार्क्सका विचारलाई मान्दा रहेछौं। तिम्रा पंक्तिमा खंदिलो विचार दियौं, विद्रोहका आवाज रन्कायौं तर तिमी आज उल्टो भएका छौा कवि अब पंक्ति लेख कि अब यसको ठीक विपरीत दिशामा जहाँ जातीय मुख्य मन्त्रीहरू रमाउन साम्राज्यवादीहरूको इच्छा पूरा होउन, नयाँ नेपालको लाली गुराँस फुल्ने लेकमा जातीय दृष्टिकोणको हेमन्त ऋतु आओस् तब मात्र यहाँको कथित साम्यवादीहरू रमाउने छन्।

जातीय आधारहरूमा धुजाधुजा पार्ने कविता लेख तिमी त्यहाँ महान बन्ने छौं होइन भने अब तिम्रो विचारको कुनै अर्थ छैन। कम्युनिष्टको किल्लामा त यो पंक्ति सुन्नै चाहन्न्। तिमी यो पंक्ति राख्छौं भने जातीय आधारमा बनेका मुख्य मन्त्रीहरूले तिम्रो हाडखोर राख्ने छैनन्। कविता लेख्दा विचार गरेर लेख है कविजी। अब तल्लो जात र उपल्लो जातको त्यही पतित जातीय संस्कृति जोगाउने कविता लेख।

यदि त्यसो गर्दैनौं भने वर्तमानमा तिम्रो कुनै अर्थ छैन। तिम्रो कविता कहाँ लुकाएर राख्छौं राख। तिम्रो मन दुख्दो हो कति छीः यस्तो कुरो कहाँबाट आयो, मानवताका बीच यति घीनलाग्दो जालोले कसरी अड्डा जमायो। तिमी आश्चर्यमा पर्छौ, हेर कवि जातीय आधारमा दिनप्रतिदिन मान्छे काटिएका छन्। तिनीहरूको थातबास उठाएर विचल्ली पारिंदैछ। यो देख्दा तिमीलाई कस्तो लाग्ला कवि तिमी रसा गएर कविता पढ्यौं। संसारको स्वर्ग त्यसलाई भन्यौं, मान्छेका बीचमा समानता ल्याउने विचार साम्यवादलाई अपनायौं। अंग्रेजी साहित्य पूरै निल्यौं, त्यसबाट छानीछानी नेपाली समाजमा दियौं। जातीय संस्कृतिका लुगा फालेर विवेक र विचारको सिर्जनात्मक प्रयोग गर्‍यौ। तर धिक्कार कथित साम्यवादी किल्लाबाट तिम्रा सपना भत्काइएका छन्। तिम्रा सालिक तोडिएका छन्। तिमी त आज घातक भएछौ। तसर्थ कवि अब बुझेर कविता लेख जातीय मुख्य मन्त्रीहरूको सुविधा र ऐस आरामको तिमी विरोध नगर। नयाँ शैलीमा आएको पुरानो संस्कृतिलाई नयाँ भन्दै स्वीकार गर, टुक्रे नेपालको मात्र जातीय आधारमा बाँड्दै हिंड तिमीलाई सबैले मान्नेछन् र तिमी पुज्य हुनेछौंं।

(स्रोत : हाँक विक्ली – वर्ष २७, अंक १५ – २०६६ फागुन १३ गते, बुधबार)

This entry was posted in निबन्ध and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.