समीक्षा : गोर्कीको कथा “कामरेड” एक समीक्षा

~गोविन्दप्रसाद आचार्य~

ललिजन रावलद्वारा अनुवाद गरिएको गोर्कीका उत्कृष्ट कथाहरू जसलाई वि.एन. पुस्तक संसार प्रा.लि. ले २०६६ मंसीर महिनामा पाठक समक्ष ल्याएको छ, जसमा दश (१०) वटा कथा संग्रहित छन्।

विभिन्न विषयको बोध गराउँदै समाजको यथार्थ परिस्थितिलाई चित्रण गर्दै तिनलाई रूपान्तरणको दिशामा वैचारिक स्तर प्रदान गर्दै समाजभित्र देखापर्ने सबैजसो प्रवृत्तिलाई मनोवैज्ञानिक स्वयं पूंजीवादी रवैया जसले समाजको शोषण गरी समाजलाई दास बनाएर तिनीहरूको श्रममा पौडी खेलिरहेको अवस्थाको चित्रण यी कथाहरूमा गरिएको छ। कथाहरूमा समाजको यथार्थ मात्र प्रस्तुत नगरी वैचारिक धरातल हुँदै पुरानो र नयाँका बीच अन्तरद्वन्द्व प्रस्तुत गरी विचारलाई कलात्मक रूपबाट प्रस्तुत गरी निम्नवर्गलाई उच्च प्रकारको चेतना दिई वर्गीय स्वरूपको समाजलाई बदल्ने प्रेरणा मजदुरहरूलाई दिएको छ। जुन दृष्टिकोण रूसी समाज र अन्य देशको समाजमा तात्विक रूपले भिन्न पाइँदैन। यी कथाहरू मध्ये ‘कामरेड कथा’  ज्यादै उत्कृष्ट छ। जसमा पात्र, परिवेश र विषयको अन्तर्सम्बन्ध पनि बेजोड रूपमा प्रस्तुत गर्न समर्थ गोर्कीको जीवन दर्शन ‘कमरेड – एक कथा’ कथामा स्पष्ट रूपमा अनुभूत गर्न सकिन्छ।

यस कथाका पात्रहरू विभिन्न विषय अन्तर गरी देखा पर्दछन्। ती पात्रले एउटै कथाभित्र बहुप्रशंग उठाएर बहु प्रशंगका विषयहरू सामाजिक परिवेश अनुकूल चर्चा गरेका छन्। यस कथामा वेश्याका प्रसंगलाई यसरी उठाएका छन्। त्यो वेश्या जो हिजो एक आधि जनावरका समान थिई र फोहोर गल्लीहरूमा थाकेर यस कुराको प्रतिक्षा गरिरहन्थी कि कोही आओस् र दुई पैसा दिएर उसको सुकेकोकंकालका समान शरीरलाई किनोस् यसबाट यो स्पष्ट हुन्छ कि पूंजीवादी संस्कारले मानिसलाई आफ्नो अर्थ के हो, म कुन रूपमा हिंडिरहेको छु, मैले नारकीय परिणाम भोग्नुको वास्तविकता कहाँ छिपेको छ। मानिसले मानिसलाई कुन रूपमा हेरिरहेको छ। बाँच्नका लागि आफ्नो अस्तित्व र जीवन कसरी समाप्त पारिरहेको छ। आफूलाई वस्तुको रूपमा परिवर्तन गर्ने दृष्टिकोण पूंजीपतिहरूले कसरी अपनाएका छन्। तिनीहरूको दास मानिस कसरी बनिरहेको छन् भन्ने झलक दिइएको उद्दरणबाट राम्ररी बुझ्न सकिन्छ।

यस कथाले उच्च प्रकारको चेतनाको प्रतिनिधित्व यसरी गरेको देख्न सकिन्छ। कथामा भनिएको छ ती झुप्राहरूमा आफूसँग लुकाएर एक सादा तर उच्च सिद्धान्तको शिक्षाको फल दिने विउ ल्याएका थिए। यहाँ व्क्त गरिएका विचारहरू मानवीय चेतना र जीवन दर्शनमा आधारित छन्। जसे परिवर्तनका लागि दिशानिर्देश गर्दै मानिसको वैचारिक धरातल उच्च धरातलबाट उठेको खन्डमा संसार बदल्ने मानसिकता चाहना सहज रूपमा सफल हुन्छन्। यी विचारले उच्च मनोबलको ज्योति जगाएका छन्। रूसी समाजको चित्रण गर्दै वर्गीय असमानता देखाउँदै मानवीय समस्या प्रस्तुत गर्दै मानवका कारूणीक अवस्था र वैचारिक अवस्थाका विषयमा गोर्की लेख्छन् , “उनीहरूका जीवनमा जहाँ उदासीले भरिएको दमित असन्तोष व्याप्त थियो, उनीहरूका हृदयहरू अनेक अत्याचार सहेर विषाक्त बनिसकेका थिए, उनीहरूका मस्तिष्कहरू, शक्तिशालीहरूका धूर्ततापूर्वक चतुरताले जड भइसकेका थिए – त्यस कठोर र दीन अस्तित्वमा अत्याचारहरूले सुकिसकेका थिए– एक सीधा दिप्तिमान शब्द व्याप्त भएर आए यहाँ पूंजीवादको ज्यादतीका कारणले मानवमाथि पारेका समस्याहरू जसले मानिसलाई युगौंयुगदेखि आफूलाई चुस्थे। दुश्मनहरूको दास बन्न विवश बनायो। विचार, मस्तिष्क, भावना, चाहना जो मानिसका स्वयं उर्वर तत्व हुन तिनलाई समाप्त गर्ने विशाक्त विचारले मानिस र तिनीहरूको समाजलाई कुन रूपमा पूंजीपतिहरूले प्रयोग गरेका छन्। मानिसहरूको कारूणिक अवस्था कस्तो छ यी विचारबाट राम्ररी देख्न सकिन्छ। गोर्कीले मानव मुक्तिका सन्दर्भमा यसरी चर्चा गरेका छन्। उनीहरूले अनुभव गरे कि यो शब्द सम्पूर्ण संसारलाई एक शुत्रमा संगठित गर्नको लागि सबै मानिसहरूलाई स्वतन्त्रताको सबैभन्दा अग्लो शिखरसम्म उचालेर तिनलाई नयाँ बन्धनहरूमा बाँध्नको लागि एक अर्काको सम्मान गर्नको लागि र मनुष्यलाई स्वतन्त्रताको बन्धनमा लिंदै यस संसारमा आएको छ।

‘कमरेड’ भन्ने शब्दका विषयमा चर्चा गर्दै विश्व मानवका विचार देखा परेका असमानताका खाडल पुर्दै उच्च मनोबलको विकास गर्दै शोषणका लागि फुकाइएका मानवहरूका विच हार्दिक सम्बन्ध गाँसेर स्वतन्त्र मानवका चाहना फुलाउँदै फलाउँदै मानिसका बीचमा फाटो पारेर शोषण गर्ने कला वा विचारको अन्त्य गरी समानतामा आधारित मुक्त समाजनै मानव जातिको सही समाज हो भन्ने विचार यहाँ व्यक्त गरिएको छ। शब्दलाई पनि गहिरो अर्थमा परिभाषित गरिएको छ। जसले विश्वमानवलाई जोडो् असमानता र अवैज्ञानिक खालका संस्कारको अन्त्य गरी जीवनको मूल्य निरूपण गरोस् भन्ने भावना, उच्च रूपबाट व्यक्त गरिएको छ। यहाँ कथाकारले अगाडि लेख्छन्। जब मानिस आफ्नो जीवनको मूल्य दिन्छ।त्यो देश विद्रोहका भावनाहरू ज्वालामुखीमा परिणत हुन्छन्। शोषण गर्नेहरू पनि कुन रूपमा उत्पन्न हुन्छन् भन्ने विचारमा विषयमा कथाकारले लेखेका छन्। आफ्नै मुलमुत्तको निस्सासिने दुर्गन्धले व्याकुल भएर उनीहरूको विद्रोहहरूका प्रति आफ्नो घृणाको घाँटी च्यापेर र विद्रोहीहरूको शक्तिलाई देखेर किंकर्तव्यविमुढ भए। यहाँ जब विद्रोहको आँधी उठ्छ। त्यसले उठाएको धुलो प्रतिक्रियावादीहरूको आँखामा पर्छ। तिनीहरू नयाँ सास फेर्न पाउने छैनन। बाँच्नका लागि आफ्नै शरीरबाट उत्पन्न भएको मलमुत्र सेवन गर्ने छन्।जस्ता उच्च प्रकारका आशा यहाँ व्यक्त गरिएको छ। यो यथार्थ पनि हो जब आँधी आउँछ। मानव श्रमको शोष48मा ऐस आरामको सपना देखेकाहरू सही ठाउँमा खुट्टा टेक्न सक्ने छैनन्। लखराएर पल्टिने छन्। तर यसका लागि मानिसमा उच्च प्रकारको मनोबल ज्वारभाटाका विरूद्ध संघर्ष गर्नुपर्छ भन्ने क्रान्तिकारी भावना पैदा हुन्छ तब मात्र यो सम्भव हुन्छ।

यस कथामा पूंजीपतिहरूको चित्रण गर्दै गोर्की लेख्छन्। ‘त्यो राक्षस जसले मानिसहरूको रगत चुसेको थियो, उक्त आफ्नो सम्पूर्ण कुरूपताका साथ उनीहरूका सामु उभिएको थियो–ढुंगा र काठको एक दयनीय थुप्रोस। पूंजीवादको स्वरूप र त्यसको चरित्र मकमकाई सकेको छ। त्यकसो कुरूप अनुहारले सुन्दरताको रंग जतिसुकै पोते पनि त्यसको कुरूप अनुहार देखा पर्छ। ढिलो वा चाँडो त्यसलाई क्रान्तिको ज्वारभाटाले पखाल्छ र मानव जातिको सुनौलो संसार निर्माण हुन्छ। जसलाई पूंजीवादका जालझेल षडयन्त्रहरूले थेक्न सम्भव छैन जस्ता दरिला विचारहरू यस कथामा व्यक्त गरिएको छ। कमरेड शब्दलाई पनि प्रेम गरिएको छ। जसलाई लेखकले कति माया गर्छन् र कुन प्रकारको भावना प्रदान गर्छन् त्यसले जातिका बीचमा उत्पन्न गर्ने उज्यालो पक्ष कस्तो छ भन्ने विषयमा कथाकारले लेखेका छन एक नयाँ शक्तिका साथ आँखा तिरिमिराउने एक उज्यालो उत्पन्न गर्ने चमकका साथ सबैलाई संगठित गर्ने त्यो जीवनदायी शब्द गुन्जियो , यहाँ शब्द भनियो तर यो शब्दको रूपमा सीमित छैन। जीवन दर्शनमा आधारित छ। दार्शनिक विचार बोकेको छ। गहिरो भावनाबाट प्रेरित। संघर्षशील विचारले ओतप्रोत छ। मानव जातिका आशा अभिलाषालाई सशक्तिकरण गरेको छ। वास्तविक जीवनमा आधारित छ। स्वार्थका निम्ति फुटाइएको संसारलाई एउटै विचारमा बाँधेर असमानताका पहाड भत्काउने दरिलो ज्यावल बनेको छ। क्रान्तिलाई प्रेम गरेको छ। क्रान्तिलाई उच्च मनोबल दिइएको छ। क्रान्तिकारी भावनाले मानिसलाई यसरी जगाएको छ। निर्जिव शहरहरूको सडकहरूमा जसलाई यासहरूले बनाएका थिए, शहरका ती गल्लीहरूमा जहाँ त्रु्करताको साम्राज्य रहेको थियो, मानवमाथि विश्वास स्वयं आफूमाथि र संसारका सम्पूर्ण खराबीहरूमाथि मानवको विजयको भावना बढ्यो र शक्तिशाली बन्यो।

यहाँ कथाकारले गहिरो प्रस्तुति दिएका छन्। जसले संसार बनायो त्यो दास, त्यो बुद्धिहीन त्यो मानवताका दृष्टिकोणबाट पर फालिएको जसलाई संसार बनेको छ। त्यसप्रतिको अपमान जो लुटाहा छ। जसले श्रमशोषण गर्छ। जससँग सीप छैन। त्यो संसारको मालिक यसप्रकारको विडम्बना प्रति आलोचनाको भाषा प्रयोग गर्दै संसार बनाउनेहरू अल्छीको हातबाट संसार स्वास रगत पसिनामा डुब्न नदेऊ वास्तविक संसारका निर्माताहरू दास होइनन् मालिक हुन भन्ने ओजस्वी विचारबाट चेतनाको राँको बालिएको छ। समाजभित्र देखा पर्ने वर्गहरूको परिणाम स्वरूप कस्तेा थियो मानिसका बीचमा केकस्ता अन्तर थिए ती यस कथामा यसरी प्रस्तुत गरिएको छ। “भवनहरू विशाल र अपेक्षाकृत कम आर्कषक थिए। कुरूप थिए। उनीहरू सदैव नियतपूर्ण व्यवहार गर्ने गर्थे र विहानदेखि रातीसम्म उनहिरू खैरा मुसाहरूझैं शहरका पातला, बांगाटिंगा गल्लीहरूमा यहाँदेखि त्यहाँ भाग्ने गर्थे र आफ्ना उत्सुक एवं लोभी आँखाहरू च्यातेर अलिकता रोटीका लागि र अलिकता मनोरञ्जनका लागि भौतारिरहन्थे।

यसमाथि पनि केही मानिसहरू चौबाटोमा उभिएर निर्बल मानिसहरूमाथि यो हेर्नका लागि द्वेषपूर्ण आँखाहरू गाडिरहन्थे कि तिनीहरू सबल मानिसहरूका सामु नम्रतापूर्वक झुक्दछन् कि झुक्दैनन्। यो लामो अनुच्छेद उद्धरण गर्नुको कारण पाठकहरूले त्यहाँको समाजको वस्तुस्थिति मानवको समाज श्रमिक र धनीका बीचको देखा पर्ने अन्तर दुई प्रकृतिको मानवका बीचमा हुने व्यवहार मानिसले मानिसलाई हेर्ने दृष्टिकोण कसैको कारूणीक अवस्था कसैको सम्पन्न जीवनका बीच देखा पर्ने असमानताले समाजमा कस्तो प्रकारको विकास भन्ने विषयमा कथाकारले वर्णनात्मक शैलीको प्रयोग गरी सामाजिक वस्तुस्थितिलाई यथार्थ रूपमा चित्रण गरेका छन्। यो त्यो समाजमा मात्र होइन यो समाजकेा पनि वास्तविकता हो।

यस कथामा कल्पनाको उच्च उडानभन्दा विचारको सेरोफेरोबाट मानवको स्थिति विश्लेषण गरिएको छ। यो यथार्थवादी कथा हो, जसमा आदर्शभन्दा यथार्थ चीज नै बढी पाइन्छ। एउटा मानिसले समग्र मानव जातिको मुक्तिका लागि उच्च प्रकारको नैतिकता दर्शन र विचारबाट प्रभावित जीवनलाई सही रूपबाट विश्लेषण गर्ने क्षमता आदिको आवश्यकता पर्दछ। एउटा सानो कथामा प्रयोग भएका विचारहरूबाट ज्वालामुखी फुट्छ जसले विजयको दुरी ज्यादै नजिक ल्याउँछ। यस कथामा वर्णनात्मक शैलीको प्रयोग गरिएको छ। मानव जातिको मुक्तिलाई यसको उद्देश्य बनाइएको छ। शब्द र भावनाका बीच गाढा प्रेम प्रस्तुत गरिएको छ। पूंजीवादी संस्कारले मावनजातिलाई थिलोथिलो पारेको यथार्थ चित्रण कारूणिक रूपमा उठाइएको छ।

कथा जीवन दर्शनबाट प्रेरित छ। मानव जातिका उच्च आकांक्षा र इच्छा लटरम्म फलेका छन्। परिवर्तनका माध्यमबाट विभेदपूर्ण संसारको अन्त्य गरी सारा मानव जातिको एउटै संसार बनाउने दृढ अभिलाषा व्यक्त गरिएको छ। पूंजीपतिहरूबाट आफ्नो संसार खोसेर लिनुपर्छ भन्ने सन्देश दिइएको छ। कलात्मक प्रस्तुति वर्णनात्मक र आर्कषक शैली उच्च शब्दको जोसपूर्ण अभिव्यक्ति आकर्षक भाषा सोही अनुरूपको विचार मानवजातिको प्रेम देखा पर्ने अन्तरविरोध र सम्बन्ध वर्गीय असमानता यस कथाका विशेषता रहेका छन्।

(स्रोत : हाँक विक्ली – वर्ष २७, अंक २९ – २०६७ जेष्ठ २६ गते, बुधबार )

This entry was posted in समीक्षा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.