~गोविन्दप्रसाद आचार्य~
म पहाडमा जन्मिएको गाई गोठसँग राम्ररी परिचित छु। गाई बस्तुका पनि दुश्मन हुँदा रहेछन्। तिनीहरूको रगत खान विभिन्न प्रकारका किराहरू तछाड मछाड गर्दछन्। सबैलाई रगत चाहिएको छ। राम्रो वा नराम्रो जुनसुकै प्रकारको बलिदानीपूर्ण संघर्षमा रगतकै भूमिका हुँदोरहेछ। यहाँसम्मकि साना किरालाई पनि रगत कति मीठो लागेको मलाई ती गाईवस्तु देख्दा साहै्र टिठ लाग्छ। सानो भनेर के गर्नु किर्नो साहै्र अपराधी हुँदोरहेछ। पुच्छरले झंगा त धपाउन सक्छ तर किर्नो जीउ छोड्दैन। देख्दा सानो छ तर त्यसले दिने पींडा ठूलो छ। यहाँसम्म कि रगत खाँदाखाँदा भुइँमा खस्ला भन्दा त छालाभित्र घुसेर गाईलाई सताउने गर्छ। दानी गाईले रगत त दियो दियो रगत खाएर भूँइमा खस्नुपर्ने हो। तर अपराधी किर्नो छालाभित्र घुस्छ।
सानो किर्नोको सम्झना यस अर्थमा आइरहेछ। किर्नोलाई मानवीकरण गरेर हेरियो भने त्यहाँ खुनी मानवको चरित्र राम्ररी देख्न सकिन्छ। समाज डस्ने, पार्टी डस्ने, संघसंस्था र संगठन डस्ने किर्नो प्रवृत्तिले सुन्दर सफा संसारलाई भताभुंग पारिरहेछ। यहाँ एक प्रसंग जोडौं–नेपालको इतिहासमा मुलुक बनाउनका लागि कति रगत बग्यो भन्ने त्यसको लेखाजोखा छैन। रगतको इतिहासलाई अवसरवादी किर्नाले चुसिरहेको कारणले रगतको कुनै मूल्यनै रहेन। रगत खाने प्रवृत्ति किर्नो र मानवका बीच कुनै अन्तर देखिएन। यहाँ एउटा उखानको सन्दर्भ जोड्न चाहन्छु –“लंका पोल्ने हनुमान जस पाउने ढेंडु” नेपालको बाम आन्दोलनमा स्वच्छ र पवित्र मनले इमान्दारिता देखाएर घरपरिवार भन्दा देशमुक्ति आन्दोलन ठूलो हो भनेर लड्नेहरू मरेर शहीद भए तिनीहरू केवल शहीद मात्र भए तर किर्नो प्रवृत्ति शहीदको भजन गाएर आन्दोलन र इतिहासलाई शहीदको सपनामा सुम्पिएर रगत आफू खाने प्रथा देख्दा सानो किर्नाको खतरनाक प्रवृत्ति आन्दोलनको इतिहासँग जोडिन्छ।
पार्टी त्यसको हुन्छ जो लड्छ। जसले विचार र सिद्धान्तलाई एक इन्च पनि तल माथि हुन दिन्न, मर्नेहरू मरेर गए बाँच्ने ज्यूँदा शहीदहरू भोकभोकै तड्पी रहेछन्। तर आन्दोलनको समयमा मुसाका दुला खोज्दै हिंड्ने हुँदो न खाँदोको सिद्धान्तको बखेडा झक्ने तर पद र प्रतिष्ठाका लागि सिद्धान्त पनि नचाहिने इतिहास पनि नचाहिने ठूलाठूला स्वरले भगौडाले शहीदको सपना बाँडेको देख्दा इतिहासमा ठूलो नायक बन्ने सपना देख्ने कस्ले जो समयमा भागेको छ त्यसले पार्टी क्रान्तिलाई नोक्सान पुर्याउनेहरू मानवीकरण गरिएको किर्नो जसले निर्धो गाईवस्तुलाई सोझो देखेर रगत पिउँछ, यहाँसम्म कि छालाभित्र घुस्छ। अवसरको लागि एकताको ढवाङ बजाउनेहरूको प्रवृत्ति र किर्नोले रगत चुस्ने प्रवृत्तिका बीच कुनै अन्तर देखिन्न। लड्नेहरूको इतिहासमा किर्नोको रजाई देख्दा स्वच्छ रूपमा बढिरहेको आन्दोलनको इतिहासले धिक्कार भनिरहेछ।
सर्वहाराको पार्टीमा किर्नाको प्रवेशले मर्नेहरूको रगतले धिक्कार भनिरहेछ। पार्टीको शीरमा किर्नाले टोकेर दुखिरहेछ। पार्टी छट्पटाईरहेछ। त्यसैले म भनिरहेछु हे योद्दाहरू आन्दोलनको बेला लुक्ने अवसरको बेला देखिने रगतमा मुख मिठ्याउने अवसरवादी किर्नालाई खोजीखोजी फाली देउ शहीदको रगतले तिमीलाई सादुवाद दिनेछ। पार्टी र क्रान्तिको यात्रा अविछिन्न रूपमा बढिरहने छ। पार्टी भनिरहेछ किर्नो फाली देऊ स्वच्छ सुन्दर जीवन देऊ।
(स्रोत : हाँक विक्ली – वर्ष २७, अंक २२ – २०६७ बैशाख १ गते)