निशा के.सी का मुक्तकहरु

~निशा के.सी~Nisha KC

——————————–

हर दिन भेट होस् यस्तो आश लाग्छ
तिमी हुनुपर्छ सधैँ मधुमास लाग्छ
थाहा छ कोही पनि साथ हुँदैन सधैँ
तिम्रो रिक्तता असहनीय अत्यास लाग्छ ।

——————————–

दुख्दैन मलाई, हाँगाबाट खसेकी फूल हुँ म
नभेटी ईश्वर, बाटामा छरिएकी धूल हुँ म
न यात्रीसँग गुनासो छ मेरो न त नदीसँग
अनवरत किनारालाई जोड्ने दृढ पुल हुँ म ।

——————————–

तिम्रो नाममा पनि बेग्लै सुवास हुन्छ
मभित्र तिमी छौ यस्तै आभाष हुन्छ
तिमी भएर नै यो जिन्दगी रमाइलो छ
नत्र त आफ्नै आँगन पनि प्रवास हुन्छ ।

——————————–

फुल्दा फूललाई दुःख हुँदैन
बग्दा खोलालाई दुःख हुँदैन
अस्वीकृत अनुभूति हो दुख्नु
मर्दा शहीदलाई दुःख हुँदैन ।

——————————–

नाता कस्तो हुन्छ फूल र हाँगो हेर
खस्दा पनि खुसी पानी र छाँगो हेर
किन भन्छौ मेरो मात्रै हो आकास
माथि माथि चंगा र तल धागो हेर ।

——————————–

जून विना सगरको के अर्थ
नदी विना बगरको के अर्थ
कोरिन्छन् जब साँधसिमाना
सँगै हिँडेका डगरको के अर्थ ?

——————————–

मन दुखेपछि मात्र मनको हाल बुझेँ मैले
सागर सुकेपछि सागरको छाल बुझेँ मैले
मोडिएछन् तिम्रा पाइला अन्यत्रै, सुटुक्क
बनायौ बहाना र पो तिम्रो चाल बुझेँ मैले ।

——————————–

तिमी धमिलिँदा म कहाँ संग्लिन सक्छु
तिमी होचिँदा म कहाँ अग्लिन सक्छु
जम्दाखेरि तिम्रो हृदयको गंगासागर
तिमीलाई छाडेर म कहाँ पग्लिन्छु सक्छु ।

——————————–

न रुख न वन एक्लो हुन्छ
न गरिबी न धन एक्लो हुन्छ
एउटाले छाड्छ, अर्को आउँछ
न मानिस न मन एक्लो हुन्छ ।

——————————–

पुतली दिनमा, जूनकिरी रातमा राम्रो
पाउजेब खुट्टामा, चुरी हातमा राम्रो
भन्दिन म सधैँ एकान्त मनपर्छ मलाई
ध्यान एकान्तमा, सत्संग जमातमा राम्रो ।

——————————–

घामले कहिल्यै सागर सोस्न सक्तैन
खण्डहर उसको हृदय पोस्न सक्तैन
म गौरी, उ शंकर, हामी गौरीशंकर
कसैले उसलाई मबाट खोस्न सक्तैन ।

——————————–

मेरो प्रतीक्षालाई खूब छकायो उसले
अकिञ्चन यी नजर थकायो उसले
दिएको थिएँ हृदयका सबै जुहारत
नचिनेरै ती सारा, सकायो उसले ।

——————————–

ऊ टुप्पो हो, फेद हो र जरा हो
ऊ कठै हो, दुःखी हो र बरा हो
त्यति हुँदाहुँदै पनि सबैभन्दा माथि
ऊ मन हो, माया हो र धरा हो ।

——————————–

राम्रो वा नराम्रो केही हुँदैन मात्र मन हुन्छ
नाम कतिलाई, कसैलाई सबथोक धन हुन्छ
जब कोही बसेको हुन्छ देउतासरी हृदयमा
छाडेर जाओस् टाढा उसको माया झन् हुन्छ ।

——————————–

तिमीभन्दा ठूलो, लाग्छ अर्को कुनै सगर छैन
गन्तब्यमा पुग्न सक्ने अर्को कुनै डगर छैन
दुखाउँछौ त्यसैपनि, कहिलेकाहीँ यस्तो लाग्छ
उजाडिएको यो मनभन्दा अर्को कुनै बगर छैन ।

——————————–

बाँसलाई घाँस भन्छौभने तिम्रो नयनमा समस्या छ
हाँसलाई वाहन भन्छौभने तिम्रो चयनमा समस्या छ
सुत्दा उज्यालो थियो र उठ्दा अँध्यारो रहेछ यदि
सम्झनू कि मित्र अवश्य तिम्रो शयनमा समस्या छ ।

——————————–

उपहार त उपहार नै थियो, फरक ग्रहण गराइको थियो
चिनिनौ अमूल्य मायाको चिनो, दोष सायद हेराइको थियो
सप्रिएन सम्बन्धको फसल भनेर जमिनलाई नसराप साथी
बीउ र धरतीको कसुर थिएन, त्रुटि सायद छराइको थियो ।

——————————–

विना कर्म फल्ने कतै फसल हुँदैनन्
स्वर्ग जाने टिकट बेच्ने पसल हुँदैनन्
सर्पमा विष हुन्छ, उसैभित्र मणि पनि
भन्दिन म सबै खराब असल हुँदैनन् ।

——————————–

बिर्सनु कसरी त्यो, गाँस आधा आधा
बाँडेको खुशीमन बास आधा आधा
आयो अकल्पनीय आँधीहुरी जीवनमा
अब कोसँग बाँडौँ त्रास आधा आधा ।

——————————–

या दिनमा, तिमी या रातमा हुनु
मीठो त्यो अधरको मातमा हुनु
नहुनु मबाट एकछिन पनि टाढा
या नयनमा, किभने हातमा हुनु ।

——————————–

कहाँबाट आयो ऊ, हौसलाको प्रसार दिएर गयो
मुटु र मन हैन यौटा अनुपम धनसार दिएर गयो
भयदायी निष्पट्ट अन्धकार थियो मेरो महायात्रा
सिन्दूर हैन उसले मलाई भव्य संसार दिएर गयो ।

——————————–

हृदयको राज्य तिमीद्वारा हरणको पर्खाइमा छु
आँखा ओछ्याई बाटोभरि चरणको पर्खाइमा छु
साटिसकेपछि दुबैले गुलाबको फूलभित्र माया
आत्मा साक्षी राखी अब वरणको पर्खाइमा छु ।

——————————–

दुख्यो किन भित्र यस्तो थाहाछैन
भिजेको छ आँखा, किन थाहाछैन
तिमीलाई मात्र देख्छु हर दृष्यमा
म आफू पनि कता छु थाहाछैन ।

——————————–

मन दुख्दादुख्दै पनि शुभेच्छुक भएर आयो
सम्राट थियो स्वयम्, भिक्षुक भएर आयो
जान्दाजान्दै जीवन र स्वाभिमानको मूल्य
स्वयंको वलिदान गर्न इच्छुक भएर आयो ।

——————————–

बाटोका सारा सिस्नुहरू फाँडेर जानेछु
लाँदिन केही, सब कुरा बाँडेर जानेछु
आऊ जाऊ त भइरहन्छ जिन्दगीमा
जानेछु, यौटा अमर चिनो छाडेर जानेछु ।

——————————–

म भन्दिन रातलाई दिन बनाउन सक्छु
न त पहाड फोरेर नदी बहाउन सक्छु
आमा हुँ म प्रकृतिको भिन्न स्वरूपमा
म सक्छु, हिलोमा कमल फुलाउन सक्छु ।

——————————–

म नि कु थिएँ, उ नि कु थियो
बाहिर ठण्डा मनभित्र लू थियो
जब छाडेर गए सबले मलाई
पर्खने मलाई केवल ऊ थियो ।

——————————–

तामा, मुना भाँच्नेहरूको हुन्छ
जामा, घुमेर नाच्नेहरूको हुन्छ
सोधिहाल्यौ अब्बल सुहागरात
त्यो जवानी साँच्नेहरूको हुन्छ ।

——————————–

न मीठो गाँस मागेँ न राम्रो बास मागेँ
न कुनै आश मागेँ न क्यै खास मागेँ
प्रिय लाग्छ जिन्दगी उत्तिकै मलाई पनि
मागेँ त केवल त्रासरहित सास मागेँ ।

——————————–

नआउनु पर्थ्यो आयौ किन
निशब्द धून बजायौ किन
छुट्नु नै रहेछ यसरी हामी
व्यर्थै सपना सजायौ किन ?

——————————–

घम्साघम्सी नजरको थियो, घाइते तर मन भएथ्यो
मृदु स्पर्श सामान्य थियो, कम्पित तर तन भएथ्यो
तिमीलाई सम्झना छ, छैन माइक्रो बसको सहयात्रा
खेलाएथ्यौ हातको चुरी, आत्मीयता गाढा झन् भएथ्यो ।

——————————–

उज्यालो होला भन्यो, रात झन् गाढा भाछ
तिम्रो माया समयमा नउठ्ने भाडा भाछ
दुनियाँले खेदो गर्नु कुन बिस्मात भयो र
जो आफ्नो थियो, उही अचेल टाढा भाछ ।

——————————–

यदि मुस्कानले पुगेन, मेरो ओठ माग
दूध र दहीले पुगेन, सिंगो गोठ माग
रोज दिएकै थिएँ कोपिला र फूलहरु
यदि पुगेन भन्छौ, दिन्छु म बोट माग ।

——————————–

ऐश्वर्य नजान्ने धन जान्ने हुनै सक्दैन
शरीर नजान्ने मन जान्ने हुनै सक्दैन
सागर जान्नेले अवश्य जान्दछ बूँद
वसन्त नजान्ने वन जान्ने हुनै सक्दैन ।

——————————–

अन्त्य त्यसै राम्रो हुन्छ, सुरु राम्रो होस्
शान्ति त्यसै बहाल हुन्छ, कुरु राम्रो होस्
भगवान नै रिसाए नि भय हुँदैन भन्छन्
सौभाग्यशाली जसको सदगुरु राम्रो होस् ।

——————————–

तराईमा सुख्खा दुखोस्, पहाडको रुमाल भिजोस्
दार्चुलामा बाढी आउँदा झापाको धिमाल भिजोस्
सबैलाई होस् चौतारो, सबैलाई होस् अन्नपानी
पहाडमा गुराँस फुल्दा, सुगन्धले हिमाल भिजोस् ।

——————————–

तिमीलाई भड्काउने को थियो
सीधा कुरा अड्काउने को थियो
प्रेम विश्वासमा अड्छ जान्दाजान्दै
मनमा शंका छड्काउने को थियो ?

——————————–

प्रेम यस्तो होस, जहाँ कुनै बन्धन नहोस्
आँखा यस्तो होस,त्यहाँ कुनै रोदन नहोस्
छानु भत्काएर पाली छाउनुको के अर्थ ?
सम्बन्ध यस्तो होस,त्यहाँ कुनै क्रन्दन नहोस् ।

——————————–

कोर्थे बुट्टाहरु तिम्रा लागि, आज तिमी कोर्दैछयौ
भरि मेहेन्दीका रंग मेरा हत्केलामा खुशी छर्दैछयौ
हिजो म आमा , लाग्छ आज तिमी आमा जस्ती
गौरव लाग्छ अव तिमी नातामा मिठास भर्दैछयौ ।

——————————–

एक धर्को सिन्दुर तर त्याग कति ठूलो
एउटा आलिंगन तर माया कति ठूलो
समय त उही हो, घाम पनि त उस्तै
मेरोसाथ हिँड्ने, तिम्रो छाया कति ठूलो ।

——————————–

रुनु पनि त जीवन हो, रोएर त हेर
मनभित्रका सारा वेदना फोएर त हेर
सुकिलो हुनु छभने आफू भित्रैदेखि
मैलिएको मन आँशुले धोएर त हेर ।

——————————–

चन्द्रमामा पनि त छ, टाटो हेर
हामीले कुल्चिएका ती माटो हेर
अन्तिमपल्ट भन्दैछु म तिमीलाई
आउनेछ सुध्रेर समय, बाटो हेर ।

——————————–

मैले फुक्ने बाँसुरीको धून थियौ तिमी
सिरानीमा ज्योति छर्ने जून थियौ तिमी
जीवनमा आएथ्यो वसन्त मेरो, जतिखेर
मेरो कोशकोशमा बग्ने खून थियौ तिमी ।

——————————–

झिल्को नै पर्याप्त हुन्छ ,पूरै बस्ती डढाउन
सक्छ कुहेको एक गेडाले ,पूरै राश सडाउन
सोचिएनभने बोल्नुअघि शब्दको प्रहार
चाहिँदैन ठूलो निहुँ एक आपसमा लडाउन ।

——————————–

आफ्नै परिश्रमले भाग्यरेखा कोर्ने मान्छे थिएँ म
साँझ बिहान चूल्होचौको जोर्ने मान्छे थिएँ म
लायौ अनगिन्ती लान्छना आरोप सोचेनौ, पर्दा
तिम्रा दुःखहरु प्रसन्न मन सोर्ने मान्छे थिएँ म ।

——————————–

हिजै भेट्यौँ, आजै छुटिने दिन आयो
समयसँग हरे, आफैँ लुटिने दिन आयो
बाँकी थियो अलिकति मायाको बीउ
त्यो पनि, तिम्रै हात भुटिने दिन आयो ।

——————————–

कोही समयसँग रिसाएर के हुन्छ
आत्मीय सम्बन्ध चिसाएर के हुन्छ
आशा छ तिमी सोध्नेछैनौ मलाई
आस्थामा अनास्था मिसाएर के हुन्छ ?

——————————–

सपना निर्भय रहोस्, निदाई मागौँ
एकार्काको सुख–शान्ति चिताई मागौँ
पुछौँ आँशु, एकफेर माफसाफ गरी
आऊ, अब खुशीमन बिदाइ मागौँ ।

——————————–

स्वर्गमा पुगेपछि सुनको के काम
ध्यानमा पुगेपछि धूनको के काम
ती सब कृतघ्न हुन् जो भन्छन्
थाकेपछि गाई, थुनको के काम ?

——————————–

जे सोच, यो दिलभित्र केवल उही हुनेछ
उसका लागि मसँग गुलाब र जुही हुनेछ
तिम्रा लागि केही छैन उसमा, मेरा लागि
जीवन, जगत अनि ईश्वर उही हुनेछ ।

——————————–

आज फेरि सम्झनाका अनगिन्ती खात आयो
बिर्सुँभन्दा नसकिने अँधेरी त्यो रात आयो
मसँग विश्वास थियो कि उज्यालो हुनैपर्छ
र त अन्धकार चिरेर सुनौलो प्रभात आयो ।

——————————–

मूल नै दिन्छु भन्नेले धारा दिएन
आकाश दिन्छु भन्नेले तारा दिएन,
छाडेर गयो मलाई एकलास बाटोमा
वाचा तोड्यो आफै, सहारा दिएन ।

——————————–

भन्छौभने तिमी, जलेर उज्यालो छर्न तयार छु
तिम्रा लागि जस्तोसुकै त्याग, गर्न तयार छु
मात्र तिमीले बन्न सक्नुपर्छ करुणामय शिव
हेर पारिजात हुँ म, हाँगाबाट झर्न तयार छु ।

——————————–

रातले पनि हाथ्र्यो हामीसँग
दिनले पनि हाथ्र्यो हामीसँग
के मात्र इष्र्यालु थिएन भनुँ
फूलले हाँसो झाथ्र्यो हामीसँग ।

——————————–

तिम्रो तिरस्कार मेरो मलामी हुनेछ
जुन शब्दले दुखेँ त्यही सलामी हुनेछ
तिमीलाई मनपर्थ्यो स्वाभिमानी मान्छे
माग्दिन माफी, मागेमा गुलामी हुनेछ ।

——————————–

तिम्रो स्वभाव ठीक थियो, भाव कमजोर
तिम्रो स्थिति ठीक थियो, बहाव कमजोर
कोशिस खूब गरेँ, जे थियौ मन पराऊँ
तिम्रो माया ठीक थियो, अभाव कमजोर ।

——————————–

अरूदेखि तिम्रो प्यारो नाम छेक्न मन लाग्छ
तिमीलाई चाहनेहरुको लाम छेक्न मन लाग्छ
यो शहर त काट्छ कुरा अनेक अनेक तिम्रो
तिनको आँगनमा लाग्ने घाम छेक्न मन लाग्छ ।

——————————–

तिम्रो रिस पोख्ने म एउटा भाँडो भाछु
बुझ्छु तिमीलाई म अचेल घाँडो भाछु
फूल सम्झन्थ्यौ पहिले, सुम्सुम्याउँथ्यौ
म उस्तै दुरुस्त छु तर किन काँडो भाछु ।

——————————–

हेर्नु संसार,थाकेपछि शिर, मेरो काखमा बिसाउनु
बाँड्नु खुशी अरुसँग, जतिसक्दो मैसँग रिसाउनु
सम्झनु गुडेर अडिने, तिम्रो अन्तिम मैदान हुँ म
ग्रहण गरेन कसैले आँशु, मेरो खुशीमा मिसाउनु ।

——————————–

तिमी उदास हुन्छौ, मेरा आँखाले बर्सिनुपर्छ
सानो सानो गल्तीदेखि, मैले अचेल तर्सिनुपर्छ
मेरो मुखमा तिम्रै जयकार हुनेछ त्यसक्षण पनि
जब तिमी खुकुरीहस्त र मैले मर्न पर्सिनुपर्छ ।

——————————–

मन परेन तिमीलाई गइदिन तयार छु
जति दिन्छौ चोट, सहिदिन तयार छु
मुस्कुराउँछ यदि तिम्रो अन्तर आत्मा
प्रेममा अर्को शहीद भइदिन तयार छु ।

——————————–

सौन्दर्य हनु, सुगन्ध नहुनु के मज्जा
बन्धन नहुनु, स्वछन्द हुनु के मज्जा
आओस् रातलाई परास्त गरेर प्रभात
क्रन्दन नहनु, क्रान्ति हुनु के मज्जा ।

——————————–

कसैलाई घाम प्यारो, कसैलाई जून
कसैलाई शब्द प्यारो, कसैलाई धून
रुचि र औकात हुनुपर्छ मान्छेसँग
कसैलाई नून प्यारो, कसैलाई सुन ।

——————————–

हुनुपर्छ लालीगुराँस, सबैका ओठमा लाली
छुनुपर्छ सगरमाथा, सबैका हातमा ताली
गीत गाएरमात्र पुग्दैन डाँडैपिच्छे उभिएर
हुनुपर्छ देश मन्दिर, सबैका हातमा थाली ।

——————————–

धेरैलाई छोइदिने तिम्रो बानी कस्तो नराम्रो
बाहिर बाहिर रोइदिने बानी कस्तो नराम्रो
एउटै सूर्यलाई परिक्रमा गर्छ पृथ्वीले पनि
सबका कक्षमा होइदिने बानी कस्तो नराम्रो ।

——————————–

लुकीलुकी हेर्ने त्यो आँखाको ज्योति राम्रो
भेट हुदा पुरै खुल्ने ओठ भित्रको मोती राम्रो
राम्रो, जे दिएको छ प्रकृति र संस्कृतिले
पहाडकी सुन्दरीलाई तराईको धोती राम्रो ।

——————————–

याद उसैको लहरायो
घात उसैको चहरायो
ठीक छ ए जिन्दगी
जित उसैको फहरायो ।

——————————–

फूल फुलेपछि झर्दोरहेछ
मान्छे जन्मेपछि मर्दोरहेछ
अनुभूति रहेछ माया भन्नु
नबसी एकठाउँ, सर्दोरहेछ ।

——————————–

सामर्थ्य भए गरेर देखाऊ
रित्तो छ बाग भरेर देखाऊ
किनारामा अल्झिन्छौ किन
सक्छौभने पारि तरेर देखाऊ ।

——————————–

कहिले झरी कहिले घाम
कहिले बन्द कहिले जाम
हो, सहन्छ सब जिन्दगीले
नहुँदासम्म श्वास तमाम ।

——————————–

बोलाउने, आफू नआउने यस्तो कहाँ हुन्छ
गाउँ भनेर आफू नगाउने यस्तो कहाँ हुन्छ
हुनुपर्छ उस्तै व्यग्रता र छट्पटी सम्बन्धमा
तब पो माया गाढा, नत्र माया कहाँ हुन्छ ?

——————————–

बाबा आकाश हुनुहुन्थ्यो हामी जूनतारा टिप्थ्यौँ
बाबा प्रकाश हुनुहुन्थ्यो, हामी जूनकीरी टिप्थ्यौँ
घरको आश, त्रास, भरोसा र हाम्रो पहरेदार
बाबा महान् हुनुहुन्थ्यो, हामी महानता टिप्थ्यौँ ।

——————————–

तस्बिर त यहीँ छ, तिमी छैनौ
तक्दिर त यहीँ छ, तिमी छैनौ
पुगेकै छ सबथोक जिन्दगीमा
नभएको केभने तिमी छैनौ ।

——————————–

तिमीजस्तै तिम्रो बानी मीठो
तिमीले खाएको पानी मीठो
मीठो झन् तिम्रो मुस्कान
तिमीले बोलाको सानी मीठो ।

——————————–

हिरैहोस् नपरी किरण यसै कहाँ चम्कन सक्छ ?
छ सुगन्ध र पो मान्छेले सुगन्ध छम्कन सक्छ
चिहाउँनु मात्र पर्छ थोरै उज्यालोले, अन्धकारमा
स्वस्फूर्त पाइला, स्वर्णपथ तर्फ लम्कन सक्छ ।

——————————–

हुने र नहुने रीत कसले चलाएको छ ?
रोपेर माटोमा, सुन कसले फलाएको छ ?
छर्यौ असीमित मायाको बिउ, त्यसैले त
ढुंगाको मन फोरेर, हेर प्रेम पलाएको छ ।

——————————–

जिन्दगीमा अन्तिम साथी ज्ञान हुँदो रहेछ
कमजोरी वा शत्रु आफ्नै अज्ञान हुँदोरहेछ
जति नै प्रगति गरेँ भनोस् न विज्ञानले तर
ज्ञानभने मालिक, सेवक विज्ञान हुँदोरहेछ ।

——————————–

मनसंग मन मिसाई, मनकै बिस्कुन सुकाएछौ
बाधेँर राखेको मेरा हर पुञ्ज सजिलै फुकाएछौ
कसले भन्छ समुन्द्रभित्र मोती नै मोती हुन्छ ?
खुशी बाँड्न पल्केका, दुःख आफैँभित्र लुकाएछौ ।

——————————–

भाले बास्ने देशमा, पोथी बास्न चाहेँ
बगाएँ धेरै आँशु, अलिकति हाँस्न चाहेँ
सकिनँ आगो सल्काउन अधुरा रहरहरु
के बिराएँ, ज्युँदो मान्छे भएर बाँच्न चाहेँ ।

——————————–

युद्ध पिपासु माझ जिउनु छ बुद्धले
कोलाहल चुपचाप पिउनु छ बुद्धले
फाटेको छ यसोधरा, राहुलको मन
फर्केर एकपटक सिउनु छ बुद्धले ।

——————————–

फूलमा छँदैछ बासना पातमा नभएर के हुन्छ
दिनमा उदाउने घाम रातमा नभएर के हुन्छ
जो उपस्थित हुन्छ आँखामा भर रात, भर दिन
उसको भौतिक देह मेरो साथमा नभएर के हुन्छ ?

——————————–

बालगृह देख्यो पसुँ हुन्छ, बृद्धाश्रम देख्यो पसुँ हुन्छ
देख्छु असंख्य घरबारविहीन, विधि विधान डसुँ हुन्छ
कामचोर दलाल मोटाघाटा, गर्ने जति भोका व्यथित
देखी यो सब देशका लागि, इन्क्लाब मुठी कसुँ हुन्छ ।

——————————–

शान्त छु तिमीले अशान्ति जलाई दिएपछि
खुशीमन छु, तिमीले बेमन चलाई दिएपछि
थाहा छैन कहाँ पुगेर टुगिंन्छ यो महायात्रा
मुर्झायो अविश्वास, विश्वास पलाई दिएपछि ।

——————————–

माहुरी फूलमा, झिँगा रछयानमा बस्छ
हात्ती भएर निस्कने, सियो भएरै पस्छ
सर्पलाई जतिनै प्रेमले सत्कार गरेपनि
मित्र हुँदैन, त्यसले एकदिन अवस्य डस्छ ।

——————————–

चाहेर पनि आमा तिमीलाई हँसाउन सकिन
बन्जर यो मेरो हृदय प्रेमले रसाउन सकिन
न फूल्दै लाछी भुईभरि छर्यो बतासले मलाई
एक्लै रोएँ त्यो काखमा आँशु खसाउन सकिन ।

——————————–

रुझ्दै आयौ झरीमा र रुझाएर गयौ
नजरको प्यास पलभरमै बुझाएर गयौ
तिखारियो यो प्रेम, निःशब्द हुँदाहुँदै पनि
भनन कसरी मन घोटी धार उज्याएर गयौ ?

——————————–

लुकी लुकी फूल फूलमा गुन्गुनाउँदा रहेछौ
देखेजतिलाई आफ्नो हुन मनाउँदा रहेछौ
युद्ध नै किन गर्नुपर्यो र गाण्डिव उठाएर
एकै तीरले हजारौँ घाइते बनाउँदा रहेछौ ।

——————————–

आफु जलेर, उज्यालो लुटाउनेलाई
सिगों आकाशको भार उठाउनेलाई
केहि भेटिन अर्पण गर्न योग्य वस्तु
स्वंयम सिर्जनाको मुल फुटाउनेलाई ।

——————————–

पसिना बेचेर इमान कमाएँ, तैपनि लाग्छ अपुरो
सपनाहरुसंग विपना साटेँ, कतिछन् अझै अधुरो
रगं त दलिरहेँ एकनास जीवनका भित्ताहरुमा
सुन्दर देख्ने तिमी छैनौ, अनि सब लाग्छ मधुरो ।

——————————–

कहिले आधी,कहिले निम्ठो, कहिले माया झुशी लाग्छ
गुम्स्याएर राख्योभने मनभित्रका कुरामा नी ढुशी लाग्छ
भन्न त भन्यौ हिमनदीझैँ बग्नेछु निरन्तर, बग्नु तिमी
त्यो त तिम्रो हक हो प्रिय, मलाई त झन् खुशी लाग्छ ।

——————————–

फूलको जरामा के छ खन्नेहरुलाई
जून छोडेर लाखौँ तारा गन्नेहरुलाई
भर्ना गरिदिऊँ लाग्छ शिशु कक्षामा
मायाप्रेम दर्शन होइन भन्नेहरुलाई ।

——————————–

शब्द तिमीलाई, सुगन्ध तिमीलाई, पाती तिमीलाई
भाग्य लेखिने यो निधार र सहने छाती तिमीलाई
हेर, चियाइरहेछ संघारबाट नयाँ वर्षले फेरि पनि
भोलिको उत्सवीय साल डाक्ने यो राती तिमीलाई ।

——————————–

तिमीले त अचेल जासुसी गर्न थालेका रैछौ
मोटा मोटा कुकुर कुकुर्नी पनि पालेका रैछौ
आफूलाई खूब सुरक्षित ठान्छौ रे,होशियार
सिसमहलमा बसी बाहिर ढुंगा फालेका रैछौ ।

——————————–

अनेक कष्टमाझ आनन्दको गीत गाउन सकिन्छ
हिँड्दा हिँड्दै यात्रामा आत्मीयजन पाउन सकिन्छ
जसभित्र लुकेको हुन्छ लुट्ने, लुटाउन सक्ने खजाना
बाटोमै किन नहोस् असीमित खुशी लुटाउन सकिन्छ ।

——————————–

कुहु कुहु काफल पाक्यो, वनमा चरा गाउँदैछ
फुलेका छन् फलका वृक्ष बगैँचा मग्मगाउँदैछ
मनभित्रको च्छोरोल्पालाई म कसरी थामुँ अब
परदेश गएको मेरो छोरो गुँड फर्की आउँदैछ ।

——————————–

पोल्छ पानीले, तातो घामले चिस्याउँछ किन
आफनो छायाँले आफैँलाई जिस्क्याउँछ किन
थाहा छ, अर्थहीन जीवन बाँचिरहेछु अचेल
तैपनि तिम्रो सम्झनाले मलाई सताउँछ किन ?

——————————–

पढ्नुको अर्थ छ, नपढ्नुको नि अर्थ छ
नपढोस् कोही साहित्य, जीवन अनर्थ छ
यस्तो पनि छ एउटा अमर ग्रन्थ माधवी
सबै पढोस्, नपढोस् माधवी, त्यो व्यर्थ छ ।

——————————–

समुन्द्र छोडेर, मरुभूमिमा पानी खोज्न हिँड्यो
उजाड्यो बगैंचा, र जंगली झार गोड्न हिँड्यो
खै कसरी बिउँझियो, घोर निन्द्राबाट कुम्भकर्ण
बोक्यो सुपरग्लु, र टुक्रिएको मन जोड्न हिँड्यो ।

——————————–

आँखा हुनु, ज्योती नहुनु
सागर हुनु, मोती नहुनु
उस्तै उस्तै लाग्छ मलाई
लक्ष्मी हुनु, सरस्वती नहुनु ।

——————————–

मलाई त के छ र, फूल फुलोस् चाहेँ
सिउरोस् कसैले तर सिउरोस् चाहेँ
चाहन्छु म बाँसजस्तै मान्छेहरुको उचाइ
तर त्यो उचाइ सधैँसधैँ निहुरोस् चाहेँ ।

——————————–

यात्रा एउटै दुई फरक बाटो थियो
देख्दा संगै, भित्र भित्र फाटो थियो
अग्नि साक्षी राखी भरेको रातो रंग
सिन्दुर थिएन, एक चिम्टी माटो थियो ।

——————————–

मिर्मिरेमा चराहरुले गीत गाउँछन्
घाम पनि घरमै आई प्रीत लाउँछन्
उठ साथी आलस्यको सिरक फालेर
समयपालकहरुले नै जीत पाउँछन् ।

——————————–

भावको प्रकार छ यहाँ, अभावको नि प्रकार छ
चुलिए नि सगरमाथा त्यसको आफ्नै आकार छ
जलस्रोतको धनी देशको यो कस्तो बिडम्बना
बढेको बढ्यै छ लोडसेडिंग, सर्वत्र अन्धकार छ ।

——————————–

उसको आँखामा सधैँसधैँ फूल हुन्थ्यो
मेरो अनुपस्थितिमा उसलाई शूल हुन्थ्यो
मेरो मुस्कान त केवल एउटा नहर थियो
उसको मुस्कानमा अपूर्व मूल हुन्थ्यो ।

——————————–

पीपल चाहिन्छ, मलाई वर चाहिन्छ
जिन्दगीमा कसै न कसैको थर चाहिन्छ
निदाउन सक्दिन म खुला आकाशमुनि
खरकै सही, मलाई एउटा घर चाहिन्छ ।

——————————–

ती केही कठिन क्षणहरु खनिसाध्य छैन
कति याद आयो तिम्रो गनिसाध्य छैन
बेकार हो सोच्नु नै को बढी एक्लियो
कति एक्लो थिएँ म भनिसाध्य छैन ।

——————————–

तिमीले अन्त्य भन्यौ मेरो सुरु त्यही थियो
तिमीले दुत्कार दियौ मेरो गुरु त्यही थियो
बसेँ निशब्द भनेर कायर नठान्नु मलाई
शब्दको वाण चलाएँ, मेरो कुरु त्यही थियो ।

——————————–

नारीमाथि विभेद छ, बोल्दा लोकाचार नगरे हुन्छ
आदर्शका कुरा गरी व्यवहारले व्यभिचार नगरे हुन्छ
भइरहेछन् बारम्बार अमानवीय हिंसा नारीमाथि
माया चाहिन्न बरु तिनलाई अत्याचार नगरे हुन्छ ।

——————————–

भावातीत साधनाका दस दिन सहर्ष भो
देखी मन भित्रको स्थिरता असीम हर्ष भो
ध्यान त अद्भूत थियो एकाग्र चित्त पनि
अनुभूतिको के कुरा जीवनकै उत्कर्ष भो ।

——————————–

जापान, अमेरिका हैन मलाई मेरै देश डुलुँ लाग्छ
बाजुरा र कालिकोटका ती भीरपाखामा फुलुँ लाग्छ
जब उदाउँछन हिमचुलीमा सुनौला घामका झुल्का
पोखेर पसिनाको धारा यही भूस्वर्गमा भुलुँ लाग्छ ।

——————————–

बाहिर गायब भित्र भित्र म चलमलाउँदै छु
मायाप्रेमका कुराले आफैँलाई अलमलाउँदै छु
भन्न सक्नुहुन्छ हजुर मलाई, गुमनाम कवि
मेरो अन्तराकाशमा भने म झलमलाउँदै छु ।

——————————–

चोट दियौ अनायासै, यी नयनबाटै झारेँ
कतै छैनौ बाँकी अब सब स्मृतिबाटै बढारेँ
नमोड ति विषाक्त आँखा मेरा आँखातर्फ
सकियो श्रद्धा, सम्मान आज आफैँबाटै हारेँ ।

——————————–

अनन्तमा हाम्रो प्रेम एउटा पानो हो
तिम्रो त्यागका अगाडि मेरो सानो हो
बिछोड एउटा पर्खाइ, तर मिठो पनि
मिलन मन्दिर चिरमिलन छानो हो ।

——————————–

लुकाएर मुटुभित्र तिमीलाई साँच्न गाह्रो पर्यो
वृक्षसरी झयाँगिएछौँ भाँचु भाँच्न गाह्रो पर्यो
बतासले नि हाम्रो प्रीतको डाह गर्न थालेपछि
निश्चिन्त भै शहरमा, अब बाँच्न गाह्रो पर्यो ।

——————————–

दृष्य उही नयन फरक छ
सपना उही शयन फरक छ
हेरौँ को को हुनेछन् विजेता
चुनाव उही चयन फरक छ ।

——————————–

जटिलताको पहाड अलिकति भासी हेर
ह्रदय सम्राट तिमी, मेरो माया दासी हेर
कति सम्झिन्छु तिमीलाई पल प्रतिपल
यी शान्त आँखामा छाईरहने उदासी हेर ।

——————————–

सकिन्न भुल्न निस्तब्ध चिसा रातहरुलाई
खीलझै गडेका मन भित्रका बातहरुलाई
शरदकी लालुपातेझै म, फक्रिरहेकी छु
सहँदै चूपचाप, अनगिन्ती आघातहरुलाई ।

——————————–

रंग त रंग नै हो, सप्तरंगी रंग बेग्लै
प्रिय भएनि भाई, टीकाको संग बेग्लै
पुज्न त पुजिन्छ, हरेक चाडमा ईश्वर
तिहारमा पुजिने दाजुभाईका अंग बेग्लै ।

——————————–

मृत्युलाई कुराएर जीवन जगाउँछु म
अनवरत उसको यात्रामा सघाउँछु म
निदाउनेछु चीर निद्रामा त्यसदिन
उसलाई हेरेर जुन दिन अघाउँछु म ।

——————————–

सबैभन्दा पहिले नेपाल आमालाई धोती हुनुपर्छ
धनले कसलाई पुग्छ, हाम्रा शब्दमा मोती हुनुपर्छ
बलि दिनु अहंकार र भित्रका सब अन्धकारहरुको
चाडहरुको सन्देश यही कि मुहारमा ज्योति हुनुपर्छ ।

——————————–

(स्रोत: Nisha’s Facebook)

About Sahitya - sangrahalaya

We will try to publish as much literary work of different authors collected from different sources. All of these work is not used for our profit . All the creative work belongs to their respective authors and publication. If requested by the user we will promptly remove the article from the website.
This entry was posted in मुक्तक and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.