~दिव्य गिरी~
तिमी कहिले स्वर्गकी परी बनेर आयौ
तिमी कहिले वर्षात्की झरी बनेर आयौ
जव मेरो जवानीमा वसन्तका दिन आए
तव तिमी चैतको आधीँहुरी बनेर आयौ
—————————–
पीर सारा भुलाउन यतिवेला ‘शराव’सँग छु म
एक्लो हुँदा, त्यसैले तिम्रो अभावसँग छु म
आज घात–प्रतिघात र अशान्तीबीच बाँचिरहेछु
कसैसँग विश्वास छैन, जमाना खराबसँग छु म ।
—————————–
तीरझैँ बर्सिने ती नजरको के कुरा ?
इन्द्रेणीझैँ खुल्ने ती अधरको के कुरा ?
नजर र अधरको असर नै काफी छ
मलाई बेहोस पार्न जहरको के कुरा ?
—————————–
आफैले गरेको वाचा तोड्नेसँग के लाग्छ ?
सधैं हिँडिरहेको बाटो छोड्नेसँग के लाग्छ ?
विश्वास हो विश्वास मै अडिएको छ संसार ?
माया गर्दागर्दै मन अन्तै मोड्नेसँग के लाग्छ ?
—————————–
तिम्रै रुपले मोहनी लगायो त म के गरुँ ?
तिम्रै हाँसोले माया जगायो त म के गरु ?
तिम्रै रुप, यौवन र नजरको कमाल हो
सबै छाडी तिम्रैपछि भगायो त म के गरु ?
—————————–
तिमीले एकान्तमा गीत नगाएको भए
तिमीले मसँग आफै प्रीत नलाएको भए
बिपनामा म तिमीलाई खोज्ने नै थिईन
तिमी राती मेरो सपनीमा नआएको भए ।
—————————–
घामको तिर्खा मेट्नलाई पानी चाहिन्छ
तनको तिर्खा मेट्नलाई सानी चाहिन्छ
हिजोआज पाइैंदैन चाहे जस्तो माया
चोखो माया पाउन दिलकी रानी चाहिन्छ ।
—————————–
उजाड मौसममा तिमी बहार बनेर आयौ
उदास जीवनमा मधुर झङ्कार बनेर आयौ
मरुभूमिझै मेरो यौवनको तिर्खा मेट्न
तिमी आयौ, झरी बनेर, असार वनेर आयौ ।
—————————–
हिजो आस्थाको गजुर ढालेर गयौ तिमी
आज मनभित्र आगो बालेर गयौ तिमी
मेरो जिन्दगीको बगैंचामा फुलेका फूललाई
विना कारण भुईंभरि फालेर गयौ तिमी ।
—————————–
फूलभन्दा कोमल तिम्रो त्यो मन रहेछ
जूनभन्दा शीतल तिम्रो त्यो तन रहेछ
मन र तन मात्र नरम भएर के गर्नु
आरालेझै मुटु चिर्ने तिम्रो त्यो नयन रहेछ ।
—————————–
लाग्छ यो दिन पनि अँध्यारो कुवा जस्तो
लाग्छ यो हावा पनि कालो धुवाँ जस्तो
प्रिये ! जब तिमी मदेखि टाढा हुन खोज्छ्यौ
लाग्छ तिम्रो माया पनि सिमलको भुवा जस्तो ।
—————————–
तिमीसँग नजर जुधे पछि घायल भएँ म
तिम्रै सम्झनाले सताए पछि कायल भएँ म
नसोध, मैले कसरी बिताइरहेछु दिन–रात
मुटुमा मायाको काँडा बिझे पछि बेहाल भएँ म ।
—————————–
यौवनको गोरेटोमा पाईला टेके पछि
साँझ–विहान बाटोमा सधैं देखे पछि
तिमीभित्र आधीँवेरी चल्न थाल्यो होला
मैले तिमीलाई प्रेम–पत्र लेखे पछि ।
—————————–
तिमीले एकान्तमा गीत नगाएको भए
तिमीले मसँग आफै प्रीत नलाएको भए
बिपनामा म तिमीलाई खोज्ने नै थिईन
तिमी राती मेरो सपनीमा नआएको भए ।
—————————–
मैले जस्तो माया तिम्लाई कस्ले गरेको छ ?
तिमी हिँड्ने बाटोमा फूल कस्ले छरेको छ ?
देखाउँला भन्दै थिएँ, तिम्लाई निरमाया
आँसु झारीझारी कुवा कस्ले भरेको छ ?
—————————–
झरेको पातको के अर्थ रह्यो
बितेको बातको के अर्थ रह्यो
दुइ मुटुको मिलन हुने भएपछि
यो जात–भातको के अर्थ रह्यो ।
—————————–
फुल छ, फुलमा वासना छ
प्रेम छ, प्रेममा कामना छ
फुल र प्रेमको रंग उस्तैस्तै
तिमीविना मलाई शासना छ ।
—————————–
धर्ती छ, आकाश छ र पो घाम–पानी छ
तिमी छ्यौ, म छु र पो जिन्दगानी छ
यो संसार मायामा नै अडिएको छ प्रिये !
हाम्रो दुई मुटु एकै छ र पो मायाको खानी छ ।
—————————–
तिमीले दिन्छु भनेको त्यो सहारा नै काफी छ
तिमीले दिन्छु भनेको त्यो जून तारा नै काफी छ
अब सहारा र जून ताराको खै के कुरा गर्नु प्रिये !
मलाई त तिम्रो नजरको एक इसारा नै काफी छ ।
—————————–
काले काले मिलेर खाएको भाले जस्तो भयो प्रजातन्त्र!
जो चोर छ उसैलाई राखेको पाले जस्तो भयो प्रजातन्त्र!
प्रजातन्त्र पछि न शान्ति नै भयो न त विकास नै भयो
खरानीको दुःखले घर नै बाले जस्तो भयो प्रजातन्त्र!
—————————–
पाकेको बालीमा असिना झरे पछि के लाग्छ ?
जो नेता उसैले भ्रष्टाचार गरे पछि के लाग्छ ?
प्राकृतिक सुन्दरताले मात्र देश देश हुँदो रहेनछ
बाँदरको हातमा नरिवल परे पछि के लाग्छ ?
(स्रोत : मुक्तक मनोहर )