कथा : सुन्तलाबारी देखि मजरा सम्मको श्रमयात्रा

~विरेन्द्र कटवाल~Birendra Katawal

आजभोलि उनी अथवा ‘जनक’ उदास देखिन्छन् । सधैँभरि हाँसो–ठट्टा, खुसी र उमङ्गले चम्किरहने उनको अनुहार, सीमसार जस्तै भएको छ । आँखा सधँ रसाइरहेका देखिन्छन ।

अनुहारबाट कान्ति फुङ्ग उडेको छ । नत्रभने २४ घण्टामा १६ घण्टा काम गर्दा पनि उनको हनुहारमा आलस्यता र वैराग्यता देखेका थिएनन्, गाउँलेहरूले ।
उनी कुखुराको पहिलो डाकमै सुन्तलाबारीमा पुगिसकेका हुन्थे । उनको दोश्रो लटको चिया पिउले बेला भएपछि, बल्ल गाउँलेहरूको उठ्ने बेला हुन्थ्यो । उनको यो दैनिकिमा आमूलपरिवर्तन भएको छ, हिजोआज । होइनभने उनको दैनिकि गाउँलेहरूको लागि अलाराम जत्तिकै थियो ।

तल बारीको पाटोबाट, ‘जानुका ! ए जानुका ! होइन आज चिया ख्वाउने योजना छैन कि क्याहो ? अँझै सुतिराकी हो ?’ भनेर कराउँथे ।
‘कति कराउनु भा’को, हो । ल्याँउदै छु त । आफू घाम अस्ताउन नपाइ सुत्नुहुन्छ । अनि उज्यालोनै नभैकन सारा गाउँका सुतिरहेका मान्छेलाई बिँउझाइ दिनुहुन्छ । कति सराप्ता हुन तपाईंलाई गाउँका मान्छेले ।’ जानुका भाउजू यसरी जवाफ दिन्थिन् ।

‘रिसाए के गर्नु त हो, मध्यराती उठेर हल्ला गरेको छइन । उज्यालो भैसक्दापनि उठ्दैनन । त्यहीभएर त, देख्दिनस ? ४० कटेका हुँदैनन्, कोही सुगर भयो भन्छन । कोही युरिक–एसिड बढ्यो भन्छन् । कसैको कोलेस्टोरोल बढ्यो भन्छन् । कसैलाई हर्ट–अट्याक भयो अरे । बेलैमा उठ्नु । काम हुनेले काम गर्नु । आफूलाई पुगिसरी आको ठान्नेले चारपाँच किलोमीटर कुद्नु, व्यायाम गर्नु ।’ ऊ थप्छ, ‘हेर्त, तेरो बूढो ५० पुग्न लागि सक्यो । अहिले पनि हेण्डसम छ । मेरो टाउको दुखेको कहिल्यै थाहापाएकी छस, तैँले ?’

‘मरे मत, कसैले तपाईं भनोस कि नभनोस आफै मपाइँ ।’ भन्दै, दिलखोलेर हाँस्थिन्, जानुका भाउजू ।
उनीहरूका यस्ता प्रेममय सम्वाद सुनेपछि बल्ल गाउँलेहरूको निद्रा खुल्थ्यो । ‘ल, है उठ, जनकले सुन्तलाबारी गोडिसके ।’ त्यसपछि बल्ल गाउँलेहरूको उठ्ने र उठाउने क्रम सुरुहुन्थ्यो । उनीहरूको यो प्रातः सम्वाद गाउँलेहरूलाई बानी बसिसकेको थियो ।

तर धेरै दिनदेखि उनीहरूको यस्तो सम्वाद गाउँलेहरूले सुन्न छाडेकाछन । उनीहरूका सम्वाद सुनेर उठ्ने बानी परेका गाउँलेहरूको उठ्ने र उठाउने समयतालिकामा क्रमभङ्ग भएको छ । कसैको कलेज छुटेको छ । कत्तिको मेलापात छुटेको छ । उठ्न ढिलाभएर, कसैको चिया पिउने र खाना खाने समय तालिका टुटेको छ ।

उठ्न त जनक सबेरै उठ्छन् । तर, निशब्द, आँगनको डिलमा उभिन्छन् र सुन्तलाबारीतिर नियाल्छन । सुन्तलाका बोटहरू जिङ्ग्रिङ्ग भएर सुकेका हुन्छन । उनले सक्तो कोसिस गरेका थिए, ती बोटहरू बचाउन । तर सकेनन् । समयको गतिस्पर्श यति कठोर र यति निर्म म पनि हुन्छ । उनले कहिल्यै सोचेकै थिएनन । नत, उनलाई यसबारेमा सोच्ने कहिल्यै फुर्सदनै मिल्यो ।

उनले आफ्नो पसिनाले सिञ्चित नगरेको कुनै एउटा सुन्तलाकोबोट थिएन । प्रत्यक सुन्तलाका बोटको हुलिया थाहाथियो, उनलाई । उनका स्निग्ध हातहरूले स्याहार–सम्हार गरेका सुन्तलाका बोटहरूले डाँडाकाँडा ढाकेका थिए । बारीका प्रत्यक आली र कान्लाहरू उनले सुमसुम्याएका थिए । पहिला तीनै आली र कान्लाहरू जति हेरेपनि धितमर्दै थियो, उनलाई ।

आज उनको मन कुँडिएकोछ । सुन्तलाबारी उराठलाग्दो भएकोछ ।
पहिलापहिला तिनै बारीका पाटाहरूमा लटरम्म सुन्तलाहरू पहेलपुर भएर पाकेकाहुन्थे । आकाशमा ढकमक्क जूनलागेको हुन्थ्यो । त्यही आँगनको डिलमाटेकेर बारीमा हेर्थे । जूनको प्रकाश पहेलपुर सुन्तलामा ठोकिएर परावर्तित हुँदा आफ्नो श्रमले आर्जिएको त्यो सुन्तलाबारी, हरियो आकाशमा पहेला ताराहरू ढकमक्क फूलेकोजस्तो देखिन्थ्यो । कर्मको फल त्यसरी फूलेको देख्दा, उनको अनुहार पुल्कित हुन्थ्यो । त्यो मनोरम दृश्यले उनलाई उमङ्गित बनाउँथ्यो । र, उनको नसानसामा जाँगरको रक्तसञ्चार गरिदिन्थ्यो ।

तर आज सुन्तलाका बोटहरू वइलिएका छन । उनको अनुहारको पुल्कित हराएको छ । र, मन रोएको छ । छोराको भविष्य उजाडिएको छ । जानुका भाउजूको हाँसो मूच्र्छा परेकोछ ।
नत्रभने, कति मजाले दिल खोलेर हाँस्थिन जानुका भाउजू । उनीहरूको परिवारमा सुन्यता छाएको छ । र, त्यो सुन्यताले गाउँनै चकमन्न भएको छ ।
पोहोर हो क्यार । क्यामरा बोकेर पत्रकारहरू आएका थिए । उनको आँगनको डिलमा क्यामरा राखेर पहेलपुर सुन्तलाको बोटहरूको भीडियो खिचे । र, उसलाई सोधे, ‘तपाईं विदेश जाने नेपाली युवाहरूलाई के भन्नुहुन्छ ?

उनले भनेका थिए, ‘नेपालमा प्रशस्त सम्भावनाका मुहानहरू छन । मिहिनेत गर्ने हो भने यही माटोमा सुन फलाउन सकिन्छ । म बुझ्दिन नेपाली युवाहरू किन त्यो मरुभूमि प्रति आकर्षित हुन्छन ।’ र, उनले विदेशजाने युवाहरूलाई फर्किन आवहान गर्नपनि भ्याएका थिए ।

आज उनी आफूलाई भीमकाय पहरोकोबीचमा अलपत्र भएको अनुभूत गर्छन् । न टेक्ने कुनै ठाउँ भेट्छन, न त समाउने कुनै लहरो ।
हुनत जग्गा–जमीन बेचेर उसले बैङ्कको ऋण तिर्न सक्थे । तर, त्यसोगर्दा, पेटीको बास हुन्थ्यो, उनको । नगरुन भनेपनि व्याज बड्दै जान्थ्यो । पछि उनको जायजेथाले नभ्याउन पनि सक्थ्यो । उनी बैङ्कमा गएर रोइकराइ नगरेका पनि होइन । उनले अर्को उत्पादन नहउँन्ज्यालसम्म व्याजसम्म मिनाह गरी दिन आग्रह गरे । अनूनय–विनय गरे । तर, ब्यङ्कले नियमले मिल्दैन भनेर फर्काइदियो ।

–‘त्यस्ता कृषि–उद्यमीहरूलाई सरकारले बिमा गरिदिने व्यवस्था गरिदिनु पथ्र्यो । त्यस्तो गरिदिएको भए, आज जनक ‘टेक्ने न समाउने’ को स्थितिमा आइपुग्ने थिएनन् ।’
–‘होत नि, एउटा जाँगरिलो मान्छे यसरी दिशाहीन भएर विक्षिप्त हुनुपर्ने थिएन । उनी ‘जनक’ मात्रै थिएन । उनी प्रेरणाका श्रोत पनि त थिए । उनी जाँगरको प्रतिमूर्तिपनि थिए । उनी देशको सम्पति पनि थिए ।’

–‘साँचै भन्नुभयो, त्यस्ता यद्यमशील मान्छेहरूलाई राज्यले संरक्षण गर्नुपथ्र्यो । तर, विडम्बना त्यसो हुन सकेन ।’
–‘होत हगि, श्रोत र साधनहरू आफैमा गतिशील हुँदैनन् । त्यसलाई गतिशील बनाउन जनकजस्ता उद्यमशील र जाँगरिला मान्छेहरू चाहिँन्छ ।’
–‘ठीक भन्नुभयो, त्यस्ता जाँगरिला मान्छेलाई रुवाएर देश हाँस्न सक्तैन थियो । तर, कस्ले बुझ्ने ।’ हिजोआज, गाउँभरी उनीप्रति यसरी सहानुुभूति प्रकट गरेकोसुनिन्छ ।

उनले छोरो ‘विनोद’ लाई कृषि सम्बन्धी अध्ययन गर्न पोखरा पठाएका हुन्छन । उनी आफ्नो छोरोलाई वनस्पतिडक्टर बनाउन चाहान्थे । ता कि गाउँका किसानहरूले खेतिबालीमा लागेका रोगहरूबाट प्रताडित हुननपरोस । तर, छोरो डक्टर हुनैनपाइ उनको सुन्तलाबारी महामारीको शिकार बन्न पुग्यो ।
‘सबै नेपाली युवाहरू विदेशबाट फर्किउन । आफ्नो परिवारसँग बसेर पेशा र व्यवसाय गरुन । दूबो पनि नउम्रने मरुभूमिका ‘मजरा’ मा खूनपसिना बगाएर नेपाली युवाहरू आलु फलाउछन । टमाटर फलाउछन । बन्दाकोभी र भाण्टा फलाउँछन । थरी–थरीका खजूरहरू फलाउँछन । उनीहरूको एक–एक थोपा पसिना यही मुलुकको माटोमा बगिदिए । देशबन्न कति बेर लाग्थ्यो होला र रु’ उनी यसरी कल्पना गर्थे ।

आजभोली उनलाई पटक्कै निन्द्रा लाग्दैन । रात ढल्किसकेको हुन्छ । विभिन्न कोणबाट सोच्छन तर, उपाय कतैबाट पनि निस्कँदैन । यत्तिकैमा उनलाई पुष्पनाथ कोइराला अथवा आफ्नोक्षेत्रका सभासदको सम्झना आउछ । भोटमाग्न आउँदा ती सभासदले भनेको कुराहरू सम्झन्छन् । र, एक पटक भेट्न पाए १ केहि उपाय सुझाउथे कि रु भन्ने लाग्छ । र, एकपटक भेट्ने निश्चय गरेर कनीकुथी निदाउने प्रयत्न गर्दछन् ।

ÒÒÒÒÒÒÒÒÒÒÒÒÒÒÒÒÒÒÒÒÒÒÒÒÒÒÒ
सधैँँझै कुखुराको पहिलो डाकमै सबेरै उठ्छन । र, आशाको छिन्नलागेको त्यान्द्रो लिएर राजधानी तिर लाग्छन ।
भेलिपल्ट बिहान ११ बजेतिर, जनक सम्विधानसभा भवन अगाडि पुग्छन । खासै चहलपहल देख्दैनन् । प्रवेशद्वारमा बसेका एकजना प्रहरी सँग अनुमति लिएर भित्र जान्छन । दुईचारजना, उनी जस्तै सभासद या मन्त्रीलाई भेट्न आएको हुनुपर्छ, घुमिरहेका हुन्छन् । उनी बिना थुनछेक बैठककोठा सम्म पुग्छन । तर सभाहल निर्जन र शान्त हुन्छ । सभासदहरूको त्यत्रो गोठ नै नदेख्दा छक्क पर्छन, जनक ।

एकजना कर्मचारी हुुनुपर्छ, भित्र आउँदै गरेको देख्छन् । उसलाई केहि थाहा छ कि भनेर सोध्छन, ‘आज सभासदहरू देखिदैनन् । बैठक छैन कि के हो रु हजुरलाई केहि जानकारी होला ?’
‘ल, तपाइँलाई त्यत्तिपनि थाहा छैन । यसो समाचार, पत्रपत्रिका हेर्नु हुन्न र?’ भनेर हप्काउँछ ।
के चाहिँ आएको थियो त, समाचारमा रु भनेर जनक सम्झने प्रयास गर्छन् । टेलिभिजनको अगाडि बसेको सम्म चाहिँ सम्झन्छन् । तर, टेलिभिजनले के भनेको थियो रु भन्ने चाहिँ पटक्कै सम्झना आउँदैन । र, ‘थाहा भएन त, हजुर ।’ भनेर जवाफ दिन्छन ।

त्यो कर्मचारीले बेलिबिस्तार लगाए अनुसार– १५ दिनदेखि सभासदहरूकको बीचमा नेपाल कस्तो बनाउने भन्ने बिषयमा मतमतान्तर चलेकोरहेछ । कसैको राय, सन्त नेताले भनेजस्तै सिङ्गापुर बनाउने भन्ने रहेछ । कोहिचाहीँ त्यो पुरानो भइसक्यो । अब, स्विट्जरल्याण्ड बनाउनु पर्छ भन्दा रहेछन । कोहि चीन बनाउने पक्षमा रहेछन । कोही भारत नै बनाउँ, अरुभन्दा सजिलो हुन्छ, भन्दारहेछन । कोहि उत्तर–कोरिया, कोही अमेरिका, कोही जापान, कोही अष्ट्रेलीया। तर नेपाल बनाउने चाहीँ कोही पनि निस्केनछन ।

झन्नै हात हालाहालको स्थिति भएपछि एकजना मुनिजी एउटा अचूक सन्देशलिएर आइपुग्दा रहेछन । र, त्यही सन्देशले सुझाए अनुसार, हल्लखल्ल साम्य हुँदोरहेछ ।
त्यो अचूक सन्देशमा ‘प्रस्तावित मुलुकहरूमा सबै सभासदहरू अध्ययन भ्रमणमा जाने । र, सबैले एक महिना भित्रमा सम्वन्धित मुलुकहरूको भिडियो सहित महत्वपूर्ण सत्य–तथ्य लिएर आउने । सबै भिडियो र तथ्यहरू आइसकेपछि सम्विधानसभामा प्रर्दशन गर्ने । भिडियो हेरिसके पछि बहुमत सभासदहरूले नेपाललाइ जे बनाउने भन्नु हुन्छ त्यही बनाउने’ भन्ने उल्लेख हुँदोरहेछ ।

र, त्यही सन्देशअनुसार सबै सभासदहरू विभिन्न मुलुकको अध्ययन भ्रमणमा निस्किएका रहेछन । र, उनीहरू एकमहिना पछि मात्रै फर्कने रहेछन ।
कर्मचारीको यस्तो कुरा सुनेपछि जनकको चुडिन–चुडिन आँटेको आशाको त्यान्द्रो चुडिन्छ ।
‘तपाइँको समस्या के हो रु उहाहरू आएपछि नेपाललाई के बनाउने निर्णय गर्नुहुन्छ । त्यही अनुसार तपाइँको काम हुन्छ । चिन्ता नलिइकन घर जानुस ।’ कर्मचारी सल्लाह दिन्छ ।

जनकको नौ नारी गलेर आउँछ । दायाँवायाँ हेर्छन । उनको नजर एउटा सानो कोठो र कोठा भित्रका अनौठा मूर्तिहरूमा पर्छ । ढोकामा ठूलो भोटे ताल्चा झुण्ड्याइएको हुन्छ । भित्र रक्ताम्य मूर्तिहरू हुन्छन । जनक गोजीबाट १० रुपयाँको नोट झिकेर झ्यालबाट भित्र फ्याक्छन र ढोगि दिन्छन । कुनै मूर्तिहरूमा पुरानो रगत देखिन्छ । कुनैमा आलै हुन्छ । उनलाई धरानको दन्तकाली मन्दिरको सम्झना आउँछ ।

ढोग्दाखेर निहुरिएको टाउको के उठाउन मात्रै खोजेका हुन्छन । ती अनौठा मूर्तिहरूले आँखा पिर्लिक्क पल्टाउँ छन । उनी झसङ्ग हुन्छन् र ‘अबुइ १’ भन्दै पछि हट्छन् । ती अनौठा मूर्तिहरू बर्र आँशु झार्छन । ती बन्धक बनाइएका अनौठा सजीव मूर्तिहरू देखेर जनक आश्चर्यचकित हुन्छन् । ती मूर्तिहरूको धुकधुकी हुन्छ । तर बोल्न सक्दैनन् । ती अनौठा मूर्तिहरूको दीनहीन अवस्था देखेर जनक द्रवीभूत हुन्छन् । तर, ‘जोगीको घरमा सन्यासी पाहुना’ भने जस्तो जनक आफै दयाको खोजिमा भौतारिएका हुन्छन् । उनले गर्न त के सक्थेर रु एकछिन करुणाभावले टुलुटुलु हेर्छन । र, त्याहाबाट बाहिरिन्छन् ।
सुन्तलाका मूच्र्छित बोटहरू, छोराको मूच्र्छित सपनाहरू, जानुकाको मूच्र्छित खुसी र हाँसोहरूको ओखति खोज्न निस्किएका थिए, जनक । मूच्र्छित मूर्तिहरूको पीडा थपेर, गह्रौं मनलिएर सम्विधानसभा भवनबाट बाहिरिन्छन ।

बाहिर निस्किएर मूच्र्छित मूर्तिहरूको बारेमा धेरैलाई सोध्छन् । तर, कसैलाई थाहाहुँदो रैनछ । कतिले त ‘कहाबाट आउँछन यी पागलहरू, कामछैन, मूर्तिको बारेमा सोध्दै हिँड्छन ।’ सम्म पनि भने ।

अरु त अरु, सुरक्षा दिन बसेको प्रहरीलाई पनि ती मूच्र्छित मूर्तिहरूका बोरेमा थाहारैनछ ।
अलि पर, पश्चिम पट्टीको पहिलो प्रवेशद्वार नेर चारजना बूढामान्छेहरूमा जनकको आँखा पर्छ । ‘कतै यी बूढामान्छेहरू पो ती मूच्र्छित मूर्तिहरूका बारेमा केहि जान्दछन्की रु’ जस्तो लाग्छ । र, मनको सन्तोश सोधिहेर्छन, ‘बाहरूको घर कता प¥यो को नि ?’
‘हाम्रो घरवार केही छैन, नानी ।’

ती बूढाहरूको उत्तरले जनकको मनमा चस्का पस्छ । ‘कहीँ कतै मेरो भविष्य पनि ।’
‘बाहरूलाई एउटा कुरा थाहा थियो कि रु’ जनक सोध्ने अनुमति लिन्छन ।
‘के कुरो हो रु सोध्नुस्न नानी । जाने भन्दिन्छौ क्यार ।’ अनुमति पाउँछन ।

‘यो सभाभवन भित्र केहि जीवित तर मूच्र्छित रक्ताम्य मूर्तिहरू र’छन । हजुरहरूलाई त्यसको बारेमा केहि जानकारी छ कि भनेर रु’
‘हो नानी, ती मूच्र्छित रक्ताम्य मूर्तिहरू ‘सिद्धान्त’ हुन् ।’
ती बूढाहरूको अनुसार – उनीहरूले आ–आफ्ना सिद्धान्तहरू आफ्ना उत्तराधिकारीहरूलाई तन्दुरुस्त जिम्मा लगाएका थिए, अरे । ती बूढाहरू गहभरी आँशुपारेर भन्थे,
‘उत्तराधिकारीले धोका दिए, उनीहरूले बिठ्याइँ गरे ।’
‘जीवबलि–संस्कृतिमा विस्वाशगर्ने नेपालीहरू बलिचढाइ दिएपछि सबै ठीक हुन्छ भन्ने ठान्छन् । त्यही जन–विस्वाशको ब्ल्याकमेल गरे, हाम्रा उत्तराधिकारीहरूले । सिद्धान्तलाई बन्धक बनाइको छ । समस्याहरू ज्यूँ का त्यूँ छन् । तपाइँहरू जस्ता उद्यमशील मान्छेहरू रुँदैहिड्नु परेकोछ । सिद्धान्त मूच्र्छापरेर ढलेकोछ । नेपालीहरूलाई पटक–पटक बलिदिन उस्काइन्छ । ती निमुखा जनता बलिदिन राजी हुन्छन । विभिन्न रूप र बहानामा लेपालीहरूको बलिचढाइएको छ….चढाइएको छ…. ती सबै जनताको रगतले रङ्ग्याइएका सिद्धान्तहरू हुन , नानी ।’ बूढाहरूको आँसु देखेर जनक पनि आँसु थाम्न सक्दैनन ।

जनक चारैतिर हेर्छन र सोच्छन –‘सडकहरू व्यस्तछन् । सबैलाई हतारो छ । सबैलाई आ–आफ्नो चटारो छ । घामलाई पनि भोलि सबैरै पूर्बभएर झुल्कनु छ । ऊ पनि अस्ताउने हतारमा देखिन्छ । ती चारवटा बूढाहरूछन, न खानु पर्छ, न लाउनु पर्छ । बिहानै आएर त्यहि पेटीमा बस्तारहेछन । सभासदहरूको नौटङ्की हेर्दारछन । सिद्धान्त मूच्र्छापरेर ढलेको देखेर रुदारछन । बेलुका भएपछि आ–आफ्नो सालिकमा गएर लीन हुँदारछन । तर, काठमाण्डौ यी सबै कुराहरूबाट बेखबर र’छ । किनभने ऊ व्यस्तछ । उसलाई यो सबै सोच्ने फूर्सदै रैनछ ।’

‘चौटो खान गएकी बूढी झोलमा डुबेर मरी’ भने जस्तै हुन्छ, जनकलाई । उनी पनि रातीकै बसचढेर फर्कने निर्णय गर्छन । र, बसपार्कपतिरको बाटो छोट्याउनमै बुद्धिमानी ठान्छन ।
जनक बिहानसबेरै घर पुग्छन । पोखरा पढ्नगएको छोरो ‘विनोद’ पनि घरआइसकेको हुँदोरछ ।
सुन्तलाका बोटहरू उस्तै जिङरिङ्ग परेका, जानुकाको अनुहार उस्तै खिस्रिक्क परेको, विनोद पनि चिन्तित् । दिन तेत्तिकै बित्छ । साँझ परे पछि जानुका भान्छा तिर लाग्छिन, विनोद ।
साथीभाईहरूको तिर पनि जाँदैन । घरमै झोक्राएरै बस्छ ।

जानुका भाउजु भान्छा तयार भएको जनकारी दिन्छिन । बाबुछोरा चुपचाप भान्छा तिर जान्छन् । खाना खाँदाखाँदै जनकको आँखा, अगाडि झुण्ड्याइएको बैङ्कले पठाएको तागेतापत्रमा पर्छ । उनको भातको गाँस घाँटीबाट छिर्दैन ।
‘किन यस्तरी चिन्ता लिनुहुन्छ रु दैवलागे पछि कस्को के लाग्छ, र । एक थोक होला नि त ।’ गिलासमा पानी दिदै, सम्झाउने प्रयास गर्छिन, जानुका भाउजु ।

खानपिन सकेर, सबै आ–आफ्नो विस्तारामा पल्टिन्छन । तर, कोहि पनि निदाउन सक्तैनन ।
बिहान उठेर, जनक आँगनको डिलमा झोक्राएर बसेका हुन्छन् ।
विनोद आउँछ र ‘बुबा १ म विदेशतिर जानुप¥यो । कम्तिमा कैङ्कको किस्ता सम्म तिर्न सकेँभने पनि त राहात हुन्थ्यो नि रु’ भन्छ ।
‘अनि पढाइ ?’
‘पढाइ पनि त त्यसै हुदैन । पढ्न पनि खर्चै लाग्छ । केहि समय जान्छु । तपाइँ यहा फेरि सुन्तला लगाउनुस । राम्रो भयोभने म फर्किहाल्छु नि ।’ छोराकोे जवाफमा जनक नाजवाफ हुन्छ ।
‘जानुका १ ए जानुका १’ जनक बोलाउछन् ।
‘हजुर, किन बोलाउनु भएको रु’ जानुका भाउजु हाजिर हुन्छिन । र, अगाडि ठिङग उभिन्छिन् ।

जनक, आखा नजुदाइ कनै, मलिन स्वरमा भन्छन्, ‘छोरो विनोद विदेश जान्छु भन्दैछ । पासपोर्ट बनाउन काठमाण्डौं जानुपर्दो र’छ ।’
जानुका भाउजु चुपचाप, गहभरी आँशु पर्छिन र आफ्ना माखा–मुद्रा विस्तारै खोलेर छोराको हातमा राखि दिन्छिन । र, ‘राम्ररी जानु’ भन्दै भक्कानिएर भित्र पस्छिन ।

‘नेपाली छोराहरू रहरले विदेश गएका होइन रछन्, हगी जानुका ?’ भन्दै भक्कानिएर जनक पनि पछि लाग्छन् ।
छोरो विनोद, वनस्पति डाक्टर बन्ने सदिक्षालाई त्यहि आँगनको एउटा कुनामा बिसाउँ छ । र, बैङ्कको ऋण बोकेर धेरै नेपाली युवाहरूको भिडमा घरबाट बाहिर निस्कन्छ ।

March 27, 2014
हाल साउदी अरबियामा कार्यरत हुनुहुन्छ ।
इमेल : birendra_katuwal@yahoo.com

(स्रोत : Sahityasansar.com )

About Sahitya - sangrahalaya

We will try to publish as much literary work of different authors collected from different sources. All of these work is not used for our profit . All the creative work belongs to their respective authors and publication. If requested by the user we will promptly remove the article from the website.
This entry was posted in नेपाली कथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.