कथा : बिडम्वना

~गीता थापा ‘दोषी’~Geeta Thapa Doshi

कोठाको प्रवेशद्धारमा पाइला राख्ने बित्तिक्कै रोमाञ्चकारी अनुभूति गर्यो उसले । चप्पल खोलेर भित्र पस्यो । अचेल उसलाई कोठाको एकान्त र शान्त वातावरणले मोहनी लगाएको छ । ऊ जव कामबाट फर्किन्छ तब कोठाको बीचमा उभिएर एक पल्ट सम्पूर्ण कोठालाई नियाल्छ । त्यसो गर्नुमा परम सुखद अनुभूति गर्छ ऊ । त्यसैले सदा झैँ आजपनि केहिबेर एक टकले सरसर्ती कोठालाई नियाल्यो । सेतो रंगको भूइँमा पहेँलो छिर्केमिर्के बुट्टा भएका झ्यालका पर्दाहरू नतमस्तक उभिरहेका थिए । मानौँ, ती पर्दाहरू उसलाई स्वागत गर्न आतुर छन् ।

उ आज अरु दिनको भन्दा अलि ज्यादानै थाकेको थियो । पसिनाले निथ्रुक्कै भिजेको सट उतारेर भित्ताको काँटीमा झुन्ड्यायो । भान्छामा गएर कफीको लागि पानी ततायो । दिनभरिको थकान मेटाउन ठूलो सिसाको ग्लास भरि कफी र फ्रिजबाट एक टुक्रा केक झिकेर सुत्ने कोठामा छिर्यो ।

बिहान फुकालेर फालेको लूगा कुर्सीमा थुप्रिएका थिए । कफी र केकको प्लेट अलि पर टेबुलमा राख्यो । लुगा खाटतिर हुत्याएर कुर्सीमा थचक्क बस्यो ।

एकलोपनको न्यास्रो मेटाउँने एक मात्रै उसको साथी कम्प्युटर । कुर्सीबाट टेबुलतिर हात लम्काउँदै कफी एक घुटको सुरुप्प पार्दै कम्प्युटर खोल्यो । त्यसपछि दैनिक पढ्ने अनलाईन खबरका साईटहरू खोल्यो । अचेल पत्रिकामा पढ्न लायकका समाचार कमै हुन्छन् । खाली काटमारका र महंगी बढेको कुरा भन्दा अरु हुँदैनन् । तैपनि दिक्दार मान्दै फेसबुक खोल्यो । त्यहाँ पनि अचेल विकृति बढेको छ । नक्कली नाममा खाता खोलेर अरुलाई दु:ख दिने प्रचलन बढेको छ । मानिस मानिस बीचको सम्वेदना हराएको छ । फेसबुक जस्तो सामाजिक सञ्जालको महत्व मान्छेले नबुझेको देख्दा मनमनै उदेक मान्छ ऊ । कतिपल्ट त उसको मनमा फेसबुक बन्द गर्ने विचार नउठेकोपनि होइन । तर दुईचार जना खराब सोच भएका मान्छेको कारणले आफ्ना बाल्यकालदेखि टाढा भएका साथीसंगीहरूसँग भेट गराइदिने यो त्यसको गुण कहिल्यै भुल्न सक्दैन ऊ । एकक्षण अघिसम्म त भित्तो खाली थियो । भर्खरै साथीहरूले रचना र भिडियो पठाउँन भ्याइसकेछन् । उसले तलदेखि माथिसम्म सरसर्ती कर्सर प्रोफाइलमा नचायो । गतिलो भन्ने त केही पनि छैन त । मुख खुम्च्याउँदै प्रोफाइल बन्द गर्न आँट्दा उसका आँखा एउटा भिडियोमा गएर परे।

ठूला अक्षरले लेखिएको हेडलायन पढ्यो उसले ‘बाबुको नाममा कलंक कृष्ण शर्मा तिवारीले दुई छोरीका हत्या गरेको भिडियो हेर्न नभुल्नु होला । ‘ त्यो भिडियोमा क्लिक गर्यो । मनमनै सोच्यो ‘यो नेट पनि कति बिस्तारो चलेको ? भिडियोभित्रको डल्लो घुमुञ्जेल उसले प्रतिक्षा गरिरह्यो । डल्लो पूरा घुमिसकेपछि भिडियोमा पुरुष आवाज गुञ्जियो ‘नमस्कार ! यो खबर भित्रको खबरमा आज हामीले ल्याएका छौ, पर्वतको मोदी खोलामा आफ्नै बाबुले ज्यूँदै बगाएका दुई छोरी नबिना र नमुनाको दुख्दपूर्ण घटनाको बिवरण । बाबु कृष्ण शर्मा तिवारी टाउको समातेर ‘मैले ठूलो गल्ती गरेँ हजुर’ भन्दै आँखा मिच्दै थियो । ति शब्दले उसका कन्सिरिका रौँ ठाड्ठाडा भए । टाउको रन्कियो । यस्सो गम्यो – सुधार गर्न सकिने कुरालाई पो गल्ती भनिन्छ । कसैको बाँच्न पाउने अधिकार खोसेर ज्यानै मार्ने अनि गल्ती भयो भनेर धर पाईन्छ ? यो त सरासर अपराध हो । यस्ता अपराधीहरूलाई त कडा भन्दा कडा सजायँ हुनुपर्छ । अब नगर्नु बिगार गरिसकेपछि के फाईदा गल्ती गरेँ हजुर भनि बिथ्थाको स्वाङ रचेर ? कृष्ण शर्मा तिवाराका कुराले ऊ भित्रभित्रै मुर्मुरियो ।

आमा राधीका घरपरिवारलाई भेट्न नेपाल गएर भर्खर इजरायल फर्किएकी रैछिन् । शायद चिन्न नसक्ने अवस्थामै वाध्यताले छोरीहरूलाई छोडेर उनी इजरायल पसेकी हुनुपर्छ । तीनचार वर्षको अन्तरालपछि उनलाई छोरीहरूले चिन्न सकेनन् ।

तिनले नचिनेपछि उनले सोधिन् ‘म को हो नानी ?’

‘तपाई पनि हाम्रै राधीका आमा ।’ छोरीहरूको जवाफ सम्झिँदै मर्माहित बन्छिन् । ‘सर ! उहाँलेनै मलाई एक वर्ष बसेर घर फर्कीनु भन्दै पठाउँनु भएको हो । हामी श्रीमान श्रीमती बीचमा सम्बन्ध राम्रो थियो’ भक्कानिन्छिन् उनी । तिनै छोरीहरूका पालन पोषणका लागि इजरायलको मरभूमिमा श्रम बेच्दैछिन् । कस्तो बिडम्वना ! उनलाई के थाहा आफ्नै बाउको मनमा राक्षेश लुकेको कुरा । ऊ त्यो दर्दनाक घटनाभित्र चुर्लुम्मै डुब्यो । निष्ठूरी उसको पुरुष हृदय पनि चर्कियो । आँखा भरिए ।

एकछिन् अघि जोडले लागेको भोक पनि हरायो । उपनि घरपरिवारका खातिर सयकडा तीनको ब्याजमा ऋण काढेर इज्जत र इमान साहुको नाममा बन्दग राखेर इजरायल आएको हो । यहाँ आएपछि उताको दुखद घटनाले उसको चेत हराएको थियो । ऊ सोच्थ्यो ‘देशमा प्रशासनको कमजोरी र गरिबीको मारले गर्दा एउटा सिंगो देश र नागरिकले अमानविय घटनाको शिकार बन्नु परेको छ । केहिबेर ऊ घोत्लियो । निहुरिएको मुन्टो उठाएर एक पल्ट कोठामा रहेका निर्जिब बस्तुलाई एक टकले नियाल्यो ।

खाट नजिकै टेलिभिजन, कम्प्युटर र फोनको सेट छ । भित्तामा आकर्षक ढंगले बुट्टा कुँदिएको काठको र्याकमा केही किताब कापी कलमले भरेको थियो । पूर्व पश्चिम भएर उभिएको थियो चिसो हावा फ्याँक्ने फ्यान । कोठाको आधाजसो भाग आरमदायी कुर्सीहरूले ओगटेका छन् । उसले अल्छी गरेर कोठा सफा नगरेकोपनि निक्कै भैसकेको थियो । बत्तिको प्रकाशले किताबहरूमा टाँसिएका धुलाका कण परैबाट देखिन्छ । मनमनै सोच्यो- भोलि त बिहान उठ्ने बित्तिकै पहिला कोठानै साफ गर्छु । टुप्लुक्क साथीहरू आइपुगे भने कति फोहोर यसको कोठा भनेर नाक खुम्च्याउनेछन् । म अचेल अतिनै अल्छी हुन थालेको छु । काम गर्ने जोस जाघँर हराएको छ । कतै यो बुढ्यौलो को संकेत त होइन ? मेरो आमा अझै उडेको चरा खसाल्ने कुरा गर्नु हुन्छ । म उहाँको छोरा यो मस्त जवानीमै अहिल्यै कहाँ बुढो हुन्छु ?

उसको मनमा पनि नानाभाती ठट्टा आउँछन् । ऊ खितिती…खितिती…खित्का छाडेर हाँस्यो ‘ मेरो छोरा त भर्खर पाँच वर्षको हुँदै छ । उसलाई पढाउने लेखाउने कति हो कति जिम्मेवारी मेरो काँधमा बाँकी छ। आमा भाईबहिना सबैको अभिभावक मै हुँ । ‘ घरीघरी सडकमा कुदेका गाडी र मोटरसाईकलका आवाजहरूले उसको ध्यान भङ्ग पार्थे । बारम्बार उसका नयन भित्ताको घडीको सुइ र काँटामा गएर रोकिन्थे । सुत्न ढिला हुनसाथ निन्द्रा नलाग्ने समस्याले अचेलभरि उसलाई हैरान पारेको थियो ।

मनमा अनेक तर्कना गर्दागर्दै एकपल्ट लामो हाइ काढ्यो । सुत्ने बेलामा कुनै पनि नराम्रा घटना सम्झिन चाहँदैन ऊ । तर नचाहेरपनि आँखा अघिल्लतिर सिनेमाको रिल झैँ नाच्न आउने नाना किसिमका दुर्घटनाहरूले मन र दिमागलाई छट्पटी गराइरहेका थिए । अनलाइनमा देखापरेका साथी भाईहरूलाई हाइहेल्लो शुभरात्री भन्दै फेसबुक निभाएर बाथरूममा चिसो पानीले हातखुट्टा पखाल्यो । त्यसपछि बत्ति निभाएर खाटमा गएर पल्टिनासाथ झ्वाट्ट सम्झियो – भोलि महिनाको दश तारिक तलब थाप्ने दिन । एक महिनाको तलवले यसपाली घरको समस्या टर्छ जस्तो छैन । खै कोसँग सापट माग्ने होला ? सधैं यहि पारा हो भने कहिल्यै ॠणबाट मुक्त नहुने रैछ । यहाँपनि पासपोर्ट धितो राखेर गाउँको कुलमान साहुले भन्दापनि चर्को ब्याज तोक्छन् पैसा चिन्ने साथीहरू । घरका जहान सधैं पैसाकै अभाव छ भनेर फोन गर्छन् ।

गम्यो- हुन त म एउटाको कमाईले सिंगो घर चलेको छ । दुईटी बहिनि र एउटा भाई पढ्ने । ‘महँगीले आकाश छोएको छ छोरा ‘ भनेर आमा भन्दै हुनु हुन्थ्यो । यसपाली देखि छोरालाई पनि स्कूल भर्ना गर्नुपर्छ भन्दै थिई श्रीमती । म इजरायल छिर्दा गर्भमा थियो । अहिले त फोनमा कुरा गर्दा ‘बाबा ! साईकल चाह्यो’ भन्छ । चकचक पनि आसाध्यै बढेको छ रे । मैले थेग्न नसक्ने भएँ तपाईको छोरालाई भनेर उसकी आमा गनगन गर्छे मसित । घरमा सबै भन्दा सानो उही छ । काका फूपु हजुरआमाको मायाले लडिएको हो पछि ठीक हुन्छ भनेर सम्झाई बुझाई गरेँ। घर फर्किनु भनेर कचकच गर्यागर्यै छ । काखमा टाउको राखेर मनको पीडा पोख्ने ठाउँ नपाउँदा अत्यास लाग्यो होला विचरीलाई । मैले पनि के गरुँ ?

पैसा आज कमाइएला भोलि कमाइएला भन्दा भन्दै दैनिक उपभोग्य बस्तुको आवश्यकता टार्नपनि हम्मे हम्मे परिरहेको छ । कमाउने कुरा त आकाशको फल आँखा तरी मर झैँ हुने भयो । बास बस्ने सानो झुप्रो हाल्न एउटा जग्गाको टुक्रो जोडौंला भन्ने सोच थियो । खै सकिएला जस्तो लाग्दैन । सोच्दासोच्दै कतिखेर निदायो उसले पत्तो पाएन ।

बिहान घडीको अलार्म र फोनको घण्टी एकैचोटि बज्दा पो त्रसिदै ब्युँझियो । र मुख छोपेको सिरक हटाएर ‘हेल्लो’ गर्यो ।

‘दाई दर्शन ! उठ्नु भएको छैन की कसो ? ‘

‘उठ्न लाग्या थिएँ ।’

‘भन सानी ! के छ उताको खबर ? ‘

‘सबै ठीक छ दाई ।’

‘ल याँ आमासित बोल्नु । हेल्लो ! आमा ढोग गरेँ ।’

‘भाग्यमानी हुनु । तँ सञ्चै छस् ? ‘

‘ठिक्कै छु ।’

‘सुन न बाबू ! ‘

‘आज ठूली बहिनिलाई केटापक्षबाट हेर्न आउने भएका छन् ।’

‘त्यसको पढाई सकिन अझैँ एकसाल बाँकी छ होइन आमा ? पढाई सकाओस् न अहिल्यै केको हतार ? विवाह पछि पढ्दा पनि हुन्छ ।’

‘हुर्किएकी चेली कति घरमा राख्नु । कुरा मिल्यो भने बिवाह गरिदिनु पर्छ । असल कुटुम्ब आएको बेला भाउ खोज्नु हुँदैन ।’

‘उ के भन्छे सोध्नु भयो ? ‘

‘दाईले के भन्नु हुन्छ त्यही मान्छु भन्छे ।’

‘जिन्दगी उसले बिताउनुपर्ने, उसैको इच्छा र विचार बुझ्नु पर्छ । म यति टाढा बसेर कसरी निर्णय गर्न सक्छु ?’

‘तँ त्यस बिषयमा चिन्ता नगर । म सबै सम्हाल्छु । केटा हुनेखाने परिवारको एउटै छोरा । केटा पक्षबाट पो मान्दैनन् की भन्ने डर । यदि मञ्जुर गरेभने केही नदिएपनि केटालाई एकजोर टाईशुट जुत्ता र घडी सिक्री दिनैपर्यो । आफ्नी बहिनिलाई एकजोर गतिला कपडा र एकसेट गहना जोड्नैपर्यो । पहिला सुन जोडौं भनेको बेला तेरि दुलही र तैँले टेर पुच्छर लगाएनौ । अहिले सुनको भाउ छोइनसक्नु भएको छ ।’ आमाले भट्याउँदै गईन ऊ चुपचाप सुनीरह्यो ।

आमाको हातबाट फोन खोसेर सानी भन्नथाली ‘दाई म त नर्स पढ्ने हो । यसपाली मलाई स्कुटर पनि चाहिन्छ ।’ उसका कानमा साँझका झ्याउँकिरी झैँ शब्दहरू एकपछि अर्को बास्न थाले । ऊ अलमल्लमा पर्यो । के भन्ने नभन्ने । सुनिसकेर ‘म भरे भोलि यताबाट फोन गर्छु’ भनेर राख्यो ।

सिरान छेउको भित्तामा झुन्ड्याएको घडीतिर आँखा पुर्यायो । ७: ३० बजेको थियो । हतार हतार सट पाइन्ट र खुट्टामा जुत्ता उनेर कोठामा साँचो ठोकेर बाहिरीयो । काम गर्ने ठाउँमा आयो । स्याहार गर्नु पर्ने बूढो उठेर ख्वाङ… ख्वाङ… खोक्दै थियो । पानी तताएर औषधी खान दियो । र अण्डा उसिन्नका लागि बसायो । गोलभेँडा, काँक्रो काटेर बिहानको खाजा तयार पार्यो । अनि बुढोलाई नुहाउन बाथरूममा लग्यो। सब काम सकिवरी बूढोलाई खाजा खान दिएर तलब लिनका लागि अफिसतिर लाग्यो । पैसा थापेर हातमा खेलाउँदै थियो । उसको साथी टुप्लुक्कियो ।

‘यार तँलाई यहाँनै भेट भयो । म भेट गर्न आउँनेवाला थिएँ ।’
‘किन के भयो ? ‘
‘घरको तला थपेको पर्सी ढलाई छ रे, खर्च जुटाउन नसकेर पिरलो परेको छ यार ।’ मुसुक्क हाँसेर उसले भन्यो ‘यो त खुशीको कुरा हो । म तँलाई अर्को महिना फर्काउँछु । यो महिनाको तलव देन यार, ठूलो गुन लाग्छ । एक्लै सुस्तरी गुनगुनायो ‘खै तँलाई गुन लगाउँदा आफू रित्तै ।’ जवाफको प्रतिक्षा गरिरहेको साथीले सोध्यो ‘तैँले केही भनेको हो ?’

‘होइन यार अहिले म अलि हतारमा छु। तँ भरे मेरो कोठामा आईज न ल ?’ साथीसँग छुटेर लामो सास फेर्यो उसले । यो पैसा भन्ने कस्तो चिज हो ? जती कमाएपनि कहिल्यै नपुग्ने । ऊ हेर्यो उस्तै, आफूलाई हेर्यो झन उस्तै । अर्कोलाई हेर्यो उस्तै । सबैलाई पैसाकै खाँचो छ । मनमा कुरा खेलाउँदै काम गर्ने ठाउँमा आइपुग्यो ।

बूढो काँक्रो चपाउँदै थियो । नजिकै राखेको अण्डा छोएकोसम्म थिएन । बूढाको हातको चम्चा खोसेर अण्डाको आधा भाग उठाएर खुवाइदियो उसले । सुर हराएको बूढो कुनै प्रतिकृया नजनाई खपाखप खान थाल्यो । सोच्यो- यहाँका बूढाबूढी त औधी भाग्यमानी बा ! बच्चालाई भन्दा बेसी स्याहार पाएका छन् । कठै ती मेरी हजुरआमालाई फकाइ फुल्याइ मामा माइज्यूले उनको नाउँमा भएको धनसम्पत्ती हत्त्याएर घरबाट निकाली दिएको त्यो दृष्य सम्झिँदा अझैपनि आँखा भरिन्छन् उसका ।

उसका बाउ साह्रै दयालु थिए । धन नभए पनि मन अतिनै ठूलो थियो उनको । ज्वाँई भए पनि हजुरआमाको प्राण पखेरु उसैको बाउको काखमा उठेको थियो । जन्म दिने आमा नदेखेको उसका बाउले सासूलाई जन्मदिने आमालाई भन्दा बढ्ता माया गर्थे । ऊ सबै सम्झिन्छ । हजुरआमाले छोडेर गएको वर्ष दिनमा उसको बाउले पनि यो संसारदेखि बिदा लिएका थिए । तिनताका ऊ १५ वर्षको थियो । ज्याला मजदुर गरेर खानुपर्ने मान्छे कहिले दर्किँदो साउने झरी त कहिले टण्टालापुर चैतको घामसित पौंठेजोरी खेल्दाखेल्दै क्षय रोगले फोक्सो र कलेजो खाएर धोन्द्रो पारीसकेको थियो । तैपनि ‘ठीक छ मलाई अन्तरी, तँ धेरै मेरो चिन्ता नगर’ उसको बाउले उसकी आमालाई भनेको शब्द अझैँ पनि उसका कानमा गुञ्जिन्छन् ।

मर्ने अघिल्लो रात आकाशमा जून जून टह टह लागेका थिए । निदाइरहेकी आमालाई बोलाउँदै ‘अन्तरी कति सुतेकी तँ, घाम झुल्किसके बाहिर हेर त ।’

‘हन के भयो तपाईलाई यो आधारातमा जूनलाई घाम देख्नु हुन्छ ? ‘ झ्यालको खापा खोलेर आकाश नियाल्दै आमाले जवाफ दिएकी थिइन् । ऊ ओछ्यानबाट उठेर बाउको बेसुरे क्रियाकलाप हेरिरहेको थियो । भोलिपल्ट बिहान त्यस्तै सात बजेको थियो । बाउले उसको नाउँ पुकारेर बोलायो ‘घनश्याम ! घनश्याम ! ‘

उ बाउको नजिक पुगेर ‘किन बा’ भनेको मात्रै थियो ‘ल आजदेखि आमा र भाईबहिनाको सम्पूर्ण जिम्मेदारी तँलाई सुम्पिएर म जाँदै छु ।’

‘कहाँ बा ? कहाँ जाने तपाई’ भनेर ऊ कोलाहपूर्ण स्वर निकालेर सोधिरह्यो । उसको बाउले सेता सेता आँखा पल्टाएर प्राण त्यागेको थियो । उसका आमा र भाईबहिनाको रुवाईले पाखापखेरु हल्लिएका थिए । ऊ बिगतमा यतिबिघ्न डुबेछ कि उसले स्याहार गर्ने बूढो कुर्सीमै फुसफुस निदाई सकेछ । त्योसम्म होस् पाएन उसले । अहिले बूढाका आफन्त आए भने बित्याँस पर्छ । ऊ हतार हतार बूढाको मुखमा लागेको अण्डाका टुक्राटुक्री नेप्किनले पुछिदिन्छ र खाटमा लगेर लडाइदिन्छ । बाथरूममा पसेर निहाइधुवाइ गर्छ र आफ्ना लागि खानेकुरा बनाउँछ । खाना प्लेटमा राख्दै गर्दा उसको साथी टुप्लुक्क आइपुग्छ ।

‘ए तैँले अझैँ खाएको छैन ? ‘

‘आज अलि ढिला भयो । आइज मिलेर खाउँ ।’

‘मेरो पेट टन्नै छ तँ खा यार ।

‘लाज लाग्यो कि कसो ? ‘

‘आ…… केको लाज तँसँग पेट भोको भए पकाउन लाएर पनि खान्छु नि ।’

नजिकैको टेलिभिजन खोलिदिँदै ‘ल मैले खाउञ्जेल यसलाई हेरेर बस ।’ साथीलाई टिभीको क्रार्यक्रममा भुलाएर ऊ खप्पाखप खानथाल्यो । खाइसकेर दुईचारवटा जुठा भाँडा खकालखुकुल पारेपछि साथीलाई लिएर आफ्नो कोठामा आयो ।

साथीले ढोकाबाट पस्ने बित्तिकै नाक खुम्च्याउँदै भनिहाल्यो ‘ल हेर यसको कोठा कति फोहर ?’ ऊ जिब्रो टोक्दै अर्थाउन लाग्यो ‘कामबाट फर्किदा थाकेको हुन्छु । भरे भोलि गरौँला भन्दा भन्दै भ्याएकै छैन ।’

कुर्सीको धूलो पुछ्दै भन्यो यता आएर बस ।’ बस्नेगरि फेरि आउँछु यार ! काम लठ्ठीभद्र छोडिराखेर आएको ।’

‘तँलाई के भन्नु घरबाट तारम्तार फोन आको आयै छ । मेरो यो खाँचो टारिदेन यार ! म तँलाई अर्को महिनाको तलब थापेर दिन्छु ।’

‘हुँदा त टारिदिएकै थिएँ । मेरोपनि बहिनिलाई केटा हेर्न आएका छन् रे । अस्तिका दिन आमाले फोन गर्नु भएको थियो । तेरोभन्दा मेरो समस्या जटिल छ । बरु तेरो तलब मलाइ दिइराख्न यार ? ‘ साथीबाट कुनै प्रतिकृया आएन । कोठावरपरको बातावरण शान्त भयो । केहिबेरमा ‘होइन घरको ढलाई त रोक्नु हुन्न । म अरु साथीहरूसँग मागेर भएपनि पठाउँछु’ भन्दै साथी बाटो लाग्यो । ऊ अवाक् हेरिरह्यो ।

About Sahitya - sangrahalaya

We will try to publish as much literary work of different authors collected from different sources. All of these work is not used for our profit . All the creative work belongs to their respective authors and publication. If requested by the user we will promptly remove the article from the website.
This entry was posted in नेपाली कथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.