~रामकृष्ण पुडासैनी~
धने एक आम नेपालि पात्र, एक साधारण नेपालीको नाम लागेता पनि धने सहरमै जन्म्यो, हुर्क्यो, बढ्यो, पढ्यो l आधा दर्जन संख्याको एक मध्यम बर्गीय शिक्षित परिवार l भगवानले दिने हर चिज थिए उ संग, भगवानले दिने हर सुख थिए धनेसंग, आमा-बाबु, दिदि-बहिनि,भाइ, एक असल पत्नी , काखे छोरो , सामाजिक जीवन, इज्जत मान-प्रतिष्ठा आदि आदि | कमि थियो त केवल मान्छेले बनाएको भौतिक पैसाको |धनेका पूर्वज रैथाने थिए, राम्रा ठाउँमा घर-घडेरी अनि खेति जमिन टन्नै थिए | समयानुसार चल्न नजान्दा वा खोइ कुन्नि के नमिलेर हो
पुर्ख्यौली सम्पत्ति सकिदै गयो l हिजोका दिनमा धनेको परिवारले खाएर बचेको अन्न बेचेर परिवार धान्थे भने आज आधा अनाज किनेर खान्छन l धने सधैजसो एउटा गित गाउन्थ्यो, “हजुरबाउको त्यो बिघ्न सम्पत्तिबाउले बेच्दे नातिको यो गति “lशायद उसको बास्तविकता संग मेल खान्थ्यो होला l खर्च बढ्दै गयो, आम्दानी बढेन l नेपाल उही त हो ६ महिना हड्ताल बन्द, ३ महिना झरी, १ महिना दशैं-तिहार, बाँकी २ महिना कहिले पुष-माघको जाडोले लैजान्छ कहिले चैत बैशाखको हुरीले l देशमा रोजगारी ठप्प छ |
धनेले मनमनै सोच्यो,नेपालीहरुले १०४बर्षे राणा शासन फाले, तुरुन्त राणाहरुलाई नै मन्त्रि बनाएl २०१७ सालमा प्रजातन्त्र फालियो,उही तुलसी गिरीलाई मन्त्रि बनाए | २०४६ सालमा पंचायत फाले, सुर्यबहादुर अनि लोकेन्द्र बहादुर पटक पटक प्रधानमन्त्री बने l फेरी नेपाली जनताले राजा फाले, आज राजा आउ देश बचाउ भन्ने नारा बाक्लिंदै छ|बिनासित्तिका बन्द हड्ताल बाहेक यो बिचमा कुनै नेताले न कुनै जनताको शासन , रोजगारी या नत बिकास बढाउन लागे, कसैलाई देशको चिन्ता थिएन| धनेले जनतालाई धिकार्र्यो l धनेको घर खर्च नधानिँदो हिसाबले बढ्न थाले पछी धनेले अनेक उपाय खोज्यो l धने आफैं पढेलेखेको मान्छे, मै हुँ भन्ने जानकार पनि धनेको बिचारको अगाडी नतमस्तक हुन्थे, तर धने आज स्वयम् के गरूँ कसो गरूँ भन्दै सोच्न बाध्य भयो l जागिर खोजौं पाइदैन,
आफ्नै ब्यापार गरौँ-लगानी पुंजी छैन l अन्तिम विकल्प बिदेशिनु बाहेक केहि देखेनl
धनेले विदेश जाने सुर त कस्यो तर कता जाने? उ पनि अरु जस्तै अमेरिका या लन्डन जान चाहन्थ्यो तर त्यता जान दह्रो रकम चाहिने, सस्तोमा जान पाइने खाडी मुलुकमा कमाइ कम l कोरिया र जापान को कुरै नगरौं l कता-कताबाट युरोपको भिसा मिलाएछ l भिसा त मिल्यो तर अब कुन मुलुक जाने ? परेपछि जानिन्छ भनेझैयुरोपको सबैजसो मुलुकमा राजनैतिक शरणार्थी बस्न पाइने कुरा पत्तो लाग्यो l त्यसमा पनि बेल्जियम मा सबैभन्दा सजिलो अनि पक्का जस्तै हुने भन्ने थाहा पाएपछि धने पनि बेल्जियम छिर्ने पक्का भयो| सबै जोरजाम गर्र्यो, कागतपत्र तयार पार्र्यो l उसले युरोपमा भएका आफ्ना साथीभाई लाइ सम्पर्क गर्र्यो l सबैले राम्रै छ, यतै आउनु परेको हामि सहयोग गरौंला भने l एक हिसाबले धने मनमनै ढुक्क भयो l राजनैतिक पृष्ठभूमि समेत भएकाले धनेले बेल्जियम मा शरणार्थी बन्ने निधो गर्र्यो l
स्कुले जीवनमा धनेले एक लेख पढेको थियो, “घर छाड्ने रात”l आज उसको पनि घर छाड्ने रात थियो l तर मनमा कुनै उत्सुकता अनि रोमान्चकता थिएन l थियो त केवल उही गीत “हजुर बाउको त्यो बिघ्न सम्पत्ति,बाउले बेच्दे नातिको यो गति”l त्यो रात निकै पल्ट गुन्गुनायो धनेले त्यो गीत l
भोलिपल्ट टीकोटालो भयो, बिदाबारी भयो l श्रीमती अनि काखे छोरोलाई छोड्दा नभक्कानिएको मन आमाको अनुहार हेर्दा भक्कानियो, तर माहोल बिग्रेला भनेर आफु अनि आँशु दुवै सम्हाल्यो l मनमनै सोच्यो “आमा तपाइंको हरेक दुख अवस्य समाप्त पार्नेछु, गलामा नौगेडी-तिलहरी, कानमा झुम्का-लहरेमुन्द्रा अनि खै के के हो के के” ,धने विदेश उड्यो l
धने २५-२६ बर्षको लक्क-जवान, नहाँसी बोल्न जान्दैनथ्यो l कसैलाई भनि बिजाउदैनथ्यो भने सत्य कुरा बोल्न पनि डराउदैन्थ्योl बाबुबाजे जस्तै सामाजिक काममा पनि एक कदम अगाडीl साथीभाई भनेपछि हुरुक्कै हुन्थ्यो l साना ठुला, बुढा-पाका सबैसंग राम्रो ब्यबहार l शायद त्यही भएर होला उ विदेश उड्ने दिन धेरैले बिदाइ गर्न समय निकाले l
धने विदेश उड्यो तर उ एक्लो थिएन l १०-१२ जनाको टोलि अनि दलालका मान्छे l काग बाठो भयो भने के खान्छ भनेझै “हामि त बेल्जियम मा कार्ड बनाउन जान लागेका भनेर घुमाउरो पाराले सिंगापुर अध्यागमनमा बोल्नेहरु सिंगापुर बाटै फ़र्काइए ” उनीहरुको खर्च अनि सपना खोलामा गयो l धन्न धनेले केहि बोलेन l दलालले स्पेनमा सेमिनारमा जान लागेको भनेर कुरा मिलायो अनि स्पेन सकुशल उतार्र्यो l दलालको काम सकियो l
अब स्पेनबाट बेल्जियम जाने धुनमा धेरै दिन स्पेनमै कटायो धनेले l नेपाल छँदा सम्पर्क राखेका साथीभाइले स्पेन पुगेको थाहा पाएपछि फोन उठाउन छाडे l कसले नदुखेको टाउको किन दुखाओस भनेर होला शायद l बेल्जियम बाहेक अन्तको खासै जानकारी पनि नबटुलेको, चिने-जानेको पनि कोहि नभएको अनि अरु देशमा शरणार्थी बस्न त्यति सजिलो पनि रहेनछ l धने बिलखबन्दमा पर्र्यो l अनि फेरी उही गीत गुनगुनायो”हजुरबाउको त्यो बिघ्न सम्पत्ति,बाउले बेच्दे नातिको यो गति” l यो बिचमा धेरै दिन अनि रात पार्कमा बितायो धनेले l
भेडा भेडा सित, बाख्रा बाख्रा सित भनेझैं धनेले जसो तसो नेपालि मान्छे खोज्यो अनि भेट्टायो पनि, धन्य भगवान l उसले भगवानलाई धन्यबाद दियो l
तर उसले नेपालमा हुँदा कल्पना गरेको भन्दा बिलकुल फरक पायो विदेशको नेपालि समाज l बिद्दार्थी जीवनमा पढेको एक लेख याद आयो उसलाई “महापुरुषको संगत”l बिदेशका नेपालीहरु त व्यक्ति पिच्छे को भन्दा को ठुलो महापुरुष भन्ने खालको हुँदा रहेछन l म नेपालको हुँ या म नेपालि हुँ भन्दा पनि म चितवनको,म स्याङन्जाको, म बागलुंङको, म पर्वतको, म गुल्मीको, म आदिबासी अनि म पुरैबासी, म कांग्रेस अनि म माओबादी ,म बाहुन ,म तामांग , म गुरुङ , आदि आदि भन्ने छुट्टै प्रकारको मनस्थिति भेट्टायो धनेले l सबैको कुरा सुन्थ्यो, नेपालीहरु जहाँगए पनि उही त हो नि , सुन्ने मान्छे अनि हो हो भनेर सहि थाप्ने मान्छे पाए भने ७ दिन ७ रात काटेको पत्तै पाउंदैनन, बिचमा कुरा काट्यो भने वा असहमति जनायो भने फलानो मान्छे खराब भन्न थाल्छन l धनेलाई सबै भन्दा अचम्म लागेको कुरा चाहिं के भने, उसले सोचेको थियो कि बिदेशमा त सबै नेपालमा दुख पाएका हरु कमाउन जाने हुन(बास्तविकता पनि त्यहि हो), तर अचम्म यता आएपछि त म नेपालमा दुख पाएर आएको या म नेपाल मा गरिब थिएँ भनेर कसैले पनि नभन्ने रहेछन l सबै जनाका पचासौं बिगाहा जमिन, सबैका घरमा काम गर्ने नोकर,सबैका २-४ वटा गाडी, सबैका इष्टमित्र जापान-अमेरिकामा, सबैका ५-६ तले घर, सबै करले होइन रहरले आएका आदि-इत्यादि l अझ धेरै बोतल रक्सि पिउनेमा गर्व गर्ने,फोनमा धेरै खर्च गर्नेमा गर्व गर्ने, म भन्दा राम्री कोहि छैन भनेर गर्व गर्नेहरुको त कुरै नगरौं l म दुख पाएर आएको या म गरिब थिएँ त्यसैले गरिखान विदेश आएको भनेर कसैले पनि भन्दैनरहेछन l धनेले मनमनै सोच्यो “यी सबै महापुरुष हुन”l तर धने भने लाज नमानिकन म त हातमुख जोर्न धौ-धौ परेर विदेश आएको भन्थ्यो l
धने को भिषा सकिनै लाग्यो, तर कता जाने अझै निधो भएन l साथीभाई अनि चिनेजानेका जसलाई सम्पर्क गर्न खोज्यो उसले टार्न मात्र खोज्छ l बेल्जियम फोन गर्यो जर्मन राम्रो छ उतै कोशिश गर्नु भन्छन, जर्मनका लाइ फोन गर्यो नर्वे राम्रो छ उतै जानु भन्छन, नर्वे कालाई सोध्यो फ्रान्समा सजिलो छ भन्छन, फ्रान्सकाले पोर्चुगल जा भन्छन अनि घुमिफिरी रुम्जाटार भने झैं पोर्चुगलकाले हामि त स्पेन जान लागेको यता किन आउनु भन्छन l धेरै सोचविचार अनि सबै संग बिन्तीभाउ गर्दा पनि केहि नलागेपछि धनेले पनि स्पेन नै बस्ने निधो गर्यो l स्पेन बस्ने निधो त गर्यो तर बिना काम कसरि गुजारा गर्नु अनि बिना कागतपत्र/भिषा कसरि काम खोज्नु र पाउनु ? बिना भिषा बस्ने सबै गैरकानुनी l तर धने एक्लो रहेनछ, धनेजस्तै बिना भिषा लाखौ मान्छे गैर कानुनी रुपमा बसोबास गर्दै आएका रहेछन l धनेको साहस बढ्यो l अब काम कसरि खोज्नु ? चिनेजानेको कोहि छैन? उही आफ्नै नेपालि कै आश तर जो साच्चै मद्दत गर्न खोजेजस्तो गर्छन, उनीहरुले काम गर्ने ठाउँमा गैरकानुनी व्यक्तिले काम गर्न पाउदैनन अनि जुन ठाउमा बिना कागज पत्र पनि कामदार राख्छन त्यहा काम गर्ने नेपालि चाँही स्पेन को मन्त्रि मै पो हुँ कि भने जसरि फुल्छन l धने बिलखबन्दमा पर्र्यो l बुझ्दै जाँदा गैरकानुनी तथा बिना भिषा अनि कागतपत्र नभएकालाई काम दिने दाता त भारतीय, बंगाली अनि पाकिस्तानी रहेछन l गैरकानुनी रुपमा बस्दा काम खोज्दै भारतीय, बंगाली अनि पाकिस्तानीको शरणमा नपुग्ने नेपालि भेटिन मुश्किल पर्ने रहेछ l धनेले पनि काम पायो l कहिले बंगाली को डोनर कबाबमा मासु खुर्कने काम, कहिले भारतीयको रेस्टुरेन्टमा भाँडा माझ्ने काम अनि कहिले पाकिस्तानीको पसलमा काम गर्दै दिन निकाल्न थाल्यो l काम त पायो तर काम दिने साहु लाइ पनि यो कागत पत्र नभएको गैरकानुनी हो, यसले जे भन्यो त्यो मान्छ अथवा यो संग मेरोमा काम गर्नु बाहेक दोस्रो बिकल्प छैन भन्ने राम्रो हेक्का हुने हुनाले सके सम्म कम तलबमा सकेसम्म बढी काम लगाउँथे l काम मा छिर्ने समय तालिका हुन्थ्यो तर कति बजे काम सकिन्छ भन्ने कुनै ठेगान हुदैनथ्यो l घन्टौ बिना आराम हात चलाउनुपर्ने, उठी उठी घन्टौ को कामले धने भोकले मरुँ झैँ हुँदा पनि खाना बनाउने अनि खाने शक्ति नहुँदा धेरै पल्ट भोकै सुत्थ्यो l विदेशको दुख भोगी कयौं पटक रोयो धने l
दिन, हप्ता, महिना, अनि बर्ष बित्दै गए l फजुल खर्च केहि नगरी सक्दो बचत गर्थ्यो धने l महिना सकिएपछी आफ्नो लागि केहि नराखी नेपाल पैसा पठाउन्थ्यो l नेपालमा दिन दुगुना रात चौगुना महंगी बढेको बढै, बैंकको ऋण तिर्नु थियो, घर खर्च धान्ने पर्र्यो l कहिले दशैं, कहिले तिहार, घरमा एक जना बिरामीले कहिल्यै नछाड्ने l जति पैसा पठाए पनि पुग्यो भन्ने जवाफ कहिले पनि आएन l अझ नेपालमा छँदा कहिले नाम नसुनेका नातागोताले समेत फोन गरेर लौन यसो गर्न लागेको, उसो गर्न लागेको पैसाले पुगेन, भनेर लाखौँ रुपैया माग्ने, अनि छैन भन्यो भने कि त टुप्पियो भन्छन कि त हामीलाई पत्त्याएन भन्छन l धनेको दुख कसैले बुझेन l परिवारले मागेको बेलामा जसरि पनि जोरजाम गरि धने पैसा पठाउन्थ्यो l धनेको यो बानि देखि धनेको साहु भन्थ्यो “धने तैले यहाँ बसेर जति पैसा पठाए पनि त्यसको हिसाब हुदैन l तँ मुलुक फर्केर जाँदा कसैले पनि आजसम्म कति पठाइस भनेर भन्दैनन्, बल्कि सबैले अहिले कति ल्याइस भनेर सोध्छन l त्यसैले आफ्नो लागि पनि बचत गर l ” धनेले साहुको यो कुरा कहिल्यै सुनेन l
धनेको यता पनि चिनजान बढ्दै गयो l धने आफैं पनि सामाजिक व्यक्ति अनि व्यक्तित्व त्यसैले चिनजान अनि मित्रता बढ्ने नै भयो l तर जुन आत्मियता नेपालमा हुन्थ्यो एता त्यो बिलकुलै नहुने रहेछ l सबैजना आ-आफ्नो कहानी सुनाउने अनि आफ्नै बढाइ आफै गर्ने l धने उही “महापुरुषको संगत” भन्ने पाठ सम्झन्थ्यो l अचम्मको कुरा के भने नेपालमा प्रधानमन्त्री,गृहमन्त्री अनि जर्नेल-कर्नेल संग उठबस नभएका कोहीपनि भेटेन धनेले l कोहि गिरिजाका नातेदार, कोहि माधव नेपाल अनि झलनाथका आफन्त , प्रचन्डसंग एकै घरमा बस्ने अनि एकै भान्छामा खाना खाने पनि भेटिए l धनेले मन मनै भन्यो, धन्न गणेशमान ,मनमोहन अनि किशुनजीको नाम कसैले लिएन l धन्य भगवान l
समय बित्दै गयो, धनेको कागतपत्र पेश गर्ने बेला भयो l सबै कागतपत्र जम्मा गरि राम्रो वकिल लगाई धनेले कागज जम्मा गर्यो l अभागिले खाने बेलामा आँधीबेहरी भने झैं धनेको केश(कागतपत्रमा)मा कहिले के नपुग्ने कहिले के नपुग्ने हुन थाल्यो l संगै पेश गरेका साथीहरुको २-३ महिनामै कार्ड हात पर्यो भने धनेको २-३ पल्ट अस्वीकृत/फेल भयो l
धने बिलखबन्दमा पर्र्यो l कोहि म्याड्रिड बाट चाडै बन्छ भन्छन,कोहि बार्सेलोना, कोहि बेनिडोर्म त कोहि आलिकान्ते जा भन्छन l कार्ड बनाउने धुनमा थुप्रै शहर चहार्यो धनेले, कार्डको चक्करमा काम पनि गुम्यो भने पैसा पनि सकियो l २-४ महिना पैसा पठाउन नसक्दा नेपाल बाट पनि घुमाउरो पारामा सांकेतिक कुरा सुनाउन थाले l कोहि अर्की ल्यायो भन्छन रे, कोहि बैंकमा पैसा लुकायो भन्छन रे , कोहि अब उतैको भयो भन्छन रे भने कोहि गलत संगतमा फस्यो भन्छन रे l धनेले आफ्नै घर परिवारका मान्छेलाई कुरा बुझाउन सकेन l धनेको मर्म कसैले बुझेन l अब त फोनमा पनि रुखो भाषा प्रयोग हुन शुरु भयो l पहिला-पहिला के छ कस्तो छ भनि शुरुमै सोध्थे भने आजकल फोन राख्ने बेलामा आफ्नो ख्याल राख्न जानेकै छस क्यारे भन्न थाले l बिचरो धने भित्रभित्रै कोक्कीएर रुन बाहेक केहि गर्न सक्दैनथ्यो l कसलाई भनौ अनि कसलाई सुनाउँ ? हिजो राम्रो काम हुँदा साथीभाई टन्न थिए, हरेक हप्ता भेटघाट हुन्थ्यो l आज धनेसंग काम छैन भन्ने थाहा पाएपछि भेटघाट पातलिंदै गयो l धनेले गरेको फोन समेत उठाउन छाडे l सबैले उही सोचे होलान, कि त पैसा माग्छ कि त काम खोज्दे भन्छ l धनेको दुखमा साथ् दिने धनेका आँशु समेत सुक्दै गए l कहिले एक्लै पार्कमा, कहिले सुनसान ठाउँमा अनि कहिले पानीको नाल खोलि बाथरुममा धने अनगिन्ति पटक रोयो l तर रोएर केहि नहुने रहेछ l
कहिले के नियम बदलिने, कहिले कामको सम्झौतापत्र नक्कली पर्ने, कहिले प्रहरी चारित्रिक प्रमाण पत्रको म्याद सकिने कारण देखाई धनेको कार्डमा अवरोध आइ नै रहे l यस बिचमा धने संगै विदेश आएका थुप्रै साथीहरु २-३ पटक नेपाल ओहोरदोहोर गरिसके| धनेका बाबु धनेलाई ताना मार्दै सुनाउथे” तँ संगैको फलानाले उतै घर किनी सक्यो रे, तँ संगैको फलानोले यता करोडौं कमाइसक्यो, अहिले नया-नया गाडी चढेर हिड्छ l ” धनेलाई मन त थियो बाबुलाई जवाफ फर्काउँ,”फलानोले यता घर किन्यो तर आजसम्म नेपालमा एकसुको पनि पठाएन नि,अर्को फलानोले उता नेपालमै करोडौं कमायो तर उसलाई लगानी पुंजी दिने अनि परेको बेलामा भरथेग गर्ने आफन्त थिए, मेरो को थियो र ? ” तर धनेले जवाफ फर्काएन, चुपचाप सुन्यो l
धने संग कुनै गुनासो नगर्ने धनेको परिवारमा २ जना थिए, धनेकी बुढी आमा अनि धनेको काखे छोरो l अब त यिनीहरु पनि गुनासो गर्न थाले l धनेकी आमाको गुनासो थियो”बाबु कि त तँ यता आइजो कि त बुहारीलाई उतै लैजा ,यो उमेरमा यसलाई अब धेरै एक्ली देख्न सक्दिन म l” धनेकी आमा बुहारीलाई छोरी जस्तै माया गर्थिन भने धनेकी पत्नी पनि आमाजस्तै मान्थिन सासूलाई l धनेले पत्नीलाई भन्ने गर्थ्यो,”आमाको कानभरी लहरिमुन्द्रा अनि झुम्का भएपछी तिम्रो पालो l” आजसम्म न आमाको कान लहरिमुन्द्राले भरिए न धनेकी पत्नीको पालो आयो l आफ्नो त कार्ड नबनेर यो हविगत छ,कार्ड नबनी कसरि घर जानु, कार्ड नबनी कसरि पत्नीलाई यता बोलाउनु ? केहि नबोली धने फोन काटीदिन्थ्यो l उता काखे बालक थियो धनेको छोरो, जब धने विदेश उडेथ्यो l आज १२ बर्षको भैसकेछ, उसको गुनासो बेग्लै थियो l “बाबा तपाईं राम्रो बाबा होइन” धनेले छोराको यस्तो कुरा सुनेर सोध्यो “कसरि बाबु ?” त्यो १२ बर्षे बालकले भन्यो “सबैका बाबा घर फर्केर आउँछन्,तपाईं चाही किन नआउनु भएको ?” धनेको छोराले बडो आत्मा विश्वासका साथ् भन्यो “हजुरलाई हाम्रो माया लाग्दैन ?” धनेले अरु सुन्न सकेन l फोन राखिदियो अनि बदाम गेडा आँशु झार्र्यो l कसरि सम्झाउनु त्यो बालकलाई कि बाबा आउन नपाउने कारण अर्कै छ l
सबैको एक दिन आउँछ भने झैँ शायद धनेको पनि दिन आउन लाग्यो होला l धनेले राम्रो कमाइ हुने काम पायो l त्यहि काम मार्फत कागतपत्र पुन: पेश गर्र्यो l आमालाई लहरी मुन्द्रा अनि ढुन्ग्रीको लागि असली सुन किनेर राख्यो l वकिलको अनुसार यसपाला सबै राम्रो छ,अवस्य पेपर पास हुन्छ, कार्ड बन्छ l धनेले पक्का गरिसकेको छ कि कार्ड हात परेको भोलिपल्ट नेपाल उड्ने l आशा गरौँ धनेको त्यो भोलि चांडै आओस l
(स्पेनमा बसोबास गर्ने सम्पूर्ण नेपालीहरु, विशेषत कुनै कारणले कागती प्रक्रियामा ढिलाई हुनेहरुमा समर्पित , यो कथा एन आर एन स्पेन प्रथम स्मारिका २०१२ मा प्रकाशित )
– ramkrishna_pudasaini@hotmail.com , म्याड्रिड
(स्रोत : NRNSpain.com)