कति सहेरै नसकिने यी घाटाहरु जिन्दगीका
कति हिँड्नै नजानिने यी बाटाहरु जिन्दगीका
सँधै रोग, भोक, पीडा र जलनमात्र छ यहाँ
कहिल्यै निको नहुने यी खाटाहरु जिन्दगीका
यो आस्थाको भूगोलमा अक्षांश देशान्तर जस्तै
संयोगै नमिल्ने यी कस्ता पाटाहरु जिन्दगीका
एकबारको जुनी न हो मिलेर बाँचौ भन्छु
तर टालेरै नसकिने यी फाटाहरु जिन्दगीका
हाय – असफलताको यो कस्तो कार्य तालिकामा
मिलाएरै नमिल्ने अनमेल डाटाहरु जिन्दगीका ।