कथा : बेकुफ

~नयनराज पाण्डे~Nayan Raj Pandey

साह्रै असल मान्छे ऊ । नाम बुद्धिराज थर थानी, स्वाभावले साह्रै ज्ञानी । साह्रै फरासिलो र साह्रै स्वाभिमानी । एकपटक कलेज पढ्दा उसले देशभक्तिले ओतप्रोत कविता लेखेको थियोः

मेरो देश ज्ञानेन्द्रले रजाइँ गर्ने नारायणहिटी होइन, मेरो देश पारसले सित्तैँमा पाएको अपुताली होइन ।

उसको यो कविता त्यतिबेला कलेजमा सुपरहिट भएको थियो ।

ऊ अहिले पनि त्यत्तिकै आँटिलो, त्यत्तिकै जीवन्त र त्यत्तिकै आत्मविश्वासी देखिन्छ । प्रत्येक भेटमा ऊ मलाई भन्छ, “हिम्मत हार्नुहुँदैन । सम्पूर्ण चुनौतीहरूको सामना गर्नुपर्छ । जे भइरहेछ, त्यसलाई सकारात्मक सोचका साथ ग्रहण गर्नुपर्छ र सोच्नुपर्छ, सुन्दर दिनहरू आउनेछन् ।”

ऊ नेपालको लोडसेडिङ्बाट पनि निराश छैन । भन्छ, “एकदिन नेपालभरि उज्यालैउज्यालो हुनेछ ।” ऊ राजधानीमा बेलाबेलामा थुप्रिने फोहरका डंगुर देख्दा पनि घीन मान्दैन र भन्छ, “यो देश स्वीट्जरल्यान्ड हुनेछ ।” ऊ डुब्न लागेको सेयर बजारप्रति पनि नकारात्मक भावना राख्दैन । भन्छ, “हाम्रो देशको अर्थतन्त्र एकदिन मजबुत स्थितिमा पुग्नेछ ।”

ऊ कसैलाई निराश, उदास र हतास देख्यो भने हाँस्दै र जिस्काउँदै भन्छ, “बेकूफ, यो निराश भएर बस्ने बेला होइन । आशा र विश्वासका सुन्दर फूलहरू फुलाउने बेला हो !”

०००

रत्नदेव कांग्रेसी हुन् । पार्टीमा ठूलो योगदान दिएको । ०४६ सम्म क्याम्पसमा पढाउँथे । तर, गिरिजाबाबुको आग्रह टार्न नसकेर उनी तत्कालीन चुनावमा टिकट पाउने आशा र विजयी हुने विश्वाससाथ राजनीतिमा लागे । तर, टिकट पनि पाएनन्, सांसद पनि हुन सकेनन् र मन्त्री पनि भएनन् । तर पनि गिरिजाबाबुकहाँ धाउन छाडेका छैनन् । सुजाता र शेखर कोइरालाकहाँ पनि हाजिरी बजाइरहन्छन् । एकदिन बुद्धिराज र रत्नदेवको भेट भयो । दुवै एकअर्काका पूर्वपरििचत । बुद्धिराज पूर्ण उत्साहमा थियो, रत्नदेव निराश । बुद्धिराजले निराश रत्नदेवलाई सम्झाउँदै भन्यो, “दाइ, तपाईंजस्तो योग्य, पढेलेखेको व्यक्तिले यसरी कसैकहाँ धाइरहनै पर्दैन । यसले तपाईंलाई निराशाभन्दा बढी के दिएको छ ? किन बेकारमा चाकडीको राजनीति गर्नुहुन्छ ? किन गिरिजा र सुजाताको पछि लाग्नुहुन्छ ? देशको उन्नति, प्रगति गर्न चाहनुहुन्छ भने अरू बाटाहरू र माध्यमहरू पनि छन् । व्यवसाय गर्नूस्, सानोतिनो घरेलु उद्योग गर्नूस् । नभए गाउँ गएर तरकारी खेती गर्नूस् । च्याउ उमार्नूस् । अम्रिसो, अलैँची र अदुवा खेती गर्नूस् । त्यसपछि तपाईंको आर्थिक स्थिति सुध्रिन्छ । त्यसपछि तपाईंको घर सुध्रिन्छ । सम्पन्नता आउँछ, समृद्धि छाउँछ । त्यसपछि तपाईं आफँै अरूका निम्ति प्रेरणाको स्रोत बन्नुहुनेछ । त्यसपछि तपाईं सुजाताको पछि होइन, सुजाता तपाईंको पछि लाग्नेछिन् । आरजु देउवाले तपाईंको गीत गाउने छिन् । शेरबहादुरले तपाईंलाई खोज्नेछन् ।” र अन्त्यमा भन्यो, “किन बेकूफ बनिरहनुभएको ?” (त्यही दिन रत्नदेव बसपार्क गए र भोलि बिहान आफ्नो गाउँ फर्किने टिकट काटे ।)

यति पावर छ बुद्धिराजको बोलीमा । ऊ स्पष्ट वक्ता हो । प्रखर चिन्तक हो । उसलाई नेपालमा जलस्रोतको कति सम्भावना छ भन्ने थाहा छ । उसलाई थाहा छ, नेपालको जमिनमुनि कति ग्यास, कति इन्धन र कति ऊर्जा छ । उसलाई थाहा छ, नेपालले कार्बनको व्यापारबाट बर्सेनि कति आम्दानी गर्न सक्छ । नेपालले आफ्नो भागको अन्तरिक्षलाई कसरी प्रयोग गर्न सक्छ भन्ने पनि थाहा छ उसलाई । उसले डाटा तयार पारेको छ, पशुपति, लुम्बिनी र सगरमाथाको नाममा कति पर्यटक नेपाल भित्र्याउन सकिन्छ । उसलाई थाहा छ, देश विकासका लागि कृषिलाई कति प्राथमिकता दिनुपर्छ । ऊसित नेपाललाई स्वीट्जरल्यान्ड बनाउने तमाम योजनाहरू छन् । ऊसित वाग्मती नदीलाई स्वच्छ बनाउने असरदार योजना छ । ऊसित काठमाडौँको ट्राफिक जामको समस्या कसरी समाधान गर्न सकिन्छ भन्ने आइडिया पनि छ । ऊसित देश विकासका यावत् सपनाहरू छन् । ऊ भन्छ, “म सपना देख्न छाड्दिनँ र मलाई विश्वास पनि छ, मेरो सपना एकदिन अवश्य पूरा हुन्छ । जो सपना देख्दैन, त्यो बेकूफ हो ।”

०००

म उदास हुनासाथ बुद्धिराजलाई भेट्छु । उसले मेरो उदासी भगाइदिन्छ । ऊ कर्ण शाक्य र उनको सोच नामक किताबको फ्यान हो । ऊ भन्छ, “हामी कर्ण शाक्यजस्तो हुनुपर्छ । चाह्यो भने प्रत्येक नेपाली कर्ण शाक्यजस्तो सकारात्मक सोचले भरिपूर्ण बन्न सक्छ । आवश्यकता छ, बस् अलिकति आत्मविश्वासको ।”

हो, बुद्धिराजमा जति आत्मविश्वास मैले कमैमा देखेको छु । उसका कुरा र तर्कहरूमा गजबको आकर्षण छ । ऊ राशिफल पढ्दैन । ज्योतिषीकहाँ धाउँदैन । बगलामुखी र मनकामना गएर भाकल गर्दैन । कलंकीका बाबाकहाँ गएर बुटी लगाउँदैन । ज्योतिषीकहाँ गएर पुष्पराज र नीलम धारण गर्दैन । ऊ वास्तुशास्त्रीले बताएको कोठामा सुत्दैन । ऊ कर्ममा विश्वास गर्छ । सबै कर्मशील हुनुपर्छ भन्ने मान्यता राख्छ ऊ । ऊ देशलाई माया गर्छ । देशको कविता लेख्छ । देशको गीत गाउँछ । नजाऊ छोडी यो देश… यो उसको प्रिय गीत हो ।

ऊ माग्नेलाई भीख दिँदैन । बरु सम्झाउँछ र भन्छ, “हात नफैलाऊ, श्रम गर । यी हातहरू फैलाउनका लागि होइनन् । श्रम गर्नका लागि हुन् । भीखले तिम्रो जीवन सप्रिन्न । जीवन सप्रिन्छ कर्मले, श्रमले, सीपले ।”

उसैको कुरा सुनेर मेरो टोलमा सधैँ भीख माग्न आउने एउटा व्यक्ति एकदिन पुरानो बोरा बोक्दै आयो र भन्यो, “सर, अचेल खाली सिसी र पुराना कागजको व्यापार गर्छु । राम्रो आम्दानी भइरहेछ । खुसी छु ।”

०००

बुद्धिराज पलायनवादी सोचको छैन । ऊ जीवनवादी मान्छे हो । मानिसले प्रयत्न गर्‍यो भने जे पनि सम्भव छ भन्ने मान्यता राखेको छ उसले । एकरात उसले आफ्नो घर चोर्न आएको चोरलाई फेला पार्‍यो । उसले चोरलाई सम्झायो र भन्यो, “चोरी होइन, श्रम गर । तिमी उत्साह मात्र देखाऊ । श्रमका हजारौँ अवसरहरू तिमी नेपालमै फेला पार्नेछौ ।”

त्यस दिनदेखि त्यो चोरले चोर्न छाड्यो । ज्ञानी भयो । घुम्ती मःम पसल खोल्यो । अचेल दिनको पाँच सय कमाउँछ । बुद्धिराजलाई सस्तोमा भेज मःम ख्वाउँछ । ऊ पनि अचेल मःम बनाउँदै देशकै गीत गाउँछ, बुद्धिराजले जस्तै ः
नजाऊ छोडी यो देश
आमालाई रुवाएर,
नबिर्स जन्मेको ठाउँ ……..।।

०००

यति महान् सोच र चिन्तनले भरएिको बुद्धिराजलाई केही दिनयता मैले भेट्न सकेको थिइनँ । ऊ नियमित आउने ठाउँमा पनि आइरहेको थिएन । मलाई ऊ बिरामी भयो जस्तो लाग्यो । जन्डिस, टाइफाइड वा निमोनिया पो भयो कि ? तर, ऊ शिव खेडाको शैलीमा सफलताका २५ थान उपायहरू टाइपको किताबै लेख्ने अभियानमा कम्मर कसेर र घुँडा धसेर लागेको पनि हुनसक्छ । अथवा, विश्व इतिहासका महान् व्यक्तित्वहरूका सफलताका प्रेरक प्रसंगहरूले खाँदाखाँदा कुनै मोटो, रंगीन र सचित्र पुस्तक पनि पढिरहेको हुनसक्छ । उसलाई श्रव्यदृश्य माध्यममा निकै आकर्षण थियो, त्यसैले ऊ कुनै सफल व्यक्तित्वको जीवनीमा आधारति वृत्तचित्रको धुमधामको स्क्रिप्ट तयार गर्नमा व्यस्त भएको पनि हुनसक्छ । नभए रेडियो र एफएमका लागि सकारात्मक सोचले भरिपूर्ण र जोडदार गीति कथा पो लेखिरहेको छ कि ? सम्भावनाहरू अनेकन् छन् । किनभने, ऊ आफैँमा असीमित सम्भावना र असीमित विश्वासले भरएिको जीवन्त मान्छे हो ।

त्यसैले उसको ताजा स्थिति बुझ्न अस्ति म उसको घर गएँ ।

०००

तर, ऊ घरमा थिएन ।

उसकी अर्धाङ्गिनी अर्थात् भाउजू भेटिनुभयो । भाउजूले पहिला मलाई आदरसाथ बैठक कक्षमा प्रवेश गराउनुभयो । गर्मीको बेला थियो, त्यसैले बैठक कक्ष पुगेपछि मेरो मर्का बुझेर भाउजूले टेबुल फ्यान खोलिदिनुभयो । मलाई एकछिन पुराना एल्बमहरू थमाएर मेरा लागि चिसो सर्वत तयार गर्न भान्सातिर जानुभयो । एकैछिनमा भुइँकटरको स्वादको सर्वत लिएर आउनु भयो । मलाई दिनुभयो । मैले सर्वत पिएँ । र, त्यसपछि खालि गिलास साइड टेबलमा राख्दै सोधेँ, “बुद्धिराज दाइ खै त ?” र, श्रद्धेय भाउजू ट्वाँ पर्नुभयो । अचम्मले मतिर हेर्नुभयो ।

“तपाईंलाई थाहा छैन ?” उहाँले सोध्नुभयो । मैले कुरै बुझिनँ । म झन् अलमलिएँ । अनि, श्रद्धेय भाउजूले मलाई तीनछक्क पार्दै भन्नुभयो, “उहाँ त अस्ति नै अमेरकिा गइस्यो । आठ वर्षदेखि उहाँले लगातार डीभी भरिराखिस्याथ्यो । यसपालि भाग्यले साथ दियो । परेछ ।”
अब ट्वाँ पर्ने पालो मेरो । मैले त्यसै गरेँ । अचम्मले हेर्ने पालो मेरो । त्यसरी नै हेरेँ । मलाई ट्वाँ र जिल्लकै स्थितिमा राख्दै भाउजूले धाराप्रवाह आफ्नो व्याख्यान सुरु गर्नुभयो, “यो देशमा पानी छैन । बत्ती छैन । पोलुसन छ । सडकमा फोहरको रास छ । पाइलैपिच्छे ट्राफिकजाम छ । सेयर बजारको स्थिति पनि ठीक छैन । कलकारखाना बन्द हुँदैछन् । रोजगारका अवसरहरू रिित्तँदै छन् । रेमिट्यान्स पनि घट्दैछ । आतंक बढ्दैछ । हत्या, हिंसा बढ्दैछ । पशुपतिनाथ पनि रिसाउनुभएजस्तो छ । अस्ति दोलखा भीमसेनको मूर्तिबाट पनि पसिना आयो रे ! त्यसैले अब यो देशको कुनै भविष्य छैन । यस्तो रद्दी देशमा को बस्छ भनेर उहाँ त गइस्यो ।”

भाउजूको स्वरमा लोग्ने विदेशिनुको आनन्द र गर्वको भाव थियो । म भने बुद्धिराजको अमेरकिा जानुलाई ‘प्रस्थान कि पलायन’ के भन्नु भन्ने दोधारमा थिएँ । उसले हामीलाई धोका दियो कि मूर्ख बनायो, यो पनि मैले बुझ्न सकिरहेको थिइनँ । पुरानो टाइपको कथा भइदिए यतिबेला कतै टाढाबाट नजाऊ छोडी यो देश… भन्ने गीत आइरहेको हुने थियो । तर, धन्न अहिलेलाई त्यस्तो केही भइरहेको थिएन । बरु भाउजू भने लगातार देशलाई गाली गर्दै होइसिन्थ्यो र आत्मविश्वाससाथ भन्दै होइसिन्थ्यो, “यहाँ, बस्ने त बेकूफ हो ।”

(स्रोत : नेपाल साप्ताहिक ३६२ )

About Sahitya - sangrahalaya

We will try to publish as much literary work of different authors collected from different sources. All of these work is not used for our profit . All the creative work belongs to their respective authors and publication. If requested by the user we will promptly remove the article from the website.
This entry was posted in नेपाली कथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.