~कृष्ण बजगाई~
बेगवान घोडाका लगाम एका-एक खिच्दा
सन्त्रस्त भयो वातावरण
घोडाको हिनहिनाहटले।
उत्रेर घोडाबाट
निष्पट् सुतिरहेको सार्वभौम सडकमा
कर्फ्यूको आदेश जारी गरे बुटहरूले
टक्-टक्…टक्-टक्…।
भर्खरै युद्धबाट फर्केका रगताम्य हातहरूले
सडक नाटकको प्रक्षेपण जस्तै
कोमल पुष्प सडकभरि छर्दै गए।
बुटमुनि कुल्चिएर फूलहरू पिसिँदा
कहालिँदै रोए बच्चाहरू घरभित्र
अनि झ्याल-ढोका बन्द गरे आमाहरूले।
रगताम्य हातहरू हल्लाउँदै बुटहरू
बुख्याचा जस्तो सालिकअगाडि पुगेर
ईश्वरका नाममा बन्दुकको सलामी दिए।
सेता परेवा फत्रक्क-फत्रक्क फट्फटाइरहँदा
घोषणा गरे, आफूहरू ईश्वरको प्रतिनिधि।
बारुदको ठुस्स गन्ध आउने झोलाबाट
पुराना धर्मग्रन्थ झिके बुटहरूले
अनि लोककै सामु च्यातेर पानाहरू
बाँडे सडकका रमितेहरूलाई।
सिलसिला टुटेका धर्मग्रन्थका पानामा
अर्थ खोज्दै गर्दा पण्डितहरू
मन्दिरमा एकोहोरो शङ्ख बजिरह्यो
कुनै अपसकुन सन्देश छर्दै।