~पशन तमू~
मनहरु अचेल लक्ष्मीप्रसादका मदनहरु जस्तै भोटतिर उक्लन थाल्छन्
मनहरु अचेल मुनाहरुलाई छोडेर मुग्लानतिर भासिन थाल्छन् ।
भन्नेहरुले भन्ने गर्छन्
यो रहर होइन वाध्यता हो
भन्नेहरुले भन्ने गर्छन्…
जहिले पनि विवसताका कुराहरु
जता पनि मनकाट्ने छुराहरु
त्यसैले त हो लक्ष्मीप्रसादहरुले जहिले पनि
मदनहरु भोटतिर अलाप विलापमा अल्झेको देख्छन्
र मुनाहरु पति वियोगका पीडामा कल्पेको देख्छन् ।
जेहोस् लेख्नेले त लेखें भन्लान्
कसैले माने के भो नमाने के भो
लक्ष्मीप्रसादहरु अचेल पनि मुनामदन लेख्छन्/
लेखिरहन्छन् ।
अस्ति भरखर त हो नि एक हूल मदनहरु
जीवनको प्रज्वलित घाम टिप्न भनेर हिडेका
अस्ति भरखर त हो नि एक हूल मदनहरु
भविष्यको तेजस्वी जून टिप्न भनेर हिडेका
वियोगमा मुनाहरु कति रोए कति
आंसुले मुजित्रो कति धोए कति
आंसुको कुनै सागर नबन्दो रैछ
र त कुनै महासागर बनेनन्
पीडाले कुने पिरामिड नबन्दो रैछ
र त कुनै आकार बनेनन्
जेहोस् सहनेले त सहें भन्लान्
कसैले माने के भो नमाने के भो
लक्ष्मीप्रसादहरु अचेल पनि मुनामदन लेख्छन्
लेखिरहन्छन् ।
अस्ति भरखर त हो नि एक हूल मदनहरुको हूलबाट
एउटा मदन रोजेर
अल्लाहको नाममा बलिको बोकालाई झैं घांटी सेरेको
आ…आमा…ति दर्दानाक पीडा थियो त्यो
कति असहिष्णु पीडा थियो त्यो
के तिमीले हेर्न सक्यौ
के तिमीले देख्न सक्यौ
के तिमीले सहन गर्न सक्यौ
अनि फेरि
भूईमा लम्पसार परेर मृत्युको पालो पर्खिरहेका
अरु अरु मदनहरु
मृत्यु पनि समय गिन्ती गरेर आउंदो रहेछ
के त्यसलाई पनि तिमीले देख्यौ
के त्यसलाई पनि तिमीले अनुभूत गर्यौ
एक…दुई…तीन…
पिठ्यूंभरी गोलीका निशानाहरु
रगताम्मे मदनहरु
छट्पटिदा/छट्पटिदै मरिने मदनहरु
ए…ए…मुख छोप्ने मुहाररहीत मान्छेहरु
हामीले शान्तिको अभियानमा के दखल गर्यौ
हामीले तिमीहरुको आस्थामा के पत्थर मार्यौ
हामीले तिमीहरुको भूगोलमा के धावा बोल्यौ
गरिबी नै हाम्रो दोष थियो त हामीले के बिरायौं
त्यसरी घांटी नै रेट्नु पर्ने
विवशता नै हाम्रो कमजोरी थियो त हामीले के बिरायौं
त्यसरी गोलीले भुट्नै पर्ने
बस् यति नै हो हाम्रो दोष हामी गरीब थियौ
र त घांटी रेट्यौ तिमीहरुले
बस् यति नै हो हाम्रो दोष हामी निरीह थियौं
र त पालै पालो गोली ठोक्यौ तिमीहरुले
हाम्रा मदनहरु त त्यहां आफ्नी प्यारी मुनाहरुको
सपना किन्न हिडेका थिए
हाम्रा मदनहरु त त्यहां आफ्नी प्यारी आमाहरुको
मुस्कान टिप्न हिडेका थिए
हाम्रो देशमा त कहिल्यै /कहिल्यै सपना फुलेन
हाम्रो देशमा त कहिल्यै /कहिल्यै घाम झुल्केन
त्यसैले त त्यसबेला पनि
महाकवि लक्ष्मी प्रसाद देवकोटाका मुनामदनमा
मदन भोट पसेकै थियो
अहिले पनि हाम्रा मदनहरु कुनै न कुनै भोट तिर पसेका छन्
उनीहरु फर्केर आउन पनि सक्छन् र कहिल्यै नफर्किन पनि सक्छन्
उफ् कस्तो नमिठो नियति छ हाम्रो
कोही/कोही देश बिसे्रर रुन सक्छन्
कोही/कोही देश सम्झेर रुन सक्छन्
त्यसैले फेरि फेरि लक्ष्मीप्रसादहरु कविता लेख्छन्
कसैले माने के भो नमाने के भो
लक्ष्मीप्रसादहरु अचेल पनि मुनामदन लेख्छन्/
लेखिरहन्छन् ।