~कमला प्रसाई~
आशाहरु बेचेर हारेको गगनसित
ईच्छाहरु मारेर चुँडिएका आँखाहरुसित
कहिले रातभर यात्रामा कुदिरहेकी हुन्छु त
कहिले दिनभर यात्रामै कुदिरहेकी हुन्छु,
भावनाको लहर न हो
कहिले मेरो यात्राले हिमालचुली नाघेको हुन्छ त
कहिले गङ्गाको किनारलाई छोएको हुन्छ ।
आफ्नैपन बोकेको थियो हिजो मेरो देशको इतिहासले
आफ्नैपन बोकेको थियो हिजो मेरो देशको संस्कृतिले
जसलाई म किन आज छातीभित्र लुकाई राख्न्न चाहन्छु
जसलाई म किन आज पनि ओढिरहन चाहन्छु
किनकि त्यहाँभित्र न्यानो शान्त अनि मिठो निन्द्रा सुतेको हुन्थ्यो ।
गौरव र गाथाका अफ्ठ्यारापनहरु भएपनि
हिम्मत र साहसका त्यहाँ रगत र पसिनाका थोपाहरु बगेका हुन्थे
भावनाको कुम्लै-कुम्लोभित्र भएपनि
त्यहाँ स्वतन्त्रपनहरु बोकेका हुन्थे ।
म यहाँ जे सम्झन्छु त्यो मेरो देशको हुन्छ
म अत्याचारको रेखाभित्र चिच्याउन पुग्दा
त्यो अत्याचारी पनि मेरो देशकै हुन्छ,
भावनाको लहर न हो
कहिले मेरो यात्राले हिमालचुली नाघेको हुन्छ त
कहिले गङ्गाको किनारलाई छोएको हुन्छ ।
विध्वंशकारी यस युगभित्र पनि चुपचाप सहेर
मैले एउटा सृजनाको फूल रोप्न खोजिरहेकी हुन्छु
बादल मडारिएर तछाड-मछाड गरी आकाश नै धमिल्याएको बेला पनि
मैले चुपचाप भएर एउटा जूनलाई सिउरन पुगिरहेकी हुन्छु
अनि आवाजै आवाजको यस बजारभित्र
मैले पनि साहस गरेर एउटा शान्तिको आवाज छोड्न खोजिरहेकी हुन्छु
केवल मातृभूमिको लागि ।
यहाँ भावनाका भिडहरुमा
भावनाका बिद्रोही बथान भालेहरु पनि उठेका होलान्
यहाँ भावनाका भिडहरुमा
भावनाका बिद्रोही बथान पोथीहरु पनि उठेका होलान्
तिनीहरुसँग म आफु पनि उठिरहेकी हुन्छु र
चुपचाप सहेर म मेरो यात्रामा दगुरिरहेकी हुन्छु
किनकि भावनाको लहर न हो
कहिले मेरो यात्राले हिमालचुली नाघेको हुन्छ त
कहिले गङ्गाको किनारलाई छोएको हुन्छ ।
अनि अनगिन्ति असंख्य विस्फोटनहरु टाउकोमा बोकेर
म मेरो यात्रामा यात्रामग्न छु
म मेरो यात्रामा फेरि शान्त नेपाललाई पाउन चाहन्छु
म मेरो यात्रामा शान्त नेपाल खोजिरहेछु ।
(स्रोत : NepalJapan.com)