~रमेश गौतम “पाल्पाली”~
मेरो छोरो अमेरिका गयो
जन्मे, बढे, खेलेको माइती घर छाडेर
पराइ घर जान लागेकी नव विवाहिता दुलही जस्तै
तरक्क आँसु चुहाउँदै
मेरो छोरो अमेरिका गयो
आधुनिक दास बन्नका लागि ।
जाने वेलामा
छोरो रोयो- देशको माटो सम्झेर
आमा रोइन् – मुटुको टुक्रा पर भयो भनेर
मेरो मन रोयो -देशको स्थिति सम्झेर
तैपनि मैले उसलाई ‘नजा बाबु’ भन्न सकिन
किनकि
जसोतसो उसलाई
डिग्रीसम्म पढाएको भए पनि
मैले यहाँ रोजगारी दिन सकिन
र मेरो देशलाई
डिग्रीको महत्त्व बुझ्ने फुर्सद छैन
त्यसैले मेरो छोरो अमेरिका गयो
आधुनिक दास बन्नका लागि ।
मैले सुनेको थिएँ कतै
बेलायत, अमेरिकामा कुनै वेला
अपि|mकाबाट दास ल्याइन्थे सिक्रीले बाँधेर
तर अहिले त्यहाँ
स्वयम् बर्सिन्छन् आकाशबाट आधुनिक दासहरू !
टाइ सुटमा सजिएर ।
मेरो छोरो पनि डिग्रीको प्रमाण पत्र
कुनै पेट्रोल पम्पमा पेस गर्ने छ
राजदूतले जस्तै अथवा
कुनै बारमा झिर माझ्ने काममा
अथवा ‘कप तान’ बन्ने कामका लागि
पेस गर्ने छ प्रमाण पत्र ।
अठार घण्टा रगडिएर
केही डलर पठाउनेछ मलाई
ऊ अमेरिका जाँदा बन्धकी राखेको
मेरो झुपडी निखन्नलाई
अनि मेरो सरकारले सगर्व भन्ने छ
‘हामीले रेमिट्यान्स भित्र्यायौँ’ भनेर
हो, मेरो छोरो अमेरिका गयो
आधुनिक दास बन्नका लागि ।
२०६८ भाद्र १० गते
धुम्बाराही—४, काठमाडौँ
फोन ४४३१८०१ मो. ९७४१००७३०६
इमेल- rameshgautampalpali@yahoo.com
(स्रोत : शब्द-संयोजन असोज २०६८ अङ्क ८९ )