म धरातलमा छु, एक्लो र आफै संग । म हांसि दिन्छु । किन? हुन त रोएको पनि छु । दुबै छन् मसँग । म दुबै संग छु ।
लोग्ने मान्छेको बिश्वास सांच्चै पातलो हुन्छ । छिसिक्क केहि हुनु हुदैन । केरकार शुरु । म हजार कोशिस गरौ, अपवाद हुन कहिले सकिन । मेरो कमजोरि पनि हुन सक्छ वा प्रकृति । मैले ध्यान नदिएको पनि होईन । बिचारलाई रोकेको पनि हो । अझ भनौ बिचार रोक्ने प्रयास पनि गरेको हो । तर पनि कहिले कांहि कमजोर भईन्छ । यो मेरो आफै संगको बहाना पनि हुन्छ । तर अहिले यो सत्य बाट सबै भन्दा पिडित म नै छु । त्यसैले
यो बहाना को कुनै धरातल छैन । मेरो अहिले को अवस्था न श्रृजित हो न एउटा समय को लहरसँगैको कुनै उठाव । यो पूर्ण वैचारिक भइदियो र म यसैमा घरि डुब्दै घरि उत्रदै गर्दै छु । न यस बाट म केहि जित्ने छु । न हारेको नै छु । यो खालि बिचार संगै सुरु भएको हो । यदि बिचार संगै यस्को मृत्यु भएन भने मेरो मृत्यु पछि यो अमर रहंदैन ।
हिजो एक्वारियम का ३ वटा माछा मरे । कारण अझै पत्ता लागेको छैन । फ्लाटको साथीले २ छाक भयो खाना खाएको छैन । दु:खी छ । ५ वटा थिए । २ अझै जिउँदा छन् । उ पत्ता लाउन खोज्दै छ । किन माछा मरे भनेर । मलाई न शोक छ न खुशि नै । २ जिउदा रहेकामा मलाई खुसि पनि छैन, न ३ वटा मरेकोमा दुख । म संसारको नियम भनेर माछाको मृत्युलाई सामान्य बनाउने असफल प्रयासका साथ मेरो साथीलाई आध्यात्मीक दिलासा दिने दाउमा पनि छैन । फिलोसोफि उसले मेरो भन्दा धेरै पढेको छ । मेरा दिलासा हलुका हुने छ उसको पीडाको अगाडि ।
एक किसिमले उ भाग्यमानि पनि छ । उसलाई पीडा हुन्छ । सत्य सार्वजनिक छ, उसलाई खुशि पनि हुन्छ । उ उफ्रन्छ पनि । हांस्छ । रुन्छ । जीवनका भोगाई हरु भोग्छ । म के त? जिवन देखि निराशावादि? फेरि के यो? किन कम्प्यारिजन । मेरो अवस्था अर्कै छ । म जोगि होईन । तर मेरा यी दिनहरुमा मलाई यी व्यवहार ले छुन्न । मेरो वर्तमान यहि हो ।
त्यो दिन पनि कुकुर यसरि नै भुकेको हुदो हो । मैले न सुनेको हुन् सक्छ । बिचार को द्वन्द थियो । उनि त्यसरि नै आएकि थिईन् । म आफ्ना तर्क संग त्यसरि नै उभिएको थिए, रुखो । म त्यस्तो बिचार प्रधान पनि थिईन । मलाई तर्कमा जित्नु र हार्नु ले खास फरक राख्दैन थियो । म माया गर्छु भन्थीन्, उनि पनि। को कति सत्य मा थियो । दैव जानोस, यदि भए देखि, नत्र कसैलाई थाह छैन ।
उनि उनका बिचार राख्दै गईन् । मलाई उनका कुरा डबलिमा राखिएका सजावट जस्तो लाग्थ्यो। कुनै राम्रा, उपयुक्त, राख्न पाए हुँदो हो जस्तो लाग्ने, कुनै अर्थ न बर्थका । यस्तो पनि किन बनाएको जस्तो लाग्ने । जस्ता भए पनि, अलि पर तलेजु को मन्दिर पुग्दा कुनै पनि सम्झना मा नरहने ।
उनी रहरले भन्थिन् या मायाले, म खालि सुनि मात्र रहन्थे । जित उनैको हुन्थ्यो र उनलाई जिताएर म उनलाई जिति रहन्थे, अनवरत । उनी रिसाउँथीन् म बोरिन्ग छु भनेर । म हासी मात्र दिन्थे । उनी मुख बिगार्थीन् । म तत्व खोज्दथे मायाका ।
रुघा लागेको थियो उनलाई । भदौको गर्मी मा पनि । म कहां भदौ को कुरा गर्छु । जेठ हो क्यार । आँप पाकेका थिए । गर्मी गर्छ, धेरै नखानु भनेर आमाले भनेको मैले कहिले माने र ! कुलेश्वर फलफुल बजारमा सस्तो त थियो तर ट्याक्सि खर्च नै मंहंगो । नेपाल यातायात सम्म ल्याउन मलाई नै बोकाईन् उसले। मलाई के को लाज । उनि साथमा भएपछि । चढि त हालियो । मीठो त हुने तर साह्रै फोहोरि बनाउने खाँदा । फेरि, मैले किन खान्थे र उनलाई भनेर किनेको । एकै ठाउँ बसेर कहिले खाने ! उनि सँधै भन्दथिन् । म खोई के भनि दिन्थे । रहर मेरो नभएको कहाँ हो र । सबै कुरा मिलाउन पर्दथ्यो ।
फोन गरेकि थिईन्। काममा कसरि उठाउने । प्राईभेट ब्याङ्क। काम सकेर फोन गरेको थिए । केटा हेर्न आए रे । अहिले बिहे गर्न मन छैन रे । कस्तो कस्तो लाग्दछ मलाई, हाम्रो समाज बेला बेला । किन हेर्नु पर्ने होला । नहेरि बिहे गर्न मिल्दैन ? वा अर्को कुनै राम्रो तरिका छैन । हुन त राम्रो भनेको के हो र? खालि बिचार कुरा हुन् । अभ्यस्थ कुरा मा धेरै प्रश्न कहिले पो गरिन्छ र !!
साउन संगै कुरा सेलाएर गयो । उ सामान्य भएकि थिईन् ।
म नामैले माया गर्दथे । उसका साथीका साथीले आफ्नो-आफ्नो बोलाउने नाम राखेका थिए । मायालुलाई बोलाउने मायाका निजि नाम । मैले खोज्न सकिन । वा भनौ जानिन । म नाम ले नै बोलाउँथे उनलाई । त्यो दिन पनि बोलाए । उनि बोलिनन् । मलाई फकाउने कला कहां आउँछ र । के भयो भनेर नाम ले बोलाई रहे । उनि नबोलेपछि, डर पनि लाग्यो । आवार मधुरो हुदै गयो । किन हुन्छ यस्ता कुरा हरु । खोई म यकिन गरेर कहिले भन्न सक्दिन । म भावना मा कहाँ लेखाजोखा गर्दथे र । उनी एकै छिन मा आफै फकिन्थिन् । मलाई राहत हुन्थ्यो ।
मीठाइ मलाई मन पर्ने । उनी गुलियो मन पराउँथिन् । कसरि भेटियौ पनि थाह छैन ।
उ पनि नबोल्ने म पनि कमक्कल । खोई कसरी जुधेको थियो हाम्रो कुरो । जागिर पाईनन् उनले । म ब्यांङ्कको काम मा लागे ।
साह्रै चित्त दु:खाएकि, राम्रो पढेर पनि जागिर नपाएको मा । भेट्न पनि गाह्रो मान्थिन त्यो बेला । बल्ल तल्ल प्रोजेक्टमा पाईन । अनि दंग, अनि अथाह कुरा । अनि खुसी । कति सजिलो हुने छोरी मान्छेको मन । कति स्पष्ट र कति सरल । म त्यस्तो कहिले भईन । म बिगत मा झुण्डिएको हुन्छु, वर्तमान बितिसक्छ ।
मलाई उनले के लगाएको मन पर्ने भन्ने कुरा नै छैन । सबै मन पर्ने । उ त साथी थिई । न लवाई संग मतलव, न सुर संग । केवल साथ चाहिने, बाकि सबै कुरा प्यारो हुँदो रहेछ । शायद माया भनेको यसै मा हुंदो हो । बाहिरि रुप छोडाए पछि रहेको आकर्षण । एक्लिएको मनले मागेको साथ । अनुपस्थितिमा खट्किने दौतरि ।
उ त्यस्तै थिई । केटि साथि पनि खासै नभएकि । हामी किन कसरि नजिकियौ । खोई थाह पनि छैन । उसको सुताई उठाईको समया मलाई याद पनि हुन्न थियो । सुति रहेकि थिए, तिम्रो फोन ले उठायो भन्दथिन् । उ नियम मा नै बस्दिन थिईन् । दिउँसो सुत्नु उसको बानि । उनलाई खोई समयको कहिले होश भएन ।
खोइ के हुन्थ्यो । उनि पनि हराउँथिन् कुरा कुरै मा बेला बेला । एक दिन यहि लेख्दै गरेको कलम दिएकि थिई । मेरो कलम पुरानो भयो भनेर । मेरो जन्म दिन थियो । उनले शुभकामना भनिन्। मैले लिए । म जन्मदिन मनाउँदिन । उनलाई थाह थियो । मेरो लागि एउटा अर्को दिन मात्र । उ पनि उस्तै । तर किन हो, त्यो दिन उसले मलाई उपहार दिईन् ।
साथीले आज, ४ वटा माछा किनेर ल्याएछ । रातो र पहिलो । खानामा हिसाब मिलेन र मरेका रे । सफा गर्दै थियो । पानी कोठा भरि । मलाई बरु दिंङ्ग दिङ्ग लाग्यो । त्यसै उभिई रहे । उसले भात खायो । म त्यसै झोक्राएर बसे ।
फोन नगर्दा रिसाएकि हुन्न थिईन् । तर त्यो दिन मेरो मन पनि कस्तो कस्तो थियो । खोई किन मलाई खल्लो लागेको थियो ।
मोटरसाईकल को स्पार्क प्लग बिग्रिएको थियो । सिटमुनिको टुल बक्स हराएको रहेछ । मलाई होश नै भएन । उनले मिस कल कहिले नगर्ने त्यो दिन किन हो गरिन् । बनाएर पुगिहाल्थे । थापागाउँको ओरालोको पसल पुर्याउदा ढिला भयो । उ रिसाउँदा बोल्दिन थिईन् । म नामले बोलाई रहन्थे ।
उनी कुरि रहेकि थिईन् । बल्ल बल्ल स्पार्क प्ल्ग फेरेको । अनि पुगे । के भयो भनि, एक्सिडेन्ट भयो भनेर डराईछ। मोटरसाईकलमा हिड्नु पनि डर हुन्छ । हिड्ने भन्दा कुर्ने लाई सास्ती ।
साथी भनेर चिनाईन् । म झसंङ्ग भए । मेरो मनले शंका गर्यो । अनुहार मा बास्तविक हांसो आएन मेरो । मलाई पल हरु गाह्रो हुदै गए, एक पछि अर्को …………..
क्लोरीन पनि धेरै हाल्न हुदो रहेनछ । पानी सफा गर्ने अर्को झोल किनेर ल्यायो साथीले । उसलाई लगाव छ, ति माछामा । तिनको अस्तित्व मा । तिनको जीवनमा । उ आफ्नो जीवनका पलहरु खर्चिन्छ माछामा । उसलाई सन्तुष्टी मिल्दछ । एक प्रकार ले ब्यक्त गर्न नसकिने आभाष । यो मुल्यवान हुन्छ । मलाई त्यो लगाव छैन । म त्यो भावना पाउँदिन । यो उसको जीवन हो । म भिन्न छु ।
पानी मात्र कति पिउनु । निन्द्रा लागेन त्यो रात। खालि मन भट्की रह्यो । बिचार भट्की रहे । उनले साथी चिनाए पछि, मेरो मन शान्त रहेन सकेन । किन ल्याएकी थिईन् न मैले कहिले सोधे, न उनले भनिन् । बाटोमा त्यसै भेटिएर आएको पनि हुन सक्थ्यो । नहुन पनि सक्थ्यो । तर मनले सधै सजिलो कहाँ सोच्छ र ! बहकिनु, उत्ताउलिनु, अल्मल्याउनु थियो । मैले अनेकन कुरा सोचे । त्यो भेट मेरो हात मा थिएन, तर यि बिचार मेरो मनका उपज थिए। म प्रसारित भई दिए ।
तर उसको त्यो उपस्थिति नै मेरो माया को मियो हल्लाउने पहिलो कडि भईदियो । मैले परिवर्तन देखे उनमा । जुन थिए पनि होलान वा मेरो अति सुक्ष्म अवलोक भईदियो । मेरो दृष्टी दोष हुन पनि सक्छ । उ त उ नै थिईन् ।
सगै काम गर्ने रे । जागिर लाउन पनि सहयोग गरेको । सहयोग बिना जीवन कहां सम्भव छ र हाम्रो । तर सम्बन्धहरु नै प्रभाव परे?? म बैङ्क मा नै थिए । मेरो जागिर थियो । म धाउंथे । प्रोजेक्ट रमाईलो नै हुन्छ प्राय: । मैले त्यहि सोचे । नाम अनुराग रे । हाम्रो हरेक भेटमा जब उसको नाम आउँथ्यो, मलाई उसको साक्षात उपस्थिति आभाष हुन्थ्यो । उसका यो गर्यो र उ गर्यो । प्रोजेक्टमा हाम्रो टिम राम्रो आदि । के के के के । मेरो मन उनको उपलब्धी भन्दा अनुराग को प्रभावशाली र अदृष्य उपस्थिति ले कुडिई रहन्थ्यो । म उनको खुशीमा अन्तरमनबाट हास्न सकिन ।
मन किन हुन्छ यस्तो! अनुराग को नाम मात्र हुन्थ्यो, म त तन र मन का साथ हुन्थे उनी संग। उनी मसंग भिजेकि थिईन् । म उनी संग गासिंएको थिए । तर पनि उनी रेशा रेशा गरेर मबाट चुडिनु मेरो कत्रो दरिद्रता!!
उ फोटो देखाउथिन् । मोफसल घुमाईका । म हेर्दथे । पोखरा उनि सगै जाने भन्ने मेरो सपना त्यहि तुईयो । कस्तो छोप्छ है बिचार ले बेला बेला । हामी हावाको बेग आँक्नमा ब्यस्त हुन्छौ, हातको फूल सबै उडाई सक्छ । पछि न हावा हुन्छ न फूल नै । नियति पनि के भन्नु यसलाई!!!
अनामनगर आफैमा छरिएको थियो । उहि परिचित ब्यस्तता । उ उस्तै भएर आएकी थिई । कपाल सदा झै बाधेकी । कान को टप अर्कै थियो । मेरो आँखा पुग्यो । खै उनमा के थियो । मलाई तान्दथ्यो । उसलाई भेट्ने पलमा म आफुलाइ पनि बिर्सन्थे, अनुरागहरु त धेरै पर । शुक्रबारको दिन थियो क्यार । सोह्र श्राद्ध को नवमी हुँदो हो । मेरो हजुरआमाको श्राद्ध । होसै भएन । मासु खाएछु ।
उनले तर्क राख्दै गईन् । कता कता अनुराग को प्रसंग आई रहन्थ्यो । मेरो हांसो बिस्तारै सुक्दथ्यो । मेरा खुशीहरु हराउँथे । उनि अगाडि हुदां हुदै मेरो मन मा बिचार को द्वन्द शुरु हुनु थियो, भयो । जरुरी थियो वा थिएन म भन्न पनि सक्दिन । मैले रोक्न सकिन मनलाई । हो मलाई उनको माया लाग्दथ्यो । लाग्दथ्यो भन्न उपयुक्त हुन्न । लाग्दछ । माया कहां मर्छ र!! उ मेरो एउटा अंश ओगटेर बसेकि छन् ।
म रुखो नै भए । अनुराग भन्ने ब्यक्तित्व ले उपस्तथित नभईकन मलाई उ प्रति ईष्या जगायो । उनलाइ उनको तर्क प्यारो भयो । म तपि रहे । खरो भए । मलाई बिचार र तर्कमा जित्नु थिएन । उ आफ्ना बिचार लाई जिताई रहि । उनलाई अनुराग पाउनु थिएन । म उनलाई आफ्नो मन बाट गुमाई रहे, मेरै अगाडि । मैले केहि गर्न सकिन ।
यदि तिम्रो उपस्थितिको रत्ति भर महत्व हुदैन भने तिम्रो अनुपस्थिति स्वागत योग्य हुन्छ । यहि भावना आयो । मैले कुनै तर्कलाई प्रतिवाद गरिन । प्रतिवाद त्यहां गरिन्छ जहां जित्नु पर्ने हुन्छ । म त मैले जिति सकेकि उनलाई हार्दै थिए । उनि आफ्ना तर्क राख्दै गईन् । मलाई के भएको , शायद उनले बुझिनन् या बुझ्न चाहिनन् । उनका तर्क संगै हाम्रो सम्बन्दको डोरो छिन्दै गयो । टुट्दै गयो ।
म जलेको थिए । मेरा शब्द मा मीठास भेटिनन् उनले । माया दुवै गर्थ्यो हामी एक अर्कालाई । तर हाम्रो बिछोड, मीलन भन्दा उपयुक्त ठान्यौ दुबैले । दुबै दु:खी थियौ । मेरो मात्र पनि थिएन उनको मात्र पनि थिएन, दुबै मीलेर निर्णय गरेका थियौ ।
अनाम नगरमा कुकुर भुकिरह्यो एकोहोरो । मैले न आफुलाई हार्न सके, न उनलाई जित्न ।
सांझ पर्यो । हामी छुट्टिनु थियो । मैले मोटरसाईकल एकनास ले कुराई रहे । उनलाई कुपनडोल पुर्याउने शायद मेरो अन्तिम यात्रा थियो । त्यो बाग्मतीको पुलमा मैले जति नै जतन गरे नि ब्रेकरले हामीलाई उफार्यो । उनी पाँचै पटक झस्किन र मेरो पाखुरा समातिन । ति अति नै मीठा पल थिए, हाम्रो धरातल त्यो बेला जे भए पनि ।
बाटो भरि उनि पनि बोलिनन् म पनि । उनको घर अगाडी उनलाई मैले छोडे । मैले मेरो एउटा अंश त्यहि छोडे । आँखा उनका पनि टिलपिल थिए, मेरा पनि । दुबै का खसेनन् । अहिले सोच्दछु । किन खसेनन् त्यो बेला । खसेका भए शायद म म नै हुन्नै उनि उनि नै । तर अहिले यि तर्क को केहि अस्तित्व छैन । जे भयो, त्यो बिगत हो । यो बर्तमान हो । मसंग उनि छैनन् उनी संग म छैन । उनि कुपनडोल मा नै छिन । म मिलन चौक मा ।
म आधा मन लिएर फर्किए । मोटरसाईकल गह्रौ कुदि रह्यो । कुकुर हरु भुकि रहे । मलाई केहि भन्नु थिएन, उनिहरु को भुकाई लाई ।
साथी दंग छ । माछा को चर्तिकला हेरेर । उ हेरि बस्छ घण्टौं । बयान गर्छ । नाम राख्छ । मैले उनलाई बोलाउने नाम कहिले राखीन । म पनि बेला बेला एकोहोरिए ति माछा मा । त्यो सिसा को बाकस मा जीवन छ । जुन बास्तविक संसार बाट बेग्लिएर पनि पुर्ण छ । संचालित छ । त्यहां जीवनका रंग छन ।
म खोक्रिएको हुं त? खोई यो पूर्ण बैचारिक हो । सापेक्षिक पनि होला शायद । न मलाई गल्ति बोधले पिरोलेको हो न अस्तित्व रक्षाको बिजय बोध । अहिले न म मा यि कुरा को बहाव छ । न जलन को लेप नै । अहिले त उनी छिन मेरो मन मा, सबै तपसिलका कुरा फुकाएर । शुद्ध र एक्ली उ । उ अब मेरो जीवन मा आउँदिन । यो बास्तविकता हो । बिहे भई सक्यो रे । अनुराग संग होईन । उसले बोलाएकि थिई । म गईन । जानु नजानु को खासै महत्व थिएन । तर उ मेरो मन बाट हट्दिन । यो मेरो प्राप्ती हो । उसका लागि मेरो माया न अब घट्ने वाला नै छ । अहिले पनि उ मेरो एउटा अंश नै हो । शायद उसलाई पनि यो भाव हुंदो हो । उसको प्राप्ति त्यहि हो ।
अहिले मेरो मन स्वतन्त्र छ । म मन लागेको बेला हांस्दछु । मन बगेको बेला रुने पनि गर्छु । यो मेरो जीवन हो । म यसलाई बाच्दै छु । म मेरो आफ्नो धरातलमा छु मेरो आफ्नो आकाश मुनि , जहां मेरा बिगतहरु, मेरा भोगाईहरु मेरा भावहरु सजिएका छन् । अनि यीनै ले म मेरो आकाश अझ बुन्दै छु । जीवन बु्न्दै छु …………………….
यति नै ।।।
(स्रोत : Rajib’s Blog)