मेचीदेखि महाकालीसम्म छरिएर रहेका ६० ओशो ध्यान केन्द्रहरूले ११ डिसेम्बरका दिन ७५ औं ओशो जन्मोत्सव मनाए । ओशोले शरीर छाड्नुपूर्व एउटा प्रसिद्ध वाक्य उद्गार गरेर छोड्नुभएको थियो – ‘नेवर बोर्न, नेवर डाइड, ओन्ली भिजिटेड दिस प्लानेट अर्थ फ्रम ११ डिसेम्बर १९३१ टु १९ जनवरी १९९० ।’ झट्ट हेर्दा यो वाक्य धेरैका लागि साधारण तर अबोध्य लागे पनि यसमा पूर्वीय अध्यात्म दर्शनको सार संगृहित
छ ।
गीताको चौथो अध्यायको छैटौं श्लोकमा भगवान् श्रीकृष्णले पनि यही भनेका छन, ‘म अजन्मा, अविनाशी तथा सबै प्राणीहरूको इश्वर भए पनि प्रकृतिको अधिनमा आफ्नो योगमायाद्वारा प्रकट हुन्छु ।’ अजन्मा र अविनाशी स्वरूपको अर्थ जसको न जन्म छ, न मृत्यु । तर त्यस्तो स्वरूप भएको परमात्माले पनि कुनै विशेष कारणवश यो विनाशी मृत्युलोकमा जन्म लिनुपर्छ । जन्म लिनु पर्यो भने उसले पनि प्रकृतिको नियमकै अधिनमा बस्नुपर्छ । योगमायाको अर्थ हो – सम्मोहन । सामान्य व्यक्ति वासनाको सम्मोहनमा जन्मिन्छ । जीवनपर्यन्त यही वासनाले उसलाई डोर्याउँछ । मर्ने बेलामा पनि यही अतृप्त वासनाहरू उसका अगाडि नाचिरहेका हुन्छन् । बीज रूपमा तिनीहरूले मन र चेतनामा आफ्नो घर बनाएर बस्छन् र सतत माग गरिरहेका हुन्छन् – छिटो शरीर लेऊ र मलाई तृप्त गर । कामनाको यो नाटक सबै कामनाबाट मुक्त नभएसम्म चलि नै रहन्छ । विनाकामनाको जन्म हुन सक्दैन । त्यसकारण ‘मैले जन्म लिनु पर्यो भने पनि कुनै न कुनै कामना सृजना गर्नुपर्छ ।’ उनी यसलाई भन्छन् योगमाया । मायाको अर्थ हो – सम्मोहन । हामी पनि सम्मोहनमै जन्मिन्छौं तर हाम्रो सम्मोहन हुन्छ कामना तृप्तिमा पाइने क्षणिक सुखको । त्यो कामनामा पनि सबैभन्दा प्रबल कामना हो – यौन इच्छा । अधिकांश व्यक्तिहरूको मर्ने बेला पनि मनमा यौन इच्छा नै खेलिरहेको हुन्छ । त्यसैले यौनद्वारा नै उसलाई जन्माइन्छ । कृष्ण चैतन्य जस्तो व्यक्तिलाई पनि जन्मिनलाई पनि केही माया सृजित गर्नुपर्छ । त्यो होसपूर्वक आफै सृजित गरेको हुनाले श्रीकृष्ण त्यसलाई ‘योगमाया’ भन्छन् ।
तर सम्मोहन नभइकन चेतना पदार्थसँग संयुक्त हुनै सक्दैन । शरीर पञ्च तत्वको पार्थिव खोल हो । त्यसभित्र चैतन्यलाई बास गर्न वासनागत सम्मोहन चाहिन्छ । श्री कृष्णले यही कुरालाई यसै अध्यायको सातौं र आठौं श्लोकमा वर्णन गर्छन् । ‘जब-जब धर्मको हानी र अधर्मको बृद्धि हुन्छ तब-तब म धर्मको उत्थानका लागि आफ्नो साकार रूपमा प्रकट हुन्छु ।’ त्यस्तै ‘साधुको उद्धार र दुष्टको विनाश तथा धर्मको उत्थानका लागि युग-युगमा प्रकट भइरहन्छु ।’ यो सुखको इच्छाले प्रेरित बेहोस आंकाक्षा होइन, कल्याणको कामनाले स्वयंद्वारा होसपूर्वक रचित र प्रायोजित आकांक्षा हो ।
यसै सन्दर्भमा चौथो अध्यायको सूरूका पाँच श्लोकहरूमा श्रीकृष्ण र अर्जुनबीचका सम्वाद पनि रोचक छ । यसमा पनि पा“चौ श्लोक महत्वपूर्ण छ ।
बहूनि में व्यतितानि जन्मानि तव चार्जुन
तान्यहं वेद सर्वाणि न त्वं वेत्थ परन्तप ।।
‘हे अर्जुन, मेरो र ति म्रो धेरै जन्म भइसके, तर तिमीलाई यो याद छैन । मलाई सबै याद छ ।’
यो श्लोकले हाम्रो अध्यात्मिक चिन्तनको मूल धारणालाई प्रतिस्थापित गर्छ । भारतमा जन्मेका हिन्दू, बौद्ध, जैन र शिख धर्मले पुनर्जन्मको सिद्धान्तलाई आफ्नो आधार मानेका छन् र कर्मअनुसार जन्मको प्रकृया अगाडि बढ्छ भन्ने यिनको आधारभूत सत्य हो । पश्चिममा जन्मेका तिन वटै धर्म – यहुदी, इर्साई र इस्लामलेे मृत्यपछि जीवनको निरन्तरतालाई त स्वीकार गर्छन् तर यसको श्रृंखलाबद्ध पुनरावृतिलाई स्वीकार गर्दैनन् । यी धर्महरूले के भन्छन् भने मानिस आफ्नो कर्मअनुसार स्वर्ग या नर्कमा बस्छ । तर अहिले पश्चिमका मनोवैज्ञानिक खोजहरूले जीवनपछि पनि जीवनको निरन्तरता छ भन्ने तथ्यलाई नकार्नै नमिल्ने तुल्याएको छ । ‘नियर डेथ इक्सपिरियन्स’ बच्चाहरूद्वारा आफ्नो विगतका जन्मसँग सम्बन्धित बताइएका अकाट्य तथ्यहरू, तिब्बती बार्डोको सचेतन प्रयोग, अशरिरी अँत्माहरूद्वारा सम्प्रेषित जानकारीहरू तथा स्वप्नमा प्राप्त पराजीवनका अनुभूति र संकेतहरूको खोजले जीवनपछिको जीवनको निरन्तरलाई प्रत्येक दिन अझ रहस्यमय तर स्पष्टता पनि दिंदै गएको छ ।
इसाइ पूर्वाग्रहमा हुर्केका पश्चिमा वैज्ञानिकहरूलाई यी तथ्यहरू स्वीकार्न गा्ह्रो भइरहेको छ । सूर्यलाई पृथ्वीले परिक्रमा गर्छ र वृहस्पति ग्रहका पनि उपग्रहहरू छन् भन्ने ग्यालिलियोका खोजलाई मान्न स्थापित चर्च र वैज्ञानिक समाजले अस्वीकार मात्रै गरेन, ग्यालिलियोलाई बन्दी जीवन जिउँन बाध्य पारेका थियो । भ्याटिकनका पोपले सन् १९९३ मा आएर ग्यालिलियोको यो खोजलाई आधिकारिक मान्यता दिए ।
पूर्वाग्रहले धर्ममा लागेका व्यक्तिहरूलाई मात्रै होइन, विशुद्ध बौद्धिक र वैज्ञानिकलाई पनि छोड्दैन । किनभने बच्चैमा समाज र परिवारले सिकाएका वृत्तिहरूको परिवर्तन त पीडादायक हुन्छ भने त्यसमा मुक्ति त झन् असंभव नै लाग्छ । तर अहिले पश्चिममा पूर्वीय दर्शन, साधना प्रणाली तथा अनेकन् गुरूहरू जस्तै महेश योगी, कृष्णमूर्ति, ओशो, प्रभुपाद, अरविन्द, रविशंकर, सत्यर्साईबाबा, योगानन्द, रामकृष्ण मिसन, रमण आश्रम आदिका बढ्दो प्रभावका कारणले पनि आफ्ना विश्वासको जग धरमराएको अवस्था छ ।
प्रसिद्ध मनोवैज्ञानिक तथा चिकित्सक डा. व्राइन वेसको ‘मेनी लाइफ, मेनी मास्टर्स’ तथा ‘सेम सोल, मेनी वडीज्’ जस्ता पुस्तकहरूका दशौं लाख प्रतिहरू बिक्री भएका छन् । यस्ता विषयवस्तु समेटिएका पुस्तकहरूको लोकप्रियताले पश्चिमको बौद्धिक जगतमा एक क्रान्तिकारी परिवर्तनको संकेत दिइरहेको छ । प्रतिष्ठित चिकित्सक डाक्टर वेसले अज्ञात भय र चिन्ताद्वारा सानैदेखि सताइएकी क्याथरिनको चिकित्साको क्रममा यी भय र चिन्ताको कारणहरू यो जीवनमा घटेका कुनै घटनासँग सम्बन्धित नभेटाएपछि उनले सानो सम्मोहनको प्रयोग गरे । यसबाट क्याथरिनले जुन जानकारी दिइन्, त्यसप्रति डाक्टर वेसलाई पनि विश्वास भएन ।
क्याथरिन अँध्यारोदेखि डराउथिन् । उनी आफू सुत्ने कोठा अँध्यारो छ भने पनि कोठामा छिर्न सक्दिनथिन् । त्यो डरको कुनै कारण उनले खोजी गर्दा यो जीवनमा त्यसरी अँध्यारोसँग डराउनु पर्ने कुनै मनोवैज्ञानिक चोट पुर्याउने दुर्घटना उनले भेटिनन् । तर सम्मोहनमा उनले विगतमा आफूलाई कुष्ठरोग लागेको र सबैले आफूलाई गाउँबाट निकालेर नजिकको पहाडमा रहेको गुफामा थुनिदिएको दृश्य देखिन् । र त्यही अँध्यारो गुफामा आफ्नो दुखान्त मृत्यु भएको देखिन् । असह्य भएर रून थालिन् । यो दृश्य देखेपछि उनको मानसिक रेचन भयो र उनीबाट विस्तारै अँध्यारो डर पनि हराएर गयो । यस खोजले डाक्टर वेसको जीवनमा मात्रै होइन, पश्चिमको मनोविज्ञानिक चिकित्सा जगतमै ठूलो परिवर्तन ल्यायो । हुनसक्छ, सन् २०९३ मा भ्याटिकनले पुर्नजन्मलाई आधिकारिक मान्यता दिनु परोस् ।
(स्रोत : पुस्तक “सन्त गाथा”बाट)