नेपालमा अवस्थित अनेक प्रसिद्ध बुद्धक्षेत्रमध्ये जनकपुर एक प्रख्यात क्षेत्र हो ।
कुनै समय यो मिथिला संस्कृतिको केन्द्र र मिथिला राज्यको राजधानी पनि थियो । रामायण कालमा स्वयम भगवान राम धनुष यज्ञमा आएका थिए । फलतः चार राजकुमारीको विवाह दशरथका चार छोराहरूसँग भएको थियो । सीरध्वज जनक राजा भएको त्यसकाल खण्डमा जनकपुरको प्रसिद्धिले शिखर छोएको थियो । त्यहाँ याज्ञवल्क्य, विश्वमित्र, वाल्मीकि, अष्टावक्र, लोमश इत्यादि ऋषिका आश्रमको उल्लेख भेटिन्छ । भनिन्छ, त्यस समय मिथिलामा राजनर्तकी र
नगरवधुहरूमध्ये केही ब्रह्मज्ञानीहरू पनि भेटिन्थे । श्रीमद भागवतमा मिथिलीकी एक नगरवधु पिंगलाको आत्मग्लानि र प्रार्थनाले भरिएको प्रसिद्ध श्लोक छ, जसमा उ भन्छे, ‘यो विदेह नगरीमा म एक्लै यस्ती मुर्ख छु, जो अविनाशी परमपुरुष परमात्मालाई छोडेर अनेक पुरुषको अभिलाषा गर्छु ।’
पारिवारिक अनुष्ठानका सिलसिलामा जनकपुर गएका बेला मैले त्यहाँ एक अदभूत सन्तको दर्शन पाएको थिएँ । त्यस बेला म त्रिचन्द्र कलेजमा बिएसीको विद्यार्थी थिएँ । त्यो बेलामा मैले आफ्ना गुरु ओशोलाई भेट्ने सौभाग्य पाएको थिइन । तर भारतका अनेक गुरुहरूको दर्शन र उनीहरूबाट दीक्षा लिइसकेको थिएँ । अनेक ढंगले साधना गर्ने प्रयास गरे पनि ध्यान जमिरहेको थिएन । मलाई एक मार्गदर्शकको खुब खाँचो थियो । म परमात्मालाई निरन्तर पुकार गर्थे – ‘प्रभु, मलाई साधनामा बाटो देखाउने पथप्रदर्शक पठाइदेउ ।’
एक दिन बिहानै घरको प्रवेशद्वारमा एउटा गौर वर्णका जोगी भिक्षाका लागि केही नबोली खडा देखिए । बानीअनुसार म घरभित्र गई एउटा रुमालमा दक्षिणास्वरूप अलिकति चामल लिएर आएँ र उनलाई त्यो चामल दिएँ । जोगी मौनी रहेछन्, उनले स्लेटमा सुन्दर अक्षरले शुद्ध हिन्दीमा लेखेर देखाए, ‘मसँग अन्न राख्ने केही छैन, त्यसकारण पैसै पाए बेस हुन्थ्यो ।’ त्यस बेला नेपालको तर्राईमा भारतीय सिक्काकै चलन थियो । मेरो खल्तीमा भएको चारआनाको सिक्का मैले उनलाई दिएँ जो उनले स्वीकार गरे । जोगीलाई दिन निकालेको सिदा फेरि घर भित्र्याउनु हुन्न भनी चामल राम्रोसँग रूमालमा बाँधेर ‘लिएर जानुस् काम आउँछ’ भन्दै उनलाई दिए । त्यो पनि उनले स्वीकार गरे ।
हामीबीच कुनै संवाद भएन । उनी फर्किएर हिंडन लागेका थिए तर फनक्क मतिर फर्के र स्लेटमा सुन्दर अंग्रेजीमा लेखेर देखाए, ‘तिमी के साधना गर्छौ ?’ जोगीले अनायस यति राम्रो अंग्रेजी लखेकोमा मलाई आश्चर्य भयो । अप्ठ्यारो लागेर मैले कुनै पनि साधना गर्दिन भनिदिएँ । तर उनले स्लेटमा पुनः लेखे – ‘तिम्रो शरीरको तरंगले त तिमी साधनाको प्रयासमा छौ भनिरहेको छ ।’ म अक्क न वक्क थिएँ साथै आश्चर्यचकित र लज्जित पनि । मैले आफ्नो समस्या भन्नै पर्यो, ‘मेरो साधना ठीकसँग चलिरहेको छैन । अनेक ठाउँबाट नानाकुरा सिके पनि म कुनै मार्ग पकडेर राम्रोसँग साधना गर्न पाइरहेको छैन ।’
उनले फेरि स्लेटमा लेखे, ‘मैले तिमीलाई केही मद्दत गर्न सक्छु भने मद्दत गर्न तयार छु ।’ यो कुरा सुनेर मैले उनलाई सम्मानका साथ घरभित्र लगें, आरामले बसाले र विनम्रतापूर्वक आफ्ना जिज्ञासाहरू राख्न थालें । जसको उत्तर उनले बडो विशिष्ट बौद्धिकताले सुन्दर हिन्दी र अंग्रेजीमा स्लेटमा लेखेर दिन थाले । केही बेरमा भोजनको समय भयो र मैले उनलाई ‘भोजनका लागि के व्यवस्था गरुँ’ भनी सोधे । उनले ‘माछामासु बाहेक घरमा जे पाकेको छ त्यही ठीक छ’ भने । सँगै भोजन गर्ने चलन भएकाले सारा परिवार भान्छामा भेला भए । परिवारमा अरु सबै व्यक्ति राजनीति रुचिका भएकोले जोगीले पनि स्लेटमा लेखेर यसै चर्चामा सक्रिय भाग लिए । उनको राजनीति विषयको गहन ज्ञान देखेर हामी सबै छक्क पर्यौं । भोजनपश्चात् मैले उनलाई आफ्नो कोठामा लिएर गएपछि हाम्रो सत्संग अगाडि बढ्यो जसमा उनले अरविन्दको पूर्ण योगदेखि लिएर स्वामी विवेकानन्दको कर्म र ज्ञानयोग, रमण महर्षिको मौन सबैका बारेमा मलाई दुर्लभ कुराहरू बताए । यी जोगीको ज्ञानको अथाह गहिर्राई देखेर म झन् आश्चर्यचकित हुँदैगएँ । कुरा गर्दागर्दै कतिखेर अँध्यारो भयो पत्तै पाइएन । घरका मानिसहरू जोगीको पछाडि लाग्ने मेरो बानीदेखि त परिचित थिए नै, तर बिहानदेखि बेलुकासम्म जोगीसत्संगले उनीहरू दिक्क भएछन् । यो अवस्था थाहा पाएर जोगीले आफै ‘तिमीलाई मेरो धेरै आशीर्वाद छ अब म जान्छु’ भनी स्लेटमा लेखेर उनी हिंड्न लागे । दिनभरको उनको प्रेमपूर्ण सान्निध्यले मभित्र उनीप्रति श्रद्धा र भक्तिको उदय भइसकेको रहेछ । उनले जाने कुरा गर्न साथ मेरो आंखा रसाए । उनले मेरो भाव बुझी, ‘तिमी उदास नहोउ, भोलि बिहान म फेरि आउँछु ।’ भनी हिँडे । उनको उपस्थितिले उनीप्रति अनायस उ म्रे को प्रेमले वियोगको रूप लियो र त्यो रात काट्न मलाई गार्हो भयो ।
बिहानी भयो जोगी पनि आइपुगे । सामान्य जलपानपछि हामी सत्संगमा बस्यौं । मेरो मनमा उठेका अनेक आध्यात्मिक र साधनासम्बधी व्यावहारिक कठिनाईहरू उनका सामु मैले राखें । उनका उत्तरहरूले उनीप्रति मेरो श्रद्धा गहिरिदै गयो । उनीसँग साधनाको अनुभव र त्यसबाट निसृत ज्ञानको अथाह भण्डार थियो । उनका बारेमा मेरो प्रश्नको उत्तरमा उनले लेखे, ‘संन्यासपूर्व उनी दक्षिणभारतमा कहीं प्राध्यापन कार्य गर्थे र वैराग्य भाव जागेपछि सबै छाडी पर्रि्राजक संन्यासी भए । सुरुमा उनले १२ वर्षको मौनको संकल्प लिएका थिए । त्यो पूरा भएपछि पनि बोल्ने प्रवृती भएन र कतैकतै स्लेट मै लेखेर कुरा गर्थे । यत्तिकै भोजनको समय भयो परिवारका सबै सदस्यका बीच उनले जयप्रकाश, विनोवा र लोहियाको समाजवादबारे लेखेरै सुन्दर र संक्षिप्त विश्लेषण गरे । उनको ज्ञानदेखि सबै प्रभावित त थिए तर उनीप्रति यत्रो लगाव परिवारलाई राम्रो लागिरहेको थिएन । म पनि उनकै पछि लागेर घर छाडेर हिँड्ने हुँ कि भन्ने कुराले उनीहरू पिरोलिरहेका थिए र अति सशंकित थिए ।
मलाई उनले सानो मन्त्र र राजयोग साधनाको सुन्दर विधि दिए । मैले उनलाई मेरो गुरु बन्नुस् र मलाई दीक्षा दिनुस् भनी आग्रह गरे । उनले मेरो आग्रह अस्वीकार गर्दै भने, ‘म ति म्रो गुरु होइन, उचित समय आएपछि तिमीले आफ्नो गुरु भेट्टाउछौ । म त सिलिगुडीमा एक योग स्कुलको उदघाटन कार्यक्रममा आएको थिएँ । त्यहाँ ति म्रो प्रयास, पुकार र प्रार्थना मैले सुनें । तिमीलाई मद्दत गर्न मात्र त्यहाँबाट जनकपुर आएको हुँ । ति म्रो जिज्ञासा र अभिप्सादेखि म प्रसन्न छु । तिम्रो यही तिर्खाले उचित समयमा तिम्रो सदगुरुसँग भेट गराइदिनेछ ।’ त्यसको तीन वर्षपछि मैले ओशोको दर्शन पाएँ ।
(स्वामी अरुण नागार्जुन हिल्स, काठमाडौंस्थित ओशो तपोवनका संस्थापक हुन् । यो लेख उनको पुस्तक “सन्त गाथा”बाट लिइएको हो । )
( स्रोत : सन्त गाथा )