कथा : उल्टो कोट

~कृष्ण प्रसाई~

सिगरेटको अन्तिम सर्को तानेर निखि्रसकेको ठुटोलाई छेउकै खाली भुइँमा फ्याँकिसकेपछि पुरानो फाटिसकेको जुत्ताले किचेर निभाउँदै लामो सास तानेर काकाले भने “मेरो पुरानो प्रतिज्ञालाई पुनःर्जीवित पार्दै आजैदेखि फेरि मैले आफ्नो कोट उल्टो लगाउने निधो गरेँ ।”

यति भनिसकेपछि तत्कालै उनले आफ्नो पुरानो इष्टकोट उल्टाए र सहजरूपले आफ्नो शरीरमा लगाए । यो घटना २०६० वैशाख १२ गतेको हो ।

रत्नबहादुर कार्की अर्थात् रत्नकाकालाई मैले आजभन्दा पैँतीस वर्षअघि पश्चिम बङ्गालमा अवस्थित शिलगडी सहरको प्रधाननगर भन्ने ठाउँमा पहिलोपटक देखेको थिएँ । त्यतिखेर उनले आफ्नो इष्टकोट उल्टो लगाएको देखेर मैले मेरा आफ्नै काकासँग यसबारे जिज्ञासा राखेको थिएँ । मेरा काकाले सहजरूपमा उनका बारेमा भनेको मलाई सम्झना छ । २०१७ सालअघि रत्नदाइ प्रजातन्त्रका प्रबल हिमायती थिए र पार्टीगत व्यवस्थाको सक्रिय सदस्य रहेर काङ्ग्रेस राजनीतिमा होमिएथे । सत्र सालको राजनीतिक काण्डको विरोध गरेबापत उनलाई पक्राउ पुर्जी आउँदैछ भन्ने थाहा पाएपछि एकाएक

पलाएन भएर उनी भारत पसे । त्यतिखेर व्यवस्था विरोधीलाई अराष्ट्रिय तत्व” भनेर तत्कालीन व्यवस्थाका हिमायतीहरूले भन्ने गरेका थिए । व्यवस्था विरोधी जो कोहीलाई अछुतझैँ सम्झने तत्कालीन सासन व्यवस्थाले धेरैलाई आफ्नो बसमा पारे । कत्तिका घरजग्गा सरकारीकरण भए । धेरैलाई विभिन्न जालसाजी मुद्दा लगाएर आफ्नो ठाउँबाट उठिवास लगाइयो । धेरथोर नगद हुने र आफ्नो थोर बहुत जमिन हुनेहरू टुक्राटाक्री जमिन बेचेरसमेत प्रवासिए । कोही टाढाकै मुग्लान पसेर लापत्ता भए जसको पछिसम्म खबर रहेन । रत्नदाइ तिनैमध्येका एक इमानदार कार्यकर्ता थिए जो आफ्नो भएभरको जायजेथा आफ्नी श्रीमती र नाबालक छोराछेारीलाई जिम्मा लगाएर भारत भास्सिएका थिए । रत्नदाइ तिनैमध्येका एक सहयोगी प्रजातन्त्रप्रेमी कार्यकर्ता थिए जो आफ्नो प्रवासी नेतालाई राति-राति सीमावारि आएर सिमाना नजिक घर रहेका नेताहरूका घरबाट खाने चामल, फलफूल र कुखुराका अण्डाहरू ओसारेर प्रवास पुर्‍याउँथे । रत्नदाइ तिनैमध्येका एक व्यवहार कुशल मान्छे थिए जो प्रवासित नेताहरूका नेपालतिरका सम्पूर्ण व्यवहारहरू भूमिगत रहेर नेपालमै मिलाउने गर्दथे । उनले गर्ने यी सब काम निःशुल्क थिए । रत्नकाका तिनैमध्येका एक त्यागी र प्रतिज्ञारत कुशल योद्धा थिए जसले प्रजातन्त्रको हरणपछि पुनः नेपालमा प्रजातन्त्र नफर्काउन्जेलसम्म सुल्टो कोट लगाउँदिन भनेर किरिया खाएका थिए ।”

मेरा काका अझै थपिरहनुभएको थियो “सरल र जुझारु रत्नदाइ अत्यन्तै मिलनसार छन्” ।

रहँदै बस्दै जाँदा मैले थाहा पाएँ रत्नकाका वास्तवमै सहयोगी र सहृदयी रहेछन् । कुनै काममा भेदभाव थिएन काकाको । म जस्तो स्कुल पढ्दै गरेको स्कुले ठिटोसँग पनि उत्तिकै मिल्नसक्ने र पैसा हुने बित्तिकै नजिकैको आदुको पसलमा गएर सितलु मिठाई किनिदिने काका सानोभन्दा सानो काम पनि आफँै गर्दथे । प्रवासी नेताहरूलाई ‘अमृत बजार’ पत्रिका किनेर ल्याइदिनेदेखि नेतापत्नीका साडीहरू बोकेर ड्राइक्लिनर्ससम्म पुर्‍याउन पनि उनी धक मान्दैनथे ।
यस्तै यस्ता बानी-व्यवहार र मिलनसारितामा मैले पाएको थिएँ रत्नकाकालाई त्यो प्रवासी भूमिमा । एकपटक त नजिकको किरियापुत्री नभएका एक नेताको काजकिरियामै बसेर बाह्र दिनसम्म किरियापुत्री भएर जुठो बारेका थिए उनै रत्नकाकाले ।

मेरो सम्झनामा रहेको अर्को ताजा घटनामा रत्नकाका र म भएर नै एक दिन हाम्रा नेता पत्नीका नयाँ र राम्रा साडीहरू प्रधाननगरको ‘बेण्डबक्स’ भन्ने ड्राइक्लिनर्समा जाकेट राखेर ल्याएको पैसाले बनारसबाट आएका एक जना प्रभावशाली प्रजातन्त्रवादी नेताको अतिथि सत्कारमा खर्चिएका थियौँ । प्रवासमा भोग्नुपरेको गरिबी र अभावको सबैभन्दा ठूलो घटना हुनुपर्छ त्यो । बागडोगरा हवाई अड्डासम्म लिन जाने र पछि दुई दिनसम्मको आतिथ्य सत्कारपछि त्यसै ठाउँमा छोड्न जाने निर्वासित नेताहरूको पङ्क्तिको लाममा रत्नकाका पनि एक थिए तर उनको नाम न ती वरिष्ठ नेतालाई थाहा थियो न उनका कामलाई चासो लिएर उनीप्रति कसैले गम्भीर हुन सकेकै थिए ।

सम्झनै सम्झनाहरूबीच अर्को एउटा सम्झना छ काकासँग मेरो । जाडोको छोटो स्कुले बिदामा छुट्टी मनाउन म काकासँग एक साँझको समय पारेर आफ्नो घर नौवाबारी फर्केको थिएँ । आजभोलिझैँ त्यसताका पनि नेपालका पूर्वी तराई फाँटहरूमा धान पहेँलपुर भएर लटरम्म फलेका हुन्थे । आँखाले भ्याइञ्जेलसम्म पहेँला धानका फराकिला मैदानहरू औधी रमाइला लाग्थे । १५ दिनको जाडो बिदा सकिनै लागेकोले म पुनः आफ्नै प्रवासी स्कुलमा र्फकने तरखरमा थिएँ । त्यसताका रातैभरि स्याल कराएको आवाज गाउँमा सुनिन्थ्यो । एक ठाउँबाट स्याल कराउन थालेपछि एकपछि अर्को लहरै आवाजमा स्यालहरू घन्टौँसम्म कराउँथे । जुन आवाज धेरै टाढासम्म फैलिएर आफँै एकाएक बिलाएर जान्थ्यो । धान काटिसकेपछि खमारमा थन्क्याइसकेको समय हुन्थ्यो त्यो । त्यतिखेर आजभोलि जस्तो फेदै लगाएर धान काट्ने चलन थिएन । धान काटिसकेर छोडिएको एक फुट जतिको नरुवा भएका गराहरूमा सिलाधान खोज्नेहरूको जमातै भेटिन्थ्यो । सिलाधान खोज्नु कसैका लागि बाध्यता र कसैका लागि रहर थियो त्यतिखेर । दिनभरि सिलाधान खोजेर बेलुका घर फर्केपछि खुट्टा धुनेबेलामा घुँडामुनि पानी पर्दा चहर्‍याएर खपिनसक्नु हुन्थ्यो शरीरलाई । मुसाले चोरेर पाँजैपाँजा मिलाएर खेतका आलीमुनि दुलामा लुकाएका बालासहितको मुसेधान पनि मानिसहरूले मुसाको दुलोबाट खनेर निकाल्ने गर्दथे । त्यस्तै दिनहरूमध्ये त्यो एउटा हिँउदे बिदा मनाउँदै गरेको दिनको याद छ मलाई, काका मलाई छाडेर प्रवास फर्केपछिको समय थियो त्यो । मुसा जस्तै स्याल लुक्ने अलि ठूला र दुलैदुला भएका ठाउँमा एक दिन हामीले स्याल समाउन भनेर केही दूलामा धूँवा निस्किरहेका पुल्ठा हालेर दूलो बन्द गरेपछि केही दूलामा भने लठ्ठीसहितका हामी चौकीदारी बसेका थियौँ । दूलाभित्र बस्ने स्याललाई बाहिर निकाल्न यसरी धूँवा लगाइएको थियो । तर ठूला स्यालको सट्टा पाँचवटा स्यालका बच्चाहरू धूँवाले निसास्सिएर फुत्फुती दूलाभित्रबाट बाहिर निस्केका थिए । कस्तो अचम्म ! ती स्यालका बच्चाहरू बाहिर निस्कनासाथ एकोहोरो गरी आकाशतिर मुख फर्काएर सबै एकैनासले रोएका थिए । एकैपटक त्यति धेरै सङ्ख्यामा रहेका बच्चाहरू रोएको देखेर म पनि गोठालाहरू झैँ अत्तालिएको थिएँ । हामीमध्येको जेठो मङ्गले तामाङले सम्झाएपछि मात्र हामी शान्त भएका थियौँ । मङ्गले तामाङले त्यतिखेरै भन्थे ती बच्चाहरू रामस्यालका बच्चाहरु हुन् रे, स्यालको जातमा रामस्याल स्यालहरूको राजामा गनिन्छ रे । पुल्ठोका धूँवाले निसास्सिएका ती बच्चा स्यालहरूलाई हामी सबैले कुटी कुटी मारेका थियाँै

अहिले सम्झदा कहाली लाग्छ ती बिदाका दिनहरूमा बिताएको पूर्वी तराईको बास । जाडो बिदा सकिएर प्रवासको स्कुल सम्झने बित्तिकै डरलाग्दा दृश्यहरू आँखा वरिपरि घुम्दथे त्यसताका । तौलेर खान पाइने सीमित खानेकुरा, आफूले खाएको भाँडाकुँडाहरू आफै टल्काएर माझ्नुपर्ने अनुशासन, स्कुलदेखि केही पर रहेको चर्च । चर्च छेउमै लहरै सुतेका इसाई चिहानहरू, चिहानसम्बन्धी साथीभाइले सुनाउने गरेका पत्ताले भूतका कथाहरू, होस्टल छेउमै रहेको वधशाला र बडेमान गोरु र राँगाहरूलाई मेसिनद्वारा गर्धन गिँडेका दृश्यहरू । यस्तै थिए तिनताका मैले पालेका मभित्रका दैनिकीहरू । जसले सधैँभरि मलाई डसिरहन्थे स्कुल बनेर ।

२०३६ सालको जनमत सङ्ग्रहमा रत्नकाका भूमिगतरूपमै नेपाल भित्रिए र बहुदलको पक्षमा खुलेर वकालत गरे । उनको पक्राउ आदेश त्यतिबेलासम्म पनि फुकुवा भइसकेको थिएन । प्रजातन्त्र फर्काउने सङ्कल्पमा जुटेका रत्नकाका पुरानै उल्टो कोट लगाएर प्रचार-प्रसारमा जुटेका हुन्थे । नेपाल फर्किएर प्रजातन्त्रको पक्षमा चुनावी आमसभाहरूमा भाग लिँदा विपक्षीहरूबाट कुटिएर काकाका दुईवटा दाहिने करङ भाँच्चिएको पनि सम्झना छ मलाई । सिलगढीकै कालु डाक्टरले केही निको पारे पनि आकाश घुर्मैलो हुनासाथ करङहरूले दुःख दिन सुरु गर्ने कुरा मलाई काकाले नै भनेका थिए । प्रजातन्त्र नफर्केसम्म आफ्नो कोट सुल्टो नफर्काउने कसम खाएका काकाले यस काममा जाडो गर्मी केही भनेनन् । हिउँद र व छुट्याएनन् । डोरीले टालेका एंडी खिइसकेका हात्तीछाप प्याट्प्याटे चप्पलसहितको पुरानो झोलामा देखिने रत्नकाका त्यतिखेर दिलो ज्यान दिएर जनमत सङ्ग्रहमा जुटे पनि अन्ततः उनको केही लागेन । पहेँलोको जित र नीलोको हार भएको सरकारी रेडियोको घोषणासँगै रत्नकाका फेरि पुरानै ठाउँतिर पलायन भए ।

सायद सँगसँगै थियो रत्नकाका पलायन हुनु र म स्वदेश फर्किनु पनि । प्रवासी स्कुलमा आफ्ना सगोत्री काकाको सहयोगी भएर बाल्यकालमै प्रवास छिरेको म कालन्तरसम्म मैले आफ्नो पढाइ प्रवासमा भर्न सकिन । काकाको त्यतिबेलाको राजनीतिक पद्धतिसँग विचलन भएर समयसँग गरेको सम्झौतापछि म पनि आफ्नै गाउँ फर्किएको थिएँ काकासँगै ।

त्यतिबेलादेखि रत्नकाकासँग पातलिएका मेरा सम्बन्ध पछिसम्म पनि बाक्लिन सकेका थिएनन् । यसो हुनुमा मेरो उमेर, मेरा आफ्ना काकाको राजनीतिक विचलन र रत्नकाकाको कर्तव्यनिष्ठाले काम गरेको हुनुपर्छ । तर पनि मेरो बाल्यकालमा उनले छोडेका अमिट छापहरूले होला मैले रत्नकाकालाई कहिल्यै भुल्न सकेको थिइनँ ।
रत्नकाका प्रवासिएको बेला उनका निजी जीवनमा धेरै परिवर्तनहरू आएका थिए । अलि पछि काकाले छोडेका जग्गाजमिनहरू र परिवेशको ठूलो कायापलट भइसकेको थियो । काका प्रवास छिरेको तीन वर्षभित्रै उनकी श्रीमती काखको नानी च्यापेर अर्कैसँग पोइलिएकी थिइन् । ७ वर्षकी एउटी छोरी र १० वर्षको अर्को छोरोलाई छोडेर आफ्नी श्रीमती यसरी हिँडेको कुरा सुनेर काका केही दिन हतप्रद पनि भएथे तर समयमै उनले आफ्नो समस्या भूमिगतरूपमै नेपाल आएर मिलाए । छोरालाई पुराना प्रजातन्त्र सेनानी रणधीर बुढाथोकीको जिम्मा लगाए र छोरीलाई आफूसँगै सिलीगुडी लिएर गए । अलिकति भएको चल सम्पत्ति भाँडाकुँडा र गाइबाख्रा श्रीमतीले साथै लगेकाले काकालाई कुनै ठूलो लेठा परेन सामान सम्हाल्ने । तर अचल सम्पत्तिको नाउँमा बचेको पौने दुई बिघा जमिन भने काकाले बर्सेनिको खर्च धान्न प्रवास बस्दै ताका दुई/तीन पटक गरी बेचेर सिध्याएका थिए । श्रीमती पोइलिनुअघि जमिन बेच्ने कुराले नै आफ्नी श्रीमतीसँग ठाकठुक परेको कुरा पनि काकाले त्यसैताका सुनाएका थिए ।

०४६ सालको परिवर्तनपछि काका स्वदेश फिरेको कुरा सुने । प्रजातन्त्र फर्काउने काममा आफ्नो सर्वस्व गुमाएर सम्पत्तिको नाउँमा आफू मात्र रहेका सुकुम्बासी काकाले केही वर्षका लागि मात्र कोट सुल्ट्याएछन् ।

प्रजातन्त्र प्राप्तिपछिका बाह्र वर्षसम्म रत्नकाकाले प्रजातन्त्र हाक्ने नेताहरू हेरेकोछन् । प्रजातन्त्रले चलाएको संसद्, शासन र सरकार हेरेकोछन् । नसुन्ने पनि सुन्छन् । नदेख्ने पनि देखेछन् र नभोग्ने सबै भोग्छन् । एकपटकको भेटमा काकाले मलाई त्यसै भने ।
अलि पछि ढाड दुख्ने र करङको बिराम लागेर थलिएका काकाले निकै कष्टसाथ प्राण त्याग गरेछन् । काकाको मर्ने बेलाको अन्तिम इच्छा उल्टो कोटमै सद्गति गर्नु भन्ने थियो रे । नभन्दै उल्टो कोटमै मरेका काकालाई उल्टो कोटमै जमिनमा दफ्न्याइएको थियो रे । मरिसकेपछि उल्टो कोटको खल्तीभित्रबाट निकालिएको पच्चीस रुपियाँ र अरू चन्दा उठाएर उनको सदगति गरियो रे ।

२०६५ सालको जेठ १६ सम्म काका बाँचेका हुन्थे भने कमसेकम उनको कोट सधैँभरिका लागि सुल्टिने थियो कि भन्ने म अनुमान गर्छु ।
अहिले म तिनै रामस्यालका बच्चाहरूलाई सम्झिरहेछु जसलाई निकाल्न र मार्न हामीले धूँवाको पुल्ठो बनाएर लठ्ठीहरूमा मनोरञ्जन साँधेका थियौँ । बाहिर निस्किएपछि आकाशतिर फर्किएर अरन्य रुने ती निरीह स्यालका बच्चाहरूको कसुर के थियो ? रत्नकाकाले प्रजातन्त्रका लागि लडेर भोगेको नियति, उनको इमानदारिता अनि पुनः सम्झदैछु उनले देशका लागि आफू बिगि्रएर दिएको समग्रता । उत्तर अझै पाउन सकेको थिइनँ ।

काकाको देश भने उल्टो कोटमै सुतिरहेको थियो ।

About Sahitya - sangrahalaya

We will try to publish as much literary work of different authors collected from different sources. All of these work is not used for our profit . All the creative work belongs to their respective authors and publication. If requested by the user we will promptly remove the article from the website.
This entry was posted in नेपाली कथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.