~हरिप्रसाद भण्डारी~
मलाई एउटा कथा लेख्नु जरुरी थियो र म त्यसैका खोजीमा हिडिरहेको थिएँ। मलाई थाहा थियो, मैले खोजेको कथा कुनै बगैचा वा नदीका किनारमा भेटिदैन भन्ने कुरा, त्यसैले म गाउँ, शहर र गल्लीहरूमा घुम्दै थिएँ कथा खोज्न।
कथा खोज्दै हिँडिरहेको मैले एकदिन उनलाई भेटेँ, एउटा साहित्यिक कार्यक्रममा। कार्यक्रममा मैले वाचन गरेको कविताको प्रशंसा गर्दै उनले कविताको प्रतिलिपि मागेकी थिइन।
‘कस्तो सान्दर्भिक र प्रगतिशील कविता! यस्तो राम्रो कविता लेख्ने मान्छेले किन आफूलाई कथामा मात्र सीमित राख्नुभएको? कथा र कविता दुबै विधामा समान रुपमा कलम चलाउनु भए राम्रो हुन्थ्यो नि।’
एनले मप्रति गरेको प्रशंसा थियो यो। एउटी अपरिचित युवती मानौ बर्षौदेखि परिचित भएजस्तै गरेर बोलिरहेकी थिइन।
‘तपाईका थुप्रै कथा पढेकी छु। महान उद्देश्य बोकेका र यथार्थमा आधारित हुन्छन् तपाईका कथाहरू। हाम्रो गरिव समाजको राम्रो चित्रण भएको हुन्छ तपाईका कथामा …..।’
उनले थुप्रै कुरा गरिसक्दा पनि उनी को हुन् मैले ठम्याउन सकिरहेको थिइन। मेरा बारेमा त्यति धेरै जानिसकेकी युवतीसँग परिचय माग्न त्यति सहज पनि थिएन। मैले असजिलो मान्दै उनका कुरा सुन्नुबाहेक अर्को उपाए पाएको थिइन। केही बेर उनका कुरा सुनेपछि ठूलै आँट बटुलेर र आफू हिजोआज अलि भुलक्कड भएको बताएर उनको परिचय मागेको थिएँ।
‘तपाईले मेरो परिचय माग्नुहुन्छ भन्ने कुरा मलाई पहिलेदेखि नै थाहा थियो। प्रतिमा भन्छन् मलाई सबैले। बाबुआमाकी कान्छी छोरी भएकी हुनाले घरमा त कान्छी पनि भन्छन् मलाई माया गरेर। तर खास नाम मेरो प्रतिमा नै हो। स्कूल, कलेज, टोलछिमेक र साथीहरूका बीचमा यही नामले परिचित छु। तपाईजस्तो साहित्यकार भइदिएको भए वा कुनै कम्यनिष्ट पार्टीको नेता वा कार्यकर्ता भएको भए कुनै साहित्यिक वा टेक नाम पनि राख्दी हुँ क्यार! तर त्यस्तो कुनै विशेषता छैन ममा, त्यसैले एउटा मात्रै नाममा चित्त बुझाएर बसेकी छु। बरु तपाईका कतिवटा नाम छन् कुन्नि। भन्न मिल्नेभए सुनौँ क्यार। दुईचार वटा त अवश्य होलान्, राजनीति र साहित्य दबै क्षेत्रमा काम गर्ने हुनाले।’
उनको कुरा सुनेर म झस्केको थिएँ र सतर्क हुदै ‘कहाँ हुनु एउटा मात्रै हो’ भनेर दाँत देखाएर हाँस्ने प्रयास गरेको थिएँ। उनले मेरा कुरा पत्याइन् कि पत्याइनन् कुन्नि तर मेरो जवाफप्रति खासै मतलव नराखी आफ्नै कुरालाई थप्दै गएकी थिइन्― ‘मलाई पनि साहित्य सिर्जना गर्ने तीव्र चाहना छ, अलिअलि त लेखेकी पनि छु तर राम्रो गाइड नपाएका कारण पछि परेकी छु। हजूरको बसाइ कता छ कुन्नि, यदि समय मिल्ने भए हप्ता पन्द्र दिनमा एकाध घण्टा साहित्य सिर्जना गर्न सिक्ने गरी कोठामै आउने थिएँ।
भर्खर २०/२२ बर्ष कि युवती, हसमुख स्वभाव, एकैचोटी कोठामा आउने प्रस्ताव! मलाई अचम्म लागिरहेको थियो। मैले झट्ट अर्चनालाई सम्भि्कएँ। उनी अलि शंकालु छन्। कोही अपरिचित केटीसँग बोले हासेको निको मान्दिनन्। कति सम्झाएँ तर अझै पनि गाउँले पारा हराएको छैन। सोचेँ– उनले कस्तो मान्छिन् कुन्नि र फेरि आफूले आफैलाई सम्झाएँ― आखिर म ठीक भएपछि उनले शंका गर्दैमा के नै पो हुन्छ र? सम्झाइहाल्छु नि। एउटी युवतीले साहित्य सम्बन्धी गाइडलाइन माग्दा सहयोग गर्न सक्दिन भन्न पनि सकिन। अन्तमा उनलाई कोठामा आउन स्वीकृति र लोकेशन दिएँ।
शुरुमा मेरो घरमा आउँदा उनी मेरो सानो र सुन्दर लाइबेरी देखेर निकै खुसी देखिएकी थिइन। ‘राजनीति र साहित्यका किताब बराबर रहेछन् हगि?’ मतिर हेर्दै उनले भनेकी थिइन्। उनको जिज्ञासा मेटाउँदै मैले भनेको थिएँ― ‘हुन त साहित्य र राजनीति अलग अलग हुनुपर्छ भनिन्छ तर मेरा विचारमा देशको राजनीति, समाज, संस्कृति, धर्म आदि कुरा राम्ररी नबुझेसम्म राम्रो साहित्य सिर्जना गर्न सकिदैन। त्यसैले हरेक साहित्यकारले यी सबै विषयवस्तुहरूको गहन अध्ययन गनु पर्छ भन्ने मान्यता छ मेरो।’ यसो भन्दै म मुसुक्क मुस्कुराएको थिएँ।
यसरी पहिलो दिनको करीब डेढ/दुई घण्टाको बसाइमा साहित्यिक चर्चा परिचर्चा गरेका थियौँ हामीले। यसैवीच चिया र नास्ता पनि खुवाएकी थिइन् अर्चनाले। शुरुमा मैले विभिन्न शङ्का उपशङ्का गरे पनि प्रतिमाको बोलीचाली र व्यवहार देखेर अर्चना पनि प्रभावित भएकी थिइन्। बरु– ‘कस्ती फरासिली केटी, केही सिकुँ, केही जानु, भन्ने जिज्ञासा जगाएकी’ भन्दै प्रशंसा गरेकी थिइन्।
निरङ्कुश शासन व्यवस्थाको विरुद्धमा देशमा जनआन्दोलन चर्कदै गइरहेको थियो। आज फलाना जग्गामा जुलुस, प्रहरीद्वारा लाठीचार्ज, यति घाइते, यति गिरफ्तार। संचार माध्यमहरूले समाचार प्रशारण गर्थे। सरकारी संचार माध्यमहरूले भने आन्दोलनकारीहरूलाई प्रजातन्त्र मास्न खोजेको आरोप लगाउँदै सल्लाह र समझदारीमा देश चलाउनु पर्ने आसयका समाचारहरू प्रशारण गर्थे। तर जतिसुकै सल्लाह र समझदारीका कुरा गरे पनि न कहिल्यै सल्लाह हुन्थ्यो न समझदारी। कुटनीतिका आधारमा जसले सत्ता प्राप्त गर्न सक्यो उसैको हालीमुहाली चल्थ्यो। बाहिर रहेकाहरू हेरेको हेर्यै हुन्थे। यसरी सत्तापक्ष र विपक्षका बीचमा रसी तानातान भइरहन्थ्यो। तानातानका सिलसिलामा रसी कहिले नारायणहिटी वा सिंहदरवारतर्फ जान्थ्यो भने कहिले रत्नपार्क हँदै बानेश्वरतिर खिचिन्थ्यो।
यो बीचमा दईचोटि आइसकेकी थिइन् उनी मेरा घरमा। दोश्रोचोटि आउदा एउटा कविता पनि थियो उनका साथमा। ‘क्रान्तिकारी कविता लेख्न मनलाग्छ तर सक्दिन।’ यसो भन्दै मुसक्क हासेकी थिइन् र कविता दिएकी थिइन्। सर्र हेर्दा सिकारू भएको कुरा सहजै अनमान गर्न सकिन्थ्यो।
एकदिन बिहान चार बजेतिर कसैले ढोका ढक्ढकाएको आवाज आयो। म त सुतेकै थिएँ, केटाकेटीहरूले ढोका खोलेछन्। दौडदै मसँग आए र ‘बाहिर पुलिस आएका छन्’ भन्दै साउति गरे। ‘शायद सर्च गर्दै छन् होला’ मैले अनुमान लगाएँ। तर होइनरहेछ― म उठेर ढोकासम्म पुग्न नभ्याउदै उनीहरू कोठाभित्र पसिसकेका थिए बुटसितै र कुनै तस्कर वा त्यस्तै ठूलै अपराधीको घरमा पसेझै जताततै छाम्दै थिए। उनीहरूको व्यबहार अलि असभ्य जस्तै लाग्यो मलाई तर पनि केही बोलिन। केटाकेटीहरूले प्रतिकार गर्न खोग्दै थिए, रोकैँ। सोचेँ― रातको समय छ, खुलेर आन्दोलनमा लागिएकै हो, समय अनुकुल छैन, जे पनि गर्न सक्छन्। एकथरि पुस्तक कक्षमा पुगिसकेछन् र अस्तव्यस्त तरिकाले त्यहाँ भएका कितावहरू ठूला ठूला बोरामा कोच्दै तल गाडीमा ओसार्दै थिए। केही बेर तान्डव नृत्य नाचेपछि हाकिम पुलिसको इसारामा दुईजना बलिया बलिया पुलिसले मेरा पाखरामा समाउदै आफूसँगै जान आग्रह गरे।
“सामान्य साहित्य सिर्जनाबाहेक मैले त्यस्तो कुनै अपराध त गरेको छैन। किन यस्तो व्यवहार गर्दै हुनुहुन्छ तपाईहरू?” असैह्य भएपछि मैले भने।
“बढी कुरा होइन। माथिको अडर यस्तै छ खुरुक्क हिड्नुहोस्।” हाकिम कड्कियो।
“कुनै वारेण्ट पेपर त होला नि हेरौँ न।” शाहस बटुल्दै मैले भने।
“हाम्रो आदेसै वारेण्ट हो। अहिलेसम्म हामीले सबैलाई यसै गरी पक्रेका छौँ। हाम्रो आदेस जसले मान्दैन त्यसलाई कसरी मनाउनु पर्छ त्यो पनि हामीलाई थाहा छ।” उसको आवाज रुखो थियो।
केटाकेटीहरूले मेरो गिरफ्तारीको बिरुद्धमा विरोध गर्दै थिए तर हामी कसैको केही जोर चलेन। त्यो बेलामा तिनीहरूसँग हारगुहार गरेर वा प्रतिकार गरेर केही हुनेवाला थिएन। टाङ्गा तान्ने घोडा जस्तै एकोहोरो अगाडि मात्र हेर्ने र सत्य असत्य केहो भन्नेबारे कत्ति पनि आफ्नो विवेक प्रयोग गर्न नसक्नेहरूसँग बोलेर केही हुनेवाला छैन भन्ने कुरामा म ढुक्क थिएँ।
सुनसान रात, खुला सडक, साइरन बजाउदै हामीलाई बोकेको गाडी तेजगतिमा कुद्दै थियो। बलिया गिद्धले चल्लालाई च्यापेजस्तै सबैजना मिलेर मलाई गाडीको बीचमा राखेर च्यापिरहेका थिए। ट्रक आकारको उक्त गाडीमा प्रहरीहरूको संख्या निकै थियो। सडक बत्तिको झल्याक झुलुक उज्यालोमा देखेँ केही महिला प्रहरीहरू पनि थिए। पुरुष प्रहरीहरूले घरीघरी जिस्काउदै गरेको पनि सुनिन्थ्यो।
“ऐया! कस्तो मोरो अर्कालाई यस्तो दुख्नेगरी चिमोट्ने।” त्यस्तैमा महिला टोलीबाट आवाज आयो। आवाज सामान्य थियो तर मलाई उक्त आवाज कतै सुनेसुने जस्तै लाग्यो। ‘यो आवाज कस्को हुन सक्छ?’ अनुमान गर्दै थिएँ, दिमागको ढक्कन खुल्यो। अनुमान लगाएँ― उक्त आवाज मेरी चेली प्रतिमाको जस्तै थियो।
मैले विचार गरेँ― मैले त्यहाँ एउटा कथा भेटेको थिएँ― जिवन्त कथा!