कथा : सम्झनामा दुई पात्र

~यश घिमिरे~

पात्र -१

पोखराबाट चितवन जान डाइरेक्ट गाडी नभेटे पछी मुग्लिन झरेर अर्को गाडी चढें | करिब २४ – २५ बर्षको जस्तो देखिने गोरो र हसिलो अनुहार गरेको एकजना भाई भाडा उठाउदै आयो | जब नजिक आइपुग्यो मलाई हेर्दै खुसि मिस्सिएको स्वरले सोध्यो – दाई ! सन्चै हुनुहुन्छ ? | हजुर लाइ भेटेर एकदम खुशी लाग्यो …” भन्दै दह्रो गरि हात मिलायो | म रनभुल्लमा परें | केटो राम्रो , हसिलो र पढेलेखेको जस्तो देखिन्थ्यो | भए भरको स्मरण शक्ति लगाएर उसलाई चिन्ने प्रयत्न गरें , सब व्यर्थ | जिन्दगीको कुनै पनि मोडमा चिनेको , भेटेको मान्छे हो जस्तो लागेन | तैपनि आफ्नो असजिलो पन छिपाउन भनें -” अँ भाइ सन्चै छु | मलाई नि तिमिसंग भेटेर खुसि लाग्यो ” | पर्सबाट बस भाडा निकालेर दिन खोजें ,

लिन मानेन | जबर्जस्ति गरेर फर्काएरै छोड्यो | ”दाइ एकछिन है.. म ऐले आउछु” भन्दै फेरी भाडा उठाउनै व्यस्त भयो |
म भने उसैको बारेमा सोच्न थालें- को होला त ? | स्कुल , क्याम्पसको सहपाठी हुने कुरै भएन, म भन्दा निकै कान्छो छ | नातेदार होला त ? त्यो पनि होइन , केटो गुरुङ -मगर जस्तो मंगोलियन अनुहारको छ | सोच्दा सोच्दा दिमाग फुट्ला जस्तो भयो तर पनि चिन्न सकिन | अब कसोरी ”सरि मैले चिन्न सकिन” भनु होला ? बसभाडा सम्म नलिएर आत्मियता देखाई सक्यो |
”दाई ! कंडक्टर भै’याछ आफु त | गरेर खान के को लाज होइन त ”| फुर्सदिलो भएर आईपुग्यो |
”अफकोर्स ! गरेर खानु नि के को लाज यार ?| ढाटेर छलेर खानु पो भएन त ” |
”अनि घर तिर बुबा आमा सबैजना सन्चै हुनुहुन्छ नि ? बैनी कतिमा पढ्दै छिन | सुरेन्द्र दाई त दुबही जानु भयो रे भन्ने सुनेको थिएँ | फोन गरि रहनु हुन्छ नि ?|”
मेरो अड्किएको सर्टको कलर मिलाइदिदै भन्यो |
म झन् चकित परें | उसले त मलाई मात्र होइन मेरो आमा बुबा भाइ बैनी समेतलाइ चिन्दोरहेछ | चिन्ने मात्र होइन मेरो परिवारको बारे एक-एक थाह पनि रहेछ | कति नजिकको ठानी रहेछ उ?! आफनै मान्छे जस्तो गरेर सर्टको कलर मिलाई दिदैछ | अब कसरि भनक हुन दिउँ कि मैले उसलाई चिन्नै सकिरहेको छैन |
अचानक घ्याच्च गाडी रोकियो | बाहिर हल्ला खल्ला सुनिन्थ्यो | हातहातमा लाठि र दाउरा बोकेका मान्छेहरु ड्राइभर संग गाडी साइड लगाउन आदेश दिई रहेका थिए | मानौ हवल्दारले सिपाही लाइ आदेश दिएको होस् | केहि व्यक्तिहरु भने चक्का जाम भएको बेलामा गाडी किन चलाएको भन्दै ड्राइभरलाइ झ्याँगल र झुन्गल पार्न थाले | त्यो भाइ हत्त न पत्त तल झरेर ड्राइभरको बचावट गर्न पुग्यो | उ आफ्नो दुई हात जोड्दै आफु हरुलाई चक्का जाम छ भन्ने थाह नभएको व्यहोरा सुनाउदै थियो | उसको कुरा कोहि सुनिरहेको थिएन | सबैको अनुहार रगत पिएर मातेको बाघ जस्तो देखिन्थ्यो | यतिकैमा एउटा कुर्लियो -”साला ! चक्का जाम छ भन्ने थाह हुदाहुदै गाडी चलाउछ ! ओइ केटा हो… पेट्रोल खन्याएर आगो लाईदे , मा … क्नेको गाडी जलाउने हो आज |”
यात्रीहरु माझ गाडी जलाउने कुराले खैलाबैला मच्चियो | सबजना हतार हतार गाडीबाट झर्र्यौं |
हामी जतिसक्दो चाँडो त्यो अराज़क हुलमुल बाट टाढा हुन चाहन्थौँ | त्यो भाइ भने त्यहि कतै भिडभाडमा नम्र भएर भद्रता देखाउदै थियो | उसलाई मन भरिको धन्यबाद र ”बाइ’ भन्न पनि नपाइकन अरु यात्रीसंगै पैदलनै गन्तब्य तिर लागें | आज 10 बर्ष पछीसम्म पनि मनमा यहि कौतुहल खेल्छ – ”को होला त त्यो भाई ?”

पात्र -२

परदेशमा हुदा आफ्नो देशको मान्छे भेटीए प्राय सबैलाइ खुशी लाग्छ | झन् नयानया हुँदा त कोहि नेपाली भेटीए , नातेदारनै भेटे जस्तो लाग्ने | इजरैल टेक्नासाथ एजेन्सीले हस्पिटलमा बुढो रुंगेर बस्ने काममा हालिदियो | हिब्रो मात्र बुझ्ने बुढो , म हिब्रोमा सलोम र आनी बेस्सेदार भन्दा अरु बोल्न नआउने | बुढोले के के भन्छ के के केहि बुझिने होइन | नर्स /डाक्टरहरु जाने पनि नजाने जस्तो गरेको हुन कि के हो के हिब्रु मात्र बोलिदिने अंग्रेजी बोल्न नरुचाउने | खुब असजिलो स्थितिको सामना गर्दै गर्दा अचानक उ आइपुग्यो , म जस्तै बुढो रुंगेर बस्न | होंचो कदको , कालो कालो अन्दाजी बर्ष ३५ को देखिने उ हेर्दा नेपाली या इन्डीएन झैँ मानें | उसले इम्प्लोयर र नर्सहरु संग धारा प्रबाह हिब्रोमा कुरा गरेको देखेर मलाई पनि निकै राहत महशुस भयो | कमसेकम बुढोले के चाहन्छ , के भन्न खोजेको हो ? , यसले त सघाइदेला भन्ने लाग्यो |
”नमस्ते हजुर ! तपाई नेपाली हो ?|”
उसले मलाई पुलुक्क हेर्यो | अनि आफ्नै धुनमा मोबाइल खेलाउदै भन्यो -”नो” |
”देन यु आर एन इन्डिएन , यस ?”
”यस” अझै म तिर फर्किएन |
”इन्डिया कहा से हो आप |” म उ संग नजिकिने प्रयास गर्दै थिएँ |
”जानकर क्या करोगे |”
उसको यस्तो रुखो उत्तरले एकछिन त अकमक्कमा पार्यो | फेरी इच्छा भयो एकलात जमाएर हिर्काउँ अनि भन्दिऊँ – ”जानकार ये करुंगा ”| तर केहि बोलिन | फरक्क फर्किएँ |
भोलिपल्ट साबिक कै समयमा हस्पिटल पुगें | कोठा भित्र पस्नै लाग्दा अलि जोड जोडले बोलेको आवाज़ सुनें -” साले …न्डी ! तेरो मन लागेको गर | तेरो छोरा छोरी जहा लानु पर्ने हो लैजा ..मलाइ मतलब ..”|
यति भन्दाभन्दै उसले मलाई देख्यो | अनि मोबाइल काट्यो | शायद उ नेपालमा श्रीमतीसंग कुरा गर्दै थियो | उ त्यहि मान्छे थियो जो हिजो म संग आफुलाई इन्डियन हुँ भन्दै थियो | आँखा जुधाएर हेर्न सकेन अनि आफ्नो इम्प्लोयर संग बोल्न थाल्यो | आज ३ बर्ष भैंसक्यो म यो मुलुकमा आएको | अझै पनि मनमा यहि कौतुहल खेल्छ -” कस्तो खालको होला त्यो मान्छे ?”|

About Sahitya - sangrahalaya

We will try to publish as much literary work of different authors collected from different sources. All of these work is not used for our profit . All the creative work belongs to their respective authors and publication. If requested by the user we will promptly remove the article from the website.
This entry was posted in नेपाली कथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.